शुक्रबार, वैशाख १४, २०८१

‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

नेपालखोज २०७८ पुष १९ गते ९:५०

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको प्रशासनिक नेतृत्व अहिले सूर्योदय नगरपालिका इलामका गोपालकुमार अधिकारीको काँधमा छ । २०७८ वैशाख ६ गतेदेखि बाजुराको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपालकुमार कुशल प्रशासकका रूपमा परिचित छन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ अधिकारीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २० वर्ष बिताएका बाजुराका प्रजिअ अधिकारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
प्रजिअको पद संघीयताअघि पावरसँग बढी सम्बन्धित देखिन्थ्यो भने गणतन्त्रको यो समयमा भने समन्वयतिर बढी गएको उनको बुझाइ छ । ‘प्रजिअको पद पहिले पावरसँग बढी सम्बन्धित देखिन्थ्यो । अहिले समन्वयतिर बढी गएको छ,’ बाजुराका प्रजिअ अधिकारीले नेपालखोजसँग भने, ‘स्थानीय तह, संघ, प्रदेशसँग समन्वय गर्नुपर्ने प्रमुख जिल्ला अधिकरीको मुख्य भूमिका देखिन्छ । केही परिवर्तनचाहिँ भएको छ । पहिले एकात्मक आदेश हुन्थ्यो भने अहिले समन्वय पनि जरुरी छ । भूमिका अलि चुनौतीपूर्ण भएको छ । ’
बाजुराका प्रमुख जिल्ला अधिकारी (प्राजिअ) गोपालकुमार अधिकारीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३८औं शृंखला :

हाइलाइट्स :
-आफ्नो कार्यालयको हकमा अधिकांश समस्या समाधान भएर जान्छ भने अरु कार्यालयको समस्यामा समन्वय गर्नुपर्ने हुन्छ कहिलेकाहीँ ।
-अहिले त सबैतिर सिस्टम बन्दै गयो । पहिले भन्दिएर हुने भन्ने थियो, भन्दिएर शिक्षक नियुक्ति हुने, कर्मचारी नियुक्ति हुने । सामान्य संस्थानतिर पनि पहिला-पहिला भन्दा हुन्छ भन्ने थियो । अहिले त पूरै सिस्टम (प्रक्रिया) मा गइसक्यो ।
-जनताको सानो काम कहिलेकाहीँ विधि र प्रक्रिया नजानेर अड्किरहेको हुनुहुन्छ । के-हो के-हो भनेर उहाँहरू तेस्रो मान्छे लिएर आउनुहुन्छ । हाम्रा कार्यालयहरु नागरिकमैत्री हुन नसकेर पनि हुनसक्छ । सानो कामले अड्किएको तर सेवाग्राहीलाई ठूलो लागेको धेरै घटनाहरू हुन्छन् ।
-सरकारी सेवामा एक-दुईजना आफन्त लाग्नुभएको थियो । त्यसबेला लोकसेवाबाहेक अरु सेवा निष्पक्ष हुँदैन भन्ने थियो ।
-कलेजमा उत्कृष्ट विद्यार्थी र डिग्री लिएको कारणले म निजामती सेवामा छनोट भइहाल्छु कि भन्ने हाम्रो सोचाइ छ ।
-लोकसेवाको जाँच दिऊँ पास भइन्छ कि भनेर पनि पास भइँदैन । पटक गनेर पनि पास हुन सकिन्नँ । मैल पाँचपटक दिएँ भनेर पनि पास हुने हुँदैन । यसका लागि दृढ संकल्पका साथ योजना बनाएर तयारी गर्नुपर्छ ।
-हाम्रो केही पदमा चाँडो सरुवा हुने हो नभएर एक वर्ष, दुई वर्ष, डेढ वर्ष भन्ने त छँदै छ । खास-खास पदमा चाहिँ चाँडै सरुवा हुन्छ ।
-प्रजिअको पद पहिले पावरसँग बढी सम्बन्धित देखिन्थ्यो । अहिले समन्वयतिर बढी गएको छ ।
-स्थानीय तह, संघ, प्रदेशसँग समन्वय गर्नुपर्ने प्रमुख जिल्ला अधिकरीको मुख्य भूमिका देखिन्छ । केही परिवर्तनचाहिँ भएको छ । पहिले एकात्मक आदेश हुन्थ्यो भने अहिले समन्वय पनि जरुरी छ ।
-हामीले जति गर्न सक्थ्यौं त्यति गर्न सक्दैनौं किनभने हामीसँग भएको स्रोत-साधन विभिन्न कारणले, कहिले जनशक्तिको पनि अभाव पनि रहन्छ ।
-सेवा प्रवाह गर्ने कुराचाहिँ कहिल्यै टुंगिँदैन । निरन्तर चलिरहने हो ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
विभिन्न समस्या लिएर सेवाग्राहरू आउनुहुन्छ । कोही यही कार्यालयसम्बन्धी समस्या लिएर आउनुहुन्छ भने कोही अरु कार्यालय र अन्य क्षेत्रको समस्या लिएर पनि आइरहनुभएको हुन्छ । आफ्नै कार्यालयको समस्या हामी धेरै हदसम्म समाधान गर्न सक्छौं । हेर्दा सामान्य देखिए पनि प्रक्रिया र प्रमाण नपुग्दा एकाध समस्या समाधान नहुन पनि सक्छ । आफ्नो कार्यालयको हकमा अधिकांश समस्या समाधान भएर जान्छ भने अरु कार्यालयको समस्यामा समन्वय गर्नुपर्ने हुन्छ कहिलेकाहीँ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
अहिले त सबैतिर सिस्टम बन्दै गयो । पहिले भन्दिएर हुने भन्ने थियो, भन्दिएर शिक्षक नियुक्ति हुने, कर्मचारी नियुक्ति हुने । सामान्य संस्थानतिर पनि पहिला-पहिला भन्दा हुन्छ भन्ने थियो । अहिले त पूरै सिस्टम (प्रक्रिया) मा गइसक्यो । अझै पनि मानिसमा त्यही छ हाम्रो मान्छेले भनिदिए भइहाल्छ भन्ने छ । कहिलेकाहीँ राजनीति गर्ने मान्छेबाट यो हेरिदिए हुने भन्ने आउन सक्छ कहिलेकाहीँ । तर यो क्रमश: घट्दै छ ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
यस्तो त कहिलेकाहीँ भइरहेको हुन्छ । जनताको काम सानो हुन्छ खासै ठूलो हुँदैन । कहिलेकाहीँ सानो काम र विधि प्रक्रिया नजानेर उहाँहरू अड्किरहेको हुनुहुन्छ । के-हो के-हो भनेर उहाँहरू तेस्रो मान्छे लिएर आउनुहुन्छ । हाम्रा कार्यालयहरु नागरिकमैत्री हुन नसकेर पनि हुनसक्छ । सानो कामले अड्किएको तर सेवाग्राहीलाई ठूलो लागेको धेरै घटनाहरू हुन्छन् । यहाँ नागरिकता बनाउन आउनुहुन्छ । दलिहरूको पहिलला नागरिकता बनाउँदा नाममा एकलखे लगाइदिएको हुन्छ । जस्तै हरिको हरे । छोरालाई नागरिकता बनाउन आउँदा बाबुको नाम राख्न मन नलागिरहेको हुन्छ । हामी नै नाममा एकलखे हटाउँदा हुँदैन भनेर सोध्छौं । अनि उहाँहरू प्रफुल्ल, प्रशन्न हुनुहुन्छ । किनभने उहाँहरूले चाहेको हुन्छ तर भन्न सकेको अवस्था भने हुँदैन । गाली गर्ला, मिल्दैन भनेर उहाँहरूले भन्न सक्नुहुन्न ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
सरकारी सेवामा एक-दुईजना आफन्त लाग्नुभएको थियो । त्यसबेला लोकसेवाबाहेक अरु सेवा निष्पक्ष हुँदैन भन्ने थियो । हामीले चिनेका लोकसेवा पास भएका मान्छेहरू जसको कुनै पहुँच थिएर उनीहरू पनि पास भएको देखिन्थ्यो । आफूले मिहिनेत गरे पास हुन सकिन्छ भन्ने थियो र उत्प्रेरित गर्नेले लोकसेवा लड्नुपर्छ भनेकाले यता लागियो ।

‘प्रजिअको भूमिका चुनौतीपूर्ण छ’

निजामती सेवातर्फ अहिलेको पुस्ता कत्तिको आकर्षित भएको मान्नुहुन्छ ?
यो ठाउँ विशेषले छ । आकर्षण पनि छ । कस्तो हुने रहेछ भने जहाँ दैनिक सेवाग्राहीको काम पर्छ । भिडभाडका कारण काम लिन गाह्रो पर्छ । यही कुराले पनि उनीहरूलाई डिमोटिभेट गर्दो रहेछ । अर्को हामीले पाउने तलब, सेवा-सुविधाले कम मोटिभेट हुने रहेछन् । अर्को यहाँ प्रतिस्पर्धा छ प्रतिस्पर्धामा पार लाग्दिनँ कि भन्नेहरू पनि छन् । दरखास्त हेर्ने हो भने आकर्षण पनि उत्तिकै छ । यताबाहेक अन्य क्षेत्र यानि विदेश जाने पनि देखिएको छ ।

निजामती सेवामा आउनका लागि कसरी पढ्ने ?
कलेजमा उत्कृष्ट विद्यार्थी र डिग्री लिएको कारणले म भइहाल्छु कि भन्ने हाम्रो सोचाइ छ । त्यता र यताको क्षेत्र फरक छ । अब्बलहरू पास हुन्छ यसमा कुनै शंका छैन । मिहिनेत चाहिन्छ थोरै सिट खुलेको हुन्छ धेरै जनासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । उत्कृष्ट मान्छे पनि असफल हुन्छ सीमित सिट भएका कारण । सोही कारण यसमा धैर्य चाहिन्छ । जाँच दिऊँ पास भइन्छ कि भनेर पनि पास भइँदैन । पटक गनेर पनि पास हुन सकिन्नँ । मैल पाँचपटक दिएँ भनेर पनि पास हुने हुँदैन । यसका लागि दृढ संकल्पका साथ योजना बनाएर तयारी गर्नुपर्छ । पास हुन सकिन्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
हाम्रो केही पदमा चाँडो सरुवा हुने हो नभएर एक वर्ष, दुई वर्ष, डेढ वर्ष भन्ने त छँदै छ । खास-खास पदमा चाहिँ चाँडै सरुवा हुन्छ । प्रमुख जिल्ला अधिकारीमा चाहिँ बढीमा एक वर्ष भन्ने जस्तो छ अहिले । सरुवाले क्षमता विकास गर्न पनि मद्दत गर्छ । धेरै कुरा सिक्न पनि पाइन्छ । भूगोल हेर्न पाइयो, जनजीवन हेर्न पाइयो, त्यहाँका संस्कृति सारा कुरा हेर्न पाइयो । यो पनि एउटा ज्ञान हो । तर धेरै चाँडो-चाँडो भयो भने चाहिँ केही गर्नै पाउँदैन । आउँदै छ, बुझ्दै छ सरुवा हुन्छ, हिँड्छ फेरि अर्को आउँछ । यसले चाहिँ समस्या समाधान गर्न होइन हानि गर्छ ।

संघीयता कार्यान्वयनअघिका प्रजिअका अधिकारहरू कटौती गरिएका छन् कि ? अहिलेको प्रणालीमा अधिकारहरू थपिएका हुन् ?
पहिले कार्यकारी पदहरू अथवा निर्देशन दिने पदहरू पनि उसको काम बढी हुन्थ्यो । सीडीओ अलि निगरानी गर्ने पद जस्तो पनि देखिन्थ्यो । पहिले पावरसँग बढी सम्बन्धित देखिन्थ्यो । अहिले समन्वयतिर बढी गएको छ । स्थानीय तह, संघ, प्रदेशसँग समन्वय गर्नुपर्ने प्रमुख जिल्ला अधिकरीको मुख्य भूमिका देखिन्छ । केही परिवर्तनचाहिँ भएको छ । पहिले एकात्मक आदेश हुन्थ्यो भने अहिले समन्वय पनि जरुरी छ । भूमिका अलि चुनौतीपूर्ण भएको छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । तर जति गर्न सक्थ्यौं हामीले त्यति गर्न सक्दैनौं । किनभने हामीसँग भएको स्रोत-साधन विभिन्न कारणले, कहिले जनशक्तिको पनि अभाव रहन्छ । यही कारणले गर्नसक्ने काम पनि गर्न सकेको अवस्था छैन । यो पाटो आफ्नो ठाउँमा छ समग्रमा म सन्तुष्ट छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
व्यक्तिगत रुपमा त केही छैन । सेवा प्रवाह गर्ने कुराचाहिँ कहिल्यै टुंगिँदैन । निरन्तर चलिरहने हो । त्यसैले सेवा लिनेले पनि समस्या र यस्तो भइदिए हुन्थ्यो भनेर भन्ने गर्नुपर्छ । भनिराखे सम्बोधन पनि हुन सक्छ । हामी हुँदैन भनेर भन्दैनौं । हामीले पनि कसरी सरल र सहज सेवा दिने भनेर निरन्तर सुधार गर्दै लानुपर्छ । कति गर्न सकिन्छ त्यो आफ्नो ठाउँमा छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले प्रदेश १ को पहाडी जिल्ला खोटाङका प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’


प्रतिक्रिया