बिहीबार, चैत १५, २०८०

‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नेपालखोज २०७९ साउन २ गते ९:५७

प्रदेश १ को सुनसरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले सिरहाका इन्द्रदेव यादवको काँधमा छ । २०७८ असोज २५ गतेदेखि सुनसरीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यादव कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ यादवलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै १७ वर्ष बिताएका सुनसरीका प्रजिअ यादव यसअघि रौतहटमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
निजामती सेवातर्फ अहिलेको पुस्ताको आकर्षण तुलनात्मक रुपमा कम भएको प्रजिअ यादवको अनुभव छ । ‘एक किसिमले हेर्दा नयाँ पुस्ताहरूको आकर्षण निजामती सेवामा घटेको जस्तो पनि देखिन्छ,’ प्रजिअ यादवले नेपालखोजसँग भने, ‘अहिलेका युवामा म अहिलेको समयमा अब्बल छु । सूचना प्रविधिको क्षेत्रमा पनि सक्षम छु र म केही बाहिरी प्रतिस्पर्धा गरेर गरी खान सक्छु भन्ने किसिमको मानसिकता देखिएको छ ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६६औं शृंखला :

हाइलाइट्स
-राज्यको काम नै जनतालाई सेवा प्रवाह गर्ने हो । त्यसमा राज्यले आफ्नो संयन्त्रमार्फत सेवा प्रवाह गर्ने संस्था र कर्मचारीतन्त्र भएका हिसाबले मेरो प्राथामिकता र दायित्व पनि यही नै हो ।
-हामीले कानुनी व्यवस्थाअनुसार सबै प्रक्रिया पूरा गर्दा कहिलेकाहीँ कार्यसम्पादनमा केही समय लाग्छ । यसरी समय लाग्ने कामहरू, सेवाप्रवाह गर्दा कहिलेकाहीँ हामीले धेरै समय लगायौँ भन्ने प्रश्नहरू पनि सेवाग्राहीबाट आउँछन् । तीबाहेक अरू नियमित काममा त खासै समस्या आउँदैन ।
-कहिले-काहीँ सेवाग्राहीको संख्या धेरै हुने हाम्रो क्षमताभन्दा बढी सेवाग्राही आउँदा भने अलि समस्या हुन्छ । सेवाग्राहीको संख्या बढ्दा कर्मचारीलाई सेवाप्रवाहमा केही कठिनाइ उत्पन्न हुनु भनेको स्वभाविक हो ।
-नियमित प्रक्रियाले भुइँतलामै सबै किसिमका सेवाप्रवाह भइरहेका छन् । जसमा राहदानी, नयाँ र प्रतिलिपि नागरिकता, राष्ट्रिय परिचयपत्र, मुद्दा दर्ता तथा सुनुवाइ, संघ-संस्थाहरूको दर्तालगायतका काम भुइँतलाबाटै सम्पादन गर्ने व्यवस्था मिलाएका छौं ।
-दूधेबालक बोकेर आउने सेवाग्रीलाई स्तनपान कक्षको पनि व्यवस्थापन मिलाएका छौँ । जसले कार्यालयमा आएका सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रवाहमा सहजीकरण भएको अनुभूति पनि छ ।
-बेरोजगारको मुख्य विषय भनेको रोजगारी नै हो । रोजगारी पाउने सन्दर्भमा सबैभन्दा राम्रो कहाँ हुन्छ ? कहाँ गएर म आफ्नो क्षमता विकास गर्न सक्छु ? मैले कहाँ आफ्नो करियर बनाउन सक्छु ? जनतालाई सेवाप्रवाह गर्न सक्छु यसका लागि सबैभन्दा उपयुक्त ठाउँ भनेको निजामती सेवा नै हो भनेर म यसतर्फ आकर्षित भएँ ।
-अहिलेका युवामा म अहिलेको समयमा अब्बल छु । सूचना प्रविधिको क्षेत्रमा पनि सक्षम छु र म केही बाहिरी प्रतिस्पर्धा गरेर गरी खान सक्छु भन्ने किसिमको मानसिकता देखिएको छ ।
-निजामती सेवामा सरुवा अनिवार्य सर्त हो, सरुवा हुनैपर्छ । सरुवाले फरक परिवेशको अनुभूतिहरू प्राप्त गर्छ भन्ने नै हो ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
राज्यको काम नै सेवा प्रवाह गर्ने हो । त्यसमा राज्यले आफ्नो संयन्त्रमार्फत सेवा प्रवाह गर्ने संस्था र कर्मचारीतन्त्र भएका हिसाबले मेरो प्राथामिकता र दायित्व पनि यही नै हो । साधन-स्रोतको उपलब्धता र समयको व्यवस्थाका हिसाबले सेवा प्रवाहमा र सेवाग्राहीको माग सम्बोधन गर्ने कुरामा आफू सफल भएजस्तो लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
जिल्ला प्रशासन कार्यालयको सन्दर्भमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकतामा पनि नयाँ र प्रतिलिपिलगायतका कार्यसम्पादन प्रमुख मानिन्छन् । त्यसपछि संघ-संस्थाहरूको दर्ता, नवीकरण तथा खारेजी विपत् व्यवस्थापनजस्ता कार्यलाई प्रमुख जिल्ला अधिकारीका हिसाबले कानुनबमोजिम हेर्नुपर्छ । यस्ता विषयमा सेवाग्राहीहरूले हाम्रो कानुनी व्यवस्थाको प्रावधानहरू, कार्यविधिको व्यवस्थाहरू स्पष्ट रूपमा थाहा नभएर र सच्याउनुपर्ने व्यक्तिगत विवरणहरूजस्तै नाम, थर जात उमेर यस्ता किसिमका विवरणहरू सच्याउनुपर्ने सन्दर्भमा कानुनी व्यवस्थाभन्दा पृथक भएर र कानुनबमोजिम चाहिने प्रमाण अभिलेखहरू नराखेर यो मेरो व्यक्तिगत समस्या हो, तपाईंले गर्दिनुपर्यो, तपाईंहरूले गर्दा हुने काम हो भन्नेजस्ता कुराहरू आउँछन् । तर हामीले कानुनी व्यवस्थाअनुसार सबै प्रक्रिया पूरा गर्दा केही समय लाग्छ । यसरी समय लाग्ने कामहरू, सेवाप्रवाह गर्दा कहिलेकाहीँ हामीले धेरै समय लगायौँ भन्ने प्रश्नहरू पनि आउँछन् । तीबाहेक अरू नियमित काममा त खासै समस्या आउँदैन । तर, कहिले-काहीँ सेवाग्राहीको संख्या धेरै हुने हाम्रो क्षमताभन्दा बढी सेवाग्राही आउँदा भने अलि समस्या हुन्छ । अहिले जिल्लामा राष्ट्रिय परिचयपत्रको अभियान चलेको छ । यो अभियानले गर्दा हरेक नागरिकले आफ्नो विवरण परिचयपत्रमा दर्ता गराउनुपर्ने हुन्छ । यही सन्दर्भमा पुरानो नागरिकता, मसीले लेखेको भए मसी उडेको, अक्षरहरू बुझ्नै समस्या पर्ने, अनि हाम्रो अभिलेख र नागरिकताको अभिलेख फरक भएरको अवस्थामा प्रतिलिपि लिनेको संख्या अत्याधिक बढेको छ । यस्तै सेवाग्राहीको संख्या बढ्दा कर्मचारीलाई सेवाप्रवाहमा केही कठिनाइ उत्पन्न हुनु भनेको स्वभाविक हो । सुनसरीमा १२४ वटा वडा रहेको यो जिल्लामा ४० वटा वडामा मात्रै राष्ट्रिय परिचयपत्र बनाउने काम बाँकी छ र अहिले काम पनि भइरहेको छ । यो काम सकिन अझै दुई महिना लाग्ने सम्भावना छ । यसर्थ सुनसरीमा अहिलेको अवस्थाअनुसार कर्मचारीमाथि कामको दबाब भने सामान्य रूपमा बढेको पाउन सकिन्छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
नियमित प्रक्रियाले भुइँतलामै सबै किसिमका सेवाप्रवाह भइरहेका छन् । जसमा राहदानी, नयाँ र प्रतिलिपि नागरिकता, राष्ट्रिय परिचयपत्र, मुद्दा दर्ता तथा सुनुवाइ, संघ-संस्थाहरूको दर्तालगायतका काम भुइँतलाबाटै सम्पादन गर्ने व्यवस्था मिलाएका छौं । सेवा प्रवाह सहज बनाउन सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । सहायता कक्षले ज्येष्ठ नागरिक, द्वन्द्वपीडित अथवा फरक क्षमता भएका सेवाग्राहीलाई छिटो सेवाप्रवाहमा सहयोग पुर्याउँछ । अर्को भनेको हुलाक टिकट लिन सेवाग्राहीलाई सहज होस भनेर कार्यालयमै हुलाककै कर्मचारी खटाएर तोकिएकै मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । सेवा लिन आउने सेवाग्राहीलाई धेरै बेर उभिरहन नपरोस् भनेर प्रतिक्षालयको व्यवस्था मिलाएका छौं । प्रतिक्षालयमा सेवाग्राहीको सहज बसाइँ बनाउन विद्युतीय पंखा राखिदिएका छौं । अनि दूधेबालक बोकेर आउने सेवाग्रीलाई स्तनपान कक्षको पनि व्यवस्थापन मिलाएका छौँ । जसले कार्यालयमा आएका सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रवाहमा सहजीकरण भएको अनुभूति पनि छ ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपतका घटनाको अवस्था कस्तो छ ?
सुनसरी बाढीको उच्च संवेदनशील भएको जिल्ला मानिन्छ । यहाँ सप्तकोसी नदीलगायत अरू थुप्रै साना नदीहरू पनि छन् । प्राकृतिक रूपमा पानीको उत्तरदेखि दक्षिणतिर बग्ने बहाव हुन्छ । राजमार्गमा निर्माण भएका जति पनि कल्भर्टहरू थिए त्यो अहिले बजारीकरण र निर्माणका कामले गर्दा बन्द भएको अवस्था छ । पानी बग्न पाएको छैन । साबिकका जति पनि खोला छन् तिनीहरू पनि अतिक्रमण भएर साना भएका छन् । यसकारण यहाँ बाढीले अति नै दुःख दिने, डुबान हुने गर्छ । गत कात्तिकमा गएको बाढीले सुनसरीमा १२ जनाको त मुत्यु नै भयो भने अर्बभन्दा बढी धनमालको क्षति भयो । अब यस्तो अवस्था भएकाले हामी हाम्रो स्रोत-साधनले भ्याएसम्म व्यवस्थापन गर्न तयारी अवस्थामा बसेका छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्यो ?
मुख्य भनेको हाम्रो श्रम बजारमा उपलब्ध रोजगारी भनेको सरकारी र गैरसरकारी क्षेत्रहरू छन् । देशभित्र र देशबाहिरका व्यवस्थाहरू छन् त्यसमा आफ्नो शौक्षिक योग्यताले भ्याएसम्म कतापट्टि जान सकिन्छ भन्ने पनि सोचियो । बेरोजगारको मुख्य विषय भनेको रोजगारी नै हो । रोजगारी पाउने सन्दर्भमा सबैभन्दा राम्रो कहाँ हुन्छ ? कहाँ गएर म आफ्नो क्षमता विकास गर्न सक्छु ? मैले कहाँ आफ्नो करियर बनाउन सक्छु ? जनतालाई सेवाप्रवाह गर्न सक्छु यसका लागि सबैभन्दा उपयुक्त ठाउँ भनेको निजामती सेवा नै हो भनेर म यसतर्फ आकर्षित भएँ । निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो । त्यसै सन्दर्भमा घरवरपरका आफन्त, साथीभाइहरू पनि यही सेवामै लागेको देखेर म पनि यतातर्फ प्रभावित भएको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षित भएको मान्नुहुन्छ ?
एक किसिमले हेर्दा नयाँ पुस्ताहरूको आकर्षण निजामती सेवामा घटेको जस्तो पनि देखिन्छ । अहिलेका युवामा म अहिलेको समयमा अब्बल छु । सूचना प्रविधिको क्षेत्रमा पनि सक्षम छु र म केही बाहिरी प्रतिस्पर्धा गरेर गरी खान सक्छु भन्ने किसिमको मानसिकता देखिएको छ । धेरैजसो सक्षम युवाहरू निजामती सेवाभन्दा पनि विदेश गएर धेरै धन आर्जन गर्ने भन्ने सोचमा भएको देख्न सकिन्छ । तर निजामती सेवातर्फ आकर्षित भएका युवा जमात पनि हाम्रो समाजमा छँदै छन् ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवा ऐन र त्यसको नियमावलीमा सरुवा भनेको व्यक्तित्व विकासका लागि सहयोगी मानिन्छ । फरक भूगोल, संस्कृति, भाषालगायतको अनुभवका लागि पनि सरुवा अनिवार्य व्यवस्थाअन्तर्गत छ । त्यति मात्रै होइन वृत्तिविकास, बढुवाका लागि पनि फरक-फरक भौगोलिक अनुभवका लागि सरुवा आवश्यक पर्छ । भनेपछि सरुवा अनिवार्य सर्त हो, सरुवा हुनैपर्छ । सरुवाले फरक परिवेशको अनुभूतिहरू प्राप्त गर्छ भन्ने नै हो । छिटो-छिटो सरुवा भयो भने कार्यसम्पादनमा त केही न केही प्रभाव पर्छ नै । सरुवा व्यस्थापनका लागि विभिन्न तबरबाट समाधान गर्ने प्रयासहरू पनि भएकै छन् ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले लुम्बिनी प्रदेशको रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासँग कुराकानी गरेका थियौं । यसपटक प्रदेश १ को सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया