शनिबार, वैशाख ८, २०८१

‘कानुन छाडेर काम गर्दैनौं’

नेपालखोज २०७८ मंसिर २७ गते ९:५५

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको प्रशासनिक नेतृत्व अहिले स्याङ्जाका रुद्रबहादुर मल्लको काँधमा छ । २०७७ फागुन १९ गतेदेखि अछामको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मल्ल कुशल प्रशासकका रूपमा परिचित छन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ मल्ललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा २२ वर्ष बिताइसकेका छन् । अछामका प्रजिअ मल्ल यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
प्रजिअ मल्ल कामका दौरान कहिलेकाहीँ सानातिना दबाबहरु भने आउने स्विकार्छन् । ‘कानुन मान्दा-मान्दै हामी केही कुरामा व्यवहारिक हुनुपर्छ,’ अछामका प्रजिअ मल्लले नेपालखोजसँग भने, ‘यसको अर्थ कानुन स्वतः छाडेर व्यवहारिक हुने होइन कि जनताको हित हुन्छ, राज्यको अहित हुँदैन भन्ने उद्देश्यमा हामी अलिअलि व्यवहारिक हुने र त्यहाँको संस्कारअनुसार जानुपर्ने हुन्छ ।’
अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३५औं शृंखला :

हाइलाइट्स :
-निजामती सेवा भनेको राष्ट्रको सेवा गर्न, जनतालाई सेवा गर्न, विकास दिन समन्वय गरेर अगाडि बढ्नुपर्ने सेवा हो ।
-सेवाग्राहीहरूको अवश्यकताअनुसार सु-शासन कायम राख्ने, जनतालाई सेवा दिने काममा आफ्नो स्थान पदअनुसार, कार्यअनुसार, संगठनअनुसार भिन्न-भिन्न हुने भएकाले यी कुरालाई ध्यानमा राखेर कानुनभित्र रहेर हामीले सेवा गरिरहेका हुन्छौं ।
-कानुन मान्दा-मान्दै हामी केही कुरामा व्यवहारिक हुनुपर्छ । यसको अर्थ कानुन स्वतः छाडेर व्यवहारिक हुने होइन कि जनताको हित हुन्छ, राज्यको अहित हुँदैन भन्ने उद्देश्यमा हामी अलिअलि व्यवहारिक हुने र त्यहाँको संस्कारअनुसार जानुपर्ने हुन्छ ।
-सानैमा पढ्दा निजामतीमै जानुपर्छ भन्ने मेरो धारणा थियो ।
-आफ्नो उद्देश्य प्रस्ट हुनुपर्छ । जागिर भनेको व्यक्तित्व विकासको क्षेत्र पनि हो ।
-अरू सेवाहरूमध्ये निजामती सेवा उत्तमचाहिँ हो ।
-गुड फर लाइफ भनिन्छ नि जीवन राम्रो बनाउन सोच्ने हो । सन्तुष्टि कसैलाई पनि छैन ।
-आफ्नो अधिकार र दायित्वभित्र रहेर जनताको सेवा गर्न म प्रतिबद्ध छु ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
निजामती सेवा भनेको राष्ट्रको सेवा गर्न, जनतालाई सेवा गर्न, विकास दिन समन्वय गरेर अगाडि बढ्नुपर्ने सेवा भएको र राज्यको मुख्य अंग भएकाले जनता केन्द्रित भएर, कानुनभित्र रहेर काम गर्नुपर्ने हुन्छ । झन्डै २० वर्षको अनुभवले हेर्दा विभिन्न ठाउँ जिल्ला प्रशासन, स्थानीय सरकार, मन्त्रालय, विभाग यी सबै ठाउँमा फरक-फरक सेवाग्राही आउनुहुँदो रहेछ । नागरिकता, राहदानीका लागि जिल्ला प्रशासन हुन्छ भने स्थानीय निकायमा बस्दा विकाससँग सम्बन्धित सेवाग्राही हुन्छन् । त्यसलाई उनीहरूको अवश्यकताअनुसार सु-शासन कायम राख्ने, जनतालाई सेवा दिने काममा आफ्नो स्थान पदअनुसार, कार्यअनुसार, संगठनअनुसार भिन्न-भिन्न हुने भएकाले यी कुरालाई ध्यानमा राखेर कानुनभित्र रहेर हामीले सेवा गरिरहेका हुन्छौं । यसमा सय प्रतिशत त सन्तुष्टि हुँदैन । कहिले कानुन नपुगेर, सचेतनाको कमीले गर्दा, कति कुरा हाम्रो प्रविधि विधि मापदण्डका कारणले गर्दा केही कमी हुन पुग्छ । हामीले दिन खोज्दा-खोज्दै चित्त नबुझेको हुन सक्छ । त्यो पाटो म यहाँहरूलाई जानकारी गराउन चाहन्छु । हामीहरूको मुख्य जिम्मेवारी जनताको सेवा गर्ने नै हो ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दुईवटा मुख्य हुन्छ । एउटा राजनीतिक र अर्को प्रशासनिक दबाब हो । कानुन मान्दा-मान्दै हामी केही कुरामा व्यवहारिक हुनुपर्छ । यसको अर्थ कानुन स्वतः छाडेर व्यवहारिक हुने होइन कि जनताको हित हुन्छ, राज्यको अहित हुँदैन भन्ने उद्देश्यमा हामी अलिअलि व्यवहारिक हुने र त्यहाँको संस्कारअनुसार जानुपर्ने हुन्छ । प्रशासनिक दबाबचाहिँ के हुन्छ भने कानुनले नमिल्ने कुरा गरिदिनुस् न म राजनीतिक प्राणी हो मेरो भोट बढ्छ भन्ने आउन सक्छ । त्यसलाई हामी कानुन छाडेर गर्न नसक्ने काम गर्दैनौं । हामीभन्दा माथिल्लो वर्ग गृह-मन्त्रालय, प्रदेश सरकार केन्द्रीय सरकारहरू हुन्छन् । प्रशासनिक हिसाबले कहिलेकाहीँ के हुन्छ भने मैले पनि नबुझेर सचिवज्यूहरूले पनि निर्देशन दिनुहुन्छ । हामीले सबैभन्दा सिरानी हाल्ने भनेको संविधान कानुन नै हो । हामी यहीअनुसार दिएको कानुन प्रयोग गर्छौं ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
पक्कै पनि हुन्छ । जस्तो म भर्खरै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रसुवाबाट यहाँ आएको । गृह मन्त्रालय हुँदै डेढ महिना सहायक सीडीओ बसेर यहाँ आइपुगेँ । ०७२ सालको भूकम्पले मानवीय क्षति पनि भयो भौतिक क्षति त कति भयो कति । एकीकृत बस्तीको निर्णय गर्दा यति खुसी भए कि ५ वर्षमा सरकारले ४० रोपनी अतिक्रमण गर्न नसकेको अवस्थामा मैले यो वर्ष मात्र पुनर्निर्माण संस्था रहने भएकाले यो वर्षभित्रै गर्नुपर्छ भन्ने हिसाबले काम गरें । भर्खर मात्र ३८ रोपनी अतिक्रमण भइसकेपछि त्यहाँको खोलामा बसेका ओत पनि लाग्ने ठाउँ नभएका जनताहरू निकै खुसी भए ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
सानैमा पढ्दा निजामतीमा जानुपर्छ भन्ने थियो । मेरो अभिभावक मामा अछामको एलडीओ हुनुहुन्थ्यो । मेरो काका जिल्ला न्यायाधीश रूपन्देहीमा हुनुहुन्छ । उहाँहरूको निजामती सेवामा आउनुपर्छ भन्ने निर्देशन मानेर आफू प्रेरित भएको महसुस हुन्छ । अन्य निजी क्षेत्र, बैंक, एनजीओ, आईएनजीओमा बसेर भन्दा सार्वजनिक प्रशासनका रूपमा निजामती सेवा नै प्रमुख भएको हुनाले भोलि सचिव पनि हुन सकिन्छ राज्यको महत्त्वपूर्ण पदमा बसेर जनतालाई सेवा दिन पाइन्छ भन्ने हिसाबले यही क्षेत्रमा आएको हो ।

निजामती सेवामा आउन कसरी पढ्ने ?
आफ्नो उद्देश्य प्रस्ट हुनुपर्छ । जागिर भनेको व्यक्तित्व विकासको क्षेत्र पनि हो । जीवन जिउने कसरी, साधरण पदमा रहेर सेवा गर्ने कि ? मुख्य पदमा गएर गर्ने कि ? आफैँले निधारण गर्नुपर्छ । निजामती सेवामा छिर्ने भाइबहिनीलाई मेरो के सुझाव छ भने हाम्रो सिस्टममा म यहीँ जान्छु भन्ने हुँदैन । अगाडि जे माग्छ त्यसैमा प्रतिस्पर्धा गर्दै जाने हो मेरो अनुभवले यही भन्छ । बैंक पनि सरकारी बैंकहरू छन् । त्यहाँ पनि जान सकिन्छ । सार्वजनिक संस्थानहरू पनि छन् । प्रहरी, सेना पनि छन् । सार्वजनिक सेवामा जाने हो भने आफ्नो विद्यार्थी जीवन, क्याम्पसको जीवन अध्ययन गर्दै वा गरेर सकिएपछि पढ्दै क्यारिअर पनि बनाउँदै जाने भन्ने हुन्छ । अहिलेका युवमा धैर्यको कमी देख्छु । यसका लागि धैर्य चाहिन्छ । अध्ययन नगरी निजामती सेवामा प्रवेश गर्न सकिँदैन ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
हाम्रो नेपालको अहिलेको अवस्थामा सेवा सुविधालाई हेर्दा लोकसेवाको नेगेटिभ थ्योरीले जितेको अवस्था छ । आवेदकहरूबाट उत्कृष्ट आवेदक छनोट गर्ने हो । सेवा-सुविधा अवकाशपछिको सुविधा, निजामती कर्मचारीको भ्याल्यु हेर्दा ५-१० वर्षको अनुभवमा उत्कृष्ट निजामती सेवा भन्ने अवस्था छैन । अरू सेवाहरूमध्ये उत्तमचाहिँ हो भन्ने देखिन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
धेरै ठूलो फरक पार्छ । यो राज्यले राजनीतिक दल, प्रधानमन्त्रीलगायत राज्यका संयन्त्रले सोच्नुपर्ने कुरा हो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
गुड फर लाइफ भनिन्छ नि जीवन राम्रो बनाउन सोच्ने हो । सन्तुष्टि कसैलाई पनि छैन । राजनीति गरेर प्रधानमन्त्री भएकालाई पनि छैन । मेरो हिसाबमा म ६०-७० प्रतिशत सन्तुष्ट छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मेरा मनका कुरा प्रस्तुत गर्ने अवसर दिनुभएकामा यहाँहरूलाई धेरै-धेरै धन्यवाद । आफ्नो अधिकार र दायित्वभित्र रहेर जनताको सेवा गर्न म प्रतिबद्ध छु । कानुनभित्र रहेर जनताको सेवा गर्न म तत्पर छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया