शुक्रबार, चैत १६, २०८०

‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

सेवाग्राही सन्तुष्ट छन्/छैनन् यो जनताले नै मूल्यांकन गर्ने हो । दार्चुलाको ११ महिनाको बसाइँमा म सफल भएजस्तो लाग्छ ।

नेपालखोज २०७८ पुष २६ गते ९:५५

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाको प्रशासनिक नेतृत्व अहिले बझाङका सिद्धराज जोशीको काँधमा छ । २०७७ फागुन २३ गतेदेखि दार्चुलाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जोशी कुशल प्रशासकका रूपमा परिचित छन् । सुदूरपश्चिमकै बझाङमा २०२७ पुस १० गते जन्मिएका जोशीको हालको बसाइ धनगढीमा रहे पनि काठमाडौंको तारकेश्वर नगरपालिकामा उनको स्थायी बसोबास छ । उनकी पत्नी किरण जोशी (उप-सचिव) पनि निजामती सेवामै छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ जोशीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २३ वर्ष बिताएका दार्चुलाका प्रजिअ जोशी यसअघि उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभाग काठमाडौंमा कार्यरत थिए । नेपालखोजको नियमित स्तम्भ ‘प्रजिअसँग शम्भु’को पहिलो अंकमा पनि हामीले जोशीसँगै कुराकानी गरेका थियौं । दार्चुलाका प्रजिअ जोशी त्यहाँबाट भरखर मात्रै गृह मन्त्रालयमा सरुवा भएका छन् ।
जागिरे जीवनमा १४/१५ वटा मन्त्रालयअन्तर्गतका निकायमा काम गरेका जोशी जहाँ पुग्छन् इमानदार छविका प्रशासकका रूपमा स्थापित गराउँछन् । ‘आफ्नो जागिरे जीवनमा जति काम गरें इमानदारपूर्वक गरें,’ उनी भन्छन्, ‘जुनसुकै जिल्लामा पनि काम गर्दा प्रशंसनीय भएर नै काम गरें ।’
उनले दार्चुलामा आएर आफूले गरेको कामबाट सफल हुनुका साथै सन्तुष्ट रहेको दाबीसमेत गरे ‘सेवाग्राही सन्तुष्ट छन्/छैनन् यो जनताले नै मूल्यांकन गर्ने विषय हो । दार्चुलाको ११ महिनाको बसाइमा म सफल भएजस्तो लाग्छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले नेपालखोजसँग भने ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिद्धराज जोशीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३९औं शृंखला :


हाइलाइट्स :
-सेवाग्राही सन्तुष्ट छन्/छैनन् यो जनताले नै मूल्यांकन गर्ने विषय हो । दार्चुलाको ११ महिनाको बसाइमा म सफल भएजस्तो लाग्छ ।
-कसैको दबाब र प्रभावमा काम गर्ने प्रवृत्ति मेरो छैन । मैले ऐन, कानुन, विधि र प्रक्रियाबाट काम गर्ने हो । के गर्दा सहजीकरण हुन्छ त्यस तरिकाबाट काम गर्ने भएकाले मैले कुनै किसिमका दबाब झेलिनँ ।
-मेरो निजामती सेवा प्रवेशको क्रममा अग्रज र आफन्तहरूको सुझावअनुसार सरकारी जागिर सुरक्षित छ, सेवाको सुरक्षा छ, यही क्षेत्रमा जानुपर्छ भन्ने थियो । त्यही भएर यता आकर्षित भएँ ।
-निजामती सेवामा सहज सेवा प्रवेशका लागि लेखाइमा दम, यथार्थ र तथ्यपरक हुनुपर्छ र यो उम्मेद्‌वार राज्यका लागि उपयुक्त छ भनेर प्रदर्शन गर्न सक्नुपर्छ । अध्ययनमा निरन्तरता हुनुपर्छ । परीक्षामुखी भएर तयारी गर्नुभन्दा पनि निरन्तरता दिनुपर्छ ।
-चाँडो सरुवाले प्रभाव पार्छ नै । भूगोल नै नबुझेको मान्छे जिल्लामा आएर तत्कालै कुनै निर्णय गरेर अगाडि बढ्न सक्दैन ।
-हामी पनि जनता हौं । हामी सेवाग्राही भएर अरू कार्यालयमा जाँदा कर्मचारीले राम्रो रेस्पोन्स गरुन्, हसिलो अनुहार प्रदर्शन गरुन्, राज्यका तर्फबाट दिने सेवा छिटो, सरल, सहज दिऊन् भन्ने लाग्छ । सबैले यही चाहन्छन् ।
-११ महिनाको दार्चुला बसाइमा यहाँका राजनीतिक दल, पत्रकार, बुद्धिजीवीसँग भेटघाट हुँदा माया, स्नेह, हौसलाले थप जिम्मेवार बनाएको छ ।
-जुनसुकै ठाउँमा रहेर काम गर्दा जनताको काममा कहिल्यै पछि पर्नु हुँदैन । आफ्नो कुनै कार्यालयप्रति जुन अपेक्षा हुन्छ त्यो आफ्नो कार्यालयमा सेवाग्राहीप्रति देखाउनुपर्छ । जनता नै जनार्दन हुन भन्ने भावना राखेर हामीले काम गर्नुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
यो मैले प्रमुख जिल्ला अधिकारी भएर काम गरेको दोस्रो जिल्ला हो । सेवाग्राही सन्तुष्ट छन् छैनन् यो जनताले नै मूल्यांकन गर्ने विषय हो । दार्चुलाको यो ११ महिनाको बसाइमा म सफल भएजस्तो लाग्छ । दार्चुलामा आएर मैले पहिले सेवाग्राहीलाई प्राथमिकतामा राखेर एउटा महत्त्वपूर्ण काम गरेँ । जिल्ला प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले बाहिर फोटोकपी गर्नु नपर्ने जिल्ला प्रशासनले नै फोटोकपी गराउने व्यवस्था सुरु गरेँ । जुन अहिले पनि निरन्तर छ । म आएयता यहाँका सेवाग्राही सन्तुष्ट नै छन् भन्ने लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाब त हुन्छ नै । तर मैले काम गर्दा त्यस्तो किसिमको दबाब महसुस गर्नु परेन । कसैको दबाब र प्रभावमा काम गर्ने प्रवृत्ति मेरो छैन । मैले ऐन, कानुन, विधि र प्रक्रियाबाट काम गर्ने हो । के गर्दा सहजीकरण हुन्छ त्यस तरिकाबाट काम गर्ने भएकाले मैले कुनै किसिमका दबाब झेलिनँ । हिजो ट्रेड युनियनको कार्यक्रम थियो । त्यहाँ सबै राजनीतिक दलका प्रतिनिधि थिए । मेरो सरुवालाई लिएर उहाँहरूले कुरा गर्नुभयो मलाई गौरवको अनुभव भयो । म खुसी भएँ मैले केही गरेको रहेछु भन्ने महसुस भयो । पार्टी वा कुनै व्यक्तिसँग आस्था र झुकाव राखेर काम गर्‍यो भने दबाब सिर्जना हुने रहेछ । यो ११ महिनाको बसाइमा मलाई कुनै दबाब भएन ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
छ, किन नहुनु ? असार र भदौमा दुईवटा पालिकामा बाढी गएको थियो । त्यसबेला म ५२ किलोमिटर पैदल हिँडेर आफैँ गाउँमा, प्रत्येक घरमा पुगेको पनि उदाहरण छ । प्रत्यक्ष रूपमा तल्लो तहसम्मै पुग्दा उनीहरूको जुन माया र स्नेह पाएँ त्योचाहिँ कहिले पनि भुल्न नसकिने क्षण छ मेरा लागि ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो निजामती सेवा प्रवेशको क्रममा अग्रज र आफन्तहरू कोही यस क्षेत्रमा थिए । उहाँहरूको सुझावअनुसार सरकारी जागिर सुरक्षित छ, सेवाको सुरक्षा छ, यही क्षेत्रमा जानुपर्छ भन्ने थियो । त्यही भएर यता आकर्षित भएर अगाडि बढेको हो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
आकर्षण छ, छैन भन्ने पनि होइन । कतिपय लोकसेवा आयोगका वार्षिक प्रतिवेदन हेर्दा राम्रो अंक ल्याएर उत्तीर्ण भएकाहरू भन्दा पनि द्वितीय श्रेणी, तृतीय श्रेणीमा उत्तीर्ण भएका, गाउँका सरकारी स्कुलमा उत्तीर्ण भएकाहरू लोकसेवा सफल भएको तथ्यांकले देखाउँछ । यो तथ्यांकले के भन्छ भने अझै दक्ष जनशक्ति आकर्षण गर्न सकिएको छैन अथवा कम छ भन्न सकिन्छ । त्यसका लागि राज्यले पनि सेवा-सुविधा र वृत्तिविकासका लागि सेवाभित्र हुने राजनीतीकरण छ यसलाई निर्मूल गर्न सकियो भने सुशासनको प्रत्याभूति गर्न सकियो भने निजामती सेवामा आकर्षण छैन भन्ने मलाई लाग्दैन ।

निजामती सेवामा सहज सेवा प्रवेशका लागि कसरी पढ्ने ?
निजामती सेवामा निश्चित सिट हुन्छ त्यसैले प्रतिस्पर्धा कडा नै हुन्छ । एउटा सिटका लागि दशौं हजार दरखास्त पर्छ । यहाँ प्रवेशका निमित्त अरूलाई जित्ने किसिमको तयारी, अरूको मन छुने तयारी, निखारता, लेखनशैली राम्रो भएको हुनुपर्छ । परीक्षण गर्ने मान्छेको मन जित्ने, भावना जित्ने लेखनशैली हुनुपर्छ । लेखाइमा दम, यथार्थ र तथ्यपरक हुनुपर्छ र यो उम्मेद्‌वार राज्यका लागि उपयुक्त छ भनेर प्रदर्शन गर्न सक्नुपर्छ । अध्ययनमा निरन्तरता हुनुपर्छ । परीक्षामुखी भएर तयारी गर्नुभन्दा पनि निरन्तरता दिनुपर्छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवाले प्रभाव पार्छ नै । जो आए पनि जिल्लाको नेतृत्व लिएर आउने मान्छेले जिल्लाको सबै वस्तुगत विवरण, भूगोल, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै परिवेश बुझिसकेपछि मात्रै उसले आफ्नो क्रियाकलाप मिसन-भिजन प्रदर्शन गर्ने बाटो बनाउँछ । भूगोल नै नबुझेको मान्छे जिल्लामा आएर तत्कालै कुनै निर्णय गरेर अगाडि बढ्न सक्दैन । त्यसैले हिमाली जिल्लामा कम्तीमा १८ महिना बस्नुपर्ने प्रावधान पनि छ । म पनि भोलि यहाँबाट सरुवा भएर जाँदै छु, खुसी छु ।

निजामती सेवामा कार्यरत कर्मचारीका आम रूपमा कस्ताखाले गुनासा या पीडा छन् ?
दार्चुला बसाइँका क्रममा यो विकट जिल्ला हो । एक-दुईवटा पालिकामा यातायातको अवस्था हिँडेर जान पनि नसकिनेछ । तपाईंहरूलाई पनि थाहा होला अस्ति जनगणनामा हेलिकोप्टर प्रयोग गर्नुपर्‍यो । त्यस्तो ठाउँमा पुगेर पनि काम गर्नुपर्ने अवस्था छ । त्यहाँको परिवेशअनुसारको कपडा, सुविधा वृत्तिविकासका अवसर भए जो पनि त्यहाँ गएर काम गर्न उत्सुक हुन्छ । यो विषयमा राज्यले ध्यान दियो भने जुनसुकै भुगोलमा गएर कर्मचारी काम गर्न सक्छन् ।

तपाईं सेवाग्राही अर्थात् जनता पनि त हो ? जनताका तर्फबाट सोच्दा कर्मचारीबाट कुन रूपमा सेवा प्रवाह भइरहेको छ ?
हामी पनि जनता हौं । हाम्रा पनि अरू काम हुन्छन् । सेवाग्राही भएर अरू कार्यालयमा जाँदा कर्मचारीले राम्रो रेसपोन्स गरुन्, हसिलो अनुहार प्रदर्शन गरुन्, राज्यका तर्फबाट दिने सेवा छिटो, सरल, सहज दिऊन् । दबाब, प्रभावमा काम नहोस् । नचिनेको नजानेको मान्छेले पनि जान्न सकोस् भन्ने किसिमका अपेक्षा मैले नि राख्छु । सबैले यही चाहन्छन् ।

दार्चुलको बसाइँ सकेर गृह मन्त्रालयमा सरुवा भएर जाँदै गर्दा यहाँलाई जिल्लाको कुन कुरा छुटे (मिस) जस्तो लागेको छ ?
११ महिनाको दार्चुला बसाइमा यहाँको रहनसहन परिवेश, यहाँको भाषा साथै मेरो सरुवा भएपछि यहाँका राजनीतिक दल, पत्रकार, बुद्धिजीवीसँग भेटघाट हुँदा माया, स्नेह, हौसलाले थप जिम्मेवार बनाएको छ । यहाँको परिवेशले नै मलाई छोइरहेको छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम ह्याप्पी छु ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मैले थप केही भन्नुपर्ने छैन । हामी कर्मचारीहरूको सरुवा नियमित प्रक्रिया हो । जुनसुकै ठाउँमा रहेर काम गर्दा जनताको काममा कहिल्यै पछि पर्नु हुँदैन । आफ्नो कुनै कार्यालयप्रति जुन अपेक्षा हुन्छ त्यो आफ्नो कार्यालयमा सेवाग्राहीप्रति देखाउनुपर्छ । जनता नै जनार्दन हुन भन्ने भावना राखेर हामीले काम गर्नुपर्छ ।


(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसँग कुराकानी गरेका थियौं । यसपटक पनि हामीले सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया