मंगलबार, वैशाख ११, २०८१

‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

नेपालखोज २०७८ कार्तिक १५ गते ९:४७

सरुवालाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने हुन्छ । सरकारले जहाँ खटायो हामीले त्यहाँ काम गर्ने हो । तथापि चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा असर भने गर्छ ।

प्रदेश २ को पर्सा जिल्लाको प्रशासनिक नेतृत्व अहिले धनुषाका उमेशकुमार ढकालको काँधमा छ । भरखरै मात्र अर्थात् २०७८ कात्तिक ५ गतेदेखि पर्साको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढकाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ ढकाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा २८ वर्ष बिताइसकेका छन् । पर्साका प्रजिअ ढकालले यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्व सम्हालेका थिए । पुर्ख्यौली घर धनुषा रहे पनि अहिले उनी काठमाडौंको धुम्बाराहीमा स्थायी बसोबास गर्दै आएका छन् ।
निजामती सेवामै रहेर जनताको सेवा गर्न सकिन्छ भन्ने महसुस भएर आफू यतातर्फ लागेको उनी बताउँछन् । उनले अहिलेको पुस्तामा पनि लोकसेवाप्रतिको आकर्षण उत्तिकै रहेको बताउँछन् । ‘सहरमा एक किसिमको वातावरण छ भने गाउँ-घर, पहाड अथवा दुर्गम ठाउँका विद्यार्थीको आकर्षण अझै निजामती सेवामै छ । सहर बजार र काठमाडौं केन्द्रित कलेजहरुमा पढ्ने विद्यार्थीमा आकर्षण कम भएको हुन सक्छ । दुर्गम ठाउँका होनाहार विद्यार्थीमा आकर्षण बढी छ,’ प्रजिअ ढकालले नेपालखोजसँग भने, ‘पहिलाको तुलनामा आकर्षण कम भएको हो भन्ने सुनिन्छ । लोकसेवाको परीक्षा दिनेहरुको संख्या हेर्ने हो भने आकर्षण कम भने छैन ।’
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो २९औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीको समस्या समाधानमा प्रमुख जिल्ला अधिकारीले सफलता हासिल गरेकै हुन्छ । जनताको समस्या सुन्ने पहिलो काम हो प्रमुख जिल्ला अधिकारीको ।
-नमिल्ने कुरा मिल्दैन भन्न मलाई अप्ठ्यारो लाग्दैन । कानुन, प्रक्रिया र संविधानले मिल्ने कुरा जनप्रतिनिधिले भनेको, जनताको समस्या हो गर्नुपर्छ भनेर गर्छु । नमिल्ने कुरालाई यो कुराले मिल्दैन भनेर भन्छु ।
-म सीए (चार्टर्ड एकाउन्ट) पढ्न जान लागेको थिएँ । त्यसैबेला लोकसेवा आयोगमा भ्याकेन्सी खुल्यो, जाँच दिएँ । पहिलोपटकमै सफलता मिल्यो । अनि यतै आकर्षित भएँ ।
-लोकसेवाको विषयमा पाठ्यक्रमले पनि फरक पार्दो रहेछ । अहिले पाठ्यक्रम फरक-फरक किसिमको छ होला, त्यसबेला फरक थियो ।
-सहरमा एक किसिमको वातावरण छ भने गाउँ-घर, पहाड अथवा दुर्गम ठाउँका विद्यार्थीको आकर्षण अझै निजामती सेवामै छ । सहर बजार र काठमाडौं केन्द्रित कलेजहरुमा पढ्ने विद्यार्थीमा आकर्षण कम भएको हुन सक्छ । दुर्गम ठाउँका होनाहार विद्यार्थीमा आकर्षण बढी छ ।
-चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा असर त पारेको हुन्छ । सरकारले जहाँ खटायो हामीले त्यहाँ काम गर्ने हो ।
-यसैमा अझै पनि योगदान गर्न सक्छौं भनेर हामी काम गरिरहेको हुनाले आफूमा दृढ विश्वास छ । आफूले गरेको काममा सफलता प्राप्त हुन्छ । हामीले गरेका कामहरु सफल हुनुपर्छ हाम्रो प्रतिबद्धता जनताको सेवाप्रति हुनुपर्छ भन्ने सोच राख्ने नै हो ।
-प्रशासनिक संयन्त्रलाई चुस्त बनाएर लगियो भने हामी अवश्य सफल हुन्छौं । यस किसिमका विकृति-विसंगतिलाई निर्मूल बनाउन सकिन्छ भनेर काम गर्ने हो । हाम्रो मुख्य प्रशासनिक रणनीति र सु-शासनको रणनीति लिएर काम गर्नुपर्छ । अनि सफलता हात पर्छ ।


सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीको समस्या समाधानमा प्रमुख जिल्ला अधिकारीले सफलता हासिल गरेकै हुन्छ । जनताको समस्या सुन्ने पहिलो काम हो प्रमुख जिल्ला अधिकारीको । कानुनी रुपमा अहिले प्रमुख जिल्ला अधिकारीलाई सानो बनाए पनि जनता अझै प्रमुख जिल्ला अधिकारीको आशमा छन् । हामीले उनीहरुको समस्या प्राथामिकताका साथ सुन्नुपर्छ । सुनेका पनि छौं ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाबभन्दा पनि दुई किसिमका कुरा हुन्छन् । जनताको प्रतिनिधि भनेको जनप्रतिनिधि हुन् । कोही राजनीति दलको प्रमुख, केही मेयर, मन्त्री, सांसदका रुपमा हुनुहुन्छ । जनताको कुरा उहाँहरुले हामीलाई भनिरहनुभएको छ भनेर हामीले लिन्छौं । कानुनअनुसार मिल्छ भने हामीले उहाँहरुको कुरा सम्बोधन गर्छौं । नमिल्ने कुरामा उहाँहरुलाई भन्नुपर्ने हुन्छ । नमिल्ने कुरा मिल्दैन भन्न मलाई अप्ठ्यारो लाग्दैन । कानुन, प्रक्रिया र संविधानले मिल्ने कुरा जनप्रतिनिधिले भनेको, जनताको समस्या हो गर्नुपर्छ भनेर गर्छु । नमिल्ने कुरालाई यो कुराले मिल्दैन भनेर भन्छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म व्यवस्थापनको विद्यार्थी भएकाले अकाउन्टमा राम्रो थियो । म सीए (चार्टर्ड एकाउन्ट) पढ्न जान लागेको थिएँ । जान लाग्दा (त्यसैबेला) लोकसेवा आयोगमा भ्याकेन्सी खुल्यो, जाँच दिएँ । पहिलोपटकमै सफलता मिल्यो । अनि यतै आकर्षित भएँ । त्यसबेला लोकसेवा पास गरेर नेपाल सरकारको अधिकृतमा सेवा प्रवेश गर्नु भनेको गौरवको विषय हुन्थ्यो । आफ्नो सफलता र ल्याकत प्रमाणित गर्ने कुरा हो र जनतालाई सेवा गर्ने अवसर भनेर लिन्थ्यौं । अहिले फरक किसिमले लिइन्छ होला ।

निजामती सेवा प्रवेशका लागि कसरी पढ्ने ?
लोकसेवाको विषयमा पाठ्यक्रमले पनि फरक पार्दो रहेछ । अहिले पाठ्यक्रम फरक-फरक किसिमको छ होला, त्यसबेला फरक थियो । हामी त्यसबेला बढी सामान्य ज्ञान (जनरल नलेज) प्रति ध्यान दिन्थ्यौं । पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, करेन्ट अफेयर्सहरु अध्ययन गर्ने, व्यवस्थापनका सबै पक्षबारे जानकार रहने भन्नेमा ध्यान राख्थ्यौं । मुख्य कुरा त अध्ययन र लगनशीलता नै हो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
यसलाई दुई पक्षबाट हेर्न सकिन्छ । सहरमा एक किसिमको वातावरण छ भने गाउँ-घर, पहाड अथवा दुर्गम ठाउँका विद्यार्थीको आकर्षण अझै निजामती सेवामै छ । सहर बजार र काठमाडौं केन्द्रित कलेजहरुमा पढ्ने विद्यार्थीमा आकर्षण कम भएको हुन सक्छ । दुर्गम ठाउँका होनाहार विद्यार्थीमा आकर्षण बढी छ । पहिलाको तुलनामा आकर्षण कम भएको हो भन्ने सुनिन्छ । लोकसेवाको परीक्षा दिनेहरुको संख्या हेर्ने हो भने आकर्षण कम भने छैन ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा असर त पारेको हुन्छ । २७-२८ वर्षको मेरो अनुभवमा मैले विभिन्न ठाउँमा काम गरेँ । कहिले १ वर्ष, ६ महिना, १ महिनामा पनि सरुवा भयो होला । सरुवालाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने हुन्छ । सरकारले जहाँ खटायो हामीले त्यहाँ काम गर्ने हो । सरकारले जहाँ खटायो त्यहाँ इमानदारीपूर्वक काम गर्ने भएकाले यसको असरचाहिँ छैन मलाई । तथापि चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा असर भने गर्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी यसैमा लाग्यौं । यसैमा काम गर्दै छौं । यसैमा अझै पनि योगदान गर्न सक्छौं भनेर हामी काम गरिरहेको हुनाले आफूमा दृढ विश्वास छ । आफूले गरेको काममा सफलता प्राप्त हुन्छ । हामीले गरेका कामहरु सफल हुनुपर्छ हाम्रो प्रतिबद्धता जनताको सेवाप्रति हुनुपर्छ भन्ने सोच राख्ने नै हो । तसर्थ आफ्नो पेसाप्रति सन्तुष्ट छु ।

पर्साको शान्ति-सुरक्षाको अवस्था चुस्त बनाउन कस्तो तयारी गर्नुभएको छ ?
म हिमाल, पहाड, तराई सबै ठाउँ बसिसकेको छु । म अधिकृत, सहायक सीडीओदेखि काम गर्दै आएको मान्छे । सुरक्षा निकायमा ध्यान दिनुपर्ने हुन्छ । यससँग समन्वयको आवश्यक पर्छ । जनताप्रति कटिबद्धताको आवश्यकता पर्छ । प्रशासनिक संयन्त्रलाई चुस्त बनाएर लगियो भने हामी अवश्य सफल हुन्छौं । यस किसिमका विकृति-विसंगतिलाई निर्मूल बनाउन सकिन्छ भनेर काम गर्ने हो । हाम्रो मुख्य प्रशासनिक रणनीति र सु-शासनको रणनीति लिएर काम गर्नुपर्छ । अनि सफलता हात पर्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
यहाँलाई धन्यवाद छ । यहाँले राम्रो विषयवस्तुलाई खोज गर्नुभएको छ । तपाईंले गरेको अध्ययनबाट प्रशासनिक संयन्त्रमा केही नयाँ कुरा आओस्, शुभकामना ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश १ को सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश २ को पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया