बिहीबार, जेठ १२, २०७९

‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

हामीले जनताको करबाट सेवा-सुविधा लिएका हुन्छौं त्यसैले जनताप्रति हामी उत्तरदायी हुनुपर्छ ।

नेपालखोज २०७८ माघ ३ गते ९:५५

लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठानको प्रशासनिक नेतृत्व अहिले गुल्मीका खिमराज भुसालको काँधमा छ । २०७७ साउन २९ गतेदेखि प्युठानको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भुसाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ भुसाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २२ वर्ष बिताएका प्युठानका प्रजिअ भुसाल यसअघि ललितपुर जिल्लाको सहायक प्रजिअका रुपमा कार्यरत थिए । त्यसअघि भने भुसालले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्य सम्पादन गरेका थिए ।
आफ्ना अग्रजहरु पनि निजामती सेवामै रहेको हुँदा आफू यतैतर्फ आकर्षित भएको प्रजिअ भुसाल बताउँछन् । ‘मेरो अग्रजहरू निजामती सेवामै हुनुहुन्थ्यो । सुरुदेखि नै निजामती सेवामा जानुपर्छ भन्ने थियो । यो क्षेत्रमा आएर यसमा मलाई निकै सन्तुष्टि पनि छ,’ प्रजिअ भुसालले नेपालखोजसँग भने, ‘यो भनेको सेवाको भावनाले काम गर्ने ठाउँ हो । जनतालाई सेवा गर्ने उपयुक्त अवसर पनि पाएको हो हामीले ।’
प्युठानका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४०औं शृंखला :

हाइलाइट्स :
-जहाँबाट हामीले सेवा प्रवाह गर्छौं त्यहाँ जनशक्ति व्यवस्थापनदेखि लिएर सबै कुरामा कार्यालय प्रमुख चनाखो हुनुपर्ने हुन्छ ।
-कर्मचारी र सेवाग्राहीप्रति ‘डाइरेक्ट वाच डग’का रूपमा काम गर्न सक्यो भने सेवाग्राहीको समस्या समाधान सहज रूपमा गर्न सकिन्छ ।
-सेवाग्राहीहरूले यो विषयमा भनिदिनुपर्‍यो भनेर जनप्रतिनिधिहरूलाई भन्नुहुन्छ । उहाँहरूलाई पनि कानुनअनुसार त्यो कुरा गर्न मिल्छ/मिल्दैन प्रस्ट भन्न सकियो भने त्यहाँ समस्या हुन्छ जस्तो लाग्दैन मलाई ।
-मेरो अग्रजहरू निजामती सेवामै हुनुहुन्थ्यो । सुरुदेखि नै निजामती सेवामा जानुपर्छ भन्ने थियो । यो क्षेत्रमा आएर यसमा मलाई निकै सन्तुष्टि पनि छ ।
-अहिले पनि लोकसेवाले मागेको भन्दा ठूलो संख्यामा दरखास्त परेको देखिन्छ । सेवा-सुविधालगायत हिसाबले नयाँ पुस्तामा आकर्षण कम हो कि भन्ने पनि लाग्छ तथापि निजामती सेवाको छुट्टै किसिमको इतिहास छ ।
-लोकसेवाको परीक्षा विद्यालय र विश्वविद्यालयको जाँच दिए जस्तो होइन । यसमा निश्चित समयमा प्रश्नले खोजेको कुराहरू दिनुपर्ने हुन्छ । यी सबै कुरा साथै समय मिलाउन सक्यो र पढाइको निखारतालगायत सबै कुरा प्रदर्शन गर्न सक्यो भने सफल हुन सकिन्छ ।
-पछिल्लो समय यसप्रति सबै कर्मचारी सचेत भएको मैले देखिरहेको छु । यसमा हामी सचेत पनि हुनुपर्छ । हामीले जनताको करबाट सेवा सुविधा लिएका हुन्छौं त्यसैले जनताप्रति हामी उत्तरदायी हुनुपर्छ ।
-म निजामती सेवामा उद्देश्यसहित आएको हो । केमा सन्तुष्ट हुने भन्ने हो । जनसेवा नै सबैभन्दा ठूलो कुरा हो । हामी गाउँघरका किसानका छोरा पढ्दै आउँदा यहाँसम्म आइएकामा म खुसी छु ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मेरो निजामती सेवामा प्रवेश गरेको २२ वर्ष भयो । खासगरी सेवा प्रवाह गर्ने कार्यालय पब्लिक अड्डाहरूमा धेरै बसेको अनुभव छ । प्रमुख जिल्ला अधिकारी भएर पनि मैले धेरै जिल्लामा काम गरेको छु । यहीँबाट आमनागरिकले सरकारको अनुभूत गर्छन् । यसका लागि हामी निकै सचेत रहनुपर्ने हुन्छ । जहाँबाट हामी सेवा प्रवाह गर्छौं त्यहाँ जनशक्ति व्यवस्थापनदेखि लिएर सबै कुरामा कार्यालय प्रमुख चनाखो हुनुपर्ने हुन्छ । कार्यालयका कर्मचारीले गर्ने सबभन्दा ठूलो रेस्पोन्स र कार्यालय प्रमुखले आफ्नो उत्तरदायित्व पूरा गर्ने वा गुनासो सुनुवाइ गर्ने । कर्मचारी र सेवाग्राहीप्रति ‘डाइरेक्ट वाच डग’का रूपमा काम गर्न सक्यो भने सेवाग्राहीको समस्या समाधान सहज रूपमा गर्न सकिन्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मैले अहिलेसम्म त्यस्तो अनुभव गर्नुपरेको छैन । आममानिसले कुनै विषयमा चासो राख्नु सामान्य हो । कतिपय कुरा सेवाग्राहीलाई पनि थाहा नहुन सक्छ । कतिपय कुरामा उहाँहरूलाई हामीले राम्रो जानकारी पनि दिनुपर्ने हुन सक्छ । सेवाग्राहीहरूले यो विषयमा भनिदिनुपर्‍यो भनेर जनप्रतिनिधिहरूलाई भन्नुहुन्छ । उहाँहरूलाई पनि कानुनअनुसार त्यो कुरा गर्न मिल्छ/मिल्दैन प्रस्ट भन्न सकियो भने त्यहाँ समस्या हुन्छ जस्तो लाग्दैन मलाई । मैले अहिलेसम्म दबाब महसुस गरेको अवस्था छैन ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
मलाई त्यस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी भएर रहँदा नागरिकताका कुरामा- घरका मान्छेले विवाह दर्ता पनि नगर्ने महिलाहरूको साथै नागरिकता पनि नबनाइदिने समस्या धेरै देखियो । उहाँहरूको श्रीमान् र घरको मान्छेहरूलाई ल्याएर कन्भिन्स गराएर, नमाने कानुनबमोजिम निर्देशन दिएर उहाँहरूलाई नागरिकता दिँदा धेरै आत्मसन्तुष्टि भएको थियो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो अग्रजहरू निजामती सेवामै हुनुहुन्थ्यो । सुरुदेखि नै निजामती सेवामा जानुपर्छ भन्ने थियो । यो क्षेत्रमा आएर यसमा मलाई निकै सन्तुष्टि पनि छ । यो भनेको सेवाको भावनाले काम गर्ने ठाउँ हो । जनतालाई सेवा गर्ने उपयुक्त अवसर पनि पाएको हो हामीले ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
अहिले पनि लोकसेवाले मागेको भन्दा ठूलो संख्यामा दरखास्त परेको देखिन्छ । सेवा-सुविधालगायत हिसाबले नयाँ पुस्तामा आकर्षण कम हो कि भन्ने पनि लाग्छ तथापि निजामती सेवाको छुट्टै किसिमको इतिहास छ । यस क्षेत्रमा पसेर नागरिकको सेवालाई पछिल्लो पुस्ताले पनि अँगालेकै छन् ।

निजामती सेवामा सहज सेवा प्रवेशका लागि कसरी पढ्ने ?
लोकसेवाको परीक्षा विद्यालय र विश्वविद्यालयको जाँच दिए जस्तो होइन । यसमा निश्चित समयमा प्रश्नले खोजेको कुराहरू दिनुपर्ने हुन्छ । यी सबै कुरा साथै समय मिलाउन सक्यो र पढाइको निखारतालगायत सबै कुरा प्रदर्शन गर्न सक्यो भने सफल हुन सकिन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवा ऐनमा दुई वर्ष तोकिएको छ तथापि ऐन-कानुनबमोजिम गर्‍यो भने राम्रो हुन्छ । कतिपय अवस्थामा व्यक्तिलाई त्यहाँबाट निकाल्नुपर्ने अवस्था सिर्जना पनि भएको हुन्छ त्यसबाहेक पूरा कार्याकाल काम गर्न पाए अगाडि बढाएका कार्यक्रमबाट जनताले लाभ लिन सक्छन् ।

तपाईं सेवाग्राही अर्थात् जनता पनि त हो ? जनताका तर्फबाट सोच्दा कर्मचारीबाट कुन रूपमा सेवा प्रवाह भइरहेको छ ?
पछिल्लो समय यसप्रति सबै कर्मचारी सचेत भएको मैले देखिरहेको छु । यसमा हामी सचेत पनि हुनुपर्छ । हामीले जनताको करबाट सेवा सुविधा लिएका हुन्छौं त्यसैले जनताप्रति हामी उत्तरदायी हुनुपर्छ । कता-कता यस्तो प्रश्न उठ्छ त्यसैले हामीले यस्तो गुनासो नआउने गरी काम गर्नुपर्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । म निजामती सेवामा उद्देश्यसहित आएको हो । केमा सन्तुष्ट हुने भन्ने हो । जनसेवा नै सबैभन्दा ठूलो कुरा हो । हामी गाउँघरका किसानका छोरा पढ्दै आउँदा यहाँसम्म आइएकोमा म खुसी छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
ठीकै छ । यहाँले महत्त्वपूर्ण कुरा आमजनतामा सेयर हुने गरी काम गरिरहनुभएको छ धन्यवाद दिन चाहन्छु । निजामती क्षेत्र सार्वजनिक क्षेत्रबारे तपाईंले कुरा उठाउनुभयो । महत्त्वपूर्ण कुरा भए, धन्यवाद ।


(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसँग कुराकानी गरेका थियौं । यसपटक पनि हामीले लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया