शुक्रबार, चैत १६, २०८०

‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

नेपालखोज २०७८ असार १४ गते १०:३१

‘सरुवामा राजनीतिक हस्तक्षेप बढेको छ, जस कारण काममा असहज हुने गरेको छ ।’

लुम्बिनी प्रदेशको सदरमुकामा दाङ । भौगोलिक रूपमा पहाड र भित्री मधेस यो मुलुककै ठूलो उपत्यका पनि हो । दाङमा अहिले विकास निर्माणका कामले तीव्रता पाएको छ । भारतसँग सीमा जोडिएको जिल्लासमेत रहेको दाङका सर्वसाधारण वैदेशिक रोजगारीका लागि भारत जाने र फर्कने गर्दा पनि केही समय कोरोना संक्रमणको उच्च जोखिम देखिएको थियो । अहिले भने जोखिम घटेको अवस्था छ ।
जोखिम घटे पनि ढुक्क हुनुपर्ने अवस्था नरहेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना बताउँछन् । अब कोरोनाको तेस्रो लहर आए थप सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।
दाङका बहालवाला प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल सरुवा भएर गृह मन्त्रालय गइसकेको अवस्था छ । यहाँ सरुवा भई आएका रामबहादुर कुरुम्बाङले कार्यालय पुगेर हाजिर गर्न भ्याएका छैनन् । (सहायक प्रजिअ रानाका अनुसार कुरुम्बाङले सम्भवतः आज अर्थात् असार १४ गते कार्यभार सम्हाल्नेछन् ।)

जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा सहायक प्रजिअ चिरञ्जीवी रानालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
सन्धिखर्क, ३ अर्घाखाँची पुर्ख्यौली घर रहेका राना सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा दाङ जिल्ला पुगेको सात–आठ महिना मात्र पुगेको छ । उनले निजामती सेवामा झन्डै आठ वर्ष बिताएका छन् । दाङका सहायक प्रजिअ राना यसअघि राष्ट्रिय पुनर्निर्माण प्रधिकरण काठमाडौंमा कार्यरत थिए ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासँग हामीले यस्तै-यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा रानासँग गरिएको कुराकानी :

हाइलाइट्स :

– जिल्लामा कोभिड संक्रमण हेर्दा केही हदसम्म न्यूनीकरण भएको छ ।
– अहिले जिल्लामा सक्रिय संक्रमित १३७ जना मात्र छन् । १३७ मध्ये ८७ जना होम आइसोलसनमा र बाँकी अस्पतालमा उपचाररत छन् ।
– सिकिस्त कोरोना संक्रमितलाई दाङको बेलझुन्डीमै रहेको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
– अस्पतालहरूमा कोरोना संक्रमित बिरामीको चाप बढ्ने क्रममा जनशक्ति र स्वास्थ्य सामग्रीको अभाव देखिएको थियो ।
– अहिले कोरोना संक्रमण लेभल घट्दै गएसँगै अलि सहज देखिएको छ ।
– तेस्रो लहरको कोरोना आउने भएकाले अझै पनि ढुक्क हुने अवस्था भने छैन ।
– दाङ जिल्लामा राप्ती र बबई प्रमुख नदी हुन् । यी ठूला नदीले अलिअलि प्रभाव त पार्छ नै ।
– हामीले हाम्रोतर्फबाट सकेसम्मका सेवा दिएका छौं । अर्थात् प्रभावकारी सेवा ।
– नियम हुँदा–हुँदै पनि कहिलेकाहीँ नियम मिचेर काम गर्न खोजिन्छ । त्यस्तो हामीले गर्न दिँदैनौं ।
– सरुवामा राजनीतिक हस्तक्षेप हुने भएकाले आफूले चाहेको ठाउँमा, आफ्नो क्षमता, शैक्षिक अवस्थाअनुुसार काम गर्न सक्थें भन्ने हुन्छ । कहिलेकाहीँ चाहेर पनि त्यो ठाउँमा जान पाएको अवस्था भने हुँदैन ।
– नीति–नियमलाई आधार मान्दा–मान्दै पनि कहिलेकाहीँ झुलाइन्छ । त्यही कामलाई पनि कार्यविधि छोट्याएर, समन्वय गर्‍यो भने लामो काम पनि छोटो समयमा चाँडै गरिदियो भने सेवाग्राहीहरू त खुसी भइहाल्छन् नि ।
– जनतालाई सेवा दिने उद्देश्यले नै निजामतीमा प्रवेश गरें । पहिला म शिक्षण पेसामा थिएँ ।
– काम गर्ने हिसाबले आफ्नो बल बुद्धिले भ्याएसम्म काम गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ ।
– शान्ति–सुरक्षाको हिसाबले दाङको अहिलेको वर्तमान अवस्थाका ठीकै छ, सामान्य छ ।
००००

दाङ जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
कोभिडको सन्दर्भलाई हेर्दा केही हदसम्म न्यूनीकरण भएको छ । अहिलेको वर्तमान अवस्थामा हिजो (शनिबार) को तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या १३७ जना मात्र छ । १३७ मध्ये ८७ जना होम आइसोलेसनमा र बाँकी अस्पतालमा उपचाररत छन् । टेस्टिङचाहिँ भइरहेको छ । पहिलाको सन्दर्भमा केही कम देखिएको छ । तर अझै ढुक्क हुने अवस्था भने छैन ।

जिल्लामा कोरोना संक्रमितको व्यवस्थापन कसरी भइरहेको छ ?
अहिले दाङको बेलझुन्डीमै रहेको कोभिड अस्पतालमा कोरोना संक्रमितका सिकिस्त बिरामीहरूको उपचार गराउने व्यवस्था मिलाइएको छ । यस्तै प्रत्येक पालिकाहरूमा अक्सिजनसहित अस्पतालहरू स्थापना भएका छन् । सबै पलिकामा त्यही नै बिरामीको उपचार गरिन्छ । जटिल र सिकिस्त बिरामीलाई बेलझुन्डी अस्पतालमा लगेर उपचार गराइरहेको अवस्था छ भने त्यहाँ पनि उपचार हुन नसके अवस्था हेरी काठमाडौंलगायत अन्य ठूला अस्पतालमा पठाउने गरिएको छ । अहिले जिल्लामा कोरोना संक्रमितका लागि छुट्याइएको शय्याहरू भने पर्याप्त छन् ।

जिल्लामा कोरोना संक्रमितहरूको व्यवस्थापनका क्रममा आइपरेका समस्याहरू के–के छन् ?
सुरुमा अक्सिजनको अभाव भएको थियो । यो देशभरिकै समस्या पनि हो । अर्काेचाहिँ बिरामीको चाप बढ्ने क्रममा स्वास्थ्य जनशक्ति तथा उपचार सामग्री अभाव देखिएको थियो । अहिले संक्रमणको संख्या घट्दै गएकामा अलिकति सहज भने देखिएको छ । तेस्रो लहरको कोरोना आउने भएकाले अझै पनि ढुक्क हुने अवस्था छैन । जनशक्ति र स्वास्थ्य सामग्री प्रत्येक अस्पतालमा थप्नुपर्ने देखिन्छ ।

विभिन्न जिल्लामा बाढी–पहिरोको प्रकोप बढेको सञ्चारमाध्यहरूमा आइरहेका छन् ? दाङ जिल्लाको अवस्था कस्तो छ ?
समग्र बाढी–पहिरोको सन्दर्भमा दाङ जिल्लामा ठूला नदीका रूपमा राप्ती र बबई छन् । ठूलो नदी रहेकाले अलिअलि प्रभाव त परिहाल्छ नै । अहिलेसम्म ठूलै क्षति भएको त छैन । हिजो (शनिबार) मात्र यहाँ रहेको ठाडो खोलाले बगाएर एकजना बेपत्ता हुनुभएको छ । उहाँ नभेटिएको र खोजी भने जारी रहेको अवस्था छ । समग्र जिल्लामा भने बाढी–पहिरोका कारण जनधनको क्षति भने भएको सूचना आइपुगेको छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
हामीले हाम्रो लेबलबाट सकेसम्मका सेवा दिएका छौं । हामीले कार्यप्रकृति हरेर अहिले कोभिडको सन्दर्भमा सबै सेवाहरू खुला गरिसकेको अवस्थाचाहिँ छैन । नागरिकता वितरणलाई पनि केही अलि लिमिट गरेर, पालिकाको वडाहरू तोकेर सेवा दिइरहेका छौं, कोभिडको भिडभाड नहोस् भनेर । सेवा प्रवाहचाहिँ प्रभावकारी रूपमा दिइरहेका छौं ।

कामका दौरान कस्ता दबाब आउँछन् ?
आफूले चाहँदा–चाहँदै पनि नियमसंगत गर्दा–गर्दै पनि गर्न नहुने अवस्था पनि छैन । कहिलेकाहिँ स्वभाविक रूपमा प्रेसरचाहिँ आउँछ । नियम हुँदा–हुँदै पनि नियम मिचेर गर्न खोजिन्छ । त्यस्तोचाहिँ हामीले गर्न दिएका छैनौं, गर्न पनि दिँदैनौं । अनि गर्न पनि मिल्दैन । सरुवामा राजनीतिक प्रभाव हुने भएकाले आफूले चाहेको ठाउँमा, आफ्नो क्षमता, शैक्षिक अवस्थाअनुुसार त्यो कम गर्न सक्थें भन्ने हुन्छ । चाहेर पनि त्यो ठाउँमा जान पाएको अवस्था हुँदैन ।

कामका दौरान सेवाग्राहीलाई कत्तिको खुसी बनाएर पठाएँ भन्ने लाग्छ ?
खुसीभन्दा पनि नियम–प्रक्रियामा कार्यसम्पादन गर्ने कुरो हो । सेवाग्राही त खुसी नै हुनुहुन्छ । नीति–नियमलाई आधार मान्दा–मान्दै पनि लिङ्गरिङ (अल्झाउने, झुलाउने) हुन्छ । त्यही कामलाई पनि कार्यविधिलाई अलि छोट्याएर समन्वय र सहकार्य गरेर चाँडो गरियो भने सेवाग्राहीहरू पनि खुसी भइहाल्छन् ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
जनताका लागि कसरी सेवा प्रदान गर्न सकिन्छ भनेर सरकारी सेवातर्फ आकर्षित भएँ । जनतालाई सेवा दिने उद्देश्यले नै म यो क्षेत्रमा छिरेको हुँ । हुन त म पहिला म शिक्षण सेवातर्फ थिएँ । शिक्षण क्षेत्र पनि जनतालाई सेवा प्रवाह गर्नु नै हो । तर, निजामती सेवातर्फ आउनु अर्को कुरा भनेको जब सेक्युरिटी पनि हो । मलाई कसैले इन्करेज गरेकोभन्दा पनि देशको परिस्थितिले यता आएँ ।

आफ्नो पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
काम गर्ने हिसाबले आफ्नो बल, बुद्धि, क्षमताले भ्याएसम्म काम गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ । आफूले चाहेर पनि कहिलेकाहीँ परिस्थितिले मिलाइरहेको हुँदैन । त्यो बेला दिक्क लागेर आउँछ । समग्रमा सन्तुष्ट छु ।

दाङ जिल्लाको शान्ति सुरक्षाको अवस्था अहिले कस्तो छ ?
अहिलेको वर्तमान अवस्थाका ठीकै छ, सामान्य छ । त्यस्ता अफ्ठ्यारो बनाउने खालका चुनौतीहरु छैनन् ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
दाङको बारेमा र आफ्नो व्यक्तिगत केही कुरा राख्ने मौका दिएकामा धेरै–धेरै धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटासँग कुराकानी गरेका थियौं । यसपटक हामीले लुम्बिनी प्रदेशको राजधानी दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाउनुभए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

प्रतिक्रिया