शुक्रबार, चैत १६, २०८०

‘निजामती क्षेत्रमा रहेर काम गर्दा जुन आत्मसन्तुष्टि मिल्छ त्यो अन्त नमिल्न सक्छ’

नेपालखोज २०७९ साउन २३ गते ९:५३

कर्णाली प्रदेशको हुम्ला जिल्लाको प्रशासनिक नेतृत्व अहिले रुपा गाउँपालिका ६, कास्कीकी सीता परियारको काँधमा छ । २०७८ फागुन ९ गतेदेखि हुम्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परियार कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ परियारलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै ११ वर्ष बिताएकी हुम्लाकी प्रजिअ परियार यसअघि भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअका रुपमा कार्यरत थिइन् ।
नागरिकलाई निजामती सेवाले सहज र नजिकबाट सेवा प्रवाह गर्ने प्रजिअ परियारको बुझाइ छ । उनले निजामती सेवामा पाउने आत्मसन्तुष्टि अन्य क्षेत्रमा बसेर प्राप्त गर्न नसकिने पनि बताउँछिन् । ‘निजामती सेवाले नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्छ । सरकारका नीति कार्यक्रम जनतासामु लाने सेवा छ यो अत्यन्तै राम्रो छ,’ प्रजिअ परियारले नेपालखोजसँग भनिन्, ‘यसमा बसेर काम गर्दा जुनखालको आत्मसन्तुष्टि मिल्छ त्यो अन्य क्षेत्रमा बसेर काम गर्दा नमिल्न सक्छ ।’
हुम्लाकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सीता परियारसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६९औं शृंखला :

हाइलाइट्स :
-अत्यन्तै सरल ढंगले मैले सेवाग्राहीसँग काम गरें । मैले जुन कार्यालयमा काम गर्दा पनि डकुमेन्ट पुगेन भोलि आउनू भनेर हतोत्साहित गरिनँ । मैले वडामा फोन गरेर सम्बन्धित कागज मेल अथवा भाइबरमा मगाएर पनि काम गरिदिएको छु ।
-कर्मचारीलाई भोलि कुन काम लगाउँदै छु त्यो कुरा अघिल्लो दिनमै मैले डायरीमा लेखेको हुन्छु । कुन शाखालाई के काम लगाउने, सहायक सरलाई के काम लगाउने, त्यो कुराको म अघिल्लो दिन नै डायरी बनाउँछु । त्यहीबमोजिम काम गर्ने मेरो अभ्यास छ ।
-कार्यालय प्रमुखको बैठकमा कति योजना सम्झौता भए, कति योजना कार्यान्वयन भए, कति भुक्तानी भयो, योजनाको प्रगति के छ भनेर प्रगति प्रतिवेदन माग्ने अभ्यास छ मेरो यहाँ ।
-कामका दौरान दबाबहरू कहिलेकाहीँ आउने गर्छन् । नागरिकको कामका लागि नै दबाबहरू आउँछन् । जस्तो नागरिकता बनाउने सन्दर्भमा कुनै एउटा डकुमेन्ट छुटेको छ भने उसले दु:ख पायो डकुमेन्ट पछि पठाउँदै गरौंला अहिले नागरिता बनाइदिनुहोस् भन्ने कुरा आउँछन् ।
-नागरिककै काम गर्दा मिलेसम्म गरिदिनू भन्ने कुरा हुन्छ । सम्झौता गर्न नमिल्ने विषयमा यस्तो मिल्दैन यति डकुमेन्ट लिएर आउनू भनेर पूर्ण कागजात (पर्फेक्ट डकुमेन्ट) देखाएर यति कागज चाहिन्छ भनेर सम्झाइ-बुझाइ गरेर पठाएका पनि छौं ।
-सेवाग्राहीको कुनै डकुमेन्ट पुगेको छैन भन्ने लाग्यो भने गाउँपालिका, वडामा पत्राचार गरिदिने । हामीले कुनै सेवाको प्रक्रिया, त्यसमा हुनसक्ने त्रुटिबारे वडाध्यक्षलगायत विभिन्न माध्ययबाट सचेत गराउँछौं । जसले गर्दा सेवाग्राही आएर फर्कनु नपर्ने वातावरण बनेको छ । -हुम्लामा होटेलमा खान-बस्न एकदमै महँगो छ । यहाँ होटेलमा बस्ने वातावरण नहोस् भन्ने मेरो चाहना हो । सकेसम्म सेवाग्राहीको समय र खर्चलाई बचत गर्ने गरेका छौं ।
-निजामती सेवामा लाग्न एउटा पारिवारिक माहोल त चाहियो नै । साथै इच्छा शक्ति पनि चाहियो ।
-म निजामती सेवामा प्रवेश गर्नुअघि विभिन्न एनजीओमा काम गरेँ । त्यसक्रममा सरकारी निकायसँग प्रत्यक्ष सरोकार राखेर काम गर्नुपर्थ्यो त्यसैबेला सरकार भनेको त सबै नागरिकका लागि आवश्यक रहेछ, यसमा हामी प्रवेश गर्‍यौं भने भोलि दलित, महिला, पछाडि परेका वर्गका पक्षमा नीति-नियम बनाउन सक्छौं । फरक हिसाबले सेवा-प्रवाह गर्न सक्छौं, त्यसैले यो क्षेत्रमा छिर्न आवश्यक छ भन्ने पाठ सिकेँ ।
-पछिल्लो पुस्ता कोही आकर्षित छन्, कोही छैनन् । अहिले ग्लोबल कम्पिटिसनको अवस्था छ । त्यसकारण कतिपय बालबालिका म विदेशमा पढ्छु भनेर विदेश गएका छन् ।
-निजामती ऐन नियमावलीअनुसार त एक क्षेत्रमा दुई वर्ष बस्ने भनिएको छ । विभिन्न कारण निजामती कर्मचारीको सरुवा भइरहेको हामीले देखेका छौं । यसले कार्यसम्पादनमा बिग्रिहाल्नेभन्दा पनि केही ढिलाचाहिँ अवश्य हुन्छ ।
-निजामती सेवाले नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्छ । सरकारका नीति कार्यक्रम जनतासामु लाने सेवा छ यो अत्यन्तै राम्रो छ । यसमा बसेर काम गर्दा जुन खालको आत्मसन्तुष्टि मिल्छ त्यो अन्य क्षेत्रमा बसेर काम गर्दा नमिल्न सक्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मैले विभिन्न सेवाग्राहीसँग काम गरेँ । सुरुमा स्थानीय तहमा काम गरेँ । पछिल्लो समय गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा काम गरेको हो । जागिरका दौरान फरक सेवाग्राहीसँग काम गरियो । स्थानीयतहमा काम गर्दा विकासका काम गर्ने, विभिन्न किसिमका उपभोक्तासँग बसेर काम गर्नुपर्ने त्यस्तै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा नक्सापासको कुरा आउँथ्यो । कीर्तिपुर नगरपालिका, चन्द्रगिरि नगरपालिका, जनकपुरधमा उपनगरपालिका यी तीन ठाउँमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा नागरिकको नक्सा पासको काम गर्थें । चन्द्रगिरिमा सात वर्षदेखि नक्सा पास नभए घर बनाउन नपाएकाहरूको फाइल सात वर्षपछि खोलेर प्राविधिक र स्रेवाग्राहीसँगै राखेर यसको समस्या के हो र समाधान के हो, सम्भावना के छ भनेर सात वर्ष पुरानो नक्सा पनि पास गरेर पठाएँ । जनकपुरमा काम गर्दा जो घुम्टोभित्र रहेका महिलाहरू हुनुहुन्थो । म महिला भएर होला उहाँहरू मेरो कार्यालयमा आउनुहुन्थ्यो र मैले उहाँहरूलाई प्राथामिकतामा राखेर काम गरेँ । उनीहरूलाई अझ सहज बनाउन आफ्नो कार्यकक्षमा राखेर पनि सशक्तीकरण गरेर अगाडि बढाउने प्रयास गरेँ । दोलखा र भोजपुरको जिविसमा स्थानीय विकास अधिाकरी भएर काम गरेँ । त्यो समयमा स्थानीय तह रिक्त थियो । स्थानीय राजनीतिक दलहरूसँग समन्वय गरेर स्थानीय जनप्रतिनीधि निर्वाचित नहुँदा पनि विभिन्न स्थानमा समन्वय गरेर काम गरियो । अत्यन्तै सरल ढंगले मैले सेवाग्राहीसँग काम गरें । मैले जुन कार्यालयमा काम गर्दा पनि डकुमेन्ट पुगेन भोलि आउनू भनेर हतोत्साहित गरिनँ । मैले वडामा फोन गरेर सम्बन्धित कागज मेल अथवा भाइबरमा मगाएर पनि काम गरिदिएको छु । यसमा मैले सेवाग्राहीले सहज सेवा पाएको र आफूलाई आत्मसन्तुष्टि पाएको महसुस गर्छु । गत फागुनदेखि म हुम्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गर्दै आएको छु । मेरो अघिल्लो दिन नै डायरी मेन्टेन हुन्छ । मैले भोलि कर्मचारीलाई कुन काम लगाउँदै छु त्यो कुरा अघिल्लो दिनमै मैले लेखेको हुन्छु । कुन शाखालाई के काम लगाउने सहायक सरलाई के काम लगाउने त्यो कुराको म अघिल्लो दिन नै डायरी बनाउँछु । त्यहीबमोजिम काम गर्ने मेरो अभ्यास छ । कार्यालय प्रमुखको बैठकमा कति योजना सम्झौता भए, कति योजना कार्यान्वयन भए, कति भुक्तानी भयो, योजनाको प्रगति के छ भनेर प्रगति प्रतिवेदन माग्ने अभ्यास छ मेरो यहाँ । हुम्लामा धेरै समस्या छ । खाद्यान्नको समस्या छ । समयमा खाद्यान्न आएन भने खाद्यान्न संस्थान केन्द्रीय कार्यालयसँग समन्वय गर्ने, जहाज नियमित भएन भने खाद्यान्न आउँदैन त्यसका लागि गृह र नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्ने र प्रदेश कार्यालय मुख्यमन्त्रीसँग पनि समन्वय गरेको हुन्छु । यसरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरर काम गर्ने गरेका छौं । यहाँ हवाई सेवा अवरोध हुँदा धेरै समस्या सिर्जना हुन्छन् । राष्ट्रपति महिला योजनाअनुरूप हामीले सुत्केरीलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेको घटना छ यो पनि यहाँको एउटा समस्या हो ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाबहरू कहिलेकाहीँ आउने गर्छन् । नागरिकको कामका लागि नै दबाबहरू आउँछन् । जस्तो नागरिकता बनाउने सन्दर्भमा कुनै एउटा डकुमेन्ट छुटेको छ भने उसले दु:ख पायो डकुमेन्ट पछि पठाउँदै गरौंला अहिले नागरिता बनाइदिनुहोस् भन्ने कुरा आउँछन् । नागरिकता भनेको यस्तो संवेदनशील कुरा हो हरेक सक्कली डकुमेन्टमा हामीले काम गर्नुपर्ने हुन्छ । नागरिककै काम गर्दा मिलेसम्म गरिदिनू भन्ने कुरा हुन्छ । सम्झौता गर्न नमिल्ने विषयमा यस्तो मिल्दैन यति डकुमेन्ट लिएर आउनू भनेर पूर्ण कागजात (पर्फेक्ट डकुमेन्ट) देखाएर यति कागज चाहिन्छ भनेर सम्झाइ-बुझाइ गरेर पठाएका पनि छौं । मुद्दाको कुरा पनि हुन्छ जिल्ला प्रशासन कार्यालयमा । मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र हुन्छ । यहाँ (हुम्ला) का राजनीतिक दलहरूमा इथिक्सचाहिँ मैले पाएँ । यो घटना मिलाऊ, यो गर, त्यो गर भनेर अहिलेसम्म मलाई दबाब आएको छैन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
सहज सेवा प्राप्तिका लागि कतिपय कुरा हामीले मिडियामा भनेका हुन्छौं । जस्तो नागरिकता बनाउँदा यस्तो-यस्तो कागजात चाहिन्छ भन्ने । कुनै डकुमेन्ट छैन भन्ने लाग्यो भने गाउँपालिका, वडामा पत्राचार गरिदिने । हामीले कुनै सेवाको प्रक्रिया, त्यसमा हुनसक्ने त्रुटिबारे वडाध्यक्षलगायत विभिन्न माध्ययबाट सचेत गराउँछौं । जसले गर्दा सेवाग्राही आएर फर्कनु नपर्ने वातावरण बनेको छ । कोही सेवाग्राही अलमलियो भने कुन कतिसम्म सहजीकरण गर्न सकिन्छ त्यो कुरामा म आफैँ पनि लागिपर्छु । पहिलो कुरा वडाबाटै अनुसूची भरेर आउनुहुन्छ त्यहाँबाटै सबै कुरा हुन्छ । कार्यालय आइसकेपछि सोधपुछ कक्ष छ, कुनै समस्याबारे त्यहाँ बुझ्न सकिन्छ । मैले १ बजेभित्र नागरिकता दिइसक्नू भनेको छु , जसले गर्दा टाढा घर भएका पनि बेलैमा घर पुग्न सकून् । हुम्लामा होटेलमा खान-बस्न एकदमै महँगो छ । यहाँ होटेलमा बस्ने वातावरण नहोस् भन्ने मेरो चाहना हो । सकेसम्म सेवाग्राहीको समय र खर्चलाई बचत गर्ने गरेका छौं ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
अहिले खासै बाढी-पहिरोको अवस्था छैन यहाँ । सुरक्षा निकायका प्रमुखलाई मैले नियमित सम्पर्क गरेको हुन्छु । बिहान-बेलुका दुईपटक केही घटना भयो कि भनेर कल गरेको हुन्छु । आजको मितिसम्म विपत्‌का घटना भएका छैनन् ।

विपत्‌का घटनाका विषयमा पूर्वतयारी के गर्नुभएको छ ?
यसका लागि हामीले पूर्वतयारी गरेका छौं । हामीले पटक-पटक विपत् व्यवस्थापन समितिको बैठक राखेका छौं । यो जिल्लामा हवाई यातायातको मात्र सेवा छ । त्यो हिसाबले हरेक गाउँपालिका र वडामा हेलिप्याडहरू छन् । केही समस्या आइपरे हेलिकोप्टरबाट उद्धार गर्न हेलिप्याड बनाएका हौं । सुरक्षा निकाय र स्थानीय तहको निरन्तर समन्वयका लागि हामीले अनुरोध गरेका छौं । स्थानीय विकास कोष स्थापनका लागि हामीले पत्राचार गरिसकेका छौं । छिटो रेस्पोन्सका लागि स्वयंसेवक उद्धार समिति पनि बनाएका छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
निजामती सेवामा लाग्न एउटा पारिवारिक माहोल त चाहियो नै । साथै इच्छा शक्ति पनि चाहियो । म निजामती सेवामा प्रवेश गर्नुअघि विभिन्न एनजीओमा काम गरेँ । त्यसक्रममा सरकारी निकायसँग प्रत्यक्ष सरोकार राखेर काम गर्नुपर्थ्यो त्यसैबेला सरकार भनेको त सबै नागरिकका लागि आवश्यक रहेछ, यसमा हामी प्रवेश गर्‍यौं भने भोलि दलित, महिला, पछाडि परेका वर्गका पक्षमा नीति-नियम बनाउन सक्छौं । फरक हिसाबले सेवा-प्रवाह गर्न सक्छौं, त्यसैले यो क्षेत्रमा छिर्न आवश्यक छ भन्ने पाठ सिकेँ । मेरो इच्छा शक्ति र सरकारसँग काम गर्ने मैले देखेको वातावरणले प्रेरित गरेर पनि यहाँसम्म आएकी हुँ । यसमा सेवा-सुविधाको आकर्षण कम होला तर यसको महत्त्व, यसबाट प्राप्त हुने आत्मसन्तुष्टि, सेवा प्रवाह अत्यन्तै महत्त्वपूर्ण छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षित भएको मान्नुहुन्छ ?
पछिल्लो पुस्ता कोही आकर्षित छन्, कोही छैनन् । अहिले ग्लोबल कम्पिटिसनको अवस्था छ । त्यसकारण कतिपय बालबालिका म विदेशमा पढ्छु भनेर विदेश गएका छन् । केही राष्ट्रप्रेम भएका बालबालिका अर्थात् राष्ट्रलाई योगदान दिनुपर्छ भन्नेहरू वा नयाँ जेनेरेसन पनि यो क्षेत्रमा छिरेका छन् । यो नयाँ पुस्ताले गर्दा निजामती क्षेत्रमा सुधार पनि भएको छ । बोर्डिङ पढेका, प्रविधिसँग भिजेका युवापुस्ता पनि यो क्षेत्रमा प्रवेश गरिरहेका छन् ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती ऐन नियमावलीअनुसार त एक क्षेत्रमा दुई वर्ष बस्ने भनिएको छ । विभिन्न कारण निजामती कर्मचारीको सरुवा भइरहेको हामीले देखेका छौं । यसले कार्यसम्पादनमा बिग्रिहाल्नेभन्दा पनि केही ढिलाचाहिँ अवश्य हुन्छ । एक कार्यालयबाट गएर अर्को कार्यालयको माहोल बुझ्नुपर्‍यो । काम गर्ने नीति-नियम त्यहाँको वातावरणबारेमा पनि बुझ्नुपर्छ । त्यो हिसाबले प्रभाव पर्नेभन्दा पनि केही ढिलाइ हुन सक्छ । त्यसकारण एक कार्यालयमा दुई वर्ष बस्ने वातावरण हुने हो भने काम गर्दा देखिएका समस्या समाधान गर्न सकिन्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
निजामती सेवाले नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्छ । सरकारका नीति कार्यक्रम जनतासामु लाने सेवा छ यो अत्यन्तै राम्रो छ । यसमा बसेर काम गर्दा जुन खालको आत्मसन्तुष्टि मिल्छ त्यो अन्य क्षेत्रमा बसेर काम गर्दा नमिल्न सक्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसँग कुराकानी गरेका थियौं । यसपटक कर्णाली प्रदेशको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

वेदनिधि खनाल, प्रजिअ, सिन्धुपाल्चोक – ‘पूर्वानुमान नभएको सरुवा प्रणालीले निजामती सेवामा नकारात्मक असर परेको छ’

सुशील वैद्य, प्रजिअ, लमजुङ – ‘नागरिकले झन्झटबिनै छिटो-छरितो सेवा पाउनुपर्छ, यो उनीहरूको अधिकार हो’

इन्द्रदेव यादव, प्रजिअ, सुनसरी – ‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया