शुक्रबार, वैशाख ७, २०८१

‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

नेपालखोज २०७८ जेठ ३ गते ९:१८

वाग्मती प्रदेशको पहाडी जिल्ला नुवाकोट । नुवाकोट जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले माई नगरपालिका ४, इलामका जीवनप्रसाद दुलाल कार्यरत छन् । झन्डै ३३ वर्षको निजामती सेवाको अनुभवसँगै नुवाकोटको प्रशासनिक नेतृत्व दुलालले सम्हालिरहेका छन् । यसअघि उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए । उनी २०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्व सम्हाल्न पुगेका हुन् ।
यदाकदा सरकारी अड्डामा पूर्वाग्रह राखेर काम हुने गरेको उनी स्वीकार्छन् । यद्यपि यसो गर्न नहुने उनी सुझाउँछन् । उनी भन्छन्, ‘पूर्वाग्रह राखेर भन्ने परिपाटीले काम गरेको छ । तर हामीमध्यकै कतिपय कर्मचारीहरूले भनेजस्तो भावनाका पनि यदाकदा देखिने गरेका छन् ।’
उनले सरकारी कर्मचारी पनि कुनै बेला सर्वसाधारण जनता नै हुने भएकाले सेवाग्राहीका कामलाई सर्वोपरि राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामी राष्ट्रसेवकले के कुरा भुल्नु भएन भने हामी पनि जनताको छोराछोरी हौं र भोलि कुनै कालखण्डमा गएर हामी सर्वसाधारण व्यक्ति नै हुने हो । त्यो कुरा त प्रस्ट छ ।’
नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा दुलालसँग गरिएको कुराकानी :


नुवाकोट जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्थाबारे बताइदिनुस् न । कोभिड नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेका कामहरू के–के छन् ?
जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । मानिसको आवागमनमा नियन्त्रण गरिरखेका छौं । अर्कोतर्फ स्थानीय तहबाट जिल्लाभरिमा १५५ बेड क्षमता भएको आइसोलेसन वार्डको व्यवस्थापन गरिएको छ । र वडा तहमा पनि वडाध्यक्षको नेतृत्वमा कार्यदल बनाएर काम गरिरहेका छौं । मानिसको आवागमनमा नियन्त्रण गर्ने र होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई कसरी स्वास्थ्य परामर्श दिई सहजीकरण गर्ने भन्ने विषयमा उहाँहरू पनि लागि पर्नुभएको छ । सिंगो जिल्ला यसतर्फ सचेत र सजग छ ।

सरकारी कर्मचारी जनताका सेवक भनिए पनि मालिकजस्तो व्यवहार रहेको जनगुनासो छ नि ? यसमा तपाईंको धारणा के छ ?
पूर्वाग्रह राखेर भन्ने परिपाटीले काम गरेको छ । तर हामीमध्यकै कतिपय कर्मचारीहरूले भनेजस्तो भावनाका पनि यदाकदा देखिने गरेका छन् ।
मालिक–नोकर भन्ने शब्दहरू त्यति राम्रो मानिँदैन त्यसैले कर्मचारीहरू राष्ट्रका सेवक हुन् । सरकारले दिएको दायित्व हामी कर्मचारीहरूले कुशलतापूर्वक, हाम्रो ज्ञान, सीप, बुद्धि, विवेकले भ्याएसम्म निर्वाह गर्नुपर्छ र राष्ट्रसेवकचाहिँ जनता पनि हो । सेवाग्राहीले यो कुरा बिर्सनु पनि हुँदैन ।

त्यसकारणले हामी राष्ट्रसेवकले के कुरा भुल्नु भएन भने हामी जनताको छोराछोरी हौं र भोलि कुनै कालखण्डमा गएर हामी सर्वसाधारण व्यक्ति नै हुने हो । त्यो कुरा त प्रस्ट छ । त्यसो हुनाले जनसमुदायका तर्फबाट पनि र हामी राष्ट्रसेवक कर्मचारीका तर्फबाट पनि यो कुरालाई अलिकति मनन् गर्न सक्यौं भने यस्तो गुनासोहरू आउँदैनन् जस्तो लाग्छ मलाई ।

जागिरे जीवनमा तपाईसँग आएका सेवाग्राही जो निकै खुसी भएर फर्किएको होस्, जसबाट तपाईंलाई आत्मसन्तुष्टि प्राप्त भएको होस् ?
म निजामती सेवामा संलग्न भएको ३३ वर्ष चलिरहेको छ । त्यस्तो एकमदमै सेवाग्राही खुसी भएको, दुःखी भएको भन्ने ठ्याक्कै अनुभव त सुनाउन सक्दिनँ । समग्रमा म मध्यमखालको मान्छे हुँ । मैले गरेका काम–कारबाहीहरूमा म हालसम्म सन्तुष्ट छु ।
परिपाटी के छ भने कतिपय सेवाग्राहीले सेवा लिँदा कानुनको परिधिभन्दा बाहिर गएर लिन खोज्ने पनि सोच रहेको हुन्छ । हामी कर्मचारीले पनि कहिलेकाहीँ काम गर्दा कानुनी परिधिभन्दा बाहिर जान सक्ने अवस्थाहरू पनि देखिन्छ । तर, मलाई के लाग्छ भने हाम्रोमा धेरै ऐन, कानुन, नियमहरू छन् । ती कुरामा जति पनि समस्याहरू आउँछन् त्यो कानुनी परिधिभित्र रहेर त्यसको समाधान खोजियो भने सबैलाई राम्रो हुन्छजस्तो लाग्छ ।

तपाईंसमक्ष आउने सेवाग्राहीका समस्या समाधानमा आफू कत्तिको सफल भएको ठान्नुहुन्छ ?
कतिपय कुराहरूमा, हाम्रा साथीभाइहरूकै कुरामा पनि मिडियामा एकदम अगाडि ल्याएर सफल प्रशासकका रूपमा आफूलाई प्रस्तुत गरेको पनि देखिन्छ । मलाई त्यस्तो गरिराख्नुपर्छ जस्तो लाग्दैन । म खासमा त्यसमा लाग्दा पनि लाग्दैन ।
तर, के छ भने– जेजति मैले अहिलेसम्म गरेका कामहरूमा सेवाग्राहीलाई नै केन्द्रविन्दुमा राख्छु । उहाँहरूलाई छिटो–छरितो रूपमा सेवा प्रवाह कसरी गर्ने, उहाँहरूका कुराहरूको सुनुवाइ कसरी गर्ने भन्नेमै मेरो पहिलो प्राथमिकता हुन्छ ।
म जति पनि कार्यालयहरूमा बस्छु म त्यहाँबाट हिँडिसकेपछि उहाँका क्रियाकलापहरू सेवामैत्री हुन्छ भन्ने खालका ‘फिडब्याक’ पाएको हुन्छु ।

त्यसकारणले गर्दा सबै काम सयमा सय प्रतिशत नहुन पनि सक्छ । कुनै पनि कानुनले निषेध गरेका कामहरू गर्न सक्ने कुरा पनि हुन्न । कसैको त्यस्तो इच्छा आकांक्षा पनि हुन्छ । तर हामीले वास्तविकता के हो, के कारणले उहाँहरूको काम हुन सकेन भन्ने, काम पूरा हुन नसकेका सेवाग्राहीहरूसँग अन्तक्र्रिया गरेर उहाँहरूलाई चित्त बुझाएर पठाउनुपर्ने पनि हाम्रो कर्तव्य हो । त्यसकारणले गर्दा मेरो विचारमा सधैं म अरूभन्दा पनि कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भन्ने मेरो मानसिकता हो ।

समग्रमा नुवाकोट जिल्लाको शान्ति–सुरक्षाको अहिलेको अवस्था कस्तो छ ?
शान्ति सुरक्षाको पछिल्लो अवस्था सामान्य नै छ । हामीले सुरक्षामा उपलब्ध जति पनि जनशक्तिहरू हुनुहुन्छ । सबैजनाले ‘डे टू डे’ शान्ति–सुरक्षा कायम गर्ने, कोभिड नियन्त्रणमा पनि क्रियाशील रहने, विपत् व्यवस्थापनमा हामीले सपोर्ट गर्नुपर्नेलगायत कामहरू भइरहेका छन् । अहिलेसम्मको हाम्रो नुवाकोट जिल्लाको शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका प्रजिअ दीपकराज नेपालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालसँग कुराकानी गरेका हौं । अब आगामी सोमबार अर्थात् २०७८ जेठ १० गते प्रदेश नम्बर २ को सिरहा जिल्लाका प्रजिअ प्रदीपराज कणेलसँगको कुराकानी प्रस्तुत गर्नेछौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

यसअघिका प्रजिअसँग शम्भु पढ्न र सुन्न छुटाउनु भए हेर्नुहोस् :

सिद्धराज जोशी, प्रजिअ, दार्चुला‘जति काम गरें इमानदारपूर्वक गरें’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि १’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रतिक्रिया