मंगलबार, वैशाख ११, २०८१

‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

नेपालखोज २०७८ असार २१ गते ९:४५

‘सेवा लिन अप्ठ्यारो पर्‍यो भन्ने गुनासो छैन’
मेरो कार्यकालमा जिल्ला प्रशासन कार्यालयको कामप्रति गुनासो आएको छैन

गण्डकी प्रदेशको पहाडी जिल्ला तनहुँ । तनहुँको प्रशासनिक नेतृत्व अहिले ललितपुरका सागर आचार्यको काँधमा छन् । झन्डै एक वर्ष अर्थात् २०७७ साउन ९ गतेदेखि तनहुँ जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आचार्य कुशल प्रशासकका रूपमा परिचित छन् ।

जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ आचार्यलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।

गोदावरी, १३, ललितपुर स्थायी घर रहेका आचार्यले निजामती सेवामा २८ वर्ष बिताइसकेका छन् । तनहुँका प्रजिअ आचार्य यसअघि त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा कार्यरत थिए । अध्यागमन कार्यालय आउनुअघि उनी राष्ट्रिय पुनर्निर्माण प्रधिकरण काठमाडौंमा कार्यरत थिए । आचार्यले लामो समय राष्ट्रिय योजना आयोगमा समेत काम गरिसकेका छन् । कामका दौरान विभिन्न क्षेत्रबाट आउने दबाब पनि उनले नझेलेका होइनन् । तर जति दबाब आए पनि कर्मचारीले नियम–कानुनभित्रै रहेर कार्य सम्पादन गर्ने उनी बताउँछन् । ‘राजनीतिक दल सरकारका प्रतिनिधिबाट काम गर्दा दबाब आउँछ,’ प्रजिअ आचार्य भन्छन्, ‘तर हामी नियम–कानुनमा रहेर मात्र काम गर्छौं ।’

कसैलाई भनसुन गर्नु नपर्ने र सोसफोर्सबिनै जागिर गर्नु नपर्ने भएकाले आफू निजामती सेवामा आएको उनको भनाइ छ । ‘सोर्सफोर्स भनसुनबिना स्वतन्त्र रूपमा जागिर खान सक्ने ठाउँ भएकाले यसतर्फ आकर्षण बढ्यो,’ उनले भने ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग हामीले यस्तै–यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा आचार्यसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– अहिलेको अवस्थामा तनहुँमा पहिलाको जस्तो तीव्र रूपमा कोरोना संक्रमण फैलिएको छैन ।
– कोरोना घट्दो क्रममा छ । पूरा घटिसकेको भने छैन ।
– हामीले गाउँगाउँमा कोरोना परीक्षणको व्यवस्था मिलाएका छौं । जसले सर्वसाधारणलाई सहज भएको छ ।
– दोस्रो लहरको कोरोनामा हामीले प्रत्येक पालिकामा आइसोलेसन स्थापना गर्‍याैं ।
– दोस्रो लहरको कोरोनामा हामीलाई पूर्वाधारको अभाव भने परेन धेरै संक्रमित होम आइसोलेसनमा बस्नुभयो, जसकारण व्यवस्थापनमा पनि सहज भयो ।
– काम गर्दा समस्याहरू आइरहन्छन् । तर सबैको सहकार्यकै माध्यमले समाधान गर्न सकेका छौं ।
– कोभिडको महामारी नियन्त्रण गर्न स्थानीय तहसँग जिल्ला प्रशासन कार्यालयको पनि समन्वय भयो । हामीलाई स्थानीय तहको भरपूर सहयोग प्राप्त भयो ।
– बाढी–पहिरोका कारण जिल्लामा दुईजनाले ज्यान गुमाइसकेको अवस्था छ । एकजना बेपत्ता हुनुहुन्छ ।
– तनहुँ जिल्ला ठूलाठूला नदीले घेरिएको ठाउँ हो । पानी परिरहेको छ कुन बेला के हुन्छ भन्न सक्ने अवस्था छैन ।
– सेवाग्राहीको समस्या समाधान गर्न एकदमै सफल भएको महसुस गरेको छु मैले ।
– म यो जिल्लामा एक वर्षदेखि कार्यरत छु । यो दौरानमा कसैले जिल्ला प्रशासनको कामप्रति गुनासो गरेको सुनेको छैन ।
– म प्रत्येक दिन दुईपटक जस्तो सेवाग्राहीको अवस्था के–छ ? भनेर शाखा–शाखामा गएर हेर्छु ।
– जिल्लाका अरू सरकारी र अर्धसरकारी कार्यालयका पनि भइरहेको कामको निरन्तर अपडेट लिइरहेको हुन्छु ।
– कामका दौरान दबाब निश्चय नै आउँछन् ।
– राजनीतिक दल सरकारका प्रतिनिधिबाट काम गर्दा दबाब आउँछ । तर हामी नियम कानुनमा रहेर मात्र काम गर्छौं ।
– सोर्सफोर्स भनसुनबिना स्वतन्त्र रूपमा जागिर खान सक्ने ठाउँ भएकाले यसतर्फ आकर्षण बढ्यो ।
– धेरै समय म केन्द्रीयस्तर निकायमा रहेर काम गरें । पछिल्लो केही वर्षदेखि म जिल्ला स्तरमा काम गर्दै छु । पहिला पनि खुसी नै थिए अहिले पनि खुसी छु ।
– तनहुँ जिल्लाको शान्ति सुरक्षाको अवस्था ठीक छ । अप्ठ्यारो स्थिति छैन ।
– तनहुँका बासिन्दालाई बाढीको जोखिम बढ्दो छ सुरक्षित रहन आग्रह गर्दछु । कुनै किसिमको समस्या परे हामीले सार्वजनिक गरेको सम्पर्क नम्बरमा कल गर्नुहोला ।

तनहुँ जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
कोभिड संक्रमण वास्तवमा तनहुँमा पहिलाजस्तो एकदमै तीव्र रुपमा फैलिएको छैन । तर अब अहिले अलिकति घट्दो दरमा छ । तर पूरै सकिसकेको चाहिँ छैन । हामीले कोरोना परीक्षण पनि व्यापक गराइरहेका छौं । गाउँगाउँमा पुगेर परीक्षण गराइरहेका छौं । संक्रमित देखिने क्रमचाहिँ त्यस्तो धेरै पनि घटेको छैन ।

जिल्लामा कोरोना संक्रमितको व्यवस्थापन कसरी गर्नुभयो ?
यसका लागि हामीले धेरै काम गर्‍यौं । हामीले खासगरी गाउँपालिकामा आइसोलेसन केही थिएन । दोस्रो लहरको कोरोना सुरु हुँदा पनि केन्द्रमा एउटा आइसोलेसन बनाएका थियौं । दमौली अस्पताल र बीपी कोइराला श्वासप्रश्वास केन्द्रमा गरी तीन ठाउँमा मात्र आइसोलेसन भएकामा अहिले हामीले प्रत्येक पालिकामा आइसोलेसनहरु निर्माण गर्न लगायौं । त्योबाहेक व्यास नगरपालिका दमौलीमा छ । त्यहाँ कृषि विकास बैंकको पुरानो भवन लिएर हामीले ५० बेडको अक्सिजनसहितको आइसोलेसन बनायौं । त्यस्तै दमौली अस्पताल १५ बेड क्षमता भएको अस्पताल हो । त्यहाँ अहिले ४० जनासम्म उपचार गराउन सक्छौं । बीपी कोइराला श्‍वासप्रश्वास केन्द्रमा प्रि-आइसोलेसन र आइसोलेसन गरेर ७० बेड स्थापना गरेका छौं । हामीलाई पूर्वाधारको समस्याचाहिँ परेन यसपालि । हुनत, धेरै कोभिडका बिरामी होम-आइसोलेसनमै बस्नुभयो । योबाहेक हामीले दमौली अस्पतालमा ७ बेडको आईसीयू र ४ वटा भेन्टिलेटर जोड्न सफल भयौं ।

जिल्लामा कोरोना संक्रमितहरूको व्यवस्थापनका क्रममा आइपरेका समस्याहरू के-के छन् ?
काम गर्दा समस्या त जरुर आइहाल्छन् । तर पनि हाम्रो स्थानीय तहसँग भरपूर समन्वय भएको हुँदा उहाँहरुले हामीलाई असाध्यै सहयोग गर्नुभयो । आइसोलेसन स्थापना गर्न प्रत्येक पालिकामा सामग्रीहरु राख्न उहाँहरुले असाध्यै सहयोग गर्नुभयो । त्यसले गर्दा त्यति धेरै र जटिल समस्या भने भएन ।

विभिन्न जिल्लामा बाढी-पहिरोको प्रकोप बढेको सञ्चारमाध्यमहरूमा आइरहेका छन् ? तनहुँ जिल्लाको अवस्था कस्तो छ ?
तनहुँ जिल्ला ठूला-ठूला नदीले घरिएको जिल्ला हो । यसको वरिपरि मर्स्याङ्दी, नारायणी र कालीगण्डकी नदीले घेरेको छ । त्योबाहेक यसको बीच-बीचबाट मादी र सेती ठूला नदी यही जिल्ला भएर बग्छन् । अहिले औसतभन्दा बढी पानी परेको छ । हाम्रो जिल्लामा अहिलेसम्म बाढी-पहिरोका कारण दुईजनाले ज्यान गुमाइसकेका छन् । एकजना बेपत्ता हुनुहुन्छ । उहाँ खोलामा बेपत्ता हुनुभएको हो । योबाहेक भौतिक क्षतिमा पुल बगाएको छ । ठाउँठाउँमा डुबान र कटान भएको छ । पहिरोले घरहरु पनि पुरेको अवस्था छ । जिल्लामा बाढी-पहिरोको कारणले नौजना घाइते हुनुभएको छ । यसमध्ये कोही उपचाररत हुनुहुन्छ भने कोही घर फर्किसक्नुभएको अवस्था छ । सेती र मादीमा पानीको बाहब बढेको छ । कुनबेला के हुन्छ भन्न सक्ने अवस्था छैन ।

सेवाग्राहीका समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीको समस्या समाधान गर्न एकदमै सफल भएको महसुस गरेको छु मैले । म करिब यो जिल्लामा एक वर्षदेखि कार्यरत छु । यो एक वर्षको बीचमा कसैले पनि जिल्ला प्रशासनको कामप्रति गुनासो गरेको मैले भेटेको छैन । कुनै पत्रपत्रिका अथवा व्यक्तिले पनि गुनासो गरेको मैले भेटेको छैन । मैले प्रत्येक दिनजसो हाम्रो कार्यालयमा आउने सेवाग्राहीको अवस्था के छ ? कसरी कामहरु लिइरहनुभएको छ ? भनेर दैनिक २ दुई पटकजसो शाखा-शाखामा गएर हेर्छु । त्यस्तै योबाहेक जिल्लाका अरु सरकारी र अर्धसरकारी कार्यालयहरुमा भइरहेको कामको निरन्तर अपडेट लिइरहेको हुन्छु । हाम्रो जिल्लामा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो पर्‍यो भनेको गुनासो छैन ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाबहरु निश्चय नै आउँछन् । हाम्रो तीन तहको सरकार, सरकारका प्रतिनिधिज्यूहरु धेरै भएकाले कामकाजका क्रममा दबाब आउँछ । तर हामी कानुन र नियमलाई कहिल्यै पनि छाड्दैनौं । त्यसकारण दबाबले कुनै अप्ठ्यारो परेको भने छैन ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवामा आउनुको कारण अन्य कुनै सोर्सफोर्स नचल्ने, स्वतन्त्र रुपमा जागिर खान सक्ने ठाउँ यही भएकाले नै हो । लोकसेवाले स्वतन्त्र, स्वच्छ रुपमा परीक्षा लिन्छ भन्ने अध्ययनकालदेखि विश्वास थियो । थुप्रै व्यक्तित्वहरु निजामती सेवाको उच्च पदमा पुगेका, चिनेजानेका अग्रजहरुका कारण निजामती सेवामै जागिर खानुपर्ने रहेछ भन्ने मनमा लाग्यो र सोही कारण यतातर्फ आकर्षण बढ्यो ।

आफ्नो पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
करिब-करिब धेरै समय म केन्द्रीयस्तरको निकायमा काम गरें । पछिल्लो तीन वर्षदेखि म जिल्लास्तरमा काम गरिरहेको छु । म केन्द्रीयस्तरमा बसेर काम गर्दा पनि खुसी थिए । अहिले पनि खुसी नै छु ।

अहिले तनहुँ जिल्लाको शान्ति-सुरक्षाको अवस्था कस्तो छ ?
शान्ति-सुरक्षाको अवस्था राम्रो छ । कुनै अप्ठ्यारो स्थिति छैन ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तनहुँ जिल्लामा बाढी-पहिरोको सम्भावना अझै छ । नदी नै नदीले घेरेको जिल्ला भएको कारण आम तनहुँका बासिन्दालाई बाढी आउन सक्छ सुरक्षित रहन आग्रह गर्छु । सुरक्षित भएर बस्ने व्यवस्था मिलाउनुहोला । कुनै किसिमको आपत्ति आइलागे हाम्रा सर्वजानिक टेलिफोनमा तत्काल खबर गर्नुहोला ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासँग कुराकानी गरेका थियौं । यसपटक हामीले गण्डकी प्रदेशको पहाडी जिल्ला तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाउनुभए हेर्नुहोस् ।


रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – 
‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

प्रतिक्रिया