देशबाट बाहिरिनेभन्दा भित्रिने पैसा बढ्यो
३ पुष, काठमाडौं । कात्तिकमा गत वर्षको सोही अवधिको तुलनामा मूल्यवृद्धि भएको छ । गत वर्ष ४ दशमलव १५ प्रतिशत मूल्यवृद्धि रहेकामा यस वर्ष ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति भने ६.२७ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिकमा खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति १ दशमलव ३३ प्रतिशत रहेकामा अहिले ७ दशमलव ९६ प्रतिशत छ । मुद्रास्फीतिका आधारमा मूल्यवृद्धि आँकलन गर्ने गरिन्छ । गैरखाद्य तथा सेवा भने गत वर्षको तुलनामा सस्तिएको छ । गत वर्ष ६ दशमलव ४१ प्रतिशत रहेकामा यस वर्ष ४ दशमलव ०७ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ । आयात घट्दै गएपछि चालू खाता घाटा अन्तर निकै कम भएको छ । गत वर्ष कात्तिकमा ८८ अर्ब ४३ करोड घाटामा रहेको चालू खाता यसपालि ३७ अर्ब ३० करोड घाटामा खुम्चिएको छ ।
राष्ट्र बैंकका अनुसार देशबाट बाहिरिनेभन्दा भित्रिने पैसा बढेको छ । विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको तथ्यांक राष्ट्र बैंकको छ । रेमिट्यान्स घटे पनि आयातमा आएको कमी र प्रत्यक्ष वैदेशिक लगानीमा भएको सामान्य सुधारका कारण शोधनान्तर बचत भएको राष्ट्र बैंकको ठम्याइ छ । अहिले शोधनान्तर बचत २७ अर्ब २९ करोड पुगेको छ । पोहोर ५७ अर्ब ३३ करोड घाटा थियो । केन्द्रीय बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानी पनि सामान्य बढेको छ । पोहोर ४ अर्ब २४ करोड भित्रिएकामा यसपालि ४ अर्ब ९२ करोड भित्रिएको छ । आयात ६.९ प्रतिशतले घटेको छ ।
चार महिनामा ४ खर्ब ५० अर्ब ३० करोडको वस्तु आयात भएको छ । अन्य मेसिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण र विद्युतीय सामानको आयात बढेको छ । निर्यात २३.९ प्रतिशतले बढेको छ । कुल ३६ अर्ब २८ करोडको वस्तु निर्यात भएको छ । सबैभन्दा बढी निर्यात भएको वस्तुमा एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा र सिमेन्ट छन् । आयात घट्ने र निर्यात बढ्ने हुँदा व्यापार घाटा पनि क्रमशः घट्दै गएको छ । चार महिनामा यस्तो घाटा ८.९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोडमा सीमित भएको छ ।
कच्चा पाम तेलको आयात बढेको छ भने त्यही पाम तेलको निर्यात पनि सबैभन्दा बढी छ । पाम तेलसँगै अलैंची, पोलिस्टर तथा अन्य धागो, जुटका सामान, आयुर्वे्दिक औषधिलगायतको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोसाक, जुस र ऊनी गलैंचाको निर्यात घटेको छ ।
शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३ अर्ब १२ करोड कायम भएको छ । उक्त सञ्चिती ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च २ खर्ब १९ अर्ब १७ करोड र राजस्व परिचालन २ खर्ब ७५ अर्ब २ करोड छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव ४ प्रतिशत र कर्जाको वृद्धिदर १५ दशमलव ६ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार कात्तिकमा काठमाडौं उपत्यकामा ६ दशमलव ५० प्रतिशत, तराईमा ६ दशमलव ४ प्रतिशत, पहाडमा ४ दशमलव ५६ प्रतिशत र हिमालमा ४ दशमलव ०१ प्रतिशत मुद्रास्फीति छ ।
बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५ दशमलव २० प्रतिशत, १ दशमलव २१ प्रतिशत र २ दशमलव २१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३ दशमल १९ प्रतिशतले घटेको छ । कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १० दशमलव ४५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ८.९० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक १३ दशमलव ५६ प्रतिशत र ज्यालादर सूचकांक ९ दशमलव ६१ प्रतिशतले बढेको छ ।
आव २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव ६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४ दशमलव ७ प्रतिशतले कमी आएको छ । आव २०७६÷७७ को चार महिनामा कुल वस्तु आयात ६ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १० दशमलव ९ प्रतिशत र ८ दशमलव ७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२ दशमलव ८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया