शुक्रबार, वैशाख ७, २०८१

‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

नेपालखोज २०७८ पुष १२ गते ९:५०

प्रदेश १ को पहाडी जिल्ला खोटाङको प्रशासनिक नेतृत्व अहिले मोरङको पथरी शनिश्चरेका फणिन्द्र दाहालको काँधमा छ । २०७८ मंसिर ७ गतेदेखि खोटाङको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दाहाल कुशल प्रशासकका रूपमा परिचित छन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ दाहाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा ३० वर्ष बिताएका खोटाङका प्रजिअ दाहाल यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
कहिलेकाहीँ विकास निर्माणसम्बन्धी, शान्ति-सुरक्षा र राजनीतिक विषयहरु आफूसँग ठोक्किन आउने उनको बुझाइ छ । ‘कहिलेकाहीँ विकास निर्माणसम्बन्धी, शान्ति-सुरक्षा र राजनीतिक विषय पनि हामीसँग ठोक्किन आउँछन्,’ खोटाङका प्रजिअ दाहालले नेपालखोजसँग भने, ‘ती सबै कुरालाई नियम कानुन, समयसापेक्ष भएका विगतका अनुभवहरुका आधारमा समस्या भए समाधान गर्ने र सहजीकरण भए सहजीकरण गर्छौं ।’ खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३७औं शृंखला :

हाइलाइटस् :
-कानुन, प्रक्रिया र व्यवस्थालाई आधार मानेर हामीले जनतालाई सेवा उपलब्ध गराउने हो ।
-हामीले अहिले जे जति सेवा-सुविधाहरु उपलब्ध गराइरहेका छौं त्योबाट हामी सन्तुष्ट छौं । कतिपय कुराहरु भने हाम्रो क्षमताभन्दा बाहिरका हुन्छन् ।
-प्रमुख जिल्ला अधिकारी पद नेपाल सरकारको जिल्लामा प्रतिनिधित्व गर्ने पद हो । सोही कारण सरोकार राख्ने सबै किसिमका विषय यहाँ आउँछन् ।
-कहिलेकाहीँ विकास निर्माणसम्बन्धी, शान्ति-सुरक्षा र राजनीतिक विषय पनि हामीसँग ठोक्किन आउँछन् । ती सबै कुरालाई नियम कानुन, समयसापेक्ष भएका विगतका अनुभवहरुका आधारमा समस्या भए समाधान गर्ने र सहजीकरण भए सहजीकरण गर्छौं ।
-निजामती सेवा राज्यको प्रणालीहरुमा पनि ‘की’ सेक्टर हो । सुरुमा बेरोजगारीको अवस्थाले सेवा प्रवेश गरौं भन्ने लाग्थ्यो । मेरो परिवारमा पनि निजामती सेवामा भएका हुनाले यता प्रवेश गर्ने विचार आइहाल्यो ।
-लोकसेवाको परीक्षामा अहिले पनि राम्रो आवेदन परेको हामीले देखेकै छौं । यसर्थ नयाँ पुस्तामा विकर्षण होइन आकर्षण नै छ ।
-प्रणालीले काम गर्ने हो, व्यक्ति आउने जानेले खासै फरक पार्दैन ।
-हामीले उपलब्ध गराउने सेवा जनतालाई नै केन्द्रमा राखेर उपलब्ध गराउनुपर्छ । जनतालाई केन्द्रविन्दुमा राखेर हामीले सेवा उपलब्ध गरायौं भने समस्या पनि केही आउँदैन ।
-हाम्रा जे जति प्रणाली छन् त्यसका केन्द्रविन्दु भनेका जनता हुन् ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
हामीले जनतालाई केन्द्रमा राखेर नै सेवा उपलब्ध गराउने हो । हाम्रा कानुन, प्रक्रिया र व्यवस्थालाई आधार मानेर हामीले जनतालाई सेवा उपलब्ध गराउने हो । हामीले अहिले जे जति सेवा-सुविधाहरु उपलब्ध गराइरहेका छौं त्योबाट हामी सन्तुष्ट छौं । कतिपय कुरा हाम्रो क्षमताभन्दा बाहिरका हुन्छन् । नागरिकताको विषयमा नयाँ व्यवस्था लागु भइसकेको अवस्था छैन । हामी जनतालाई उपलब्ध गराएको सेवाबाट सन्तुष्ट छौं । मैले पनि आफूले जानेको, भ्याएको र कानुनले निर्दिष्ट गरेका कामहरु कुशल रुपमा सम्पादन गरिरहेको छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
प्रमुख जिल्ला अधिकारी पद नेपाल सरकारको जिल्लामा प्रतिनिधित्व गर्ने पद हो । सोही कारण सरोकार राख्ने सबै किसिमका विषय यहाँ आउँछन् । कहिलेकाहीँ विकास निर्माणसम्बन्धी, शान्ति-सुरक्षा र राजनीतिक विषय पनि हामीसँग ठोक्किन आउँछन् । ती सबै कुरालाई नियम कानुन, समयसापेक्ष भएका विगतका अनुभवहरुका आधारमा समस्या भए समाधान गर्ने र सहजीकरण भए सहजीकरण गर्छौं । विगतको अनुभवले समाधान गर्न नसक्ने विषय नै त छैन हामीसँग पर्याप्त कानुन छ हामीसँग । दबाबहरुचाहिँ आउँछ । नआउने होइन । किनभने जनताले आफ्नो कुरा राख्न पाउँछन् । गुनासोहरु हामीसँग राख्न पाउँछन् । दबाबभन्दा पनि गुनासो भनौं उनीहरुको । कानुनी व्यवस्थाले सहजीकरण गर्ने व्यवस्था भयो भने हामी गर्छौं नभए यो कारणले गर्न सकिँदैन भनेर पठाउँछौं ।

‘पारिवारिक वातावरणले निजामती सेवामा आएँ’

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
कहिलेकाहीँ यस्तो हुने रहेछ- नागरिकताको केसमा प्रमुख जिल्ला अधिकारीलाई यो नेपाली नागरिक नै हो भनेर लाग्यो र प्रमाण पुग्यो भने दिन सकिन्छ । खोटाङ जिल्लामा पनि म भोलि या पर्सि गर्दै छु तर गरिसकेको छैन । छारे रोग लागेका एक मानिसले नागरिकता अहिलेसम्म पाएका रहेनछन् उहाँलाई घरमै गएर नागरिकता दिने विचार गरेको छु । यस्ता कुरामा आफूलाई सन्तुष्ट पनि हुने । उसको पनि वृत्तिविकास हुने । ऊ कार्यालयमा आउने अवस्था नै रहेनछ । उहाँले पाउने सेवा, सामाजिक सुरक्षाको कुराहरु हुन्छ । हाम्रा लागि सानो लाग्ने कुरा काम अड्किरहेकाको लागि ठूलो हुन्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवा राज्यको प्रणालीहरुमा पनि ‘की’ सेक्टर हो । सुरुमा बेरोजगारीको अवस्थाले सेवा प्रवेश गरौं भन्ने लाग्थ्यो । मेरो परिवारमा पनि निजामती सेवामा भएका हुनाले यता प्रवेश गर्ने विचार आइहाल्यो । पारिवारिक वातावरणले नै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती सेवा भनेको राज्यको प्रमुख क्षेत्र हो । यसैलाई आधार मानेर अरु सेवा सञ्चालन भइरहेको हुन्छ । जस्तो निजामती सेवा ऐनलाई आधार मानेर स्वास्थ्य सेवा ऐन । प्रहरी ऐन, कतिपय अवस्थामा सार्वजनिक संस्थानसम्बन्धी ऐन । नयाँ पुस्तामा अहिलेको नयाँ परिवेश, कम्युनिकेसनको अवस्थाले टेक्नोलोजी फ्रेन्डली हुने । अन्तर्राष्ट्रिय रुपमा तत्काल भइरहेका विषयवस्तुहरुसँग बढी रुचि हुने भएकाले फरक किसिमको वातावरण उनीहरुले महसुस गर्छन् । मलाई लाग्छ नयाँ पुस्ता पर्याप्त मात्रामा आएका छन् । एउटा पुस्ता पढ्ने सिलसिलामा विदेश पनि गएको छ । लोकसेवाको परीक्षामा पनि राम्रो आवेदन परेको हामीले देखेकै छौं । यसर्थ नयाँ पुस्तामा विकर्षण होइन आकर्षण नै छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
प्रणालीले काम गर्ने हो । व्यक्ति आउने जानेले खासै फरक पार्दैन । अहिले छिटो-छिटो सरुवा भएको छैन लगभग १ वर्ष जस्तोमा भएको छ । सिस्टमले काम गर्ने भएकाले सरुवाले खासै ठूलो असर गर्दैन । कतिपय जागिर अनुभवले गर्ने हुन्छन् । जस्तो जिल्ला प्रशासनका काम अनुभवबाट गर्नुपर्ने खालका हुन्छन् । सरुवाले सरकारलाई प्रत्यक्ष असर गर्दैन । काममा असर पुग्दैन व्यक्तिलाई चाहिँ पुग्छ । भूगोल, संस्कृति, रहनसहन, परिस्थिति र काम गर्ने आफ्नो शैलीलाई हेर्दा खासै ठूलो फरक पर्दैन तर व्यक्तिलाई फरक पर्ने कुरा स्वभाविक नै हो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले निजामती सेवामा तीस वर्ष बिताएको हुनाले म सन्तुष्ट भएरै अहिलेसम्म काम गरिरहेको छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामीले उपलब्ध गराउने सेवा जनतालाई नै केन्द्रमा राखेर उपलब्ध गराउनुपर्छ । जनतालाई केन्द्रविन्दुमा राखेर हामीले सेवा उपलब्ध गरायौं भने समस्या पनि केही आउँदैन । हाम्रा जे जति प्रणाली छन् त्यसका केन्द्रविन्दु भनेका जनता हुन् । यही कुरालाई मध्यनजर गरेर हामीले काम गर्‍यौं भने आफूलाई पनि सन्तुष्टि हुन्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को पहाडी जिल्ला खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया