शुक्रबार, वैशाख ७, २०८१

‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

नेपालखोज २०७८ जेठ २४ गते १०:००

सुदूरपश्चिम प्रदेशमा नौवटा जिल्ला छन् । हिमाल, पहाड तराईको संगम बनेको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका अधिकांश क्षेत्रले भारतीय सीमालाई छोएको छ । खुला सीमाका कारण कोरोना संक्रमणको चुनौती झेल्न बाध्य कञ्चनपुर जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले धनुषाका रामकुमार महतो कार्यरत छन् । झन्डै १९ वर्षको निजामती सेवाको अनुभवसँगै कञ्चनपुरको प्रशासनिक नेतृत्व महतोले सम्हालिरहेका छन् । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए । उनी २०७७ भदौ २४ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

इमानदार र स्वच्छ प्रशासकको छवि बनाएका महतो निजामती सेवामा आफू निकै सन्तुष्ट रहेको बताउँछन् ।

अहिले कोरोना महामारीले नेपाललगायत विश्व नै प्रभावित भएको अवस्था छ । प्रजिअ महतोले पनि कञ्चनपुर जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएकोप्रति चिन्ता जनाएका छन् । उनी भन्छन्, ‘सबैको सहयोगमा जिल्लामा कोरोनाको संक्रमण दर घटाउन सफल भएका छौं । खुला सीमा र रोजगारीका लागि भारतमा निर्भर भएकै कारण कोभिड–१९ को चुनौती बढेको हो ।’

उनले समुदायमा रहेका विभिन्न संघ-संस्था, क्लबहरू छन् यतिवेला सक्रिय हुन आवश्यक रहेको बताउँछन् । ‘यो बेला भनेको समाजसेवा, मानवसेवाका लागि अवसर पनि हो भनेर हामीले बुझ्न जरुरी छ, योभन्दा अरू कुनै महत्त्वपूर्ण समय आउलाजस्तो मलाई लाग्दैन । किन भने अहिले हाम्रो परिवार, छरछिमेक, समाजमा मानिसहरूको ज्यान गइरहेको छ । योभन्दा ठूलो मानवसेवा अरू हुन सक्दैन,’ उनले भने, ‘यसमा सबै संवेदनशील भएर स्वास्थ्य मापदण्ड आफूले पालना गर्ने, अरूलाई पनि गर्न लगाउने र सहयोग गर्ने काममा सक्रिय हुनुपर्छ भन्ने मेरो चाहना हो । आफैं असल कामसहित सकारात्मक सोच लिएर अघि बढे मुलुकलाई नै फाइदा पुग्नेछ ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसँग हामीले यस्तै–यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा महतोसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– भारतबाट नेपाल प्रवेश गर्ने नाका भएको कारण कञ्चनपुर कोभिडको उच्च जोखिममा छ ।
– तीन तहसँगै निजी क्षेत्रको समन्वयमा कोभिड केही नियन्त्रण भने आएको छ ।
– कोभिड संक्रमणदर, सक्रिय संक्रमित संख्या, मृत्युदर सबै घट्दै गएको अवस्था छ ।
– नाकामा हेल्थ डेक्स छ । भारतबाट नेपाल भित्रने सबैको कोरोना परीक्षण गरिन्छ ।
– नाकामा एम्बुलेन्स पूर्ण तयारीसाथ छ ।
– लक्षण नदेखिएका संक्रमतलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।
– लक्षणसहितका संक्रमितलाई अस्पतालमा लगेर आवश्यक उपचारको प्रबन्ध मिलाएका छौं ।
– अस्पतालमा अहिले क्षमताको विकास भएको छ ।
– अक्सिजन पर्याप्त मात्रामा छ ।
– जनशक्ति धेरै नभए पनि भएकालाई व्यवस्थापन गरी उपचार प्रभावकारी बनाइरहेका छौं ।
– केही समयअघि अक्सिजन अभाव थियो । अहिले यो समस्या समाधान भएको छ ।
– महाकाली अस्पतालमा अक्सिजन प्लान्टको निर्माण प्रक्रिया अघि बढेको छ ।
– स्वास्थ्य सामग्रीको अभावको समस्या पनि अहिलेको अवस्थामा समाधान भएको छ ।
– महाकाली अस्पतालमा पीसीआर परीक्षणको सानो क्षमता छ, अलिकति क्षमता बढाउन पाए हुन्थ्यो भन्ने छ ।
– कहिकाहीँ एन्टिजेन किटको अभाव हुने गर्दछ । अहिलेलाई भने हामीसँग छ ।
– मुख्य समस्या खोप हो । जुन नेपालभरकै समस्या हो ।
– अहिले भारतमा पनि कोराना केही नियन्त्रणमा आएकाले स्वदेश फर्कने नेपाली कमै छन् । त्यसकारण अहिले कोरोना संक्रमणका लागि खुला सिमाना मुख्य समस्या बनेको छैन ।
– हामीले नियम कानुनअनुसार सेवा उपलब्ध गराउने हो ।
– लोकसेवा आयोगले योग्यताका आधारमा निष्पक्ष उम्मेद्‌वार चयन गर्छ भन्ने थाहा भएपछि म निजामती सेवातर्फ आकर्षित भएँ ।
– म आफ्नो पेसाप्रति एकदम सन्तुष्ट छु । हरेक क्षेत्रमा उतारचढाव त हुन्छ नै ।
– जिल्लाको शान्ति–सुरक्षा सामान्यभन्दा पनि सुधारोन्मुख छ ।
– खुला सिमानाको कारण तस्कर र लागुऔषध कारोबार भइरहे पनि अहिले धेरै नै नियन्त्रणमा आएको छ ।


कञ्चनपुर जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
कञ्चनपुर जिल्लामा भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका भएको हुँदा उच्च जोखिममा छ । यद्यपि अहिले तीनै तहको सरकारअन्तर्गतका निकायहरूको समन्वय जसमध्ये स्थानीय तह, निजी क्षेत्र सबैको समन्वयात्मक प्रयासले गर्दा अहिले नियन्त्रण हुँदै गइरहेको छ । कोरोना संक्रमण धेरै घटेको अवस्था छ । दैनिक सक्रिय संक्रमित दुई हजार रहेको अवस्था थियो भने अहिले घटेर पाँच सय, ६ सयको अवस्थामा पुगेको छ । अहिले मृत्युदर पनि निकै घटेको छ । तसर्थ अहिले जिल्लामा कोरोना संक्रमण नियन्त्रणकै अवस्थामा छ ।

जिल्लामा करोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
नाकामा हेल्थ डेस्क राखेका छौं । भारतबाट प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्षण हुन्छ । कोरोना पोजेटिभ देखिएको हकमा स्टेन्डबाई रहेको एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने गरिन्छ । नेगेटिभ देखिएकाहरू आफ्नो गन्तव्यतर्फ जानुहुन्छ । उहाँहरू संस्थागत रूपमा स्थापना भएका आइसोलेसनमा बसेर गन्तव्यतर्फ जानुहुन्छ । पोजेटिभ देखिएकाहरूको अवस्थाअनुसार उपचारका लागि अस्पताल लैजाने गरिएको छ ।
अस्पतालमा पनि अहिले उपचारका लागि क्षमताको विस्तार भएको छ । स्वास्थ्य उपकरणहरू बढेको अवस्था छ । हामीसँग अहिले अक्सिजन पनि पर्याप्त छ । जनशक्ति धेरै नभए पनि भएका जनशक्तिलाई परिचालन गरेर उपचारलाई प्रभावकारी बनाएका छौं ।

कोभिडका बिरामी व्यवस्थापनमा कस्ता–कस्ता समस्या भोग्नुपरेको छ ?
समस्या कुनै निकायको, कुनै व्यक्तिका तर्फ बाट छैन । उपचारका लागि केही समयअघि हामीलाई अक्सिजनको निकै ठूलो समस्या थियो । अहिले त्यो अवस्था छैन । नेपाल सरकार र स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र मातहतका निकाय, निजी क्षेत्र (उद्योगी, व्यवसायी), गैरसरकारी संघ–संस्थाको समेतको पहबाट अहिले अक्सिजनको समस्या समाधान भएको छ ।
महाकाली अस्पतालमा भरखर मात्र अक्सिजन प्लान्टको निर्माण प्रक्रिया अघि बढेको छ । त्यसैगरी हामीसँग स्वास्थ्य सामग्रीको अभाव भएको थियो, केही हदसम्म त्यो पनि प्राप्त भएकाले यसको समस्या समाधान भएको छ । मूल कुरा टेस्टिङको हो । महाकाली अस्पतालमा कोभिड–१९ परीक्षणका लागि पीसीआरको क्षमता सानो छ, यसलाई बढाउन पाए हुन्थ्यो भन्ने छ । अर्को कुरा एन्टिजेन किट हो, यसको हामीसँग अलि अभाव छ । यसलाई पनि समन्वय गरेर हामी व्यवस्थापन गर्दै छौं ।
मुख्य कुरा खोप हो । खोप नेपालभरि नै समस्या छ । सबै नागरिकलाई खोप दिन पाए कोभिड–१९ को संक्रमणबाट बचाउन सकिन्थ्यो । कोभिडबाट बच्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू सुरुदेखि नै सञ्चालन गर्दै आएका छौं । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डहरू सबै नागरिकले पालना नगरिदिँदा संक्रमण फैलिएको हामी पाउँछौं । स्वास्थ्य मापदण्डको पालना गर्ने, मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, भिडमा नजाने, स्यानिटाइजर प्रयोग गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।

खुला सीमाका कारण कोरोना नियन्त्रणमा आएका कठिनाइहरू कस्ता देखिएका छन् ?
यो सत्य हो । केही समयअघि भारतमा कोभिड संक्रमणको दर उच्च थियो । धेरै मानिसको मृत्यु हुन थालेको केही समयपछि नेपालमा पनि कोरोनाको दोस्रो लहर देखा पर्न थाल्यो । खुला सीमा भएकै कारण मानिसहरूको आवागमन पनि धेरै हुने भएकाले हामी जोखिममा रहनु स्वभाविक हो । यद्यपि अहिले भारतमा कोरोना नियन्त्रण प्रभावकारी रूपमा भएको, संक्रमण घटेका कारण पनि भारतबाट नेपाल प्रवेश गर्ने क्रम घटेको छ । पहिलाको तुलनामा निकै कम मात्रामा नेपाली स्वदेश फर्किएका छन् । त्यसकारण अहिले खुला सीमा मूल समस्याका रूपमा छैन । केही समयअघि भने यो ठूलो समस्या थियो ।

सेवाग्राहीहरूको समस्या समाधानमा आफू कत्तिको सफल भए जस्तो लाग्छ ?
सरकारी कर्मचारीहरू सबैले नियम–कानुनबमोजिमको सेवा उपलब्ध गराउने हो । सेवा प्रवाहमा खासै समस्या छैन । नियम–संगत काम गरीआएका छौं । सेवा प्रवाहका लागि विभिन्न निकायको समन्वय पनि चाहिन्छ । अन्तरनिकाय समन्वय गरेर अघि बढिरहेका छौं । सेवाग्राहीबाट, कर्मचारीबाट खासै समस्या छैन । हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं । सन्तुष्ट छौं ।

सेवाग्राहीका रूपमा सरकारी कार्यालयमा पुग्दा आफूले भोग्नुपरेका अनुभव कस्ता छन् ?
छैन । भावनात्मक र मनोगत कुराको पछाडि लाग्नु हुँदैन र कहीँ कतै सेवा प्रवाह गर्दा व्यक्तिको स्वभावले पनि थोरै प्रभाव परेको हुन्छ, त्यो सामान्य कुरा हो । यसलाई ठूलो इस्यु पनि बनाउनु हुँदैन । व्यक्तिको आचरण र व्यवहारले पनि सेवाग्राहीमा कहिलेकाहीँ सकारात्मक र नकारात्मक असर पर्ने हुन्छ । यी कुराहरू मैले आफैंले कहीँकतै ठूलो इस्यु बनाएको छैन । विधि प्रक्रिया के हो ? के सम्बन्धमा सेवा लिने हो बुझेर ? अहिले सूचना प्रविधिको युग हो । हरेक ऐन–कानुन, विधि प्रक्रियासँग नागरिकको पहुँच छ । आफूले लिने सेवा कसरी पाइन्छ भन्ने कुरामा सेवाग्राही सचेत भयो भने समस्या झेल्नुपर्दैन । व्यक्तिको मनोगत व्यवहारले मात्रै पनि यसमा प्रभाव पार्ने अवस्था रहँदैन । आफ्नो हक–अधिकार सुनिश्चित गर्न सकिन्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
सबैभन्दा पहिला बुबाआमाको चाहना नै हो, कि छोरा सरकारी सेवामा प्रवेश गरोस् । पछि पढ्दै जाँदा, बुझ्दै जाँदा मलाई पनि सरकारी सेवामा प्रवेश गरेर देशको सेवा गर्न पाए हुन्थ्यो भन्ने चाहना पलाउँदै गयो । एसएलसी दिने समयमा मैले लोकसेवा आयोग एउटा संस्था रहेछ, जसले योग्यता प्रणालीका आधारमा निष्पक्ष रूपमा उम्मेद्‌वार छनोट गर्छ भन्ने कुरा थाहा पाएँ । त्यतिबेला देखि नै म निजामती सेवाप्रति आकर्षित भएको हुँ । निष्पक्ष र योग्यताका आधारमा उम्मेद्‌वार छनोट गर्छ भन्ने विश्वास आफूमा जागेपछि म यसतर्फ आकर्षित भएँ र सफलता पनि पाएँ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण रूपमा सन्तुष्ट छु । सबैको सधैंं राम्रो मात्रै भन्ने हुँदैन, उतारचढाव सबै ठाउँमा हुन्छ । व्यापार व्यवसाय गर्दा पनि त्यहाँ समस्यारहित भन्ने हुँदैन । केही न केही सबै ठाउँमा समस्या रहन्छन् र राज्यका तर्फबाट जनतालाई प्रदान गर्ने सेवामा एउटा व्यक्तिले मात्र पनि सम्भव हुँदैन । एउटा संयन्त्र हुन्छ, प्रणाली हुन्छ । विभिन्न पदाधिकारी हुन्छन्, विभिन्न निकाय हुन्छन् । सबैको सहकार्यमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ । तसर्थ म आफ्नो पेसाप्रति पूर्ण रूपमा सन्तुष्ट छु ।

कञ्चनपुर जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
सामान्य छ । सुधारोन्मुख छ । खुला सीमा भएकाले तस्करी, लागुऔषधका कारोबारहरू भएको हामी पाउँछौं । यद्यपि अहिले धेरै नियन्त्रणमा रहेको अवस्था छ । खुला सीमाबाट हुने तस्करी, मानव तस्करी, गैरकानुनी क्रियाकलाप र अपराधहरू पनि छिटफुट रूपमा हुने गरेको जिल्ला हो । हामीले विगतको तुलना गर्ने हो भने अहिले धेरै सुधारोन्मुख अवस्थामा पुगेका छौं । सुधार भएको छ ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
अहिलेको मुख्य कुरा भनेको कोभिड–१९ को संक्रमणबाट हामी सबै जोगिने र अरूलाई जोगाउनु नै हो । कतिपयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने र सरकारले गरिदिएन भनेर आरोप, आक्षेप लगाउने गरेको पनि पाइन्छ । त्यसकारण आफैंले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरेको छ कि छैन हेर्ने । त्यसपछि आफ्नो घर–परिवारमा पालना गर्न लगाउने, छरछिमेकमा गर्न लगाउने । समुदायमा रहेका विभिन्न संघ–संस्था, क्लबहरू छन् यतिवेला सक्रिय हुन आवश्यक छ । यो बेला भनेको समाजसेवा, मानवसेवाका लागि अवसर पनि हो भनेर हामीले बुझ्न जरुरी छ, योभन्दा अरू कुनै महत्त्वपूर्ण समय आउलाजस्तो मलाई लाग्दैन । किन भने अहिले हाम्रो परिवार, छरछिमेक, समाजमा मानिसहरूको ज्यान गइरहेको छ । योभन्दा ठूलो मानवसेवा अरू हुन सक्दैन । यसमा सबै संवेदनशील भएर स्वास्थ्य मापदण्ड आफूले पालना गर्ने, अरूलाई पनि गर्न लगाउने र सहयोग गर्ने काममा सक्रिय हुनुपर्छ भन्ने मेरो चाहना हो । आफैं असल कामसहित सकारात्मक सोच लिएर अघि बढे मुलुकलाई नै फाइदा पुग्नेछ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङ जिल्लाका प्रजिअ उमेश पाण्डेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरु पढ्न तथा सुन्न छुटाउनु भए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

प्रतिक्रिया