बुधबार, वैशाख १२, २०८१

‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

हाम्रो पालामा अहिले जस्तो इन्टरनेट सुविधा हुँदैन थियो । कोर्स बुकसँगै साथीहरूको नोट र अन्य सामग्री राखेर पढेर लोकसेवा पास गरेको हुँ ।

नेपालखोज २०७८ मंसिर ६ गते ९:५०

कर्णाली प्रदेशको दैलेख जिल्लाको प्रशासनिक नेतृत्व अहिले हरि प्याकुरेलको काँधमा छ । उसो प्रजिअ प्याकुरेल नारायण नगरपालिका ६, दैलेखकै बासिन्दा पनि हुन् । २०७७ फागुन २५ गतेदेखि दैलेखको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्याकुरेल कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ प्याकुरेललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा २०४१ सालमा प्रवेश गरेका हुन् । दैलेखका प्रजिअ प्याकुरेल यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । निजामती सेवालाई उनले जनताप्रति समर्पित सेवा रहेको बताउँछन् । निजामती कर्मचारीले पनि नागरिकप्रति गर्ने व्यवहारले पनि जनताप्रति नै समर्पित रहेको आभाष गराउनुपर्ने प्रजिअ प्याकुरेल बताउँछन् । ‘समग्र रूपमा निजामती सेवा जनताप्रति समर्पित सेवा हो । हामो मूल उद्देश्य नै आमनागरिकलाई सर्वसुलभ ढंगबाट नीति र विधिभित्र रहेर सेवा प्रभाव गर्नु हो,’ प्रजिअ प्याकुरेलले नेपालखोजसँगको कुराकानीमा भने, ‘निजामती सेवालाई हेर्ने दृष्टिकोणचाहिँ सकारात्मक हुनुपर्छ । हामीले नागरिकप्रति गर्ने व्यवहारले जनताप्रति समर्पित छौं भन्ने आभाष गराउनुपर्छ ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३२औं शृंखला :

हाइलाइट्स :
-निजामती कर्मचारीले सेवाग्राहीको समस्यालाई पहिलो प्राथाकितामा राखेको अवस्था छ । कतिपय अवस्थामा उहाँहरूको सेवा छिटो र छरितो गराउनमै ध्यान केन्द्रित हुन्छ ।
-श्रीमान्‌ले सनाखत नगरिदिएको, माइतीले नागरिकता नदिएको अवस्थाामा, अन्तरजातीय विवाहको सवालमा नागरिकताको प्रमाणपत्र अवस्था बुझेर दिएको अवस्था छ ।
-जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूमा नागरिकताको समस्या प्रमुख हो । बाबुको नागरिकता नहुने, पैत्रिक नागरिकता नहुने कुरामा केही समस्या हो । नत्र अरू खासै त्यस्तो समस्या छैन ।
-विगत लामो समयदेखि मध्य पहाडी राजमार्गसहित अन्य सडकको काम रोकिएको थियो । म यहाँ आएपछि राष्ट्रिय गौरवका योजनाहरू निर्वाध रूपमा अहोरात्र खटेर, समन्वय गरेर आफैँ फिल्डमा खटेर दैलेखको १२६ किलोमिटर बाटो खोल्न सफल भएको अवस्था छ ।
-म पनि केही वर्ष शिक्षक भएँ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा सहायक भएर काम गरेँ । त्यसपछि ०४२ सालमा लोकसेवा दिएर पास भएँ ।
-मेरो परिवारमा मेरो काकाहरू निजामती सेवामा हुनुहुन्थ्यो उहाँहरूबाट पनि प्रभावित भएर यता लागियो ।
-हाम्रो पालामा अहिले जस्तो इन्टरनेट सुविधा हुँदैन थियो । कोर्सबुकसँगै साथीहरूको नोट र अन्य सामग्री राखेर पढेर लोकसेवा पास गरेको हुँ ।
-लोकसेवाले निष्पक्ष नतिजा निकाल्छ भन्ने जुन विश्वास छ त्यो एकदमै सह्रानीय छ । लोकसेवाको छनोट प्रकिया एकदमै उत्कृष्ट छ । शैक्षिक बेरोजगारलाई रोजगार सिर्जना गर्न लोकसेवा निष्पक्षता कायम गरेको छ । यो नै लोकसेवाको सुनौलो पक्ष हो ।
-पढ्ने तरिका नमिलेर मान्छेहरू लोकसेवामा असफल भएको अवस्था छ । तर मिहिनेतचाहिँ गर्नैपर्छ ।
-आफूभन्दा अगाडिका साथीहरूको अनुभवलाई लिएर लोकसेवा पढ्ने हो । लोकसेवा पास गर्न पढ्नचाहिँ पढ्नैपर्छ तर त्यस्तो उत्कृष्ट मात्र पास हुन्छ भन्ने होइन । पढेका कुरालाई प्रस्तुत गर्न सकियो भने पक्कै पास भइन्छ ।
-विशेष परिस्थितिबाहेक दुई वर्षभन्दा अगाडि निजामती कर्मचारीलाई सरुवा गर्नुहुन्न भन्ने मान्यता त हो ।
-आफूलाई सुम्पेको जिम्मेवार तदारुकताका साथ सम्पन्न गर्‍यो भने सम्मान त प्राप्त हुन्छ नै ।
-समग्र रूपमा निजामती सेवा जनताप्रति समर्पित सेवा हो । हामीले नागरिकप्रति गर्ने व्यवहारले जनताप्रति समर्पित छौं भन्ने आभाष गराउनुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
निजामती सेवामा प्रवेश गरेपछि मैले विभिन्न जिल्लामा विभिन्न पदमा रहेर काम गरेको छु । हामीले काम गर्दा सार्वजनिक महत्त्वको कामलाई पहिलो प्राथमिकतामा राख्छौं । निजामती कर्मचारीले सेवाग्राहीको समस्यालाई पहिलो प्राथाकितामा राखेको अवस्था छ । कतिपय अवस्थामा उहाँहरूको सेवा छिटो र छरितो गराउनमै ध्यान केन्द्रित हुन्छ । यसमा हामीले नीति र विधिको परिधिमा रहेर काम गर्ने हो । हामीले प्रवाह गरेको सेवाबाट सेवाग्राही एकदम सन्तुष्ट भएको पाएको छु । निजामती सेवामा कर्मचारीले गरेको सेवा प्रवाहप्रति म सन्तुष्ट छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
म विभिन्न जिल्लामा, विभिन्न पदमा रहेर सेवा प्रवाह गरेँ । यसअघि पनि केही जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भएर काम गरेँ । लामो समयको निजामती सेवाको अनुभवमा यो काम गर्नै पर्छ भन्ने दबाबचाहिँ अहिलेसम्म कतैबाट पनि आएको छैन । काहीँबाट कसैले भन्नु पनि भएको छैन ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
नेपाली नागरिकताको प्रमाणपत्रको कुराहरूमा हुन्छ । एउटा बाबुले दुईवटा विवाह गरेको हुन्छ छोराहरूको सनाखत नगरेको अवस्था हुन्छ । घरपरिवारले बुहारीको नागरिकता नबनाइदिएको अवस्थामा, विशेष गरेर नागरिकताको काम गर्दा आफूलाई सन्तोष लाग्छ । मैले धेरै त्यस्ता पीडित व्यक्ति तिनका घर परिवारलाई बोलाएरै पनि काम गरिदिएको छु । जस्तो श्रीमान्‌ले सनाखत नगरिदिएको, माइतीले नागरिकता नदिएको अवस्थाामा, अन्तरजातीय विवाहको सवालमा नागरिकताको प्रमाणपत्र दिएको अवस्था छ ।

कार्यालयमा आएका सेवाग्राहीको समस्या कसरी पहिचान गर्नुहुन्छ ?
प्रमुख जिल्ला अधिकारीको हैसियतले गृह मन्त्रालययअन्तर्गत एउटा संगठन छ । यसमा कार्यालय सहयोगीदेखि प्रमुख जिल्ला अधिकारीसम्मको दरबन्दी हुन्छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूमा एउटा नागरिकताको समस्या हो । बाबुको नागरिकता नहुने, पैत्रिक नागरिकता नहुने कुरामा केही समस्या हो । नत्र अरू खासै त्यस्तो समस्या छैन । बजार अनुगमन, विकास निर्माणको काम जस्ता यावत् कुराहरू जिल्ला प्रमुख अधिकारी हैसियतले गर्नुपर्ने हो । स्थानीय प्रशासनले प्रमुख जिल्ला अधिकारीलाई सुम्पेको जिम्मेवारी छ । त्यही हामीले अवलम्बन गरेको अवस्था हो । विकास निर्माणकै कुरा गर्दा दैलेखमा म आएको करिब आठ महिना भयो । विगत लामो समय ८-१० वर्ष रोकिएको मध्य पहाडी राजमार्गसहित अन्य सडकको काम रोकिएको थियो । म यहाँ आएपछि राष्ट्रिय गौरवका योजनाहरू निर्वाध रूपमा अहोरात्र खटेर, समन्वय गरेर आफैँ फिल्डमा खटेर दैलेखको १२६ किलोमिटर बाटो खोल्न सफल भएको अवस्था छ ।

त्यतिबेला टेस्ट पासपछि शिक्षक हुने चलन थियो । म पनि केही वर्ष शिक्षक भएँ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा सहायक भएर काम गरेँ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
२०३६-०३७ सालको एसएलसी हो मेरो । त्यतिबेला दैलेखमा टेस्ट पासपछि शिक्षक हुने चलन थियो । म पनि केही वर्ष शिक्षक भएँ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा सहायक भएर काम गरेँ । त्यसपछि ०४२ सालमा लोकसेवा दिएर पास भएँ । म कोसँग प्रभावित भएँ भन्दा पनि रोजगारीको अवसरको कुरामा त्यसबेला निजामती सेवा सम्मान हुन्थ्यो । मेरो परिवारमा मेरो काकाहरू निजामती सेवामा हुनुहुन्थ्यो उहाँहरूबाट पनि प्रभावित भएर यतातर्फ लागियो ।

लोकसेवा प्रवेशका क्रममा सन्दर्भ सामग्री कसरी जुटाउनुहुन्थ्यो ?
मेरा साथीहरू मुखिया, खरिदार पास भइसकेको हुनुहुन्थ्यो । उहाँहरूबाट मैले केही कुराहरू सिकें । लोकसेवा कहाँ छ भन्ने पनि थाहा हुँदैन थियो हामीलाई त्यसबेला । फारामहरू पनि अहिलेको जस्तो पर्याप्त हुँदैन थियो सीमित हुन्थ्यो । सन्दर्भ सामग्री अलि-अलि गाइड किन्ने गरिन्थो । कोर्सको किताबसँग पनि केही मिल्थ्यो । हिसाब, निबन्ध पनि लेख्नुपर्थ्यो । हाम्रो पालामा अहिले जस्तो इन्टरनेट सुविधा हुँदैन थियो । कोर्सबुकसँगै साथीहरूको नोट र अन्य सामग्री राखेर पढेर लोकसेवा पास गरेको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
नेपालको इतिहासमा लोकसेवाले निष्पक्ष नतिजा निकाल्छ भन्ने जुन विश्वास छ त्यो एकदमै सह्रानीय छ । लोकसेवाको छनोट प्रकिया एकदमै उत्कृष्ट छ । शैक्षिक बेरोजगारलाई रोजगार सिर्जना गर्न लोकसेवा निष्पक्षता कायम गरेको छ । यो नै लोकसेवाको सुनौलो पक्ष हो ।

निजामती सेवा प्रवेशका लागि कसरी पढ्ने ?
लोकसेवा पास गर्ने मान्छे उत्कृष्ट भएर पास गरेको म पाउँदिनँ । पढ्ने तरिका नमिलेर मान्छेहरू फेल भएको अवस्था हो । तर मिहिनेतचाहिँ गर्नैपर्छ । कलेजमा जस्तो ४० नम्बर ल्याएर पास हुने भन्ने हुँदैन यसमा । यसमा लगनशीलता, मिहिनेत र पढ्ने शैलीमा भर पर्छ । लोकसेवा फेल हुनेचाहिँ केही नजानेर फेल भएको म मान्दिनँ । आफूभन्दा अगाडिका साथीहरूको अनुभवलाई लिएर लोकसेवा पढ्ने हो । लोकसेवा पास गर्न पढ्नचाहिँ पढ्नैपर्छ तर त्यस्तो उत्कृष्ट मात्र पास हुन्छ भन्ने होइन । पढेका कुरालाई प्रस्तुत गर्न सकियो भने पक्कै सफल भइन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवामा दुई वर्ष एउटा जिल्लामा बस्ने भनेर तोकेको छ । अन्य कर्मचारीको हकमा दुई वर्षसम्म त्यहाँको वातावरण बुझेको हुन्छ र त्यहाँ काम पनि गर्न सक्छ । प्रमुख जिल्ला अधिकारीको भनेको अत्यन्तै संवेदनशील पद पनि हो । कतिपय अवस्थामा सरकारले हामीलाई विभिन्न एंगलबाट हेरेको पनि हुन्छ । खासमा बस्नुपर्ने दुई वर्ष हो । सरकार परिवर्तनलगायत कारणले सरुवा हुन्छ । विशेष परिस्थितिबाहेक दुई वर्षभन्दा अगाडि निजामती कर्मचारीलाई सरुवा गर्नुहुन्न भन्ने मान्यता त हो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
निजामती सेवामा म सन्तुष्ट छु । आफूलाई सुम्पेको जिम्मेवार तदारुकताका साथ सम्पन्न गर्‍यो भने सम्मान नै हुन्छ ।

अहिले दैलेखको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
दैलेखको शान्ति सुरक्षाको अवस्था एकदम सन्तोषजनक छ । शान्ति सुरक्षाको हकमा त्यस्तो अप्रिय घटना भएको छैन । अहिले एकदम सामान्य छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
समग्र रूपमा निजामती सेवा जनताप्रति समर्पित सेवा हो । हामो मूल उद्देश्य नै आमनागरिकलाई सर्वसुलभ ढंगबाट नीति र विधिभित्र रहेर सेवा प्रभाव गर्नु हो । निजामती सेवालाई हेर्ने दृष्टिकोणचाहिँ सकारात्मक हुनुपर्छ । हामीले नागरिकप्रति गर्ने व्यवहारले जनताप्रति समर्पित छौं भन्ने आभाष गराउनुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया