बिहीबार, चैत १५, २०८०

‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

नेपालखोज २०७८ कार्तिक २२ गते ९:५५

‘लोकसेवाले आफ्नो धर्म र अस्तित्व बचाएको छ’

वाग्मती प्रदेशको दोलखा जिल्लाको प्रशासनिक नेतृत्व अहिले खाँदबारी ३, संखुवासभाका टेकराज निरौलाको काँधमा छ । भरखरै मात्र अर्थात् २०७८ असोज ७ गतेदेखि दोलखाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) निरौला कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ निरौलालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा ३८ वर्ष बिताइसकेका छन् । दोलखाका प्रजिअ निरौला यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
सेवाग्राहीका समस्या राम्रोसँग सुनिदिए मात्र ५० प्रतिशत समस्या समाधान हुने उनको अनुभव छ । ‘सेवाग्राहीहरू विभिन्न धर्म, वर्ग विभिन्न ठाउँबाट आउनुहुन्छ । उहाँहरू सबैले हाम्रो सरकारी कामकाजको भाषा राम्रोसँग बोल्न सक्नु पनि हुँदैन । जे भए पनि उहाँहरूको समस्या राम्रोसँग सुनिदियो भने, उहाँहरूले भन्न चाहेको कुरा व्यक्त मात्र गर्न पाउनुभयो भने ५० प्रतिशत समस्याको समाधान हुन्छ,’ प्रजिअ निरौलाले नेपालखोजसँग भने, ‘बाँकी कुरा त नियम कानुनअनुसार के-के कागजपत्र पुगेका छन्/छैनन् त्यो कुरा प्रस्टसँग यो-यो कारणले भएन भनिदियो भने सन्तुष्ट र ज्ञानी सेवाग्राहीले अवश्य पनि बुझ्नुहुन्छ ।’
दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३०औं शृंखला :

हाइलाइट्स :
-जे भए पनि सेवाग्राहीका समस्या राम्रोसँग सुनिदियो भने, उहाँहरूले भन्न चाहेको कुरा व्यक्त मात्र गर्न पाउनुभयो भने ५० प्रतिशत समस्याको समाधान हुन्छ ।
-म जहाँ रहेको हुन्छु त्यहाँ सेवाग्राहीलाई मसम्मको सहज पहुँच दिने गरेको छु । कानुनले मिल्ने कुरा काम गरिदिनुस् भनेर आदेश दिएर अथवा तोक लगाएर काम गरेर पठाएको पनि छु ।
-केन्द्रीय शासन-सत्ता जसको हातमा जान्छ, जुन पार्टीको हुन्छ त्यसपछि हाम्रो पालो भन्ने चलन छ । हाम्रो पालामा त यति हुनुपर्‍यो नि भन्ने कुरा आउँछ यसले अलि समस्या ल्याउँछ ।
-त्यतिबेला पेसा व्यवसाय रोज्ने क्रममा सस्तो र सजिलो पेसा-व्यवसाय रोजेको हो मैले निजामती सेवा ।
-जागिर खाने मान्छेले सबैभन्दा बढी रुचाएको क्षेत्र निजामती सेवा नै यही हो । योतर्फ युवा पुस्ता पनि पर्याप्त आकर्षित छन् ।
-चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा सकारात्मक नतिजा दिँदैन ।
-लोकसेवाले आफ्नो धर्म र अस्तित्व बचाएको छ भन्ने मैले ठान्छु । म सामान्य गाउँमा जन्मेको मान्छे प्रथम श्रेणीको अधिकृतसम्म भएको छु । यसलाई मैले सन्तुष्टिका रुपमा लिएको छु ।
-सरकारले अहिले जुन नीति कानुन बनाएको छ यही सुदृढ बनाउने हो । यसैलाई क्रियाशील बनाउने हो ।
-मलाई राज्यले दोलखाको जनतालाई सेवा दिन पठाएको हो । म दोलखाली जनताको सेवामा सदैव अग्रसर छु ।


सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मैलै नेपालको विभिन्न जिल्लामा काम गरेँ । विभिन्न पदमा काम गरेँ । हाम्रो निजामती सेवा र यसभित्र काम गर्ने व्यक्तिहरूसँग आमजनताको गुनासो के हो भनेर उहाँहरूको गुनासो सही ढंगले कसैले सुनिदिँदैन । सेवाग्राहीहरू विभिन्न धर्म, वर्ग विभिन्न ठाउँबाट आउनुहुन्छ । उहाँहरू सबैले हाम्रो सरकारी कामकाजको भाषा राम्रोसँग बोल्न सक्नु पनि हुँदैन । जे भए पनि उहाँहरूको समस्या राम्रोसँग सुनिदियो भने, उहाँहरूले भन्न चाहेको कुरा व्यक्त मात्र गर्न पाउनुभयो भने ५० प्रतिशत समस्याको समाधान हुन्छ । बाँकी कुरा त नियम कानुनअनुसार के-के कागजपत्र पुगेका छन्/छैनन् त्यो कुरा प्रस्टसँग यो-यो कारणले भएन भनिदियो भने सन्तुष्ट र ज्ञानी सेवाग्राहीले अवश्य पनि बुझ्नुहुन्छ । यो मेरो अनुभव छ ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको स्मरणीय घटना छ कि ?
त्यस्तो धेरै छ । अहिले भनेर पनि सम्भव छैन । सामान्यत: कार्यालय प्रमुखसँग सेवाग्राहीको पहुँच हुँदैन । उनीहरू तलतलै घुमिरेहका हुन्छन् । कतिपय कर्मचारीले आफ्नो ज्ञान-क्षमताले भ्याएसम्म भन्छन् उहाँहरूले समग्रमा त्यो कुरा नबुझेको पनि हुन सक्छ । त्यो अवस्थामा तल-तलै घुमेर काम भएन भन्नुपर्ने अवस्था हुन्छ । मैले यसको समाधानका लागि म जहाँ रहेको हुन्छु त्यहाँ सेवाग्राहीलाई मसम्मको सहज पहुँच दिने गरेको छु । कानुनले मिल्ने कुरा काम गरिदिनुस् भनेर आदेश दिएर अथवा तोक लगाएर काम गरेर पठाएको पनि छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
हाम्रा कतिपय कानुन कस्ता भने अलिकति चुनौती लिएर परिआएको व्यहोर्छु भनेर आँट गर्‍यो भने काम गरिदिन सक्ने खालको पनि हुन्छ । भोलि छानबिनका क्रममा गैरकानुनी ठहरिन पनि सक्छ । कानुनी अस्पष्टता छ । यस्ता ठाउँहरूमा जबरजस्ती आफ्नो वा आफ्ना मान्छेको पक्षमा यसरी यो कानुनको व्याख्या गरिदेऊ भनेर दबाब आउँछ । अर्को केन्द्रीय शासन सत्ता जसको हातमा जान्छ, जुन पार्टीको हुन्छ त्यसपछि हाम्रो पालो भन्ने चलन छ । हाम्रो पालामा त यति हुनुपर्‍यो नि भन्ने कुरा आउँछ यसले अलि समस्या ल्याउँछ । यसरी आएका काम कानुन, नियम विधि सम्मत हुँदैनन् । हाम्रो पार्टीको पालो आयो, हाम्रो आयो भन्छन् जनताको पालो आउँदैन त्योचाहिँ अलि समस्या छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मैले कुन पेसा राम्रो, कुन नराम्रो भनेर विभिन्न विकल्पबाट निजामती सेवा उत्तम विकल्प हो भनेर छानेको हुँ । हामी गाउँघमा हुर्केको मान्छेलाई एसएससी गरेपछि उच्च शिक्षा लिने, केही पेसा-व्यवसाय गर्ने दबाब त स्वभाविक नै हुन्छ । यहीक्रममा मेरो चिनजानका दाइहरू निजामती सेवामा हुनुहुन्थ्यो । पढ्न सक्ने मान्छेले लोकसेवा दिनुपर्छ, जागिर खानुपर्छ भन्ने सल्लाह भयो । पढाइको तयारी गरेर जाँच दिइयो लोकसेवामा पास भइयो । त्यतिबेला पेसा व्यवसाय रोज्ने क्रममा सस्तो र सजिलो पेसा व्यवसाय रोजेको हो मैले निजामती सेवा ।

लोकसेवा प्रवेशका लागि पढ्ने सन्दर्भ सामग्रीहरू कसरी जुटाउनुभयो ?
म एसएलसी सकेपछि ओखलढुंगाबाट काठमाडौं पढ्न आएँ । काठमाडौंमै लोकसेवा खुल्यो । यही सोधखोज गरियो किताब खोजियो । मेरो मामाको छोरा हुनुहुन्थ्यो उहाँ पनि लोकसेवामा काम गर्नुहुन्थ्यो । उहाँसँग सल्लाह गरियो । उहाँको सल्लाहअनुसार सामग्री संकलन गरेर पढियो । अनि सफल पनि भइयो ।

निजामतीतर्फ अहिलेको पुस्ता कत्तिको आकर्षित भएको मान्नुहुन्छ ?
यसबारे मैले कुनै अध्ययनको नतिजा पाएको अवस्थाचाहिँ छैन । मेरो अनुमानमा नोकरी गर्नेका लागि निजामती सेवा आकर्षणको प्रमुख थलो हो । जागिर खाने मान्छेले सबैभन्दा बढी रुचाएको क्षेत्र नै यही हो । योतर्फ युवा पुस्ता पनि पर्याप्त आकर्षित छन् । युवापुस्ताको अपेक्षाअनुसार उपलब्धिचाहिँ निजामती सेवाबाट हुँदैन । यो कुरामा अलिकति तालमेल मिलेको छैन । हामी र सरकारले अपेक्षा राखेको सर्वोत्कृष्ट क्षमता भएको व्यक्ति यस क्षेत्रमा आएको छैन । आवश्यकता भने छ ।

निजामती सेवामा प्रवेशका लागि सफलता पाउन कसरी पढ्नुपर्छ ?
पढाइ अलिकति फराकिलो बनाउनुपर्छ । ज्ञानको क्षितिज अलिकति फराकिलो हुनुपर्‍यो । सबैभन्दा मुख्य निरन्तरता हुनुपर्‍यो । एसएससी गरेको मान्छेले लोकसेवा लड्न चाहनुहुन्छ भने उहाँले निरन्तर तयारी गर्नुपर्‍यो । दैनिक कति घण्टा पढ्न सक्नहुन्छ लोकसेवाका लागि त्यति समय छुट्याएर आफ्नो दैनिकीभित्र पार्नु पर्‍यो पहिला । दोस्रो कुनै कुरालाई रट्नेभन्दा पनि समीक्षात्मक ढंगले हेर्ने । सरकारी सेवा प्रवाह अथवा जनजीवनमा यसको कस्तो सम्बन्ध छ भनेर व्यवहारिक रुपमा हेर्ने । यसरी तयार गरियो भने लोकसेवा पास गर्न त्यति जटिल छैन ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
चाँडो-चाँडो सरुवाले कार्यसम्पादनमा सकारात्मक नतिजा दिँदैन । यही कुरा मनन गरेर निजामती सेवा ऐनमा कुनै ठाउँमा पदस्थापन गरेपछि दुई वर्ष उसको न्यूनतम कार्यकाल हुने भन्ने व्यवस्था गरेको छ । जस्तै- म अहिले जिल्ला प्रशासन कार्यालय दोलखामा आएको छु । यहाँ मभन्दा पहिलाको धेरै सीडीओहरूको अवधि एक वर्ष पुगेको छैन । यसले काम हुन्छ राम्ररी हुन सक्दैन । दुई महिनाभन्दा अगाडि जिल्लाको स्थिति नै बुझ्न सकिँदैन । दुई-तीन महिना काम गरेपछि सरुवा हुने बेला भइहाल्छ । अर्को कुन जिल्लामा जाने के गर्ने ? घर-व्यवहार त उसले हेर्छ नै । घर-व्यवहार पनि नबिग्रर्ने, सेवा गर्न पनि पाइने ठाउँ आदि इत्यादि खोज्ला । मतलब दोस्रो ठाउँको सरुवा मिलाउन लागिहाल्नुपर्‍यो । भनेपछि उसले कतिबेला काम गर्ने ?

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण सन्तुष्ट छु । म एउटा दूरदराजबाट आएको मान्छे । सोर्सफोर्स नभएर केही हुन्न भन्ने कुरा मैले जागिर खाने समयमा पनि थियो अहिले पनि छ । लोकसेवाले आफ्नो धर्म र अस्तित्व बचाएको छ भन्ने मैले ठान्छु । म सामान्य गाउँमा जन्मेको मान्छे प्रथम श्रेणीको अधिकृतसम्म भएको छु । यसलाई मैले सन्तुष्टिका रुपमा लिएको छु ।

दोलखाको शान्ति-सुरक्षाको अवस्था मजबुत बनाउन कस्तो योजना बनाउनुभएको छ ?
यसका लागि छुट्टै विशेष योजना अहिले आवश्यक छैन । चाडपर्व अथवा विशेष केही घटना आयो भने भइरहेको व्यवस्थामा थप केही गर्नुपर्छ । त्यो अवस्थाको विश्लेषण गरेर गर्ने कुरा हो । सरकारले अहिले जुन नीति कानुन बनाएको छ यही सुदृढ बनाउने हो । यसैलाई क्रियाशील बनाउने हो ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मैलै भन्नैपर्ने विशेष त केही छैन । म दोलखामा अहिले कार्यरत छु । म दोलखाका बासिन्दालाई के भन्न चाहन्छु भने आमनागरिकको कार्यालय प्रमुखसँग पहुँच हुँदैन । मेरो अफिस र व्यक्तिगत नम्बरमा समेत यहाँहरू जसलाई जे मर्का परेको छ मलाई फोनमै सम्पर्क गर्नसक्नु हुनेछ । पद, जिम्मेवार र अधिकारको हिसाबले यहाँहरूलाई जे सहयोग गर्नुपर्‍यो म गर्नेछु । मलाई राज्यले दोलखाको जनतालाई सेवा दिन पठाएको हो । म दोलखाली जनताको सेवामा सदैव अग्रसर छु । मलाई आफ्ना भनाइहरु राख्न अवसर दिनुभएकामा नेपालखोजलाई पनि धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश २ को पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया