मंगलबार, वैशाख १८, २०८१

सामाजिक सञ्जाल प्रयोग नगर्ने आमिर खानको घोषणा

नेपालखोज २०७७ चैत ३ गते १४:४१

एजेन्सी । बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनले यो घोषणा गत सोमबार गरेका हुन् । उनले फेसबुक, ट्विटर र इन्स्टाग्रामबाट बिदा लिएको घोषणा गरेका हुन् । उनले आफ्नो कम्पनीको ट्विटर हेण्डलका माध्यमबाटबाट मात्र सम्पर्कमा रहने उल्लेख गरेका छन् । आमिरले गत मार्च १४ मा आफ्नो ५६ औं जन्मदिन मनाए । १४ मार्चमा आमिरले ट्विटरमा शुभकामना दिने कैयौंलाई उत्तर फर्काए ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार यसमा सचिन तेन्दुलकर, एली एव्राम, गीतो फोगाट, गुलशन ग्रोवर, दलेर मेहन्दी, सोनाली कुलकर्णी, युवराज सिंह, दिव्या दत्तालगायतका सेलिब्रेटी छन् । उनीहरुलाई उत्तर फर्काएपछि आमिरले सामाजिक सञ्जालबाट विदा लिने घोषणा गरेका हुन् ।

‘साथीहरु, मेरो जन्मदिनमा यति धेरै माया र आफ्नोपन देखाएकोमा धेरै धन्यवाद । यो शुभेच्छाले मेरो हृदय भरिएको छ । अर्को कुरा गर्दा यो सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हो’, आमिरले लेखेका छन् । आमिरले आमिर खान प्रोडक्सनमार्फत आफूसँग सम्बन्धित विषयबस्तुबारे जानकारी दिने उल्लेख गरेका छन् ।

यो सूचना जारी गरेपछि उनले आफ्ना तीन सामाजिक सञ्जालका खाता बन्द गरेका छन् । ट्विटरमा आमिर खान भनेर खोज्दा ‘यो एकाउण्ट उपलब्ध छैन’ भन्ने सन्देश आउछ । सामाजिक सञ्जालमा आमिरको फलोअर्स ४ करोड बढी छ । जसमा ट्विटरमा फलोअर संख्या २ करोड ६७ लाख ७६ हजार २ सय ९९ छन् । इन्स्टाग्राममा ३६ लाख बढी फलोअर छन् । फेसबुकमा आमिरको १८ मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया