शुक्रबार, वैशाख १४, २०८१

‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

नेपालखोज २०७९ जेठ ९ गते ९:५३

वाग्मती प्रदेशको मकवानपुर जिल्लाको प्रशासनिक नेतृत्व अहिले चितवनका भरतमणि पाण्डेको काँधमा छ । १३ महिनादेखि मकवानपुरको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पाण्डे कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ पाण्डेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २०५९ सालदेखि क्रियाशील मकवानपुरका प्रजिअ पाण्डे यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले पनि हरेक किसिमका सेवाग्राही आउने गरेको प्रजिअ पाण्डे बताउँछन् । ‘जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । त्यही भए सबै किसिमका सेवाग्राही आउँछन्,’ प्रजिअ पाण्डेले नेपालखोजसँग भने, ‘दूरदराजमा हुने मानिसहरू पनि सेवाका लागि आउँछन् । शिक्षित अशिक्षित दुवै आउँछन् । त्यसकारण सेवा प्रवाह गर्दा आमजनताको भावना बुझेर सेवा प्रवाह गर्ने संयन्त्र हामीले बनाएका छौं ।’
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५८औं शृंखला :

हाइलाइट्स :
-जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । त्यही भए सबै किसिमका सेवाग्राही आउँछन् । दूरदराजमा हुने मानिसहरू पनि सेवाका लागि आउँछन् । शिक्षित अशिक्षित दुवै आउँछन् । त्यसकारण सेवा प्रवाह गर्दा आमजनताको भावना बुझेर सेवा प्रवाह गर्ने संयन्त्र हामीले बनाएका छौं ।
-शान्ति सुरक्षा प्रवाह गर्ने सन्दर्भमा सुरक्षा निकायको परिचालन, विपत् व्यवस्थापन उच्च प्राथाकिताको साथ गर्नेलगायत हाम्रा कोर फङ्सनमा पर्ने कामहरू जनमैत्री हिसाबले जनताको चाहानाअनुसारै प्रवाह गरेका छौं ।
-प्रमुख जिल्ला अधिाकरी जिल्लाकै नेतृत्व गरेर बसेको हुन्छ । विकास निर्माणको अनुगमनकर्ता र सहजकर्ता पनि हो । त्यकारण अरु कार्यालयबाट गरिने सेवा प्रवाहको विषयलाई पनि हामीले विशेष ध्यान दिएका छौं ।
-ई-पासपोर्ट र मालपोतमा पनि अनलाइन सेवा दिने प्रणाली सुरु भएको छ । यसमा पनि ठगीको कुरा आइरहेको छ । मालपोतको, यातायात र लोकसेवाको फाराम भर्न पनि ठगी भएको छ । अहिले ठगीको प्रकृति परिवर्तन भएको छ हामीले उनीहरूलाई पनि कारबाही गरेका छौं । अर्को कुरा हामीले नियमित रुपमा अनुगमन गरिरहेका छौं ।
-गुनासो सुन्ने संयन्त्र पनि बनाएका छौं । जनुसुकै तहबाट गुनासो आए पनि हामी सम्बन्धित निकायलाई तत्काल सतर्क गराउँछौं ।
-पत्रकार, राजनीतिक दल सरकारवाला निकायलगायत महत्त्वपूर्ण पक्षसग हामीले समन्वय गरेर काम गर्नुपर्ने अवस्था छ । यसका दौरान कतिपय स्थानमा दबाब नआउने होइन आउँछन् । यहाँ विभन्न दलका सरकारमा रहेका प्रतिपक्षमा रहेका दलका मानिसहरू सक्रिय छन् । उहाँहरूबाट कुनै दबाब अथवा सुझावहरू नआउने पनि होइन । त्यो कुरालाई हामीले कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो ।
-सरकारको ढोका वडा कार्यालय भएको छ । त्यहाँ छिर्नुपर्ने बाध्यात्मक अवस्था छ । संघीयतामा आएपछि तीनवटा सरकार बनेकाले अमलमलको अवस्था पनि बनेको छ । कसले के गर्ने ? संघ, प्रदेश र स्थानीयले के गर्ने को अवस्था सिर्जना भएको छ । जस्तो विपत्‌मा कसले काम गर्ने स्थानीय तह कि प्रदेश कि जिल्ला प्रशासन यस्ता कुरामा कन्फ्युजनको अवस्था छ ।
-निजामती सेवा भनेको राष्ट्रिय सेवा पनि हो । यसमा अधिकार पनि छ । आफ्नो कार्यकुशलता देखाउने स्थान पनि छ । यसको क्षेत्र फराकिलो पनि छ ।
-निजामती सेवामा अहिले धेरै राम्रा क्याडरहरू आउनुभएको छ । पहिला-पहिला निजामती सेवा भनेको तेस्रो श्रेणीकाले शासन गर्ने क्षेत्र भनेर आरोप पनि लाग्ने गर्थ्यो । पढाइका उत्कृष्ट अन्तै जान्छन् भन्ने कुरा हुन्थ्यो । अहिले यो कुरामा परिवर्तन आएको छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । जिन्दगीमा मान्छे एकपटक जिल्ला प्रशासन कार्यालय पुगेको नै हुन्छ । यहाँ जिल्लाभरका सबै प्रकारका सेवाग्राही आउनुहुन्छ । हाम्रो कार्यालय सेवा दिने अड्डा हो । जिल्लाका सबै जनता नै हाम्रा लागि सेवाग्राही हुन् । त्यही भए सबै किसिमका सेवाग्राही आउँछन् । दूरदराजमा हुने मानिसहरू पनि सेवाको लागि आउँछन् । शिक्षित अशिक्षित दुवै आउँछन् । त्यसकारण सेवा प्रवाह गर्दा आमजनताको भावना बुझेर सेवा प्रवाह गर्ने संयन्त्र हामीले बनाएका छौं । मैले १३ महिनादेखि मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा काम गरिरहँदा साँच्चै राज्यको शासनको प्रत्याभूति दिने र जनतालाई सरकार छ भनेर प्रत्याभूति दिने निकाय जिल्ला प्रशासन कार्यालय भएको पाएँ । भरोसाको केन्द्रविन्दु पनि जिल्ला प्रशासन रहेकाले हामीले सेवाग्राहीको भावना, यहाँको परिवेश, जनताको चाहना, सरकारप्रति हेर्ने दृष्टिकोण बुझेर सेवा प्रवाह गरेका हुन्छौं । सेवा प्रवाह गर्दा जनतालाई सरल र सहज हुने संयन्त्र बनाएका छौं । कोभिड पछाडि नागरिकता लिनेको धेरै भिड भएको पाएँ । दूरदरजबाट आएका ती सेवाग्राहीलाई छिटै डेडिकेटेड लाइनको व्यवस्था गरेर, बिहान-बेलुका समय थप गरेर भए पनि हामीले सेवा प्रवाह गरेका थियौं । पछिल्लो समय पासपोर्टका लागि अनलाइबाट सेवा दिइरहेका छौं । यसमा पनि सहज पहुँच र धेरै कुर्न नपरोस् भनेर त्यही किसिमले हामीले सेवा प्रवाह गरिरहेका छौं । सेवाग्राही बस्ने, सेवाग्राहीमैत्री, गुनासो सुन्ने, अपांगहरूलाई सेवा दिने सन्दर्भमा छुट्टै कक्षको व्यवस्था गरिएको छ । शान्ति-सुरक्षा प्रवाह गर्ने पनि हाम्रो महत्त्वपूर्ण जिम्मेवारीमा पर्छ । शान्ति सुरक्षा प्रवाह गर्ने सन्दर्भमा सुरक्षा निकायको परिचालन, विपत् व्यवस्थापन उच्च प्राथाकिताको साथ गर्नेलगायत हाम्रा कोर फङ्सनमा पर्ने कामहरू जनमैत्री हिसाबले जनताको चाहानाअनुसारै प्रवाह गरेका छौं । विशेषगरी प्रशासनको भूमिका संकट र विपतमा देखिने रहेछ । कोभिडको दोस्रो र तेस्रो लहरमा मैले यहाँ कम गर्ने मौका पाएको थिएँ । त्यो बेला पनि जनातको केन्द्रविन्दुमा प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रशासन रहेको पाइयो । माहामारीको त्यो विषम् परिस्थितिमा जनताका दैनिकीलाई सहज बनाउने कुराहरूमा लगायत ठूला-ठूला विपत्‌मा जनतालाई असज हुने गरी समन्वयकारी भूमिकामा हामी प्रस्तुत भएको अवस्था छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
प्रमुख जिल्ला अधिाकरी जिल्लाकै नेतृत्व गरेर बसेको हुन्छ । विकास निर्माणको अनुगमनकर्ता र सहजकर्ता पनि हो । त्यकारण अरु कार्यालयबाट गरिने सेवा प्रवाहको विषयलाई पनि हामीले विशेष ध्यान दिएका छौं । मेरो मान्यता पहिला सेवाग्राहीमैत्री वातावरण बनाउनुपर्छ । जस्तो सेवा प्रवाह आफ्नो ठाउँमा छ । सेवाग्राही पार्किङ गर्न टाढा जानुपर्ने, सडकमै पार्किङ गर्नुपर्ने भयो भने सेवाग्राहीमैत्री भएन । हामीले सुधार साना-साना कुराबाट गर्नुपर्छ । सेवाग्राही बस्ने स्थान, गुनासो सुन्ने व्यवस्थापन गर्नुपर्छ । सेवाग्राहीको भिड हुने ठाउँमा कर्मचारीलाई सिफ्ट प्रणालीबाट व्यवस्थापन गरेर सहज बनाउनुपर्छ । जस्तो यहाँ मालपोत र यातायात कार्यालयमा बढी भिड हुन्छ । हामीले नियमित अनुगमन गरिहेका छौं । हिजो कोभिडमा पनि भिड नहुने गरी सेवा प्रवाह गर्ने संयन्त्र बनाएका थियौं । कर्मचारीलाई बिहान-बेलुका सिफ्ट गरेर हुन्छ कि थप जनशक्ति परिचालन गरेर भए पनि अथवा टोकन प्रणालीबाट भिड नियन्त्रण गरेर भए पनि चाडोभन्दा चाँडो सेवा दिने र त्यहाँको कुनै कुरा बाहिर नआउन दिन विशेष पहल गरेका छौं । अहिले विभिन्न सेवा अनलाइनमार्फत गर्ने कुरा आएपछि ठगीको मुद्दाहरू आएका छन् । ई-पासपोर्ट र मालपोतमा पनि अनलाइन सेवा दिने प्रणाली सुरु भएको छ । यसमा पनि ठगीको कुरा आइरहेको छ । मालपोतको, यातायात र लोकसेवाको फाराम भर्न पनि ठगी भएको छ । अहिले ठगीको प्रकृति परिवर्तन भएको छ हामीले उनीहरूलाई पनि कारबाही गरेका छौं । अर्को कुरा हामीले नियमित रुपमा अनुगमन गरिरहेका छौं । यदि त्यहाँ अनियमितता भएको र गुनासाहरू आएका छन् भने तत्कालै कर्मचारीलाई सचेत गराएर सेवा प्रवाह प्रभावकारी बनाएका छौं । हरेका महिना हाम्रो कार्यालाय प्रमुखहरूको बैठक पनि हुन्छ । त्यहाँ आएका समस्याहरूबारे छलफल र सम्बोधनका बारेमा चर्चा गर्छौं । पछिल्लो समय हामीले सबै कार्यालयहरूमा अशक्तहरूका लागि डेडिकेटेड लाइन राखेका छौं । हामीले ज्येष्ठ नागरिक कक्ष र अशक्त सहायता कक्ष स्थापना गरेका छौं । उहाँहरूले सामान्य सेवाग्राहीभन्दा सरल र सहज सेवा पाउनुहुन्छ । कोभिडका बेला एक वृद्ध आमा सेवा लिन लाइन बस्दा बस्दै कार्यालय परिसरभित्रै बित्नुभयो । यो कुराले हाम्रा कर्मचारी साथीहरूलाई निकै झस्कायो । डेडिकेटेड लाइन नहुँदा वृद्ध आमाले ज्यान गुमाउनु पर्‍यो भनेर हामीले छलफल गरेर सबै कार्यालयमा अपांग, वृद्ध, अशक्तलाई डेडिकेटेड लाइनको व्यवस्था गरेका छौं । यस्ता मानिसलाई लाइननमा राख्नु हुन्न भनेर नीतिगत नै निर्णय गरेका छौं । अर्को कुरा गुनासो सुन्ने संयन्त्र पनि बनाएका छौं । जनुसुकै तहबाट गुनासो आए पनि हामी सम्बन्धित निकायलाई तत्काल सतर्क गराउँछौं ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
म निजामती सेवामा झन्डै २० वर्षदेखि छु । म २०५९ सालदेखि यस क्षेत्रमा छु र यहाँसम्म आइपुगेको छु । विगतमा स्थानीय विकाससँग सम्बन्धित निकायमा बढी काम गरेको छु । मैले विभिन्न क्षेत्रमा काम गरेको छु । विगतमा जनप्रतिनिधि नहुँदा स्थानिय तहको प्रतिनिधित्व गर्दा राजनीतिक दलहरूसँग नजिक र उहाँहरूसँग समन्वय गरेर काम गर्नुपर्ने अवस्था थियो । आज पनि जुन पदमा बसिरहेको छु यो पनि समन्वयकारी भूमिका निर्वाह गर्ने पद हो । पत्रकार, राजनीतिक दल सरकारवाला निकायलगायत महत्त्वपूर्ण पक्षसँग हामीले समन्वय गरेर काम गर्नुपर्ने अवस्था छ । यसका दौरान कतिपय स्थानमा दबाब नआउने होइन आउँछन् । यहाँ विभन्न दलका सरकारमा रहेका प्रतिपक्षमा रहेका दलका मानिसहरू सक्रिय छन् । उहाँहरूबाट कुनै दबाब अथवा सुझावहरू नआउने पनि होइन । त्यो कुरालाई हामीले कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । तर हामीले कानुनमा बसेर निर्णय गर्नुपर्ने हुन्छ । जिल्लाको वातावरण हेरेर कुनै विषयमा स्वविवेक निर्णय गर्ने हो । नभए हामी कानुनमै बसेर काम गर्नुपर्छ । आएको प्रेसरलाई कसरी लिने त्यो पक्षलाई कसरी कन्भिन्स गराउने भन्ने कुरा कार्यक्षमता र कार्यकुशलतामा भरपर्छ । विवेक प्रयोग गर्दा उहाँहरू गरेको केही कुरा अस्वभाविक होइन स्वभाविक पनि हुन्छ । तर त्यसले विद्यमान कानुन र जनमानसलगायत अन्य पक्षलाई प्रतिकूल असर गर्छ आफ्ना सीमा क्षेत्र र अधिकारबारेमा भन्दा उहाँहरूले गर्नैपर्छ भनेर प्रेसर गरिरहेको मैले पाउँदिनँ । दबाब भन्ने कुरा कुर्सीमा बस्ने मान्छेको कार्यकुशलतामा भरपर्ने कुरा हो । मैले दबाबलाई सामान्य रुपमा लिन्छु ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघीयताअघि र पछि नकारात्मक कुरा पनि छन् सकारात्मक कुरा पनि छन् । सकारात्मक कुरा गर्नुपर्दा संघीयतापछाडि धेरै सेवा वडा तहमा पुगेका छन् । सानो कुराका लागि पनि जनता सदरमुकाम र केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले घरघरमै सिंहदरबार पुगेको छ । सुविधा, अधिकार सम्पन्न स्थानीय सरकार बनेको छ । हदसम्म सेवा प्रवाहलाई सहज बनाएको पाइन्छ । संघीयताअघि कतिपय अधिकार सबै केन्द्रमा थियो वडामा पुगेको थिएन । अहिले धेरै कुरा वडा कार्यालयमा सम्बोधन भएको छ । अहिले वडा कार्यालयमा नछिरी जिल्ला संघ प्रदेशमा जाने अवस्था छैन । सरकारको ढोका वडा कार्यालय भएको छ । त्यहाँ छिर्नुपर्ने बाध्यात्मक अवस्था छ । संघीयतामा आएपछि तीनवटा सरकार बनेकाले अमलमलको अवस्था पनि बनेको छ । कसले के गर्ने ? संघ, प्रदेश र स्थानीयले के गर्ने को अवस्था सिर्जना भएको छ । जस्तो विपत्‌मा कसले काम गर्ने स्थानीय तह कि प्रदेश कि जिल्ला प्रशासन यस्ता कुरामा कन्फ्युजनको अवस्था छ । यो कुरालाई समेट्नुपर्छ । जनताले संघीयतापछि धेरै कुरा तह वडाबाटै पाएका छन् । जनताका साना आवश्यका साना काम वडाबाटै भएको अवस्था छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवा भनेको राष्ट्रिय सेवा पनि हो । यसमा अधिकार पनि छ । आफ्नो कार्यकुशलता देखाउने स्थान पनि छ । यसको क्षेत्र फराकिलो पनि छ । मलाई के कुराले आकर्षण गर्‍यो भने जनतालाई सेवा गर्ने माध्ययम भनेको निजामती सेवा साथै सरकारको स्थायी संयन्त्र र क्षेत्र अत्यन्त फराकिलो भएको हुनाले आफूले जानेका ज्ञान सीपहरू राष्ट्रिय सेवामा लैजान मैले निजामती सेवा रोजेको हो । सेवा गर्न अन्य क्षेत्र पनि छन् । अरु स्थानमा रहेर सेवा गर्न पनि सकिन्छ । म सानैदेखि प्रतिस्पर्धात्मक कुरामा विश्वास गर्ने मान्छे, निष्पक्षतामा विश्वास गर्ने मान्छे भएकाले तटस्थ, स्वच्छ र निष्पक्ष रुपमा अगाडि बढ्न सक्ने ठाउँ निजामती सेवा हो । निष्पक्ष रुपमा प्रवेश गर्न सकिने ठाउँ लोकसेवा भएकाले यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

आफूले प्रवाह गरेको सेवापछि सेवाग्राही एकदमै खुसी भएको क्षण ?
छ त्यो त धेरै छ । विशेषगरी मसँग आउने सेवाग्राही, चाहे नागरिकताको सवालमा आऊन्, चाहे पासपोर्टको मुद्दामा होस् जे विषयमा आए पनि तलबाट सम्बोधन नभए मसँग आउछन् । फाँट जिम्मेवार कर्मचारीबाट काम भएन भने मसँग आउनुहुन्छ । मसँग आएर सेवाग्राहीले आफ्नो गुनासो मात्र पोख्न पाए भने पनि राहत महसुस गरेको पाउँछु मैले । पहिला स्थानीय विकास अधिकारी भएर कार्यरत हुँदा सेवाग्राही धेरै अपेक्षा लिएर काम गर्न आउँथे । उहाँहरूको गुनासो फरक फरक हुन्थ्यो कोही आक्रोशमा आउनुहुन्थ्यो । उहाँहरूको कुरा सुने मात्र पनि ५० प्रतिशत समस्या समाधान हुन्छ । सेवाग्राहीको कतिपय समस्या सुनेमात्र पनि पुग्छ । त हाम्रा प्रशासकहरू सुन्न चाहँदैनन् । फ्रन्ट लाइमै बसेर सेवा गर्ने काम हाम्रो हुँदैन । नीतिगत कुरामा हामीले सम्बोधन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि म प्रमुख जिल्ला अधिाकारी भएर काम गर्दा मकवानपुर मनहरिका एकजना आएर मलाई भन्नु भयो कि मेरो बहिनी ३५ वर्षकी भई ऊ मानसिक रुपमा अशक्त, शारीरिक रुपमा सुस्त छ । उहाँको नागरिकता बनेको रहेनछ । आर्थिक अवस्था एकदम कमजोर । उनका दाइले गाडीहरू धोएर जीविकोपार्जन गर्दा रहेछन् । बुबाआमा सानैमा बितेकाले दाइले पालेर राख्नुभएको रहेछ । उहाँहरूले नागरिकता बनाउन बहिनीलाई सदरमुकाम ल्याउन धेरै कोसिस गर्नुभएको रहेछ त्यो सफल भएको रहेनछ । एकपटक ल्याउन खोजेको गाडी चढ्न मान्नुभएन । यहाँ नआइ त नागरिकता बन्दैन । विपन्न परिवार त्यहाँमाथि बहिनी पाल्नुपरेको भाउजूले हेरचाह गर्नुपर्ने अवस्था छ । मलाई यो सुनेर के लाग्यो भने एउटा नागरिकता भए पहिचानको कुरा हुन्थ्यो राज्यबाट पाउने सुविधा पाउने थियो भन्ने लाग्यो । नागरिकता बनाउन त हुन्थ्यो तर उसलाई यहाँ ल्याउन सक्ने अवस्था थिएन म आफैं त्यहाँ पुगेँ । घरमै पुगेर प्रक्रिया पूरा गरेर नागरिकता दिएँ । उहाँले ल्याप्चे हान्न नमानेर चारचना सिपाहीहरूले समातेर ल्याप्चे लगाउनुपर्ने अवस्था थियो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती सेवामा अहिले धेरै राम्रा क्याडरहरू आउनुभएको छ । पहिला-पहिला निजामती सेवा भनेको तेस्रो श्रेणीकाले शासन गर्ने क्षेत्र भनेर आरोप पनि लाग्ने गर्थ्यो । पढाइका उत्कृष्ट अन्तै जान्छन् भन्ने कुरा हुन्थ्यो । अहिले यो कुरामा परिवर्तन आएको छ । पहिला ग्रामीण भेकका, सरकारी स्कुल पढेका सामान्य ज्ञानमा लगाव भएका मात्र यता प्रवेश गर्छन् भन्ने थियो । अहिले अवसरहरू बढेका कारण विदेश जान लागेका नयाँ पुस्ताका युवाहरू पनि निजामती क्षेत्रमा प्रवेश गरेर सेवा गर्न इच्छुक छन् । पढाएमा अब्बल व्यक्तिहरू पनि निजामती क्षेत्रमा प्रवेश गरिरहेको मैले पाउँछु । यसका दुई-तीनवटा कारण छन् । पहिलो निजामती क्षेत्रको कार्यशैलीमा परिवर्तन आएको छ । पहिला परम्परागत कार्यशैली थियो । यसमा आधुनिकीकरण भइरहेको अवस्था छ । निजामती कर्मचारीलाई भ्रमणलगायत सम्बन्धित क्षेत्रको अनुभव लिन सकिने वातावरण साथै पहिलाको भन्दा आकर्षक, सेवा-सुविधा राम्रो छ । अरु क्षेत्रको तुलनामा सेवा-सुविधा पनि राम्रो छ । अहिले डिजाइनै त्यस्तो छ । कमजोर मान्छे पास नै हुन सक्दैन । अलिकतl अध्ययनशील मान्छे सहजै पास हुन्छ । प्रतिस्पर्धा गर्नेलाई भरपर्दो माध्यम लोकसेवा भएकाले आकर्षण बढ्दो छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
यो कुराचाहिँ हाम्रो समस्या नै छ । हामीले सुधार गर्नुपर्ने कुरा सरुवा प्रणाली नै हो । निजामती सेवाको भर्ना प्रणालीमा कुनै समस्या छैन । पदोन्नतिमा पनि कुनै समस्या छैन । यी सबै कुरा सिस्टममा गएका छन् । हामीले सुधार गर्नुपर्ने सरुवा प्रणालीमा नै हो । यो कुरा सिस्टममा हुनुपर्छ । अनिश्चितता छ यसमा । को मान्छे कहा पुग्छ ठेगान छैन । कुन समयमा सरुवा हुन्छ भन्ने कुरा लागु गर्न नसकेकाले यसमा समस्या छ । यसमा राजनीति खेल पनि हुने र हाइ लेभलको ब्युरोक्रयाटले स्वविवेक प्रयोग गर्ने खालको काम यसमा भएको पाइन्छ । निजामती सेवालाई निष्पक्ष बनाउने हो भने ट्रान्सफर प्लान बनाउनुपर्छ भन्ने मेरो विचार हो । कर्मचारीले आफ्नो सरुवा कहाँ हुन्छ भनेर दुई वर्षअघि नै थाहा पाओस् । सरुवामा निश्चित अवधि हुनुपर्छ जतिबेला पायो त्यही बेला सरुवा हुनु हुँदैन । निजामती सेवाभित्र पनि पैसा पाउने आफूलाई सहज पर्ने ठाउँमा जान अस्वच्छ प्रतिस्पर्धा छ । सरुवालाई हामीले अनुमानयोग्य बनाउन सक्छौं । भारतलगायत मुलुकमा यो व्यवस्था छ । कहाँ सरुवा हुन्छ भन्ने थाहा पायो भने उसले परिवार, छोराछोरीको पठनपाठनको विषयमा योजना अथवा व्यवस्थापन मिलाउन पाउँछ । यसका लागि हामी अनुमानित सरुवा प्रणालीमा जानुपर्छ । दोस्रो कुरा सरुवा समानुपातिक रुपमा हुनुपर्छ । सबै भूगोलमा सरुवा हुनुपर्छ । कोही काठमाडौंबाहिर नगई जागिर खाने पनि हुनुहुन्छ कोही काठमाडौं नटेकी जागिर पकाउने पनि हुनुहुन्छ । कोही सुगम सुगममै बस्ने कोही दुर्गम दुर्गममै बस्ने अवस्था यसमा समानुपातिक हुनुपर्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईले मेरो विचार आम पाठममाझ पुर्‍याउने विचार गर्नुभयो त्यसका लागि धन्यवाद । निजामती सेवा भनेको देशको स्थायी संरचना पनि हो । निजामती सेवाको विकल्प भनेको सुधारिएको निजामती सेवा हो । यसलाई सुधार गर्दै परिमार्जित गर्दै जाने हो । निजामती सेवा सक्षम र बलियो भयो भने समग्र राज्यको सेवा प्रवाह प्रभावकारी बन्ने हो । सरकारकै पर्फमेन्स राम्रो हुने हो । निजमती सेवा भनेको टुल्स हो यसलाई प्रयोग गर्न जान्नुपर्छ । हाम्रो निजामती सेवा पनि व्यावसायिक र प्रतिस्पार्धात्मक हुनुपर्ने हो ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको काभ्रे जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग कुराकानी गरेका थियौं । यसपटक पनि वाग्मती प्रदेशकै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया