बुधबार, असार २, २०७८

‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

नेपालखोज २०७८ जेठ १७ गते १०:३०

प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले विराटनगर महानगरपालिका ५, मोरङका उमेश पाण्डे कार्यरत छन् । झन्डै २५ वर्षको निजामती सेवाको अनुभवसँगै ताप्लेजुङ जिल्लाको प्रशासनिक नेतृत्व पाण्डेले सम्हालिरहेका छन् । यसअघि उनी जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत थिए । पाण्डे २०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

कोभिडको विश्वव्यापी महामारीमा सबै राष्ट्रसेवक कर्मचारी एकजुट भएर जनताकै काममा जुटेको प्रजिअ पाण्डे बताउँछन् । उनी टिमवर्कमै विश्वास राख्छन् । ‘टिमवर्क भएकाले टिमको सहयोगबिना कार्यसम्पादन सहज हुँदैन । हामी टिममा विश्वास गर्छौं र जनतालाई सेवा प्रवाह गर्छौं,’ प्रजिअ पाण्डेको भनाइ छ, ‘सबै साथीहरू सकारात्मक रूपमा आफ्नो क्षेत्रमा कार्य सम्पादन गरिरहनुभएको छ ।’

उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट रहेको बताउँछन् । ‘आफ्नो पेसामा पूर्ण सन्तुष्ट छु । मलाई नेपालको जुनसुकै ठाउँमा गएर काम गर्दा पनि सुखको अनुभूति मिल्छ,’ प्रजिअ पाण्डेले भने ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा पाण्डेसँग गरिएको कुराकानी :

हाइलाइट्स
– जिल्लामा कोभिड केही नियन्त्रमा आएको अवस्था छ ।
– वैशाख २० देखि जेठ १० सम्म कोरोना बढेको अवस्था थियो ।
– निषेधाज्ञा अझै एक साता थप्ने तयारी छ ।
– आकस्मिक सेवाका लागि कार्यालयहरू खुला छन् ।
– चिन्ताजनक अवस्थाका कोभिड बिरामीलाई, धरान विराटनगर, बिर्तामोड र काठमाडौं पठाएका छौं ।
– तीनजना कोभिड–१९ का बिरामीलाई हेलिकोप्टरमार्फत काठमाडौं पठायौं ।
– आकस्मिक अवस्थाका लागि एम्बुलेन्स र हेलिकोप्टरमार्फत बिरामी उद्धार गरेका छौं ।
– सेवाग्राहीका लागि शनिबारसमेत कार्यालय खुला राखेका छौं ।
– बिरामीका आफन्त भेट्न जान सहज गराएका छौं ।
– खाद्यान्नका लागि बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा बजार खुला गरेका छौं ।
– अहिलको अवस्थामा हामीसँग १०५ वटा अक्सिजन सिलिन्डर छ । अर्थात् पर्याप्त मात्रामा अक्सिजन छ । जिल्लामा अक्सिजन सिलिन्डरको अभाव छैन ।
– सेवागाह्रीलाई सहज र छिटो सेवा दिनमै केन्द्रित छौं ।
– सबै साथीहरू एक स्वरमा आफ्नो जिम्मेवारीअनुसार कार्यसम्पादनमा जुट्नुभएको छ ।
– वर्षमा ३६५ दिनै कार्यालयमा आउनुपर्ने कार्यव्यस्तताका कारण अरू कार्यालयमा सेवा लिने मौका नै मिलेको छैन ।
– अवकाशपछि अरू कार्यालयहरूमा गएर सेवा लिने मौका मिल्ला कि ?
– कसैको भनसुन र जागिर खान कसैलाई नमस्कार गर्नुनपर्ने भएकाले निजामती सेवामा आएँ ।
– आफ्नो पेसामा पूर्ण सन्तुष्ट छु । मलाई नेपाको जुनसुकै ठाउँमा गएर काम गर्दा पनि सुखको अनुभूति मिल्छ ।
– पछिल्लो समय जिल्लाको शान्ति सुरक्षाको अवस्था स्थिर छ ।

ताप्लेजुङ जिल्लामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
जिल्लामा संक्रमणको अवस्था अहिले अलि घटेको छ । वैशाख ३० देखि जेठको ८–१० गतेसम्म अलि बढेकै थियो । अहिले निको हुनेको संख्या घट्दै छ । अवस्था सामान्यतर्फ उन्मुख छ । ताप्लेजुङमा हालसम्म (आइतबार बिहान ११ बजेसम्म) संक्रमितको संख्या ५४३ जना पुगेका छन् । १११ जना निको हुनुभएको छ । अस्पतालमा सामान्य उपचार गराइरहेको संक्रमितको संख्या १० जना मात्र छ । जिल्लामा निषेधाज्ञा जारी छ । यो क्रम अझै एक साता कायमै रहला भन्ने छ । परिस्थिति आए अझै एक साता निषेधाज्ञा थप्नेछौं । अत्यावश्यक कार्यालयहरू नियमित सञ्चालनमै छन् । जिल्लामा कोरोना संक्रमणको अवस्था पहिलेको तुलनामा सुधार हुँदै गएको छ ।

जिल्लामा करोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
ताप्लेजुङमा रहेको अस्पताल कोभिड अस्पताल होइन । कोरोना संक्रमितको अवस्था जटिल हुँदै गएको अवस्थामा एम्बुलेन्समा राखेर विराटनगर, धरान, बिर्तामोड पठाउने गरेका छौं । तीन संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं नै लगियो । अरू काम नियमति झैं गरिरहेका छौं ।

सेवाग्राहीहरूको समस्या समाधानमा आफू कत्तिको सफल भए जस्तो लाग्छ ?
बिदाको दिन होस् या अरू दिन हामी चौबीसै घण्टा सेवाग्राहीकै काममा खटिएका छौं । जिल्लाका बासिन्दालाई गाह्रो–अफ्ठ्यारोमा सहजीकरण गरिदिने गरेका छौं । ताप्लेजुङमा अहिले हामी बिहानको समयमा तरकारी, खाद्यान्न किन्नका लागि तीन घण्टा बजार खुला राखेका छौं । त्यसमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाएका छौं । खाद्यान्नहरू जिल्ला भित्रनेमा कुनै रोकतोक छैन । निर्वाध आइरहेकै छ । हामीसँग अक्सिजन सिलिन्डर जिल्लामा पुग्ने गरी पर्याप्त छ । १० वटा सिलिन्डर खाली हुनेबित्तिकै रिफिलका लागि पठाइहाल्छौं । हामीसँग (जिल्लामा) एक सय पाँचवटा अक्सिजनका सिलिन्डर छन् । अहिले पाँच–सातजनाले मात्र अक्सिजनको सिलिन्डर प्रयोग गरिरहनुभएको छ । अधिकांश संक्रमित उपचारपछि घर फर्किसकेको अवस्था छ ।

सेवाग्राहीका समस्या समाधान गर्ने क्रममा आफूले भोग्नुपरेको तीतो अनुभव केही छ कि ?
त्यस्तो केही छैन । अहिले म रहेको जिल्ला सानो छ । हामीले जतिसक्तो सरल र सहज तवरले सेवाग्राहीको काम गरिदिने गरेका छौं । सबै राष्ट्रसेवक कर्मचारी एकजुट भएर जनताकै काममा लागेका छौं । टिमवर्क भएकाले टिमको सहयोगबिना कार्यसम्पादन सहज हुँदैन । हामी टिममा विश्वास गर्छौं र जनतालाई सेवा प्रवाह गर्छौं । सबै साथीहरू सकारात्मक रूपमा आफ्नो क्षेत्रमा कार्य सम्पादन गरिरहनुभएको छ । तसर्थ जिल्लामा आईकन आफूलाई त्यस्तो तीतो अनुभव भोग्नुपरेको छैन ।

आफू सेवाग्राही भएर कुनै कार्यालयमा जाँदा नि ?
छैन । त्यस्तो अवसर नै पाइएको छैन । पूरा ३६५ दिन नै आफू कार्यालयमा हुनुपर्छ । अन्य कार्यालयमा गएर सेवा लिने अवसर नै पाइएको छैन । बरु परिवारले भने सेवा लिएका होलान् । आफूले अन्य कार्यालयमा गएर जस्तो कि जग्गा–जमिन किन्ने, बेच्ने अथवा अन्य कुनै सेवा लिने अवसर नै जुटेको छैन । अवकाशपछि जुट्ला कि !

निजामती सेवामा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
साथीभाइ र आफन्तहरू सेना, प्रहरी तथा निजामती सेवामै हुनुहुन्थ्यो । पढ्नका लागि काठमाडौंमा बसिन्थ्यो । कहीँ न कहीँ, कुनै न कुनै किसिमको जागिर गर्नुपर्छ भन्ने पनि थियो । साथीभाइहरूसँग सरसल्लाह गर्दा अब लोकसेवाको परीक्षा दिनुपर्छ, यो सुरक्षित जागिर हो । यसमा भनसुन पनि लाग्दैन । जानेको व्यक्ति उत्तीर्ण हुन्छन् । कसैलाई नमस्कार गर्नु पर्दैन भन्ने विचार आयो । साथीभाइसँग पढ्दा-पढ्दै अफिसर (शाखा अधिकृत) मा नाम निकालियो र यतातिर लागें । जागिरकै खोजीमा लोकसेवा रोजेको हुँ ।

आफ्नो पेसाप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । आत्मसम्मानका साथ आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छु । अघिल्लो वर्ष म बझाङमा थिएँ । मोरङको मान्छे बझाङमा गएर काम गर्दा अफ्ठ्यारो होला भन्ने भएन । नयाँ ठाउँ, नयाँ मानिसहरूसँग चिनजान हुने भयो । फरक परिवेशको अनुभव हुने भयो । जुनसुकै ठाउँमा जाँदा पनि सानातिनाबाहेक खासै अफ्ठयारो महसुस गर्नुपरेको छैन । आफ्नो कार्यक्षेत्र, हैसियत, अधिकार क्षेत्र तथा राज्यले दिएको जिम्मेवारी कानुनअनुसार निर्वाह गर्नका लागि मलाई अहिलेसम्म कुनै पनि किसिमको कठिनाइ परेको छैन ।

सरकारी सेवामा आइसकेपछि कामका दौरान कुनै कुरा गर्न नपाएर अफ्ठ्यारो महसुस गर्नुपरेको छ ?
त्यस्तो त हुन्छ नि । कहिलेकाहीँ आफूले गर्न चाहेर पनि नसकेर काम गर्न पाइएन, पूरा गर्न पाइएन भनेर कहिलेकाहीँ महसुस त हुन्छ । यो त स्वभाविकै पनि हो । सबै काम आफ्नो बुता, बर्तक, विधि नपुग्न सक्छ । कहिलेकाहीँ आफूले गरेका काम यो काम गलत गरें कि भन्ने महसुस हुन्छ बेलाबेला, नहुने होइन । यस्ता उदाहरण त धेरै छन् नि ।

ताप्लेजुङको शान्ति सुरक्षाको पछिल्लो अवस्था कस्तो छ ?
यहाँले राम्रो कुरा उठाउनुभयो । अहिले यहाँ सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने केही पनि छैन । राज्य व्यवस्थाका कुरा नमान्ने पहिले–पहिले धेरै समूहहरू थिए त्यतिबेला अलि चुनौती भने थियो । पछिल्लो समयमा सबै मूलधारको राजनीतिमा आइसकेपछि नयाँ किसिमका कुनै पनि चुनौती छैनन् । मात्रै विकास निर्माणका काममा भने कोभिडका कारणले विषम् परिस्थितिले गर्दा अलिकति सहजीकरण, समन्वय गर्न पाइएको छैन । यसकारण विकास निर्माणको काम अलिकति पछि परेको छ । यदि सहज भएको अवस्थामा यतातिर ध्यान जाने थियो । कोभिडको विश्वव्यापी महामारीले गर्दा अलिकति यतातिर आफ्नो बल, बुद्धि, विवेकको प्रयोग गर्न पाइएको छैन । शान्ति–सुरक्षाको अवस्था एकदमै राम्रो छ । अझ ताप्लेजुङमा धेरै नाकाहरू छैनन् । एउटा पाँचथरबाट र अर्को तिब्बततिरबाट आउने नाका हो । तिब्बततिरको नाका करिब–करिब बन्दकै अवस्थामा छ । त्यही एउटै (पाँचथरबाट छिर्ने नाका) नाकाबाट मानिसहरू प्रवेश गर्ने गरेका छन् । अर्को कुरा हिमाली जिल्ला भएकाले पनि यहाँको शान्ति सुरक्षामा अहिले कुनै पनि किसिमका चुनौती र अफ्ठ्यारा परिस्थितिहरू छैनन् । स्वतःस्फूर्त सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हो, यहाँ मैले भन्नै पर्छ । सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई अझै केही समय घरबाहिर ननिक्लन, निक्लिहाले पनि भौतिक दूरी कायम गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, आकस्मिक कुनै काम परे सुरक्षा निकाय अथवा मलाई सीधै फोन गर्न अनुरोध गर्छु । मलाई फोन गर्नका लागि नम्बर पनि सार्वजनिक गरेको छु । सबै मिडियाका साथीहरूलाई पनि अझै प्रचार–प्रसारमा केही समय धैर्य गर्नका लागि अनुरोध गर्न चाहन्छु । यहीबेला थप केही समय हामीले संयमता अपनायौं भने हामी जोगिन्छौं । आफू पनि जोगियौं र अरूलाई पनि जोगाउने सबैबाट प्रयास गरौं भन्ने मेरो आग्रह छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश २ को सिरहा जिल्लाका प्रजिअ प्रदीपराज कणेलसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

थप प्रजिअसँग शम्भु पढ्न र सुन्न छुटाउनु भए हेर्नुहोस् :

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि १’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

प्रतिक्रिया