मंगलबार, वैशाख ११, २०८१

‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

नेपालखोज २०७८ कार्तिक २९ गते ९:५५

गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रशासनिक नेतृत्व अहिले पाल्पाकी मनमाया भट्टराई पंगेनीको काँधमा छ । उसो त उनको जन्म नवलपरासीकै अरुणखोलामा भएको हो । २०७७ भदौ २२ गतेदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रशासनिक नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भट्टराई कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ भट्टराईलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा १६ वर्ष बिताइसकेकी छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रजिअ भट्टराई यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिइन् ।
कर्मचारीहरु अवकास नहुँदासम्म मात्र हुने उनको पनि बुझाइ छ । उनी कर्मचारीभन्दा पनि पहिला आफू नागरिक रहेको बताउँछिन् । कर्मचारीहरुले नागरिककै रुपमा सोचेर कार्यसम्पादन गरे सेवाप्रवाह चुस्त हुने उनको बुझाइ छ । ‘हामी कर्मचारी भनेको अवकाश नहुँदासम्म हो । तर, हामी नागरिक पहिला हो,’ उनले नेपालखोजसँगको कुराकानीमा भनिन्, ‘हामीले आफूलाई नागरिकका ठाउँमा राखेर हेर्‍यौं भने जति अप्ठ्यारो ठाउँमा पनि सेवाप्रवाह गर्न सकिन्छ । सेवाबाट सेवाग्राहीलाई सन्तुष्ट गर्न सकिन्छ ।’
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३१औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीको सबै कुरा हेरेर आएका समस्या समाधान गर्न सकिन्छ ।
-दबाब, प्रभाव भनेको सुरुसुरुमा टेस्ट गर्नका लागि आउने रहेछ । आफूचाहिँ आफ्नो पहिचान बनाएर गर्नै पर्ने मान्छेको काम जसरी पनि आफू लागेरै गर्ने हो । गर्नै नमिल्ने काम कुनै हालतमा हुँदैन र गर्न मिल्ने काममा सोर्स लगाउनु पर्दैन भन्ने पहिचान आफूले बनाइसकेपछि अहिले दबाबचाहिँ आउँदैन ।
-म पहिले सेवाग्राहीको मासमा पुग्छु । सबैलाई सोध्छु भित्र जान्छु । नेट छ, छैन कर्मचारीको मोटिभेसन के छ ?, उनीहरुको फेसियल एक्सप्रेसन के छ ?, बिरामी सञ्चो-बिसञ्चो सबै सोध्छु ।
-अपांगता भएका व्यक्तिहरुलाई उहाँहरुकै स्थानमा पुगेर मेरो टिम लगेर नागरिकता वितरण गरेको छु । उहाँहरुले धेरै माया गर्नुहुन्छ त्यो माया मलाई आशीर्वाद लाग्छ ।
-म निजामती क्षेत्रमा लाग्नुको प्रेरणा मेरो आमा हो । अर्को मेरो समाज हो । आमाले हामीजस्तै समाजका लागि केही गर्न तिमी सरकारी सेवामा जानुपर्छ भनेकाले यसतर्फ लागियो ।
-सुरुमा प्रवेश गर्नका लागि मिहिनेत गर्नैपर्छ । सामान्य पृष्ठभूमिमा जन्मेकाको एउटै सहारा लोकसेवा नै हो ।
-मेरो अनुभवमा दुई वर्ष पनि काम गर्नेका लागि कम अवधि हो । माथिल्लो लेबलको सरुवा छिटोछिटो हुने हुँदा काम गर्नै पाइँदैन ।
-कहिलेकाहीँ काम गर्ने अवसर नपाउँदा दिक्क लाग्नु स्वाभाविक नै हो । मैले जहाँ काम गरेको छु, केही न केही नयाँपन दिन सकेको छु ।
-हामी कर्मचारी भनेको अवकाश नहुँदासम्म हो । तर, हामी नागरिक पहिला हो ।
-हामीले आफूलाई नागरिकका ठाउँमा राखेर हेर्‍यौं भने जति अप्ठ्यारो ठाउँमा पनि सेवाप्रवाह गर्न सकिन्छ । सेवाबाट सेवाग्राहीलाई सन्तुष्ट गर्न सकिन्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीहरु आउनुहुन्छ उहाँहरुको कुरा सुन्ने र उहाँहरुको समस्या समाधान गर्न सकिन्छ । कति सेवाग्राहीले आफ्नो समस्या भनिदिन सक्नुहुन्न । कतिपय कुरा थाहा पाउनुहुन्न । उहाँहरुलाई कानुनको कुरा पनि थाहा हुँदैन । के कारणले काम हुन्छ के कारणले हुन्न भन्ने पनि थाहा पाउनुहुन्न । त्यसकारण उहाँको पूरा कुरा सुनेर, सबै कुरा हेरेर समस्या समाधान गर्न सकिन्छ । सोहीअनुसार काम गरिरहेको छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाब प्रभाव भनेको सुरुसुरुमा टेस्ट गर्नका लागि आउने रहेछ । आफूचाहिँ आफ्नो पहिचान बनाएर गर्नै पर्ने मान्छेको काम जसरी पनि आफू लागेरै गर्ने हो । गर्नै नमिल्ने काम कुनै हालतमा हुँदैन र गर्न मिल्ने काममा सोर्स लगाउनु पर्दैन भन्ने पहिचान आफूले बनाइसकेपछि अहिले दबाबचाहिँ आउँदैन । अनुरोध आउँछ कहिलेकाहीँ । यस्तो काम गरिदिनुहोस् भन्नुहुन्छ कानुनी रुपमा हेर्छु मिल्ने रहेछ भने गर्छु भन्छु । नमिल्ने काम तपाईंको यो कारणले मिलेन भन्छु ।

सेवाग्राहीको समस्या कसरी पहिचान गर्नुहुन्छ ?
म पहिले सेवाग्राहीको मासमा पुग्छु । सबैलाई सोध्छु भित्र जान्छु । नेट छ, छैन कर्मचारीको मोटिभेसन के छ ?, उनीहरुको फेसियल एक्सप्रेसन के छ ?, बिरामी सञ्चो-बिसञ्चो सबै सोध्छु । कतिपय सेवाग्राहीहरु टाढाबाट आएका तर कागज नपुगेको अवस्था हुन्छ । फोटो खिचेर मिल्ने गर्न सकिने काम म आफैँ लागेर गरिदिन्छु । सकेसम्म हामी सेवाग्राहीलाई फर्काउँदैनौं ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ ?
थुप्रै छन् यस्ता घटना । लगभग सयवटा त नागरिकताको नै होला । चेलीलाई ढोग्छु नै भनेर प्रतिक्रिया दिनुहुन्छ । हर्षको आसुँ, ८२ वर्षको आमाले नागरिकता प्राप्त गर्नुभएको छ । गोठाला दाइले नागरिकता पाउनुभएको छ । भरियाले नागरिकता पाउनुभएको छ, म आफैँ लागेर प्रदान गरेको छु । थुप्रै हिंसापीडित महिला तथा उनका छोराछोरी, अपांगता भएका व्यक्तिहरुलाई उहाँहरुकै स्थानमा पुगेर मेरो टिम लगेर नागरिकता वितरण गरेको छु । उहाँहरुले धेरै माया गर्नुहुन्छ त्यो माया मलाई आशीर्वाद लाग्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म यस क्षेत्रमा लाग्नुको प्रेरणा मेरो आमा हो । अर्को मेरो समाज हो । म सानो हुँदा महिललाई हेर्ने दृष्टिकोण अर्कै, हिंसा पनि हुने ठाउँ देखेको र मेरो आमाले पनि पढ्न चाहँदा-चाहँदै विवाह भएको उहाँले धेरै संघर्ष गर्नुपर्‍यो । हामीलाई पढाउन पनि ऋण खोज्नुपर्ने वातावरण बन्यो । म सामान्य परिवारमा जन्मिएको, जाडोमा न्यानो र खुट्टामा जुत्ता लाउन नपाउने अवस्था थियो । आमाले हामीजस्तै समाजका लागि केही गर्न तिमी सरकारी सेवामा जानुपर्छ भनेकाले यसतर्फ लागियो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
यो बीचमा अलिकति आकर्षण कम भएको देखिन्छ । सरकार र जनताप्रतिको ग्याप, कर्मचारीले सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने, सेवा ढिलो पाइने, स्पष्टसँग नबोलिदिने जस्ता कारणले नयाँ पुस्ता विदेशतिर गइरहेको अवस्था छ । महिलाहरुचाहिँ सरकारी सेवामा एकदमै आकर्षित भएको देखिन्छ तर पनि भनेजति आकर्षण देखिँदैन ।

निजामती सेवामा आउनका लागि कसरी पढ्ने ?
सुरुमा प्रवेश गर्नका लागि मिहिनेत गर्नैपर्छ । अहिलेका जल्दाबल्दा योङ इनर्जेटिकहरुबीच प्रतिस्पर्धा हुने हो । सुरुमा पढाइमा मिहिनेत गर्नैपर्छ । लोकसेवा अत्यन्तै निष्पक्ष हुन्छ । यो निष्पक्ष नहुने भएको भए हामी पनि आज यो स्थानमा हुने थिएनौं । सामान्य पृष्ठभूमिमा जन्मेका हाम्रो एउटा सहारा नै लोकसेवा हो ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सह-सचिवभन्दा तल्लो तहमा कर्मचारीलाई दुई वर्ष अनिवार्य राख्नैपर्ने व्यवस्था छ । कर्मचारीको आफ्नै बानीले पनि छिटोछिटो सरुवा हुने हो । मेरो अनुभवमा दुई वर्ष पनि काम गर्नेका लागि कम अवधि हो । माथिल्लो लेबलको सरुवा छिटोछिटो हुने हुँदा काम गर्नै पाइँदैन । त्योचाहिँ हुनुभएन ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कहिलेकाहीँ काम गर्ने अवसर नपाउँदा दिक्क लाग्नु स्वाभाविक नै हो । मैले पहिले महिला विकास विभागमा शाखा अधिकृत भएर काम गरेँ । त्यहाँ मैले धेरै अनुसन्धान गर्ने मौका पाएँ । यसमा मैले कामको अवसर धेरै पाएँ । गाउँगाउँमा भिज्न पाएँ, देख्न पाएँ । त्यही ज्ञानले म यहाँसम्म आएँ । मलाई ज्ञान मिल्यो । म सन्तुष्ट छु जहाँ काम गरेको छु, केही न केही नयाँपन दिन सकेको छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
आफ्नो अनुभव सेयर गर्ने अवसर पाएँ जस्तो अनुभव भयो । सकारात्मक ऊर्जा मिल्यो । तपाईंहरुकै कारण कतिपय राम्रा व्यक्तिले अनुभव सेयर गर्न पाउनुहुन्छ । तपाईंहरुको कारण उहाँहरुको क्षमता उजागर हुन्छ ।
हामी कर्मचारी भनेको अवकाश नहुँदासम्म हो । तर, हामी नागरिक पहिला हो । त्यही कारण हामीले आफूलाई नागरिकको ठाउँमा राखेर हेर्‍यौं भने जति अप्ठ्यारो ठाउँमा पनि सेवाप्रवाह गर्न सकिन्छ । सेवाबाट सेवाग्राहीलाई सन्तुष्ट गर्न सकिन्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलासँग कुराकानी गरेका थियौं । यसपटक हामीले गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । आगामी सोमबार भने हामी कर्णाली प्रदेशको दैलेख जिल्लाका प्रजिअ हरि प्याकुरेलसँगको कुराकानी प्रस्तुत गर्नेछौं । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया