बिहीबार, चैत १५, २०८०

‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

नेपालखोज २०७९ जेठ १६ गते ९:५७

वाग्मती प्रदेशको रामेछाप जिल्लाको प्रशासनिक नेतृत्व अहिले सिन्धुलीका दीपककुमार पहाडीको काँधमा छ । २०७८ असोज ४ गतेदेखि रामेछापको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पहाडी कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ पहाडीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २०४६ सालदेखि क्रियाशील रामेछापका प्रजिअ पहाडी यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । मन्त्रालय आउनुअघि उनी उदयपुर जिल्लाको प्रजिअका रुपमा कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुँदा प्रक्रियागत काम चाँडो हुने उनको बुझाइ छ । उनले कार्यालयमा कार्यसम्पादनका लागि विभिन्न संरचनाहरु रहने र सोही संरचनाले सेवाग्राहीका समस्या समाधान गर्ने बताउँछन् । ‘कुनै पनि संगठनमा कामको प्रकृतिअनुसार संरचना बनाइएको हुन्छ । कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुन्छ । अधिकार दिइएको हुन्छ,’ प्रजिअ पहाडीले नेपालखोजसँग भने, ‘सोहीअनुरुप आ-आफ्नो ठाउँमा काम गर्ने हो । नेतृत्वले कर्मचारीहरूको कामको निगरानी गर्ने हो । निगरानी भयो भने सेवा प्रवाह पनि प्रभावकारी हुन्छ ।’
रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपककुमार पहाडीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५९औं शृंखला :

हाइलाइट्स :
-अहिलेसम्म आएका सबै सेवाग्राहीले म प्रमुख भएको अथवा मैले नेतृत्व गरेको संस्थामा कुनै गुनासो गरेको मलाई थाहा छैन ।
-कतिपय अवस्थामा विधि-विधानलाई पछ्याउँदा सेवाग्राहीको माग पूरा नहुँदा अलिकति दबाब आएजस्तो हुन जान्छ । प्रक्रिया नपुर्‍याउँदा यस्तो गर्नू भन्नुपर्छ ।
-कुनै पनि संगठनमा कामको प्रकृतिअनुसार संगठन संरचना बनाइएको हुन्छ । कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुन्छ । अधिकार दिइएको हुन्छ । सोहीअनुरुप आ-आफ्नो ठाउँमा काम गर्ने हो । नेतृत्वले कर्मचारीहरूको कामको निगरानी गर्ने हो । निगरानी भयो भने सेवा प्रवाह पनि प्रभावकारी हुन्छ ।
-‘हामी तपाईंहरूकै काम गर्न बसेका हौं । तपाईंहरूले लिएर आएको काम हामीले गर्नैपर्छ । हामीले दिएको सेवाबाट तपाईंले सन्तुष्टि प्राप्त गर्नुपर्छ । र तपाईंले पनि यो प्रक्रिया पूरा गर्नुपर्छ’ भन्ने ढंगले सेवाग्राहीलाई सम्झाउनुपर्छ ।
-तीन तहमा राम्रो समन्वय भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ । स्थानीयतह पनि अधिकार सम्पन्न भएको यो अवस्थामा जनतालाई सेवा प्रवाह राम्रो भएको मान्न सकिन्छ ।
-निजामती सेवा भनेको राष्ट्रको प्रमुख सेवा हो । जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ । जहाँ निष्पक्ष हुँदैन त्यहाँ सोर्सफोर्सको कुरा आउँछ । यस्तो ठाउँमा प्रतिस्पर्धा गर्न मज्जा आउँदैन ।
-लोकसेवाको प्रतिस्पर्धामा एकैचोटि सफल नहुन पनि सकिन्छ । एक प्रयास असफल हुँदा यो नहुने रहेछ भनेर निराश हुने प्रवृत्ति पनि छ युवापुस्तामा । अर्कोतर्फ विदेश मोह पनि छ । १२ पढेपछि विदेश जाऔं भन्ने हावा पनि चलेको छ ।
-चाँडो सरुवा पनि दुई किसिमका हुन्छन् । एउटा कर्मचारी आफैँले ठाउँ चित्त नबुझेर गएको हो कि । व्यवहार, मन नलाग्दै अथवा विभिन्न कारणले गएको हो भने उसले त्यहाँ राम्रो काम गर्न नसक्ने अवस्था पनि हुन्छ । इच्छा-चाहनाअनुसार गयो भने उसले राम्रो काम गर्न सक्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
अहिलेसम्म आएका सबै सेवाग्राहीले म प्रमुख भएको अथवा मैले नेतृत्व गरेको संस्थामा कुनै गुनासो गरेको मलाई थाहा छैन । त्यसकारण मैले उहाँहरूको समस्या राम्रोसँग समाधान गरेको छु भन्ने लाग्छ । असफल भएजस्तो लाग्दैन ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
कतिपय मान्छेलाई व्यवहारिक पाटोमा काम पर्दा यो भइदिए हुन्थ्यो भन्ने हुन्छ । तर कर्मचारीहरूले आफ्नो विधि-विधान प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ । विधि-विधान सेवा-प्रवाहलाई व्यवस्थित गर्न र सेवा प्रवाह गर्नेले आफ्नो अनुकूल व्याख्या नगरोस् भन्नका लागि हो । कतिपय अवस्थामा ती विधि-विधानलाई पछ्याउँदा सेवाग्राहीको माग पूरा नहुँदा अलिकति दबाब आएजस्तो हुन जान्छ । प्रक्रिया नपुर्‍याउँदा यस्तो गर्नू भनेर अह्राउनुपर्छ । प्रक्रिया नपुग्दा पुगेन भन्दा दबाब दिएको जस्तो अवस्था हुन्छ । त्यस्तो ठूलो दबाब आएको अनुभव छैन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
कुनै पनि संगठनमा कामको प्रकृतिअनुसार संगठन संरचना बनाइएको हुन्छ । कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारी दिइएको हुन्छ । अधिकार दिइएको हुन्छ । सोहीअनुरुप आ-आफ्नो ठाउँमा काम गर्ने हो । नेतृत्वले उनीहरूको कामको निगरानी गर्ने हो । निगरानी भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ । संगठनअनुसार, कामअनुसार फरक-फरक प्रकारले काम गर्नुपर्छ । आफूलाई दिएको जिम्मेवारी सही रुपमा जनताको सेवामा समर्पित गर्ने, सेवाग्राहीको समस्या सरल र सहज रुपमा सम्बोधन गर्ने, हुन नसक्ने कुरा यो कारणले हुँदैन भनेर भन्ने । तपाईंको काम हुँदैन मात्र भन्दा सेवाग्राही जनतामा निराशा आउँछ । मेरो काम सधैं नहुने किन ? भन्ने कुरामा विवाद उत्पन्न हुन सक्छ । त्यसैले यो-यो प्रक्रिया पूरा गर्नु तपाईंको काम हुन्छ भन्नुपर्छ । ‘हामी तपाईंहरूकै काम गर्न बसेका हौं । तपाईंहरूले लिएर आएको काम हामीले गर्नैपर्छ । हामीले दिएको सेवाबाट तपाईंले सन्तुष्टि प्राप्त गर्नुपर्छ । र तपाईंले पनि यो प्रक्रिया पूरा गर्नुपर्छ’ भन्ने ढंगले सेवाग्राहीलाई सम्झाउनुपर्छ । यसो हुँदा काम नहुने मान्छे फर्किएर जान्छन् हुने प्रक्रिया पुर्‍याएर आउँछन् । काम पारदर्शी र विधि-विधान पुर्‍याएर गर्‍यो भने सेवा ग्राहीले मेरो काम भइरहेको नभएर यो कारणले भएको छैन भन्ने कुरा सेवाग्राहीले बुझ्नुहुन्छ । हामी कर्मचारीले सबैलाई एकै किसिमको जवाफ दिँदा हुँदा जनमानसमा त्यसले गलत अर्थ राख्छ । त्यसकारण सबै सेवाग्राही नयाँ हुन् उनीहरू पहिलोपटक सेवा लिन आएका हुन् भन्ने बुझेर झर्को नमानी हामीले प्रक्रियाबारे बतायौं भने सेवाग्राहीको काम प्रभावकारी हुन्छ ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघीयता भनेकै परिवर्तनको चाहनालाई आत्मासात् गर्न गरिएको व्यवस्था हो । संघीयता भनेको व्यवस्थाको परिवर्तन हो । संघीयता आएपछि तीन तहको सरकार आयो । सबै तहले अधिकार पाएका छन् । पहिला नियम-कानुन बाझिँदा केही अन्योल भए पनि समय क्रमसँगै तीनै तहका सरकारले ऐन, कानुन, संगठन, संरचना कर्मचारी व्यवस्थापनजस्ता कुरामा निखारता ल्याइसकेको हुनाले अब सेवा प्रवाहमा एक किसिमबाट छर्लंग भइसकेको छ । तर समन्वयको चाहिँ खाँचो छ । तीन तहमा राम्रो समन्वय भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ । स्थानीयतह पनि अधिकार सम्पन्न भएको यो अवस्थामा जनतालाई सेवा प्रवाह राम्रो भएको छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवा भनेको राष्ट्रको प्रमुख सेवा हो । शिक्षा हासिल गरेपछि राज्यको संयन्त्रभित्र छिरेर जनताको सेवा गरौं भन्ने भावना स्वत: आउने नै भइहाल्यो । हामी पढ्दै जाँदा पढाइका क्रममा सबैभन्दा ठूलो रोजगारदाता नेपाल सरकार नै थियो । त्यही आधारमा विज्ञापन खुल्यो परीक्षा दिइयो । जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ । जहाँ निष्पक्ष हुँदैन त्यहाँ सोर्सफोर्सको कुरा आउँछ । यस्तो ठाउँमा प्रतिस्पर्धा गर्न मज्जा आउँदैन । छिरेपछि सेवा-सुविधा वृत्तिविकास भनेको अर्को पाटो भयो । तर स्वच्छ प्रतिस्पर्धाबाट पाएको नोकरीले सन्तुष्टि दिन्छ । सेवा प्रवाह पनि राम्रो हुन्छ । गर्दै जाँदा भविष्यमा राम्रै सम्भावना छ भनेर यता लागियो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
लोकसेवाको प्रतिस्पर्धामा युवापुस्ता कम सामेल भएकाले यसको साख केही कम भएको हो किजस्तो पनि देखिन्छ । प्रतिस्पर्धामा एकैचोटि सफल नहुन पनि सकिन्छ । एक प्रयास असफल हुँदा यो नहुने रहेछ भनेर निराश हुने प्रवृत्ति पनि छ युवापुस्तामा । अर्कोतर्फ विदेश मोह पनि छ । १२ पढेपछि विदेश जाऔं भन्ने हावा पनि चलेको छ । यसले पनि केही प्रभाव पारेको छ ।

फुर्सदमा कस्ता पुस्तक पढ्न रूचाउनुहुन्छ ?
प्राय: काममै व्यस्त भइन्छ । अनलाइन मिडियाहरु, केही धार्मिक पुस्तक र केही नयाँ लेखकले लेखेका किताब छ भने पढिन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
चाँडो सरुवा पनि २ वटा किसिमका हुन्छन् । एउटा कर्मचारी आफैँले ठाउँ चित्त नबुझेर गएको हो कि । व्यवहार, मन नलाग्दै अथवा विभिन्न कारणले गएको हो भने उसले त्यहाँ राम्रो काम गर्न नसक्ने अवस्था पनि हुन्छ । इच्छा-चाहनाअनुसार गयो भने उसले राम्रो काम गर्न सक्छ । नियम, विधि, प्रक्रियाअनुसार सरुवा भयो भने यहाँ पक्षपात भएन जस्तो लाग्छ भने कर्मचारीले जहाँ गएर पनि काम गर्नुपर्छ । नियम, विधिले यहाँ सरुवा गर्ने भनेर तोकेको हुन्छ त्यहीअनुसार पनि सरुवा भइरहेको अवस्था छ । छिटो-छिटो सरुवा हुँदा जहाँ पनि घुलमिल हुन समय लाग्छ । यसले पनि सेवा प्रवाहमा असर गर्छ नै । यद्यपि हाम्रो कामको प्रकृति जहाँ गए पनि उस्तै हुने भएकाले अनुभवी कर्मचारीलाई सरुवाले खासै प्रभाव पार्दैन ।

रामेछापमा स्थानीय तह निर्वाचन कस्तो रह्यो ?
स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा भयो । सुरक्षा र कर्मचारी व्यवस्थापनमा चुनौती थिए । चुनौतीको बाबजुत पनि निर्वाचन राम्रोसँग सम्पन्न भयो । सुरक्षा र कर्मचारी व्यवस्थापन राम्रो भएका कारण एउटा पनि अप्रिय घटना हुन पाएन । केही व्यक्ति घाइते अंगभंग भए भन्ने कुरा योभन्दा पहिले सुन्न पाइन्थ्यो योपालि यो अवस्था रहेन । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंहरुजस्तो मिडियाले राज्य संयन्त्रद्वारा गरिएका सेवालाई अथवा हामीले गरेको सेवालाई उजागर गरिदिनुभयो भने हामीलाई पनि सुधार गर्न महत्त्वपूर्ण योगदान रहनेछ । धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग कुराकानी गरेका थियौं । यसपटक पनि वाग्मती प्रदेशकै रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया