आइतबार, वैशाख १६, २०८१

अहिलेसम्म मेरो राजीनामा मागिएको छैन, म तयार पनि छैन : उपसभामुख दनुवार

नेपालखोज २०८० भदौ ३ गते १५:४१

सरकारले विश्वासको मत लिने दिनसम्म प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपर्ने निश्चितता खोजिरहेको कोशीको सत्ता गठबन्धनले आफ्ना ज्येष्ठ सदस्यलाई मन्त्रीमण्डलमा सामेल गरेको छ ।

त्यही अवस्था छल्ने उद्देश्यकै लागि प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मुख्यमन्त्री उद्धव थापाले बुधवार कृषि राज्यमन्त्रीमा नियुक्त ग रे। सत्ता गठबन्धनको यो कदमले मुख्य विपक्षी एमालेलाई दबाबमा पारिदिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन चाहिने बहुमत संख्या ४७ पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ । दनुवार नेकपा एमालेकी सांसद हुन् ।

दनुवारलाई एमालेले राजीनामा गराएमा प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्छ। कांग्रेस सांसद मण्डललाई प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आइलागे सरकारले विश्वासको मत लिने बेलामा बहुमत नपुग्ने जोखिम हुन्छ । संविधानले बराबरी मत भए मात्रै अध्यक्षता गर्नेलाई मतदानको अधिकार दिएको छ।

त्यही संवैधानिक बाध्यता छल्दै सरकारका पक्षमा बहुमत पुर्याउन सत्ता गठबन्धनले मोरङका सांसद मण्डललाई मन्त्रिपरिषद्मा सामेल गराएको हो।

कार्यपालिकामा सहभागी व्यक्तिले व्यवस्थापिका बैठकको अध्यक्षता गर्न पाउँदैनन्। यद्यपि, एमालेबाट उपसभामुख बनेकी दनुवारले भने आफू जिम्मेवारीबाट नभाग्ने, बैठक चलाउने बताउँदै आएकी छिन्। यदि दनुवारले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाको सरकारले विश्वासको मत पाउने छ।

तर, एमाले नेताहरूले भने गठबन्धन सरकार जोगाइदिन उपसभामुखले बैठक चलाउनुपर्ने कुनै आवश्यकता नभएको बताउँदै आएका छन्। यही स्थितिमा यदि पार्टी निर्देशनमा दनुवारले पनि पदबाट राजीनामा दिने हल्ला छ।

खासमा कुरा के हो र के राजीनामाको लागि पार्टीले दबाब दिएकै हो त ? यही विषयमा केन्द्रित रहेर उपसभामुख दनुवारसङ मोरङबाट ध्रुव भट्टराईले गरेको संक्षिप्त कुराकानी :

मुख्यमन्त्रीले विश्वासको मत लिन ३ गतेको समय माग्नुभयो। तर तपाईँले चार गते तोक्नुभयो। कारण के थियो ?

पवित्र उद्देश्यसहित सरकारले विश्वासको मत लिने समय ४ गतेका लागि तय गरेको हो। अहिले जुन परिस्थिति छ, त्यो हल गर्न दलहरूबीच छलफल गर्न पर्याप्त समय छ। उहाँहरूले हतार गरेर ल्याउनुभएको छ । मैले त अझै पछाडि लैजाऊँ भनेको पनि थिएँ। किनकि समय भयो भने सहमतिको बिन्दुतिर जान्छ कि, विश्वासको मत पनि सहज रूपमा लिन सक्नुहुन्छ कि भन्ने उद्देश्यले नै उहाँहरूले ३ गतेको समय माग्दा मैले ४ गते राखेकी हुँ।

विभिन्न अड्कलबाजीबीच मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । उपसभामुखबाट तपाईँले राजीनामा दिने हल्ला के हो ?

अहिलेसम्म मँसग राजीनामाको कुरा आएको छैन र म त्यो तयारीमा पनि छैन। तर भोलिको परिस्थितिबारे आज थाहा हुँदैन, छैन। यसबारे पार्टीको पनि प्रस्ट धारणा आइसकेको छ। दलका नेता एवं पूर्वमुख्यमन्त्रीज्यूको कुरासमेत आइसकेको छ। उहाँले प्रस्टसँग उपसभामुखको विषयमा कुरा राखिसक्नुभएको छ।

सत्ता दाउपेचको भुमरीमा योभन्दा अघिको परिघटनाले त सभामुखले राजीनामा दिएको नजिर पनि छ नि १ तपाईंले पनि पदबाट राजीनामा दिनुपर्ने परिस्थिति नआउला भन्न सकिन्छ र ?

मैले भनिहालेँ नि १ पार्टीले मेरो राजीनामाको विषयमा कुनै कुरा ल्याएको छैन। सभामुखको राजीनामा आएको विषयमा देखियो नै। यहाँ जे हुनुहुँदैन थियो त्यो भइरहेको छ। यो देख्दा दुःख पनि लाग्छ। वास्तवमा यतिबेला कोशी प्रदेशको समग्र समृद्धि र विकासका लागि आवश्यक ऐन कानुन बनाउनुपर्ने बेला हो। प्रदेशवासीलाई डेलिभरी सर्भिस दिनुपर्ने बेला हो, जुन ठप्प भएको छ।

यो बेला जुन गणितीय खेल छ, निर्वाचनको परिणामले कसैको पनि बहुमत नभएका कारण सबै दल मिलेर जानुपर्ने आवश्यकता छ। सहमतीय निकास खोज्नुपर्छ। तर त्यसो हुन सकेको छैन। फेरि पनि दलहरूलाई मेरो अनुरोध के छ भने तपाईँहरू बसेर एउटा सहमति जुटाउनुहोस् र कोशी प्रदेशलाई अहिलेको अवस्थाबाट निकास र विकास दिनुहोस्।

तपाईं ४ गतेको बैठक सञ्चालन गर्न अनुपस्थित हुने हल्ला पनि छ र ?

तपाईंले यहाँ जुन प्रश्न गरिरहनुभएको छ, त्यसको उत्तर खोज्नुपर्ने बेला भएको छ। विश्वासको मत लिन ४ गतेको समय तोकिएको छ। तर विश्वासको मत लिने नलिने उहाँहरुको कुरा हो। तर बैठक मेरै अध्यक्षतामा बस्छ। सभामुख नभएपछि उपसभामुखले नै अध्यक्षता गरिरहेको छु।

कोशीको राजनीति किन यति धेरै पेचिलो बन्यो ?

पेचिलो हुनुको मुख्य कारणचाहिँ निर्वाचनमा आएको परिणाम र सिट संख्या हो। अर्को कारण, अझै पनि दलहरू संवेदनशील भएकोजस्तो देखिँदैन। अब पनि ढिला भयो भने पेचिलो मात्र होइन केही समयपछि हामी झन् अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना हुन्छ। त्यस्तो अवस्था आउन नदिन दलहरू समयमै सजग हुने आवश्यक छ। -INS

प्रतिक्रिया