शुक्रबार, चैत १६, २०८०

‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

नेपालखोज २०७८ असार ७ गते ९:५६

‘समस्यामा परेका सेवाग्राहीलाई बोलाएरै सेवा दिइरहेका छौं’

कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोट । भौगोलिक रूपमा पछाडि परेको जिल्लाका रूपमा जाजरकोटलाई लिइने गरिन्छ । यद्यपि जाजरकोटमा पनि अहिले भने विकास निर्माणका कामले तीव्रता पाएको छ । जनसंख्या वृद्धिसँगै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा सम्भावनाका बाटाहरू खुलेका छन् । तथापि ती पर्याप्त भने छैनन् ।

अहिले जाजरकोट जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा जुम्लाका प्रेमप्रसाद देवकोटा कार्यरत छन् ।
देवकोटाले निजामती सेवामा झन्डै १० वर्ष बिताएका छन् । यसअघि इलाका प्रशासन कार्यालय लहानमा कार्यरत देवकोटा २०७७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

जुम्लाको गोठीचौरमा स्थायी घर भएका देवकोटा निजामती क्षेत्रमा इमानदार प्रशासकको छवि बनाएका व्यक्तिमा दरिन्छन् । उनी निजामती सेवाप्रति आफू निकै सन्तुष्ट रहेको पनि बताउँछन् ।

बाढी–पहिरो बढी आउने जिल्लामध्ये जाजरकोट पनि हो । उनले जिल्लाका बासिन्दालाई प्राकृतिक प्रकोपबाट सजग रहेर बस्न पनि आह्वान गरेका छन् । ‘जिल्लामा अहिले पनि बाढी–पहिरोको जोखिम उत्तिकै छ । गत वर्ष जाजरकोटमा बाढी–पहिरोबाट १३ जनाको मृत्यु भएको थियो भने ७३ घर नष्ट भएका थिए,’ उनले नेपालखोजसँग भने ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटासँग हामीले यस्तै–यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा देवकोटासँग गरिएको कुराकानी :

हाइलाइट्स :

– अहिले जिल्लामा १६५ जना कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लामा पाँच संक्रमितको मृत्यु भइसकेको छ ।
– सामान्य लक्षण भएका कोराना संक्रमितलाई होम आइसोलेसनमा र अन्यलाई डाक्टरको सल्लाहअनुसार स्वास्थ्य संस्थामा राखेका छौं ।
– जिल्ला प्रशासन कार्यालयप्रति जनताको ‘एक्स्पेक्टेसन हाई’ हुन्छ । कसैले नहेरेको काम अन्तिममा जिल्ला प्रशासनले नै हेर्छ ।
– जिल्ला प्रशासनमा कोभिडका बिरामी लागि कुनै पनि बजेट व्यवस्थापन नभएकाले हामीले चाहेअनुरूप सहयोग गर्न सकेका छैनौं । तर समन्वय गरी सेवा पुर्‍याइरहेका छौं ।
– कोभिडलाई न्यूनीकरण गर्ने र कोभिडका बिरामीलाई आफैंले सहयोग गर्न सक्ने स्रोत–साधन नभएकाले हामीलाई कहिलेकाहीँ भने समस्या परेको छ ।
– जाजरकोट पहिरोका लागि एकदम जोखिमपूर्ण क्षेत्र हो । यद्यपि पछिल्लो चरणको पानीले अहिलेसम्म क्षति हुन पाएको छैन ।
– छेडागाड नगरपालिकामा विगत सात दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको थियो । अहिले त्यहाँ मर्मतका लागि टोली पुगिसकेको छ ।
– निषेधाज्ञाको समयमा पनि हामीले समस्यामा परेका सेवाग्राहीलाई बोलाएरै सेवा दिइरहेका छौं ।
–हाम्रो सेवाबाट सेवाग्राही सन्तुष्ट छन् भन्ने मलाई लाग्छ ।
– हामीले कानुनसम्मत् काम गर्ने हो । सरकारको ऐन, कानुनमा बसेर बढीभन्दा बढी प्रभावकारी रूपमा सन्तुष्ट हुने गरी सेवा दिने हो ।
– म जाजरकोट आएको साढे तीन महिना भयो । यहाँका सबै गाउँपालिका, स्थानीय तहमा पनि पुगेको छु र त्यहाँका समस्या टिपोट गरेको छु । सोहीअनुसार सहजीकरण गरेको छु ।
– मेरो बुबा पनि निजामती सेवामा हुनुहुन्थ्यो । लोकसेवा आयोगमा योग्यताको कदर हुन्छ, निष्पक्षता हुन्छ भन्ने थियो । त्यसैले यस क्षेत्रमा आउन मिहिनेत गरियो ।
– म मेरो पेसाप्रति निकै सन्तुष्ट छु । सार्वजानिक ओहदाको पदमा आसिन भएर सरकारका नीति, कानुनलाई कार्यान्वयन गर्दै जनताको सेवा गर्ने मौका कमैलाई मिल्छ । त्योमध्यको म एक हुँ ।
– मैले देशको ‘क्रिटिकल’ अवस्थामा काम गर्ने मौका पाएको छु । अहिले पनि कोभिडको माहामारीमा जिल्लाको प्रशासनिक नेतृत्वमा रही काम गर्ने अवसर पाएको छु ।
– जाजरकोटको शान्ति, सुरक्षाको अवस्था एकदमै सामान्य छ ।
– मनसुन सुरु भएकाले बाढी–पहिरो जान सक्ने र सडक अवरुद्ध हुन सक्ने भएकाले सम्पूर्ण जाजरकोटका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गर्दछु ।

जाजरकोट जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
जिल्लामा अहिले १६५ जना सक्रिय संक्रमित छन् । १५ सयभन्दा बढी संक्रमित हुनुहुन्थ्यो । उहाँहरू उपचारपछि फर्किसकेपछि हाल १६५ संक्रमित मात्रै हुनुहुन्छ । जिल्लामै मात्र पाँचजनाको मृत्यु भएको छ भने जिल्ला बाहिर पनि जाजरकोटका केहीको मृत्यु भएको छ ।

जिल्लामा करोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
सामान्य लक्षण भएकालाई होम आइसोलेसनमा राख्ने र अलि जटिल स्वास्थ्य अवस्था रहेकालाई चिकित्सकको सिफारिसअनुसार स्वास्थ्य संस्थामा उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

कोभिडका बिरामी व्यवस्थापनमा कस्ता–कस्ता समस्या भोग्नुपरेको छ ?
जिल्लाभरको समग्र प्रशासन सञ्चालन गर्ने निकाय पनि हो र जिल्ला प्रशासन कार्यालयप्रति जनताहरूको एक्स्पेक्टेसन पनि हाई हुन्छ । कसैले पनि नहेरेको काम अन्तिममा हेर्ने भनेको पनि जिल्ला प्रशासन कार्यालयले नै हो । यससम्बन्धी कुनै पनि बजेट व्यवस्थापन कार्यालयमा नभएको हुँदा हामीले उहाँहरूलाई छुट्टै प्रकारले सहयोग गर्न नसके पनि समन्वय भने गरिरहेका छौं । सम्बन्धित स्थानीय पालिकाहरूमा, स्वास्थ्य संस्थाहरूमा जनप्रतिनिधिहरूसँग पनि समन्वय गरेर हामीले बिरामीलाई उपचारको व्यवस्था मिलाइरहेका छौं ।
सामान्यतः हामीसँग कोभिड न्यूनीकरण गर्ने, कोभिडका बिरामीलाई आफैंले सहयोग गर्नका लागि स्रोत–साधन नभएकाले मात्र यदाकदा समस्या परेको अवस्था हो । यद्यपि हामीहरूले सबैसँगको समन्वयमा कामहरू भने गरिरहेका छौं ।

जिल्लामा बाढी–पहिरोको प्रकोप बढेको सञ्चारमाध्यमहरूमा आइरहेका छन् ?, सडक–सञ्चार अवरुद्ध रहेका समाचारहरू आइरहेका छन् । अहिलेको अवस्था कस्तो छ ?
पहिरोका हिसाबले जाजरकोट एकदमै जोखिमपूर्ण जिल्ला हो । प्रथम चरणको वर्षाले त्यति ठूलो क्षति हुन पाएको छैन । अलि पानी पर्‍यो भने यहाँको भिरालो जमिन र मापदण्ड पूरा नगरी स्थानीय तहहरूले बनाएका सडकका कारण जोखिम भने बढेको छ । ती सडकहरूमा पनि केही क्षति हुने सम्भावना भने देखिन्छ । अब हाइवे (राजमार्ग) का हकमा भन्नुपर्दा सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्मका विभिन्न भागहरू अवरुद्ध भएका थिए र अहिले नियमित भएको अवस्था छ ।
यस्तै सञ्चारको हकमा चाहिँ बाढी–पहिरोअघिको अवस्थामा पनि सबै गाउँपालिका, स्थानीय तहहरूमा टेलिफोन सेवा पुगेको छैन । अहिले भने जिल्लाको छेडागाड नगरपालिकामा विगत सात दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको थियो । त्यहाँ मर्मतका लागि प्राविधिक टोली पुगिसकेको छ । त्यहाँको सेवा अब चाँडै नियमित हुन्छ । समग्रमा भन्नुपर्दा जिल्लाको दूरसञ्चार र विद्युत्‌को अवस्था भने सुधारोन्मुख छ ।

सेवाग्राहीहरूको समस्या समाधानमा आफू कत्तिको सफल भए जस्तो लाग्छ ?
यो कुरा सेवाग्राहीलाई सोध्दा अझ राम्रोसँग जवाफ पाउन सकिन्थ्यो । मैले भन्दा त राम्रो गरेको छु भनिहाल्छु । तर पनि हामीले सेवाग्राहीलाई सेवा दिन भरपूर प्रयास गरेका छौं । निषेधाज्ञाका बेला पनि हामीले समस्यामा परेका सेवाग्राहीलाई बोलाएरै सेवा दिएका छौं । मैले र मेरो कार्यालयका तर्फबाट सेवाग्राहीलाई पूर्ण सन्तुष्ट गराएको छु जस्तो लाग्छ ।

सरकारी सेवामा आइसकेपछि कामका दौरान नियमसंगत हुँदा–हुँदै पनि आफूले चाहेर पनि गर्न नपाएको वा नसकेको कुनै प्रशंग छ कि ?
मेरो जागिरको अवधि १० वर्ष पूरा गरें । मैले स्थानीय तहमा पनि काम गरें । लोकसेवा आयोगमा पनि काम गरें । गृहतर्फ आएको लगभग एक वर्षजति भएको छ । हामीले कानुनसम्मत काम गर्ने हो । अन्य छुट्टै किसिमको रचनात्मक कामका लागि छुट्टै किसिमको उपलब्धता पनि हुँदैन । हामीले गर्ने भनेको सरकारको ऐन, नियम, कानुनमा बसेर बढीभन्दा बढी प्रभावकारी रूपमा सेवाग्राहीलाई सन्तुष्ट बनाएर सेवा दिने काम हो ।
जाजरकोटको सन्दर्भमा पनि हामीले यो गरिरहेका छौं किनभने म यहाँ आएको लगभग साढे ३ महिना भयो । म सबै गाउँपालिका र स्थानीय तहहरूमा पनि पुगेको छु । त्यहाँको समस्याहरू पनि टिपोट गरेको छु । सोहीअनुसार मैले सहजीकरण गरेको छु । समग्रमा सेवाप्रवाहबाट सेवाग्राहीहरू सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ । र आफूले गर्न खोजेको र गर्न नपाएको काम भन्नुपर्दा पनि सरकारले निर्धारण गरेका ऐन, कानुन र नीति, नियममा बसेर सक्दो समन्वय र सहजीकरण गरेर हामीले काम गर्ने हो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो बुबा पनि निजामती सेवामै हुनुहुन्थ्यो । आफन्तहरू पनि निजामती सेवामै हुनुहुन्छ । पढ्दा पनि अरू खासै विकल्प देखिएन । किन भने व्यापार–व्यवसाय गर्ने, विदेश जाने भन्ने विकल्प पनि देखिएन । जुम्लामै लोकसेवा आयोग भएका कारणले गर्दा पनि यतातर्फ लागें । लोकसेवा आयोगबाट योग्यताको कदर हुन्छ, निष्पक्षता हुन्छ भन्ने जुन विश्वास हामी सबैलाई थियो यसैकारणले पनि निजामती सेवा प्रवेशका लागि अलि बढी मिहिनेत गरियो र यहाँबाट सफल पनि भइयो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म अत्यन्तै सन्तुष्ट छु । किनभने यो सार्वजनिक ओहोदाको पदमा आसिन भएर, सरकारका नीति, कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै जनतालाई सन्तुष्टि दिने, सेवा प्रवाह गर्ने अवसर कमै मानिसले पाउँछन् । त्योमध्येको भाग्यमानी मानिस म पनि एक हो ।
कतिपय कामहरू कुनै काम गर्ने क्रममा केही कमी–कमजोरीहरू रहन्छन् । तिनलाई सुधार्दै जानुपर्ने हुन्छ र अहिलेको सन्दर्भमा नेपालको ऐन, कानुनअनुसार काम गर्न पाउनु र सार्वजनिक पदमा बसेर जनतालाई सेवा–सुविधा दिन पाउनु आफूलाई गौरवको विषय रहेको जानकारी गराउन चाहन्छु । मैले देशलाई एकदमै क्रिटिकल अवस्थामा पनि सेवा गर्न पाएको छु । २०७३ सालमा स्थानीय तहको निर्वाचनमा पनि मैले निर्वाचन अधिकृत भएर चुनाव सम्पन्न गराउन मद्दत गरेको थिएँ । र अहिले पनि कोभिडको महामारीको यो समयमा जिल्लाको नेतृत्व गर्दै काम गर्ने अवसर पाइरहेको छु । त्यसकारणले म आफ्नो पेसाप्रति अत्यन्तै सन्तुष्ट छु ।

जाजरकोट जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
जाजरकोट जिल्लाको शान्ति–सुरक्षाको अवस्था हालसम्म सामान्य छ । जिल्लामा रहेका सुरक्षा निकायका तीनवटा अंग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलको राम्रो समन्वयले गर्दा जिल्लाको शान्ति–सुरक्षाको अवस्था चुस्त रहेको हो । सामान्य छ ।

र, अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
अहिलेको जिल्लाको अवस्थासँगै मेरो व्यक्तिगत धारणा लिनुभएकामा सर्वप्रथम नेपालखोज परिवारलाई धन्यवाद छ । अहिले मनुसन सुरु भइरहेको अवस्था छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमानअनुसार अझै केही साता मनसुन चल्नेछ । जसकारण नदीको बहाव बढ्न गई त्यहाँ ठूलो दुर्घटना हुन सक्ने र पहिरो पनि जान सक्नुका साथै सडक अवरुद्ध भएको अवस्थाले पनि सम्पूर्ण जाजरकोटका बासिन्दालाई म सजग र सचेत रहन आग्रह गर्छु । सबै सचेत भएर बस्न, आफ्नो जिउधनको सुरक्षा गरी बस्न विनम्र अनुरोध गर्न चाहन्छु । यस्तै अहिलेसम्म कोभिड–१९ को प्रकोप निमिट्यान्न नभइसकेको अवस्थामा सामाजिक दूरी कायम गर्ने र अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन पनि अनुरोध गर्न चाहन्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । जिल्लामा भइरहेका गतिविधि तथा उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशकै राजधानी सुर्खेत जिल्लाका प्रजिअ छविलाल रिजालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाउनुभए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’



प्रतिक्रिया