शुक्रबार, वैशाख १४, २०८१

‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

कर्मचारीले काम गर्ने भनेको नियम, ऐन-कानुन, विधि र पद्धतिमा बसेर हो । त्यसका लागि व्यक्तिले सहजीकरण गर्ने निष्ठापूर्वक काम गर्ने हो । जहाँ गए पनि मेरो यही प्रयास भइरहन्छ ।

नेपालखोज २०७८ मंसिर १३ गते ९:५०

वाग्मती प्रदेशको पहाडी जिल्ला सिन्धुलीको प्रशासनिक नेतृत्व अहिले दाङ तुलसीपुरका रमेश न्यौपानेको काँधमा छ । २०७८ कात्तिक १७ गतेदेखि सिन्धुलीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) न्यौपाने कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ न्यौपानेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा २२ वर्ष बिताइसकेका छन् । जुनारको राजधानी सिन्धुलीका प्रजिअ न्यौपाने यसअघि खानेपानी मन्त्रालयमा कार्यरत थिए । त्यसअघि भने पाल्पा जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालेका थिए ।
प्रजिअ न्यौपाने कर्मचारीहरुको सरुवा चाँडो-चाँडो भएको अवस्थामा कार्यसम्पादनमा असर पर्ने बताउँछन् । ‘सरुवा निश्चित भयो भने आफ्नो सन्तानको शिक्षादीक्षाका साथै सामाज र पारिवारिक दायित्वको योजना बनाउन सक्छ,’ सिन्धुलीका प्रजिअ न्यौपानेले नेपालखोजसँग भने, ‘काममा पनि यति समयमा यो गर्छु । यस्तो काम गर्छु त्यसका लागि यति समय अध्ययनमा लाग्छु र कार्यान्वयन गर्छु भनेर योजना तय गर्न सकिन्छ ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३३औं शृंखला :

हाइलाइट्स :
-कर्मचारीले काम गर्ने भनेको नियम, ऐन-कानुन, विधि र पद्धतिमा बसेर हो । त्यसका लागि व्यक्तिले सहजीकरण गर्ने निष्ठापूर्वक काम गर्ने हो । जहाँ गए पनि मेरो यही प्रयास भइरहन्छ ।
-सामान्यत: कार्यालयमा काम छिटो छरितो होस्, सेवाग्राहीले झन्झट व्यहोर्नु नपरोस्, काम सर्वसुलभ तरिकाले होस् भनेर राख्ने कुराचाहिँ स्वाभाविक हुन् । चाहे त्यो जनप्रतिनिधि, सञ्चारजगत्, समाजसेवी जसबाट आए पनि सकारात्मक लिनुपर्छ । म सकारात्मक नै लिन्छु ।
-कसैले भन्दैमा कसैले दबाब दिँदैमा काम गर्ने भन्नेचाहिँ हुँदैन । हामी नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्ने हो ।
-अहिले हाम्रो सेवाग्राहीको चेतनाको स्तर पनि राम्रो छ । झन्झट भयो, लामो समय प्रक्रियागत कारणले डकुमेन्टहरू अड्कियो र समयमा काम भएन भने उहाँहरूले आएर सीधै भन्नुहुन्छ ।
-जतिबेला मैले कलेज सकाएँ त्यसबेला निजामती सेवाको प्रतिष्ठा एकदम उच्च थियो । हामी बाहिरबाट अर्थात् गाउँबाट राजधानी सहरमा पढ्न आउथ्यौं । हामीभन्दा सिनियर जो निजामती सेवामा हुनुहुन्थ्यो उहाँहरुको मर्यादा, इज्जत ठूलो त्यसले पनि आकर्षण गर्‍यो मलाई ।
बाहिरचाहिँ निजामती सेवामा आकर्षण भएन भन्ने सुनिन्छ । लोकसेवाले पदपूर्ति गर्न मागेको संख्या र त्यसमा परेका आवेदन हेर्दा मलाई लाग्छ अहिलेको पुस्तामा पनि ठूलो आकर्षण छ ।
-सरुवा निश्चित भयो भने आफ्नो सन्तानको शिक्षादीक्षाका साथै सामाज र पारिवारिक दायित्वको योजना बनाउन सक्छ । काममा पनि यति समयमा यो गर्छु । यस्तो काम गर्छु त्यसका लागि यति समय अध्ययनमा लाग्छु र कार्यान्वयन गर्छु भनेर योजना गर्न सकिन्छ ।
-म यस क्षेत्रमा आएर हजारौं मान्छेसँग भेट्न पाएँ । हजारौंको सेवा गर्न पाएँ । निजामती सेवाले एउटा परिचय दियो ।
-हामीले सेवाग्राहीलाई खुसी बनायौं भने सबैभन्दा बढी खुसीचाहिँ हामी नै हुन्छौं ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
कर्मचारीले काम गर्ने भनेको नियम, ऐन-कानुन, विधि र पद्धतिमा बसेर हो । त्यसका लागि व्यक्तिले सहजीकरण गर्ने निष्ठापूर्वक काम गर्ने हो । जहाँ गए पनि मेरो यही प्रयास भइरहन्छ । अर्को भनेको नियम-कानुनको परिधिभित्र रहेर आफ्नो विवेकको पनि प्रयोग गर्ने हो । हामी जहाँ गएर काम गर्छौं त्यहाँको जनता, नागरिक र सेवाग्राहीलाई आफू सेवाग्राही भएर अर्को कार्यालयमा जाँदाको अनुभूतिमा आफूले गर्न सक्ने सुधार, पुर्‍याउनु पर्ने विवेक र दिनसक्ने न्यायअनुसार काम गर्नु पर्छ र म त्यही अनुसार सेवा प्रवाह गर्छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
सामान्यत: कार्यालयमा काम छिटो छरितो होस्, सेवाग्राहीले झन्झट व्यहोर्नु नपरोस्, काम सर्वसुलभ तरिकाले होस् भनेर राख्ने कुराचाहिँ स्वाभाविक हुन् । चाहे त्यो जनप्रतिनिधि, सञ्चारजगत्, समाजसेवी जसबाट आए पनि सकारात्मक लिनुपर्छ । म सकारात्मक नै लिन्छु । कार्यालयको कमी-कमजोरी देखियो भने यसलाई सुधार गर्नुपर्छ यसलाई म सकारात्मक नै लिन्छु । कानुनले नमिल्ने रहेछ तर पनि त्यसलाई हेरिदिने कि ? भनेर आयो भनेचाहिँ समस्या हो । तर मेरो अनुभवमा मैले जति ठाउँमा काम गरेँ । त्यहाँ कार्यालयमा सुधार गर्ने, छिटो-छरितो सेवा दिने सुझावहरू धेरै आउँछन् र त्यसलाई मैले सकारात्मक रुपमा लिएर हामीले पहल गरेर कसरी सुधार गर्दा सेवालाई सहज गर्न सकिन्छ । सेवाग्राहीलाई सन्तुष्ट गर्न सकिन्छ त्यही हिसाबले हामी प्रयास गर्छौं । कसैले भन्दैमा कसैले दबाब दिँदैमा काम गर्ने भन्नेचाहिँ हुँदैन । हामी नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्ने हो ।

कार्यालयमा आएका सेवाग्राहीको समस्या कसरी पहिचान गर्नुहुन्छ ?
अहिले हाम्रो सेवाग्राहीको चेतनाको स्तर पनि राम्रो छ । झन्झट भयो, लामो समय प्रक्रियागत कारणले डकुमेन्टहरू अड्कियो र समयमा काम भएन भने उहाँहरूले आएर सीधै भन्नुहुन्छ । अथवा हामीले गुनासो सुन्ने व्यक्ति भनेर तोकेका पनि हुन्छौं । मेरो अनुभवमा धेरै ढिलो झन्झट भयो भने आएर भन्नुहुन्छ उहाँहरूले । अनि कुनैचाहिँ हामीले सहजीकरण गरेर छिटो छरितो हुने हुन्छ । कुनैचाहिँ प्रक्रियागत रुपले समय लिने हुन्छ ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
यस्ता घटना धेरै छन् । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीका रुपमा काम गर्थें त्यो बेला । म अनुगमनबाट फर्कंदै थिएँ । लगभग ५ बज्नेबेला गेटबाट बाहिर एकजना महिला दु:खी (निराश) भएर बस्नुभएको रहेछ । गाडीबाट ओर्लेर मैले उहाँलाई सोधेँ । मैले उहाँलाई आफ्नो कार्यकक्षमा लगेर राखें । उहाँको समस्या भन्न लगाएँ । उहाँ एउटा समितिमा अध्यक्ष हुनुहुँदो रहेछ । प्रक्रिागत झन्झट भएर उहाँले कति दिनसम्म निकास पाउनुभएको रहेनछ । कार्यालयको साथीहरुलाई बोलाएर उहाँको काम गरौं केही डकुमेन्ट पुगेको छैन भने मगाएर काम गरौं भनेपछि कार्यालयका साथीहरु सबै मिलेर सहयोग गर्नुभयो । उहाँको समस्या समाधान भयो । उहाँको लामो समयदेखि प्रक्रिया नबुझेर काम भएको रहेनछ काम बनेपछि उहाँ एकदम खुसी हुनुभयो । भाषागत समस्या पनि रहेछ उहाँलाई ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
जतिबेला मैले कलेज सकाएँ त्यसबेला निजामती सेवाको प्रतिष्ठा एकदम उच्च थियो । हामी बाहिरबाट अर्थात् गाउँबाट राजधानी सहरमा पढ्न आउथ्यौं । हामीभन्दा सिनियर जो निजामती सेवामा हुनुहुन्थ्यो उहाँहरुको मर्यादा, इज्जत ठूलो त्यसले पनि आकर्षण गर्‍यो मलाई । अर्को निजामती ठूलो क्षेत्र, विस्तारित भएको क्षेत्र । यसमा आफ्नो रुचिअनुसारको काम गर्न पाइने । अध्ययन गर्न पाइने अवसरहरु पाइने । एउटा ठूलो क्षेत्र भएको कारणले पनि मलाई आकर्षण गर्‍यो । अर्को आफूले योगदान गर्न सक्ने ठाउँ हो यो । यस क्षेत्रमा बसेर हजारौं मानिसको सुविधाको काम गर्न सकिन्छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
बाहिरचाहिँ निजामती सेवामा आकर्षण भएन भन्ने सुनिन्छ । लोकसेवाले पदपूर्ति गर्न मागेको संख्या र त्यसमा परेका आवेदन हेर्दा मलाई लाग्छ अहिलेको पुस्तामा पनि ठूलो आकर्षण छ । अहिलेको पुस्तामा हाम्रो पालामा भन्दा फरक क्षेत्रमा फरक अनुभव छ । कसैलाई निजी क्षेत्रमा काम गर्न मन पर्छ । बैंकिङ क्षेत्रमा जान मन पर्छ । कोही विदेश गएर पढ्नुहुन्छ उतै जागिर गर्नुहुन्छ । आफ्नो रुचिअनुसार फरक-फरक ठाउँमा जानुभएको चाहिँ सत्य हो ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
यसले कार्यसम्पादनमा असर गर्छ । कर्मचारी पनि व्यक्ति हो । सामाजिक पारिवारिक सम्बन्धहरु पनि हुन्छ । सरुवा निश्चित भयो भने आफ्नो सन्तानको शिक्षादीक्षाका साथै सामाज र पारिवारिक दायित्वको योजना बनाउन सक्छ । काममा पनि यति समयमा यो गर्छु । यस्तो काम गर्छु त्यसका लागि यति समय अध्ययनमा लाग्छु र कार्यान्वयन गर्छु भनेर योजना गर्न सकिन्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यसप्रति एकदमै सन्तुष्ट छु । तथापि यहाँ समस्या नै केही छैन भन्ने होइन । हामीले निजामती सेवालाई मात्र हेर्नुहुन्न । निजामती सेवा भनेको एउटा सिस्टम हो । हामी एउटा रुपान्तरण सुधारतिर गइरहेका छौं । म यस क्षेत्रमा आएर हजारौं मान्छेसँग भेट्न पाएँ । हजारौंको सेवा गर्न पाएँ । निजामती सेवाले एउटा परिचय दियो । तसर्थ म आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
कुरा गर्दै जाँदा केही न केही त बाँकी रही नै हाल्छ । तर समान्यत: मानिसले गर्ने सेवा भनेको आफ्ना लागि पनि हो । हामीले अरुलाई खुसी बनायौं भने सबैभन्दा बढी खुसीचाहिँ हामी नै हुन्छौं । आफ्ना अनुभव बाँड्ने अवसर दिनुभएकामा तपाईंलाई पनि धेरै धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया