शनिबार, वैशाख ८, २०८१

‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

नेपालखोज २०७८ मंसिर २० गते ९:५५

प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमको प्रशासनिक नेतृत्व अहिले काठमाडौंका अनोजकुमार घिमिरेको काँधमा छ । २०७८ असोज २० गतेदेखि तेह्रथुमको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घिमिरे कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ घिमिरेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा ३२ वर्ष बिताइसकेका छन् । तेह्रथुमका प्रजिअ घिमिरे यसअघि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डमा कार्यरत थिए ।
प्रजिअ घिमिरे कर्मचारीहरुको सरुवा चाँडो-चाँडो भएको अवस्थामा कार्यसम्पादनमा असर पर्ने बताउँछन् । ‘प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्न जिल्लामा जाँदा त्यहाँको वस्तुअवस्थिति, भूगोल, सबै वातावरण बुझ्न पाँच-सात महिना कम्तीमा लाग्छ नै,’ तेह्रथुमका प्रजिअ घिमिरेले नेपालखोजसँग भने, ‘त्यसपछि बल्ल कामले गति लिन लागेको अवस्थामा तुरुन्त सरुवा हुँदा निश्चय नै काममा प्रभाव पर्छ ।’
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३४औं शृंखला :

हाइलाइट्स :
-मैले मेरै भूमिकाको बारेमा नकारात्मक कुरा त के गरौंला र ? त्यही पनि मैले मेरो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको ठान्छु ।
-मैले त्यस्तो ठूलो दबाबको सामना त गर्नुपरेको छैन । कहिलेकाहीँ आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा प्रशासनले सफ्ट कर्नरबाट हेरिदियोस् भन्ने राजनीतिक पार्टीहरूको अपेक्षा हुन्छ ।
-मेरो गाउँका अग्रज दाइहरूको सेवाप्रतिको प्रतिबद्धता देखेरे नै जनताको सेवाका लागि निजामती सेवा नै उपयुक्त होला भनेर यसतर्फ लागियो ।
-पछिल्लो पुस्तालाई निजामती सेवामा आकर्षण गर्न नसकेको अवस्था नै हो ।
-जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्न जाँदा त्यहाँको वस्तुअवस्थिति, भूगोल, सबै वातावरण बुझ्न पाँच-सात महिना कम्तीमा लाग्छ नै ।
-हाम्रो सेवा नै परम धर्म हो । हामी हाम्रो सेवाप्रति प्रतिबद्ध छौं ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
योचाहिँ अलिकति गम्भीर प्रश्न नै भयो । आफैँले आफ्नो सफलता मूल्यांकन गर्नुभन्दा पनि स्थानीय र सेवाग्राहीबाट नै प्रजिअको भूमिका कस्तो छ ? भनेर उहाँहरूसँग नै बुझ्दा राम्रो हुन्छ । मैले मेरै भूमिकाको बारेमा नकारात्मक कुरा त के गरौंला र ? त्यही पनि मैले मेरो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको ठान्छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मैले त्यस्तो ठूलो दबाबको सामना त गर्नुपरेको छैन । कहिलेकाहीँ आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा प्रशासनले सफ्ट कर्नरबाट हेरिदियोस् भन्ने राजनीतिक पार्टीहरूको अपेक्षा हुन्छ । यो मेरो कार्यकर्ता हो यसलाई अलि सफ्ट कर्नरबाट हेरिदिए हुन्थ्यो भन्ने कुरा आउँछ । उहाँहरूले जे भने पनि हामी नियम-कानुनअनुसार काम गर्छौं ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
छ । तेह्रथम जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्ने क्रममा मलाई राति २ बजे कल आयो । एक महिला बोल्नुभयो । उहाँले सीडीओ’साप हामीले म्याङलुङ हस्पिटलमा डेलिभरी लिएर आएको अवस्था क्रिटिकल भएकाले भोपामा रिफर गर्‍यो । एम्बुलेन्स चालक कसैको फोन लाग्दैन । बिरामीलाई धरान लानुपर्ने भन्नुभयो । मैले तपाईं स्टायान्डबाई बस्नुस् म समन्वय गर्छु भनेर डीएसपी’सापलाई कल गरेँ । त्यसपछि प्रहरीलाई एम्बुलेन्स चालकको डेरामा पुग्न लगाएँ र तपाईं कन्भेन्स गर्नुस् नमाने मलाई कल गर्नुस् भनें । त्यसपछि अनटाइमा डेलिभरीलाई धरान पुर्‍याउन हामी सफल भयौं । खास मैले ठूलो काम गरेको होइन मैले एम्बुलेन्सको व्यवस्था मात्र गरिदिएको हो । त्यो केसको फलोअप गरिरहेको थिएँ । आमा र बच्चा दुवै स्वस्थ रहे अर्थात् डेलिभरी सक्सेस भयो । मलाई यो कुराले खुसी गराउँछ । सेवा प्रवाहका क्रममा मलाई आनन्द आएको कुरा यही हो । अर्थात् ममा आत्मसन्तुष्ट पनि भयो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो गाउँका एक-दुईजना अग्रज दाइहरू, २-४ जना सँगैका दाइहरू निजामती सेवामा हुनुहुन्थ्यो । केही कर्मचारी सञ्चय कोषमा हुनुहुन्थ्यो । केही बैंकिङ सेक्टरमा हुनुहुन्थ्यो । उहाँहरूको सेवाप्रतिको प्रतिबद्धता देखेरे नै जनताको सेवाको लागि निजामती सेवा नै उपयुक्त होला भनेर यसतर्फ लागियो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
ठ्याक्कै छैन । सीधा भन्नु पर्दा पछिल्लो पुस्तालाई निजामती सेवामा आकर्षण गर्न नसकेको अवस्था नै हो । सेवा-सुविधाको कमी, स्रोत-साधनको कमीलगायत अत्यधिक राजनीतीकरण र विभिन्न कारणले पछिल्लो पुस्तालाई राजनीतिमा आकर्षण गर्न नसकिएको अवस्था हो ।

तर पनि लोकसेवाले थोरै जनशक्ति माग्दा धेरै आवेदन पर्नुलाई कसरी लिने ?
योचाहिँ बाध्यता पनि हो । अझ यसलाई यसरी भनौं । चित बुझाउने क्षेत्रहरू नभएको अवस्थामा निजामती सेवामा प्रवेश गर्न निजामती सेवा एउटा आस्थाको केन्द्र भएको छ । यसमा निष्पक्ष ढंगले परीक्षा सञ्चालन हुने र प्रतिभाको कदर हुने भएकाले र सोर्स फोर्स, नातावाद नलाग्ने भएकाले र मिहिनेत गरे सफल होइन्छ भन्ने भएकाले यस्तो भएको हो । अर्को निजामती सेवामा स्थायी नोकरी भएको कारणले हो । सेवा सुविधा कम भए पनि स्थायी हुन्छ भन्ने हिसाबले यसमा आकर्षण बढेको पाइन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निश्चय नै पार्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्न जाँदा त्यहाँको वस्तुअवस्थिति, भूगोल, सबै वातावरण बुझ्न पाँच-सात महिना कम्तीमा लाग्छ नै । त्यसपछि बल्ल कामले गति लिन लागेको अवस्थामा तुरुन्त सरुवा हुँदा निश्चय नै काममा प्रभाव पर्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म मेरो पेसाप्रति सन्तुष्ट नै छु । नागरिक सेवालाई उच्च प्रथामिकतामा राखेर काम गर्ने भएकाले म मेरो पेसाप्रति सन्तुष्ट छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हाम्रो सेवा नै परम धर्म हो । हामी हाम्रो सेवाप्रति प्रतिबद्ध छौं । नागरिकलाई सेवा प्रदान गर्ने क्रममा हामीले धेरै ठूलो भूमिका नभए पनि समय सापेक्ष रुपमा हामीले जिम्मेवारी निर्वाह गरिदियौं भने सहजीकरण गरिदियौं भने नागरिकहरू खुसी हुनुहुन्छ । नागरिकको खुसी नै हाम्रो खुसी हो भन्ने लाग्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया