शनिबार, वैशाख १५, २०८१

‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

नेपालखोज २०७९ जेठ ३० गते ९:५७

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको प्रशासनिक नेतृत्व अहिले गुल्मीका शशिधर घिमिरेको काँधमा छ । २०७८ चैत २१ गतेदेखि अर्घाखाँचीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरे कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ घिमिरेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै १८ वर्ष बिताएका अर्घाखाँचीका प्रजिअ घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
सार्वजनिक सेवा प्रवाहप्रति सेवाग्राहीको असन्तुष्टिलाई घटाउँदै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । प्रजिअ घिमिरे लोकतन्त्रको लाभ जनतासमक्ष पुर्‍याउने र राज्य प्रणालीप्रति जनताको विश्वास पूर्ण आर्जन गर्ने चुनौती निजामती कर्मचारीहरुलाई रहेको बताउँछन् । ‘समग्रमा भन्नुपर्दा सार्वजनिक सेवा प्रवाहप्रति सेवाग्राहीको जुन असन्तुष्टि छ त्यसलाई घटाउँदै सेवा प्रवाह प्रभावकारी बनाउँदै लोकतन्त्रको लाभ जनतासमक्ष पुर्‍याउने र राज्य प्रणालीप्रति जनताको विश्वास पूर्ण आर्जन गर्ने हामीसँग चुनौती छ । यौ चुनौती हामी सबै तहका कर्मचारी साझा रुपमा लाग्नुपर्छ,’ प्रजिअ घिमिरेले नेपालखोजसँग भने, ‘राजनीतिक नेतृत्व सेवाहरूको अभिभावकका रुपमा भूमिका खेलेर यसका कमी-कमजोरी हटाउने र नागरिकमैत्री बनाउनुपर्छ । यो सैद्धान्तिक रुपमा र व्यवहारिक रुपमा कुनै पनि राज्यको प्रशासन संयन्त्र भरोसायोग्य बन्दैन तबसम्म मुलुकको विकास हुन जटिल छ ।’
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शशिधर घिमिरेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६१औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राहीका सबै चाहना र समस्या पूरा गर्न पनि सकिँदैन । यहाँ कानुन र स्रोतको कुरा आउँछ । अधिकतम रुपमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिएर र सेवा दिन नसकिएका सेवाग्राहीलाई यो कारण सकिँदैन भनेर सन्तुष्ट नै पारेको छु ।
-कुनैकुनै विषयमा विभिन्न प्रकारका स्वार्थ जोडिएका हुन्छन् । आफ्नो चाहना र स्वार्थबमोजिम काम गराउन खोज्नु सामान्य नै हो । यस्ता खालका विषयहरू आउँछन् नआउने होइन ।
-कार्यालयमा भएका जनशक्तिलाई अधिकतम रुपमा परिचालन गर्ने र सेवाग्राहीलाई सरल-सहज रुपमा सेवा प्रवाह गर्न, व्यवहारिक रुपमा सेवा प्रवाह गर्न कर्मचारीलाई कन्भिन्स गर्ने, मोटिभेट गर्नेजस्ता कुरा मैले गरेको छु ।
-जनताले पाउने सेवा एउटै हो । जुन सेवा पहिले प्रवाह गरिन्थ्यो करिब-करिब त्यही नै हुन् । ती सेवालाई कसरी प्रभावकारी रुपमा जनताको नजिकबाट सेवा दिन सकिन्छ भन्ने हिसाबले कार्यक्षेत्र वर्गीकरण गरेर सेवा दिने प्रयास गरेको हो राज्यले ।
-निजामती सेवा समग्र राज्य प्रणालीको नेतृत्व गर्ने संयन्त्र हो भन्ने कुरा अहिले आएर बुझिँदै छ ।
-सेवा प्रवेश गर्न चाहने युवाको संख्या र प्रतिस्पर्धाको तह हेर्ने हो भने निजामती सेवामा आकर्षण घटेको छैन ।
-निजामती नियमावली तोकेको भन्दा पहिले सरुवा हुने, बस्न नपाउने, बस्न नचाहने कारणले गर्दा चाँडो-चाँडो सरुवा भएको देखिन्छ । दुई वर्ष बस्नुपर्ने ठाउँ दुई महिनामा सरुवा भयो भने उसले कामको प्रकृति, भूगोल, सेवाग्राहीको चाहना, परिवेश बुझिसकेको हुँदैन ।
-समग्रमा भन्नुपर्दा सार्वजनिक सेवा प्रवाहप्रति सेवाग्राहीको जुन असन्तुष्टि छ त्यसलाई घटाउँदै सेवा प्रवाह प्रभावकारी बनाउँदै लोकतन्त्रको लाभ जनतासमक्ष पुर्‍याउने र राज्य प्रणालीप्रति जनताको विश्वास पूर्ण आर्जन गर्ने हामीसँग चुनौती छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म करिब १८ वर्षदेखि निजामती सेवा छु । विभिन्न तहमा रहेर काम गर्दा सेवाग्राहीका समस्या आफ्नो अधिकार र कानुनका दायराभित्र रहेर समाधान गर्ने प्रयास गरिएको छ । सेवाग्राहीका सबै चाहना र समस्या पूरा गर्न पनि सकिँदैन । यहाँ कानुन र स्रोतको कुरा आउँछ । अधिकतम रुपमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिएर र सेवा दिन नसकिएका सेवाग्राहीलाई यो कारण सकिँदैन भनेर सन्तुष्ट नै पारेको छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
काम गर्ने सिलसिलामा सामान्य प्रकारका दबाब अथवा भनसुन गर्ने प्रक्रियाचाहिँ छ । यो सबैले बुझेको विषय नै हो । कुनै विषयमा विभिन्न प्रकारका स्वार्थ जोडिएका हुन्छन् । आफ्नो चाहना र स्वार्थबमोजिम काम गराउन खोज्नु सामान्य नै हो । यस्ता खालका विषयहरू आउँछन् नआउने होइन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
थुप्रै संयन्त्र बनाउने भन्ने कुरा भएन । कार्यालयमा भएका जनशक्तिलाई अधिकतम रुपमा परिचालन गर्ने र सेवाग्राहीलाई सरल-सहज रुपमा सेवा प्रवाह गर्न, व्यवहारिक रुपमा सेवा प्रवाह गर्न कर्मचारीलाई कन्भिन्स गर्ने, मोटिभेट गर्नेजस्ता कुरा मैले गरेको छु ।

प्रजिअसँग आइपुग्ने सेवाग्राहीले कस्ता प्रकृतिका काम लिएर आउने गरेका छन् ?
तल्लो तहमा रहेर काम गर्दा पनि कतिपय सन्दर्भमा गर्न नसकिने विषयहरू अथवा समस्याहरू आउँछन् । त्यस्ता विषयहरू कतिपय बुझाइको कमी, कतिपय समन्वयका कारणले नभएका विषयहरू हुन्छन् । त्यस्ता विषयहरू जिल्ला प्रशासनले गर्ने काम हो भने सम्बन्धित पालिकासँग समन्वय गरेर अथवा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर समस्या समाधन गर्ने प्रयास गरेको हुन्छु मैले । तल्लो तहमा समाधान नभएका समस्या मसँग आउने गर्छन् ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
जनताले पाउने सेवा एउटै हो । जुन सेवा पहिले प्रवाह गरिन्थ्यो करिब-करिब त्यही नै हुन् । ती सेवालाई कसरी प्रभावकारी रुपमा जनताको नजिकबाट सेवा दिन सकिन्छ भन्ने हिसाबले कार्यक्षेत्र वर्गीकरण गरेर सेवा दिने प्रयास गरेको हो राज्यले । तीमध्ये केही सेवा स्थानीय तहले प्रवाह गरेको छ । केही सेवा प्रदेशअन्तर्गतका संरचनाहरूले प्रवाह गर्ने गरेका छन् । केही सेवा संघीय तहबाट हुन्छन् । स्थानीय तहमा जनु सेवा पुगे ती जनताको नजिक पुगेका छन् । त्यसले गर्दा केही हदसम्म अवश्य पनि सहज भएको छ । कुनै विषयमा २-३ वटा निकाय हुँदा अन्योल पनि सिर्जना हुने अवस्था छ । विशेष गरेर राज्य संयन्त्र अथवा हामीले राज्य पुनःसंरचना भन्यौं यो भइसकेपछि पनि सेवाग्राहीको अपेक्षाबमोजिम सेवा प्रदान गर्न सकिएको छैन भन्ने प्रतिक्रिया सेवाग्राहीबाटै पाएका छौं । यद्यपि सुधारका प्रयासहरू भएका छन् । कतिपय सेवा अनलाइन प्रणालीमा गएका छन् । डिजिटल सेवा प्रवाह गर्ने कुरा विभिन्न तह र निकायबाट सुरु हुँदै छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवा समग्र राज्य प्रणालीको नेतृत्व गर्ने संयन्त्र हो भन्ने कुरा अहिले आएर बुझिँदै छ । विगतमा पनि आफूले पढेर करिअर बनाउने समय थियो । त्यो समयमा विशेष गरेर अग्रजबाट प्रभावित भएर साथै सेवाहरूमध्ये जनताको सेवा गर्ने र आफ्नो भविष्य पनि बनाउन सकिने हिसाबले निजामती सेवा रोजेको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
यसलाई दुईवटा दृष्टिकोणले हेर्न सकिन्छ । एउटा, बजारमा छलफलमा आइरहेको विषय प्रतिभाहरू निजामती सेवामा आउँदैनन्, उत्कृष्ट व्यक्तिहरू आउँदैनन् भन्ने छ । यो कोणबाट हेर्दा आकर्षण छैन अथवा घटेको छ भन्ने पनि बुझ्न सकिन्छ । तर, सेवा प्रवेश गर्न चाहने युवाको संख्या र प्रतिस्पर्धाको तह हेर्ने हो भने निजामती सेवामा आकर्षण घटेको छैन । हाम्रो तीन तहको सरकार भयो यी तीनै तहमा भर्ना सुरु भयो यसले झन् गाउँ-गाउँसम्म सेवाप्रति आकर्षण गराएको छ ।

फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुहुन्छ ?
फुर्सदको समयमा अध्ययनचाहिँ मेरो नियमित विषयमा अपडेट भइरहनेछ । अर्को समय भयो भने साथीभाइसँग घुमफिर गर्ने हो ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटो सरुवा हुने कुरा त भन्नै परेन, यो देखिएकै विषय हो । यसले प्रभाव त पार्छ । निजामती नियमावली तोकेको भन्दा पहिले सरुवा हुने, बस्न नपाउने, बस्न नचाहने कारणले गर्दा चाँडो-चाँडो सरुवा भएको देखिन्छ । दुई वर्ष बस्नुपर्ने ठाउँ दुई महिनामा सरुवा भयो भने उसले कामको प्रकृति, भूगोल, सेवाग्राहीको चाहना, परिवेश बुझिसकेको हुँदैन । अर्थात् यी सबै कुरा बुझेर सेवा प्रवाह गर्दा जति प्रभावकारी हुन्छ नबुझी गर्दा प्रभावकारी त्यति हुँदैन । त्यसले गर्दा कार्यसम्पादन र सेवा प्रवाहमा अवश्य प्रभाव पार्छ ।

समग्रमा अर्घाखाँची जिल्लाको स्थानीय तह निर्वाचन कस्तो रह्यो ?
अर्घाखाँचीमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सफल र सम्पन्न भएको छ । कुनै पनि स्थानमा दोहोर्‍याएर मतदान गर्नु परेन । शान्ति सुरक्षाको अवस्था हामीले मजबुत बनाएका थियौं । त्यस्ता ठूला खालका कुनै घटना भएनन् । निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भयो ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
समग्रमा भन्नुपर्दा सार्वजनिक सेवा प्रवाहप्रति सेवाग्राहीको जुन असन्तुष्टि छ त्यसलाई घटाउँदै सेवा प्रवाह प्रभावकारी बनाउँदै लोकतन्त्रको लाभ जनतासमक्ष पुर्‍याउने र राज्य प्रणालीप्रति जनताको विश्वास पूर्ण आर्जन गर्ने हामीसँग चुनौती छ । यो चुनौती हामी सबै तहका कर्मचारी साझा रुपमा लाग्नुपर्छ । राजनीतिक नेतृत्व सेवाहरूको अभिभावकका रुपमा भूमिका खेलेर यसका कमी-कमजोरी हटाउने र नागरिकमैत्री बनाउनुपर्छ । यो सैद्धान्तिक रुपमा र व्यवहारिक रुपमा कुनै पनि राज्यको प्रशासन संयन्त्र भरोसायोग्य बन्दैन तबसम्म मुलुकको विकास हुन जटिल छ । सबैको साझा प्रयासले सार्वजनिक सेवा प्रवाह भरोसा योग्न बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेसँग कुराकानी गरेका थियौं । यसपटक लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया