शुक्रबार, वैशाख १४, २०८१

‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

नेपालखोज २०७८ जेठ ३१ गते ९:५५

कर्णाली प्रदेशको सदरमुकामा सुर्खेत । भौगोलिक रूपमा पहाड भए पनि यो उपत्यका हो । उसो त पहिले क्षेत्रीय सदरमुकामसमेत रहेको सुर्खेतमा अहिले विकास निर्माणका कामले पनि तीव्रता पाएको छ । बाँके जिल्लालाई नछोए पनि सम्पर्क भने सुर्खेतसँग एकदमै नजिक छ । सुर्खेतलगायत कर्णाली प्रदेशका सर्वसाधारण वैदेशिक रोजगारीका लागि भारत जाने र फर्कने गर्दा कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढेको पाइन्छ । यद्यपि अहिले कोरोना संक्रमणको दोस्रो लहरमा भने तुलनात्मक रूपमा सुर्खेतमा कम देखिएको छ ।
यही सुर्खेत जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले छविलाल रिजाल कार्यरत छन् ।
पुर्ख्यौली घर पर्वत रहे पनि काठमाडौंमा बसोबास गर्दै आएका रिजालले निजामती सेवामा झन्डै २५ वर्ष बिताएका छन् । यसअघि प्रधानमन्त्रीको कार्यालयमा सह–सचिवका रूपमा कार्यरत रिजाल २०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

इमानदार र स्वच्छ प्रशासकको छवि बनाएका रिजाल निजामती सेवामा आफू निकै सन्तुष्ट रहेको बताउँछन् ।

अहिले कोरोना महामारीले नेपाललगायत विश्व नै प्रभावित भएको अवस्था छ । प्रजिअ रिजालले पनि सुर्खेत जिल्लाको कोरोना व्यवस्थापन, शान्ति–सुरक्षालगायत क्षेत्रमा डटेर कार्यसम्पादन गरिरहेका छन् । उनी नेपालखोजको कुराकानीका क्रममा कोभिड–१९ व्यवस्थापनसम्बन्धी एक कार्यक्रममा सहभागी थिए । व्यस्त दैनिकीबीच पनि हाम्रो कुराकानीका लागि तयार भएका प्रजिअ रिजाल सुर्खेतमा हालै मात्र भएको तीन स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय रहेको बताउँछन् । ‘स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय छ । कसैमाथि पनि आक्रमण गर्न पाइँदैन । अझ अहिलेको अवस्थामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न झनै पाइँदैन,’ उनले नेपालखोजसँगको कुराकानीमा भने, ‘उनीहरूको मनोबल उच्च गराउनुपर्ने, उत्प्रेरित गराउनुपर्ने अवस्थामा आक्रमण गर्नु अक्षम्य अपराध हो । अपराधमा संलग्नलाई कानुनबमोजिम कारबाही हुन्छ ।’
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग हामीले यस्तै-यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा रिजालसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– रोजगारीका लागि भारत गएकाहरू नयाँ वर्ष मनाउन नेपाल फर्किने यहाँको चलन छ उनीहरूले कोरोना ल्याएर फैलाउँछन् कि भनेर सजग भई पहिले नै हामीले रोकथामको प्रयास गरेका थियौं ।
– सुरुवाती दिनमा भारतमा संक्रमण बढेर पनि स्वदेश फर्कनेको क्रम बढ्दो थियो ।
– हामीले पहिले कोरोना संक्रमण रोकथामका लागि जनचेतनाका कार्यक्रमहरू गर्‍यौं त्यो प्रभावकारी नभएपछि वैशाख ६ गते लागु गरेको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी छ ।
– निषेधाज्ञा बढाउने कि के गर्न भनेर अब हामी छिमेकी जिल्लाहरूसँग पनि छलफल गर्छौंं ।
– सुर्खेत प्रादेशिक राजधानी, पुरानै क्षेत्रीय सदरमुकाम सहरीकरण भएको ठाउँ भएका कारण यहाँ अलि बढी प्रभावित हुने भइहाल्यो ।
– यहाँ कोभिड उपचरका लागि डेडिकेटेड कर्णाली प्रदेश अस्पताल छ ।
– गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमितहरू संस्थागत आइसोलेसनमा बस्न मानेन् । होम आइसोलेनमा बसे तर यस्तो गर्दा घरपरिवारका अन्य सदस्यमा संक्रमणको जोखिम उच्च हुँदो रहेछ ।
– कोरोना पहिलो लहरमा २३ जनाको मृत्यु भएको थियो भने अहिलेको दोस्रो लहरमा १५५ जनाभन्दा बढीको मृत्यु भएको अवस्था छ ।
– दोस्रो लहरको कोरोनामा सहरी क्षेत्र मात्र होइन ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ ।
– अहिले पीसीआर परीक्षण गराउने, संक्रमित, मृतकको संख्या सबै घटेको अवस्था छ ।
– अहिले हामी सम्भावित तेस्रो लहरका लागि तयारीमा जुटेका छौं । जनचेतनाका कार्यक्रमहरू भइरहेका छन् ।
– प्रजिअको संयोजकतामा जिल्ला कोभिड व्यवस्थापन समिति छ । यसले जिल्लास्तरका नीतिगत निर्णयहरू गर्दै आएको छ ।
– जिल्ला कोभिड व्यवस्थापन समितिले दक्ष डाक्टरहरूबाट भर्चुअल रूपमा चिकित्सकीय परामर्श पनि गराउँदै आएको छ ।
– अक्सिजनका लागि पनि हामीले फ्याक्ट्रीसँग परामर्श गर्दै आएका छौं ।
– जनताले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्लान् भन्ने थियो त्यो हामीले पाएनौं ।
– आयुर्वेदिक अस्पतालको बाहिर चिकित्सकलाई आक्रमण गर्नेहरूलाई हामीले तत्काल गिरफ्तार गर्‍यौं । उनीहरू अहिले हिरासतमा छन् । अनुसन्धान भइरहेको छ । दोषीलाई कारबाही हुन्छ ।
– मैले सानैदेखि थाहा पाएको र सबैभन्दा आकर्षक सरकारी सेवा यही भएकाले निजामती सेवातर्फ आकर्षित भए ।
– सुर्खेतमा शान्ति सुरक्षाको अवस्था एकदम साधारण छ ।
– लागुऔषधका लागि संवेदनशील जिल्ला हो । प्रहरीले सूक्ष्म ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ ।
– राउटेका दुई युवतीमाथि भएको यौन दुव्र्यवहारका कुरा मिडियामा आवश्यकताभन्दा बढी आएका छन् । संलग्नलाई हामीले गिरफ्तार गरेका छौं । अनुसन्धान पनि जारी छ, दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।

सुर्खेत जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
बाँकेसँग जोडिएको जिल्ला हो सुर्खेत । भौगोलिक रूपमा बर्दिया र कैलालीले सीमा जोडिए पनि मानिस आउजाउका हिसाबले बाँके जोडिएको छ । अहिले पश्चिम क्षेत्रमा बाँके जिल्ला कोभिड–१९ बाट प्रभावित हुने जिल्लामध्ये प्रमुख हो । सुर्खेत जिल्लाका मानिसहरू वैदेशिक रोजगारीका सिलसिलामा भारत जाने गर्छन् ।
त्यहाँ पनि कोभिड संक्रमण बढेको अवस्थामा आफ्नो गाउँ फर्कने गरेका कारण सुर्खेतमा पनि संक्रमितको संख्या योपटक बढेको हो । यसअघि ती व्यक्तिहरूबाट संक्रमण फैलन्छ कि भनेर नियन्त्रणका प्रयासहरू गर्‍यौं । नियन्त्रणका लागि लकडाउनसँगै अन्य उपायहरू जस्तै जनचेतनाहरू जगाउने किसिमका कार्यक्रम, बाहिरबाट आउनेहरूलाई होम आइसोलेसनमा बस्न उत्प्रेरणा दिएर, बिहे-व्रतबन्धमा नजाने, भिडभाड नगर्ने, मास्क प्रयोग गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्नेजस्ता धेरै सचेतनामूलक कार्यक्रमहरूका प्रयासहरू गर्‍यौं । ती प्रयासहरू प्रभावकारी नहुँदा जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी छ । त्यसपछि के गर्ने भन्ने विषयमा हामी छलफलमै छौं ।
सुर्खेत प्रादेशिक राजधानी पनि हो, पुरानो क्षेत्रीय सदरमुकाम पनि हो । कर्णाली प्रदेशको अलि ठूलो ठाउँ, सहरीकरण भएको ठाउँ सुर्खेत हो । यहाँ धेरै मानिसको बसोबास छ । धेरै मानिसको बसोबास भएको हुँदा यहाँ कोभिडको प्रभाव बढी देखिने स्थिति पनि रह्यो ।
कोभिडको उपचारका लागि यहाँ कर्णाली प्रदेश अस्पताल छ । यो अस्पतालमा झन्डै दुई सय शय्याको व्यवस्था छ । त्योबाहेक उपचारका लागि अरू पनि ठाउँहरू छन् । तर संस्थागत आइसोलेसनमा यो वर्ष मानिसहरू बसेनन् । गत वर्ष भने संस्थागत आइसोलेसमा मानिसहरू जाने गरेका थिए । यसपालि भने मानिसहरू संस्थागत आइसोलेसनमा बस्न चाहेनन् । संक्रमित मानिसहरू घरमै बसे । घरमै बस्दा परिवारका अन्य सदस्यहरूलाई पनि कोभिड फैलने जोखिम भने हुँदो रहेछ । र यसले समुदायमा संक्रमण फैलने दर पनि धेरै हुन्छ ।
अघिल्लो लहरमा सुर्खेतमा २३ जनाको मृत्यु भएको थियो भने यसपटक (दोस्रो) को लहरमा भने एक सय ५५ जनाको मृत्यु भइसकेको अवस्था छ । पछिल्लो समय संक्रमणको दर घट्दै गएको अवस्था छ । अहिले सहरबजारसँगै ग्रामीण क्षेत्र पनि प्रभावित नै छ । तैपनि अस्पताल भर्ना हुन आउनेदर घटेको छ । पीसीआर जाँच गराउँदा पनि संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । परीक्षणका लागि आउने पनि घटेका छन् । संक्रमितको संख्या घटेसँगै अस्पतालमा उपचारका लागि आउनेको संख्या पनि घटेको छ ।
यस्तो अवस्था रहे पनि प्रदेश सरकार र स्थानीय तहले आगामी वर्षहरूमा पनि आउन सक्छ है भनेर त्यसको तयारीका साथै जनचेतनालगायतका कामहरू हामीले गर्दै आएका छौं ।

जिल्लामा करोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन भन्ने समिति छ । यसमा सबै सुरक्षा निकायका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकृत, उद्योग वाणिज्य संघको प्रतिनिधि, नेपाल पत्रकार महासंघको प्रतिनिधि, जिल्लामा रहेका सबै अस्पतालका प्रमुखहरू संलग्न छन् । यसले जिल्लामा कोभिड–१९ रोकथामका लागि के गर्नुपर्छ भन्ने विषयमा जिल्लास्तरका नीतिगत निर्णयहरू गर्नेलगायतको काम गर्दै आएको छ । हामीले अहिले भौतिक रूपमा उपस्थित भएर सभा, सम्मेलन गर्न नसक्ने अवस्था भएकाले सबै स्थानीय तहलाई पनि जोडेर भर्चुअल रूपमै मिटिङ गरिरहेका छौं ।
यसमार्फत चिकित्सा परामर्श उपलब्ध गराउने काम पनि गरेका छौं । सम्बन्धित पालिकाबाट आफ्नो पालिकाभित्र संक्रमित भएका व्यक्तिहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउनेलगायतका काम हामीले गर्दै आएका छौं ।
यस्तै जिल्लामा अक्सिजनको आपूर्ति कम नहोस् भनेर नेपालगन्जमा रहेका दुईवटा फ्याक्ट्रीसँग समन्वय गरिरहेका छौं । विगतमा कुनै कम्पनी, कलकारखाना र निजी क्षेत्रले लगेर राखेका सिलिन्डरहरू जम्मा गरेका थियौं र त्यसलाई व्यवस्थापन गरेका थियौं । अहिले भने विस्तारै हामीले ती सिलिन्डरहरू फिर्ता गर्दै गरेका छौं ।
जिल्लामै अक्सिजन प्लान्टको स्थापना हुँदै छ । कोभिड अस्पतालमा एउटा पुरानो प्लान्ट छ । अर्को नयाँ प्लान्ट पनि जोडिएको छ । त्यसले पनि सेवा दिन थालेको छ । कोभिडमा हाई फ्लोको अक्सिजनको आवश्यकता पर्दो रहेछ । नर्मल फ्लोले काम गर्दो रहेनछ । त्यसकारण हाई फ्लोका लागि सिलिन्डरबाटै दिनुपर्दो रहेछ र नर्मल फ्लोमा दिनुपर्ने बिरामीहरूका लागि जडान भएको प्लान्टबाटै आपूर्ति गर्दै आएका छौं ।
स्थिति केही बिग्रन्छ कि भनेर हामीले केही थान अक्सिजन कन्सन्ट्रेटरहरू खरिद गरेका छौं । भएका कन्सन्ट्रेटरहरू स्थानीय तहहरूमा पनि उपलब्ध गराइएको छ र कोभिडका बिरामी उपचार गराउने अस्पतालहरूमा पनि उपलब्ध गराएका छौं, ती ठाउँहरूमा यसको प्रयोग गरिँदै आएको छ ।

कोभिडका बिरामी व्यवस्थापनमा कस्ता-कस्ता समस्या भोग्नुपरेको छ ?
समस्या हेर्ने हो भने समस्या, समस्याकै पहाड हुन्छ । हामी आफैंले त्यस्तो समस्या भोगेका त छैनौं । हामीले जुन ढंगले मानिसहरू अनुशासनमा बसिदेलान्, सामाजिक दूरी कायम गरिदेलान्, स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिदेदलान् भन्ने आशा थियो त्योचाहिँ पूरा हुन सकेको छैन ।
चेतनाको कमी, साधन–स्रोतको उपलब्धताको कमीले, प्रवृत्तिगत हेलचेक्रयाइँले पनि मानिसहरूले सामाजिक दूरी कायम नगरिदिने, बिहे-व्रतबन्धमा भेला हुने, काम नपरेको अवस्थामा पनि बाहिर निस्कने, ती मानिसहरू नियन्त्रणका लागि प्रहरी परिचालनको संख्या पनि बढी आवश्यक पर्ने समस्या अलि छ । लामो समय प्रहरीको पहराले मात्र हुँदैन । मानिसहरूमा स्वःस्फूर्त रूपमा जागरण भइदिए अलि सहज हुँदो रहेछ । नत्र भने यो विषय अलिकति चुनौतीका रूपमा देखिएको छ ।

केही दिनअघि सुर्खेतमा रहेको आयुर्वेद कोभिड अस्पतालका तीनजना चिकित्सकमाथि भएको आक्रमणमा संलग्नमाथिको कारबाही कहाँ पुगेको छ ? कोरोना संक्रमित चिकित्सकमाथि आक्रमण हुनुलाई यहाँले कसरी लिनुभएको छ ?
अस्पतालबाट बाहिर निस्कने क्रममा आयुर्वेद अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि (अस्पतालको कम्पाउन्डमै होइन, बाहिर) आक्रमण भएको कुरा आयो । लगत्तै आक्रमणमा संलग्नहरूलाई गिरफ्तार गर्‍यौं । अहिले उनीहरू हिरासतमा छन् । तिनीहरूको अन्य अनुसन्धान गर्ने र अभियोजन गर्ने कुराहरू सुरु भइसकेको छ ।
स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय काम हो । कसैमाथि पनि आक्रमण गर्न पाइँदैन । अझ अहिलेको अवस्थामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न झनै पाइँदैन । उनीहरूको मनोबल उच्च गराउनुपर्ने, उनीहरूलाई उत्प्रेरित गर्नुपर्ने अवस्थामा आक्रमण गर्नु अक्षम्य अपराध हो । अपराधमा संलग्नलाई कानुनबमोजिम कारबाही हुन्छ ।

सेवाग्राहीहरूको समस्या समाधानमा आफू कत्तिको सफल भए जस्तो लाग्छ ?
अहिले जिल्ला प्रशासनबाट प्रवाह हुने नागरिकता, मालपोतबाट प्रवाह हुने रजिस्ट्रेसन–घरजग्गा पास गर्ने कुराहरू, यातायात व्यवस्था कार्यालयबाट हुनुपर्नेलगायत केही कामहरू रोकिएका छन् । कतिपय विकास निर्माणसँग सम्बन्धित कामहरूमा भने त्यति अफ्ठ्यारो छैन । उपचारसँग सम्बन्धित कुराहरूमा अफ्ठ्यारो परेको छैन । कार्यालय खोलेर नियमित कार्य सुरु भएसँगै हामीले सहजीकरण गर्छौं, केही अफ्ठ्यारो भए सहज बनाउँछौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
अरू धेरै विकल्प नसोचीकन अलि छिटै निजामती सेवामा प्रवेश गरेको हो । किनभने त्यतिखेर मैले देखेको, मैले थाहा पाएको- सरकारी सेवामध्ये सबैभन्दा आकर्षक सेवा यही लाग्यो । मैले प्राप्त गर्ने सेवा यही नै थियो भन्ने सोचेर लागेको हुँ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । आफूले गर्दै आएको कामप्रति एकदमै सन्तुष्ट छु । म सरकारी सेवामा रहुन्जेल सबै चिज (कुरा) यसै (निजामती सेवा) लाई ठानेर काम गर्छु ।

सुर्खेत जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
शान्ति–सुरक्षाको अवस्था सुर्खेतको नर्मल नै छ । सहरीकरण बढ्दै गइसकेपछि समाजमा पनि विभिन्न किसिमका मानिसहरू आउनेजाने क्रम भइरहन्छ । लोकतान्त्रिक व्यवस्था भएको हुँदा वाक् स्वतन्त्रताका कुरा, नागरिक अधिकारका कुराहरू पनि उठ्ने भएकाले त्यसलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ । अलिअलि सानातिना केही घटनाहरू भए पनि यहाँको समग्रमा अवस्था राम्रो छ ।

लागुऔषध प्रयोग तथा ओसारपसारको अवस्था नि ?
लागुऔषधको ओसारपसारमा यो जिल्ला संवेदनशील मानिन्छ । यसमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन गरेर अनुसन्धान गर्ने, अभियोजन गर्ने काम गरिरहेको छ ।

सुर्खेतमा भएको राउटे प्रकरणको विषय के हो ?
राउटेको विषयमा जुन कुरा मिडियामा आएको छ त्यो आवश्यकताभन्दा बढी आएको छ । राउटे प्रकरणमा राउटे समुदायका दुई युवतीमाथि जुन यौनजन्य दुव्र्यवहार भयो, त्यसमा संलग्न भनिएका मानिसहरूलाई हामीले तत्कालै गिरफ्तार गर्‍यौं र अहिले तिनीहरू अनुसन्धानको प्रक्रियामा छन् । अनुसन्धान प्रक्रिया सकिसकेपछि तिनीहरूलाई कानुनबमोजिम कारबाही हुन्छ । राउटे समुदायको व्यवस्थापनका निमित्त हामी सक्रिय छौं । उनीहरू हामीभन्दा अलि निःतान्त फरक प्रकृतिका छन् । उनीहरूको मौलिक संस्कृति, मूल्य–मान्यता र परम्परा जोगिने गरी उनीहरूलाई रूपान्तरण गर्ने र सामाजिकीकरण गर्ने प्रक्रियामा हामीले अहिले छलफल गरिरहेका छौं । उनीहरूका लागि छुट्टै नीति नै आवश्यक पर्छ कि भनेर नीति नै बनाएर अघि बढ्ने कुरा भइरहेको छ ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
अहिले मुलुक कोभिड–१९ बाट आक्रान्त भएको अवस्था हो । यस्तोमा हामी सबै सचेत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सचेतनापूर्वक जिउन सिकौं । हामीले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरौं । अफ्ठयारोमा परेका मानिसलाई हामी सबैले सहयोग गरौं भन्ने मेरो आग्रह छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका प्रजिअ रामकुमार महतोसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाउनुभए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

प्रतिक्रिया