शनिबार, वैशाख १५, २०८१

‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

नेपालखोज २०७८ साउन ११ गते १०:३९

‘नागरिकलाई सेवा दिने क्रममा खुसी बनाएर पठाएको छु’

मुलुककै राजधानीमध्येको एक जिल्ला अर्थात् वाग्मती प्रदेशको पहाडी जिल्ला ललितपुर । ललितपुरको प्रशासनिक नेतृत्व अहिले तेह्रथुमका ढुण्डीप्रसाद निरौलाको काँधमा छ । २०७७पुस ६ गतेदेखि ललितपुर जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) निरौला कुशल प्रशासकका रूपमा परिचित छन् ।उनले निजामती प्रशासनसम्बन्धी विभिन्न पुस्तकहरूमा कलम चलाएका छन् । अर्थात् प्रजिअ निरौला कुशल प्रशासकजस्तै कुशल लेखक पनि हुन् ।
जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ निरौलालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
तेह्रथुमको साबिकको पिप्ले गाविस स्थायी घर भएका निरौलाले निजामती सेवामा ३३ वर्ष बिताइसकेका छन् । ललितपुरका प्रजिअ निरौला यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । उनले अर्थ मन्त्रालय, भन्सार विभाग, कर्णाली र वाग्मती प्रदेशको सचिव भएर कुसल कार्यसम्पादन गरिसकेका छन् । कामका दौरान विभिन्न क्षेत्रबाट दबाब आउने गरे पनि नीति–नियमभित्रै रहेर आफूले कार्यसम्पादन गर्ने उनी बताउँछन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलासँग हामीले जिल्लामा भए-गरेका विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

ललितपुर जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
ललितपुरको कोभिड संक्रमणको पछिल्लो अवस्थाबारे कुरा गर्दा नेपालको समग्र अवस्थासँगै तुलना गर्नुपर्ने हुन्छ । हाम्रो साबिकमा कोभिड दोस्रो लहरको संक्रमणचाहिँ बढ्दो रुपमा थियो । परीक्षण गर्दा लगभग ५० प्रतिशतको हाराहारीमा संक्रमित भेटिन्थे । अहिले घट्दै-घट्दै गएको छ । आजभन्दा १५ दिनअगाडिको निषेधाज्ञाको अवस्थाभन्दा पछिल्लो समयमा अलि बढेको छ । पहिला हाम्रो जिल्ला १० देखि १२ प्रतिशतको रेन्जमा आइसकेको थियो । अहिले हामीले एन्टिजेन्ट र पीसीआर परीक्षण गर्दा लगभग १४ देखि २० प्रतिशतको हाराहारीमा छौं ।

ललितपुर जिल्लामा कोरोना संक्रमितको व्यवस्थापन कसरी गर्नुभयो ?
निषेधाज्ञा जारी गर्नुभन्दा पहिले बिरामीहरु बढ्न सक्छन् भन्ने थियो । यसलाई लक्षित गरेर निजी अस्पतालहरु व्यवस्थित गर्नुपर्छ, आइसोलेसन वार्डहरु व्यवस्थित गर्नुपर्छ, अक्सिजन प्लान्टलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचेर यो कोलाहाल अवस्था आउनुभन्दा पहिले हामीले ललितपुर जिल्लाका निजी अस्पतालहरुसमेत भएर बैठक राख्यौं । सीसीएमसीको बैठकमा अस्पतालका सञ्चालकका प्रतिनिधिहरुलाई बोलाएर छलफल गर्‍यौं । छलफल गर्दा हामीले के भन्यौं भने उहाँहरुलाई कोभिडको बिरामीका लागि खास बेडहरु छुट्याइदिने, व्यवस्थित गर्ने र उहाँहरुले रेकर्ड अपडेट गर्ने अक्सिजन, आईसीयू बेड, कोभिड संक्रमणको बेडहरु व्यवस्थित गर्ने भनेर हामीले एउटा निर्णय नै गरेका छौं सुरुमा । त्यो निर्णय गर्न पाउँदा-नपाउँदै ३/४ दिनपछाडि देखि वास्तवमा कोभिड ह्वात्तै बढेर गयो । त्यसरी बढेर गइसकेपछि हामीले स्वचालित रुपमा अस्पतालहरुमा भर्ना भएका बिरामीहरुको उपचार गर्ने, पीसीआर एन्टिजेन खासगरी रोगसँग सम्बन्धित कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखापरेकाहरुको परीक्षण गर्दा त्यस्ता रिपोर्ट स्वचालित रुपमा जनस्वास्थ कार्यालय आइपुग्ने र जनस्वास्थ्य कार्यालयले दिनको ४ बजे हाम्रो कार्यालयलाई उपलब्ध गराउने वयवस्था गर्‍यौं । अस्पताहरुमा खासगरी व्यवस्थापन गर्ने सिलसिलामा शय्याको चाहिँ अभाव भएको थियो त्यो समयमा । धेरै अभाव भएको थियो । अक्सिजनको धेरै अभाव भयो । हाहाकार भयो यहाँहरुले पनि सुन्नुभयो । हामीले त्यो बेलामा जिल्लामा धेरै अस्पतालहरुमा प्राय: अस्पतालहरुमा आफ्नो अक्सिजन प्लान्टहरु रहेनछ । नभएपछि सप्लाइ गर्ने गर्नुभएको रहेछ । सप्लाई गर्नका लागि ललितपुरमा भएका चारवटा अक्सिजन प्लान्टमध्ये तीनवटा चालु अवस्थामा रहेछन् । तिनीहरुले पनि बाहिरको जिल्लासँग एग्रिमेन्ट गरेर सप्लाई गर्दा रहेछन् । त्यसो हुँदा यहाँका कति अस्पतालहरुले बाहिर अक्सिजन प्लान्टबाट ल्याउने यहाँ प्लान्टबाट कतिपय बाहिरका अस्पतालहरुले लाने त्योखालको एग्रिमेन्ट रहेछ, सप्लाईचाहिँ त्यस्तो रहेछ । तर यहाँ बिरामीहरु बढेसँगै बेड नपाउने अवस्था भइसकेपछि अक्सिजन अभाव भयो । हामीले बाहिर जिल्लासँग लगभग ६७० सिलिन्डर मेरै पहलमा ल्याएर व्यवस्थापन गर्‍यौं । अस्पतालमा पनि हामीले एउटा प्रभावकारी संयन्त्रको व्यवस्था गरेको थियौं । हामीले खासगरी एउटा नियमित मोनिटरिङ र अर्को विशेष आकस्मिक मोनिटरिङ भनेर दुईवटा राखेको थियौं । सबै निकाय परिचालित भएका थिए । प्रहरी पनि त्यही ढंगले परिचालित भएको थियो । स्वास्थ्य निकाय पनि त्यही ढंगले परिचालित भएको थियो । निजी क्षेत्रका अस्पतालसँग हामी बेलाबेला मिटिङ राख्थ्यौं । स्थानीय तहका प्रमुख र प्रशासकीय प्रमुखसँग पनि हामी मिटिङहरु राख्थ्यौं । निरन्तर समन्वय गरेर र निषेधाज्ञासमेत जारी गर्दा क्रमिक रुपमा संक्रमणको अवस्था यहाँसम्म पुगेको हो ।

तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रजिअहरू बसेर राजधानीमा लामो समय बन्दाबन्दी गर्नुभयो । जुन वैज्ञानिक थिएन, जसकारण सर्वसाधारणले धेरै दुःख झेल्नुपर्‍यो भनेर सामाजिक सन्जाललगायत चौतर्फी दबाब आयो यसमा तपाईंको भनाइ के छ ?
कोभिड भनेको हाम्रा लागि एक वर्ष अनुभव भएको रोग हो । एक वर्षअघि हामीसँग त्यसखाले अनुभव थिएन । त्यसबेला मुलुकमा लकडाउन भयो । हामीले अहिले निषेधाज्ञा जारी गर्दा पनि बन्दाबन्दी भनेर नाम दिने गरेका छौं । बन्दाबन्दी हुँदा धेरै खालका समस्याहरु पनि आए । त्योबेला वास्तवमा जुन हामीले निषेधाज्ञा गरेका थियौं त्यसको पालनाको दर पनि अलि कम कम देखिन्थ्यो । पछिल्लो समयमा दोस्रो लहरको कोरोना आइसकेपछि नागरिकहरुमा केही न केही चेतना आएको अनुभूति भएको छ हामीलाई । दोस्रो भेरियन्टमा संक्रमणको दर धेरै हुने, लागिसकेपछि मृत्युको संख्या पनि बढी हुने र अलि बढी समस्यामा पनि पार्ने भएको छ । अझ सरकारले उपलब्ध गराएको खोप धेरै नागरिकले लगाउन आनाकानी गरे । खोप लाएकाभन्दा नलाएकालाई यसले अलि गाह्रो पारेको अवस्था पनि देखियो । त्यसपछि हामीले यसको चेन बेक्र गर्न जरुरी छ भनेर बन्दाबन्दीका रुपमा नलिइ निषेधाज्ञाका रुपमा अघि बढ्यौं । निषेधाज्ञा हुँदा पनि बजारमा भनाइअनुसारको भएन । निश्चय नै निषेधाज्ञाले आमनागरिकलाई एउटा नियमित अवस्था जस्तो सरल भएन, अप्ठ्यारो पारेको छ । असजिलो पारेको छ, त्यसमा हामी सम्बद्ध सबै पक्षहरुले यसलाई स्वीकार गर्नु पनि पर्छ । असजिलोप्रति क्षमापार्थी पनि हुनुपर्छ । तर हामीले यो नगरेको भए कस्तो अवस्था हुन्थ्यो होला ? अनुमान गर्न सकिन्छ ? तत्कालीन अवस्थामा सुरुको निषेधाज्ञाको समयमा हामीले जुन रुपमा कडाइ गर्‍यौं त्यो समयमा हामीले निश्चित क्षेत्रमा सवारीसाधन, ढुवानीका सवारीसाधन, निर्माणका सवारीसाधनहरु वैज्ञानिक ढंगले चल्न दियौं अवैज्ञानिक भन्न मिल्दैन यसलाई । हाम्रो यो निषेधाज्ञाको लामो समयमा पनि सात दिन अत्यावश्यक सवारीसाधन मात्र गुडाउन दियौं यसले विकास निर्माणलाई केही असर गर्‍यो । एउटा बहानाचाहिँ हुन सक्छ यो असजिलो भयो भनेर । तर लामो दूरीका सार्वजानिक यातायातहरु जहाँ नियन्त्रण गर्न सकिँदैन थियो, सर्वसाधरणलाई बढी असर गर्थ्यो, जो संयमित हुन अलि कठिन हुन्थ्यो, त्यस्तो क्षेत्र छाडिएको भए स्थिति भयावह आउँथ्यो । त्यसैले पनि वैज्ञनिक ढंगले कहिले जोर-बिजोर गर्‍यौं । कहिले लामो यात्रा सहजीकरणका हिसाबले गर्‍यौं, कहिले लामो दूरीका सवारीसाधन रोक्यौं । त्यो आधारमा हामीले संक्रमणदर १० प्रतिशतको हाराहारीमा आएका थियौं विज्ञहरुका अनुसार ५ प्रतिशतभन्दा तल संक्रमणदर पुग्यो भने एउटा समान्य अवस्था मानिन्छ भन्ने पनि छ । १० प्रतिशतको छेउ आइपुगेका आमी अहिले २० प्रतिशतको हाराहारीमा पुगेका छौं । अहिले यातायातको क्षेत्रलाई अलिकति खुकुलो गर्दा, असारमा केही सामाजिक गतिविधि, विवाह, धार्मिक-सांस्कृतिक कार्यक्रम हुँदा अलि भिड बढेन खोज्यो । यस्तो अवस्थामा संक्रमण बढेको हो । त्यसैले यसलाई अवैज्ञानिक भन्न मिल्दैन । यसलाई प्रस्ट्याउन कसरी सकिन्छ भने यो सबै नागरिकको सचेतना, साथ र सहयोगले चेन ब्रेक गर्न सकिएको हो । अझै संक्रमण दर बढ्न खोजे नागरिकहरु सचेत हुनुपर्छ । यसलाई बढीभन्दा बढी वैज्ञानिक बनाउन जरुरी छ । उद्योग-धन्दा, पेसा-व्यवसाय गरी खानेलाई स्वतन्त्र रुपमा गरिखान पाउँदा सबैका लागि सजिलो हो । त्यो स्वतन्त्र रुपमा सबैले गरिखाने बनाउन पनि चेन ब्रेक ल्याउन यस्तो गरिएको हो । त्यसैले यसलाई वैज्ञानिक नै मान्नुपर्छ । यसलाई अवैज्ञानिक भन्ने आधार त मैले केही देख्दिनँ । माग सबैका हुन्छन् । प्रशासनले काम गर्दा कसैलाई असुविधा बन्न पुग्छ लक्षित असुविधा होइन यो तथ्यपूरक असुविधा हो । त्यसैले यसलाई स्वीकार गर्नुपर्छ । यो वैज्ञानिक नै हो ।

विभिन्न जिल्लामा बाढी–पहिरोका समाचारहरू सञ्चारमाध्यहरूमा आइरहेका छन् । ललितपुर उपत्यकासँगै पहाडी भूभाग रहेको जिल्ला पनि हो । तसर्थ जिल्लामा बाढी-पहिरो भूक्षयलगायत प्राकृतिक प्रकोपको अवस्था कस्तो छ ?
ललितपुर जिल्लाका दुईतिहाइ जनसंख्या सहरी क्षेत्रमा बस्छ । खासगरी ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिका हाम्रा नगरपालिका हुन् । बाँकी तीन गाउँपालिका छन् । दुईतिहाइ क्षेत्र फेरि गाउँ बस्ती छ । ८० प्रतिशत भूगोल गाउँ नै छ । वास्तवमा नेपाललाई दाज्ने हो भने ललितपुरलाई तुलना गर्नुपर्ने हुन्छ । त्यसो भएकाले ती क्षेत्रहरुमा निश्चय नै हाम्रा यातयातका केही असुविधा छन् । अलिकति पानी आउँदा बाढी आएर बाटोमा अवरोध आउँछ । तर त्यसलाई नियमित गर्ने व्यवस्थाहरु हामीले मिलाएका छौं । ठूलो अप्ठ्यारो तत्काल खटेर उद्धार गर्नुपर्ने व्यवस्थाचाहिँ आएको छैन । तर केही न केही घटना भएका छन् । ललितपुर जिल्लामै हेर्न हो भने ढलमा अलि समस्या भएका हुन्छन् । त्यहाँ बाढी पसेर घरमा क्षति पुर्‍याएको हुन्छ । त्यस्तो अवस्थामा हामीले तत्काल समाधनको व्यवस्था मिलाएका छौं । त्यसबेला हामी सम्बन्धित स्टेक होल्डरहरु राखेर खासगरी विद्युत्‌को विद्युत्‌सँग, ढलको ढलसँग, सडकको सडकसँग, सबैसँग बसेर, समन्वय गरेर सर्वपक्षीय छलफल गरेर जिम्मेवार बनेर काम गरेका छौं । सबै स्थानीय तहहरुले आफ्नो विपत् व्यवस्थापन समिति कार्ययोजना बनाएको छ । जिल्लाको पनि छ । रेडक्रसलगायत सबै व्यवस्थित छन् । प्रहरीहरुमा उपत्यका तीनवटै प्रशासन कार्यालयहरुमा डीओसी भन्ने इमरजेन्सी अपरेसन सेन्टर भन्ने रहेनछ । त्यसकारण हामीले अहिले यसको माग पनि गरेका छौं । मन्त्रालयले पनि यो कार्यक्रम यही आर्थिक वर्षदेखि राखेको छ । त्यो नहुने बेलासम्म प्रहरी कार्यालयमार्फत समन्वय गर्ने, ती सबै निकाय परिचालित हुने र खासगरी सशस्त्र प्रहरी यसमा परिचालित हुने, सूचनाको प्रवाहचाहिँ नेपाल प्रहरीबाट आउने भनेर व्यवस्थित गरेका छौं । त्यसकारण ठूलो उल्लेखनीय समाधान गर्न नसकेको हाम्रो स्ट्याटिजी प्लानभित्र नपरेको भन्ने छैन । विपत्‌लाई अहिले हामीले व्यवस्थापन गर्न सकेका छौं ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ? अर्थात् सेवाग्राहीलाई कत्तिको सन्तुष्ट बनाएको ठान्नुहुन्छ ?
म पनि गाउँको किसानको छोरा हुँ । मैले जागिर खाएको लगभग ३३ वर्ष भयो । सेवा प्रवाहका हिसाबमा नागरिकलाई प्रोएक्टिभ भएरै सेवा दिनुपर्छ भन्ने सोचिएको छ । कतिपय प्रणालीहरु परम्परागत छन् । नयाँ रुपमा क्रमिक रुपमा आउनुपर्ने हुँदा केही बाधाहरु पनि छन् । साचेजस्तो सबै हुने भन्ने पनि अवस्था हुँदैन । तर सेवाग्राही आउँदा मैले कुनै पनि त्यस्तो सेवाग्राही जसको काम नगरिदिएर फर्काएको भन्ने मलाई लाग्दैन । तर जुन प्रणालीगत व्यवस्था छ, हाम्रो स्वचालित प्रणाली त छैन । त्यसो भएकाले एउटा कार्यालय प्रमुख, गुनासो सुन्ने अधिकारी अथवा सूचना सुन्ने अधिकारी अथवा जुन शाखासँग सम्बन्धित कर्मचारीसँग पुग्नलाई सजिलै आइपुगे भन्ने कुराले कहिलेकाहीँ समस्या ल्याइराखेको हुन्छ । हामी यस कार्यालयमा दिनको एकपटक हरेक शाखामा मोनोटोरिङ गरेका छौं । सूचनाको हकअनुसार पनि हामी हामी छड्के अनुगमन गरेर व्यवस्थित गराउँछौं । प्रत्येक महिनामा कार्यालय प्रमुखहरुको मिटिङ पनि हुन्छ । प्रत्येक महिनामा एकपटक स्टाफ मिटिङ पनि हुन्छ । फिडब्याक पनि लिइन्छ । नागरिकलाई सेवा दिने क्रममा खुसी नै बनाएर पठाएको छु भन्ने छ । हाम्रो देशमा कुनै सरकारी निकायमा सेवा लिन जानुपर्‍यो भने चिनेको मान्छे छ/छैन मनमा लिने गरिन्छ । त्यो नहोस् भन्ने लाग्छ । हामीले प्रणाली बनाएर जान सके नागरिकले पनि त्यस्तो सोच्नुहुन्न । म जहाँ छु त्यस कार्यालयमा नागरिकले यस तरिकाले सेवा लिन पाऊन् भन्ने तवरले काम गर्छु । कुनै नागरिकले कार्यालयमा आएर दु:ख पायौं, काममा असजिलो भयो, काम हुन सकेन भनेर गुनासो गर्दै नआएसम्म सेवाग्राही मसँग खुसी नै हुनुहुन्छ सन्तुष्ट नै हुनुहुन्छ सेवा प्रवाह पनि राम्रै गरिएको छ भन्ने लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मेरो ३३ वर्षको अनुभवको कुरा गर्दा थुप्रै होलान् अहिले तपाईंले यहाँको बारे कुरा गर्नुभएकाले यहाँ आइसकेपछि एउटा जगिरको परिपक्कताका कारणले पनि हुन सक्छ, अनुभवका कारणले पनि हुन सक्छ यहाँ मैले कुनै दबाब झेल्नुपरेको छैन । कुनै खालको उतारचढाव पनि छैन । नियम-कानुनअनुसार जो हिँड्छ, जसले नियम-कानुनबाहिर रहेर गर्न मिल्नेसम्मको काम गर्छ । कसरी सेवाग्रहीको समस्या समाधान गर्नुपर्छ भनेर लाग्छ । प्रोएक्टिभ भएर काम गर्छ । हुनसक्ने काम गरिहाल्छ भन्ने ढंगले काम मबाट हुँदैन । हाम्रो संस्कारै भन्नुपर्छ कसैलाई भनेर काम लिन पाए हुन्थ्यो भन्ने हुन्छ । कसै-कसले फलानाको यस्तो काम छ है भन्नुहुन्छ । तपाईंले नभन्नु पर्थ्यो त भन्ने गरेको छैन । मेरो मान्छे आएको थियो तैंले काम गरिनस् भनेर फोर्स-सोर्स लाएको अवस्था भने छैन । यहाँभन्दा पहिले सानो पददेखि जागिर खाइयो मुस्ताङमा जागिर गर्दा एकजना नेताले नहुने कामको प्रेसर गर्नुभएको थियो । तर त्यो काम गरिएन काम नगरेको कारण उहाँ मसँग रिसाउनुभयो । धेरै नै रिसाउनुभयो तर उहाँको अहिले मसँग सम्बन्ध राम्रो छ । अहिले उहाँ मसँग खुसी हुनुहुन्छ किनभने नहुने काम यसले गर्दो रहेनछ भन्ने हुन्छ ।

जागिरकै सिलसिलामा आफूले सम्पादन गरेका कुनै कामप्रति पछुतो छ ?
वास्तवमा जागिरको सिलसिलमा मैल गरेका कामका कारण पछुतो मान्नुपर्ने अवस्था छैन । बरु कतिपय रोकिएका, अल्झेका कामहरु फुकेका पनि उदाहरणहरु छन् । नीतिगत विषय भन्नुपर्दा म एकताका एडीबीको रोड प्रोजेक्टमा काम गर्थें । त्यो बेला यो परामर्शदाताहरु नियुक्त गर्दा तिनले तिर्न पर्ने टीडीएस जुन हुन्छ आयकर त्यो सरकारको पक्षबाट तिर्ने गरिएको अवस्था रहेछ । जसले आम्दानी गर्छ । घाटामा र नाफामा अथवा आयमा लाग्ने करको सन्दर्भमा सरकारको तर्फबाट तिरराखेको अवस्था रहेछ । त्योचाहिँ मैले देशका लागि लगभग निकै ठूलो संघर्ष गरेर खर्च जोगाएँ । त्यो बेला मैले यो जागिर खानु राम्रो हो र ? भन्नेसम्म पुगेको अवस्था थियो । त्यसलाई पछि धेरै तहबाट अध्ययन अनुसन्धान विश्लेषण हुँदै जाँदा पछिल्लो समयमा वर्ल्ड बैंक र एडीबीले त्यसैको बारेमा मेरै आधारमा जसले अर्न गर्छ त्यसैले तिर्नुपर्छ भन्ने लाइनकै आधारमा बीओपीहरु बन्छ र ठेक्का कन्सलटेन्टहरुले आफै कर तिर्छ भनेपछि करौडौं राजस्व त्यही कारणले उठेको अवस्था छ । आयकर राज्यले तिर्नुपर्ने अवस्थामा व्यक्तिले तिरेको अवस्था छ । यसका लागि मैले त्यहाँ लगभग एक वर्ष संघर्ष गर्नुपर्‍यो कति कर्मचारीसँग बेमेल भयो झगडा भयो तर अहिले एडीबी र वर्ल्ड बैंक त्यसैबारे वर्कसप नै गरेर हिँड्छ । त्यसैखाले गाइडलाइनहरु बनेका छन् । त्यस्ता नीतिगत कमजोरी सुधार गरेर विशाल आयकर नै विशाल आएकर जो राजस्व कार्यालयले पत्ता लगाउनुपर्थ्यो त्यस्ता विषयहरुचाहिँ मैले पत्ता लगाएर यति एक्सपोज, मार्केटिङ गरेको हुन्थ्यो त मैले ‘क’ वर्गको पुरस्कार पाएको हुन्थें । तर मैले यो एक्सपोज गरिनँ करोडौं रुपैयाँ राजस्व उठ्छ अहिले नेपालमा त्यही कारण पनि । अर्बभन्दा घटी उठ्दैन, यो राज्यलाई फाइदा पनि हो ।

जागिरका दौरान आफूले गरिदिएको काम जसले सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको जो अझै स्मरणीय लाग्छ ? उक्त घटनाबारे बताइदिनुस् न ।
त्यसबेला म मालपोत कार्यालय बेलबारीमा थिएँ । त्यहाँ जग्गा नामसरीसम्बन्धी विषय रहेछ लामो समयदेखि अल्झिएर बसेको विषय रहेछ । उहाँको आफन्तहरु भारतको आसामतिर हुनुहुँदो रहेछ । नेपालमा रहने व्यक्तिहरुले नाता प्रमाणित गर्न प्रमाण जुटाउन असहयोग गरेको अवस्था रहेछ । लेखपढ गर्न नजान्ने मान्छे । निकै समयदेखि उहाँको काम अल्झिएको रहेछ । मैले उहाँको समस्या समाधान गरिदिएँ र उहाँले आशीर्वाद दिएर जानुभयो । यो विषय उहाँका लागि निकै ठूलो भयो तर मेरा लागि हुनुपर्ने र गर्नैपर्ने काम हो । प्रमाण जुट्न नसकेको कारण लामो समय लागेको थियो । त्यो बेला संयोगले प्रमाण जुट्यो, स्थानीयबाट सबैखाले प्रमाण जुट्यो । ५/७ वर्ष अल्झिएको काम रहेछ उहाँको । उहाँको नागरिकता नबनाइदिएर अल्झाएर राखिएको रहेछ । उहाँले नागरिकता पनि बनाउनुभयो जग्गा नामसारी पनि भयो उहाँ खुसी भएर जानु भयो मलाई एकदम आत्मासन्तुष्टि भयो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म तेह्रथुम जिल्लाको साबिक पिप्ले गाविसमा जन्मिएको हो । मेरो बुबा खस्दासम्म म धरानसम्म हिँडेर आएका छु । धरानदेखि यता मात्र गाडी चल्थ्यो । त्यस्तो ठाउँबाट मैले एसएलसी गरेको । एसएलसीपछि साइन्स पढ्नुपर्छ डाक्टर बन्नुपर्छ भन्ने हाम्रो पुरानो सोचाइ थियो । ग्रामीण किसानको छोरो पढ्न आउने अवस्था थिएन । त्यहीँ पढियो । मानविकी कलेज रहेछ त्यही पढियो फर्स्ट भएका कारण सबैको माया पनि पाइयो । त्यहाँ सबैजसो साथीहरु जागिर खानुहुन्थ्यो । त्यहाँ जागिर खाएकाले पढ्ने ठाउँ रहेछ । मेरो जागिर थिएन । मलाई डाक्टर, इन्जिनियर हुनुपर्छ कि डाक्टर कि मास्टर हुनुपर्छ मैले जानेको नै यही थियो । निजामतीको बारेमा थाहा थिएन । मैले सोचेको पनि थिइनँ । डाक्टर, इन्जिनियर, निजमती भए पनि यो प्रशासनिक पदको बारेमा बुझेको थिइनँ । जागिरे साथीहरुको सल्लाहका कारण जागिर खानुपर्छ भन्ने भयो । मलाई लोकसेवा भन्ने पनि थाहा थिएन । साथीहरुले फाराम भरिदिएर उहाँहरुको सल्लाहमा धनकुटा आउन डेढ दिन लाग्थ्यो त्यहाँ आएर सानो पद मुखियाबाट लोकसेवा सुरु गरेको हुँ । जागिर लागेपछि माथिल्लो पदमा पुग्नुपर्छ भन्ने थाहा भयो । त्यसको ४/५ महिनापछि सह-लेखापाल त्यसको एक वर्षपछि सुब्बा हुँदै निजामतीमै रमाइयो । प्रेरणाको विषय तिनै साथीहरु हुन् । आफूले खोजेको विषयमा नगएको कारणचाहिँ यहीँ बसेपछि आफ्ना व्यक्तित्व विकाससँगै माथिल्लो पदहरुमा पुग्न सकिन्छ भन्ने हो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सामान्यत: मानिसहरुले आफ्नो पेसालाई मन पराउँदैनन् । यो पदमा आएपछि मैले यो पद मन पर्छ र पर्दैन भनेर विश्लेषण गर्न पनि सक्दिनँ । तर म राम्रै विद्यार्थी भएको कारणले योभन्दा अरु पेसामा पनि जान सक्दथें । मेरो रुचि अन्य क्षेत्रमा थियो, तर निजमतीमा आएपछि वृत्ति विकासका खुड्किला पाउन सकिन्छ माथि पुग्न सकिन्छ भन्ने आधारले । मानिसका लागि प्रतिष्ठा पनि एउटा ठूलो कुरा हो । जस्तो म प्रजिअ छु एउटा प्रतिष्ठा छ । निजामती जागिरे छ, प्रतिष्ठा छ, किसानको छोरा अफिसर भयो सीडीओ भयो, उपसचिव भयो, एलडीओ भयो, यो फलानो हाकिम भयो भनेर भन्दा छुट्टै प्रतिष्ठा छ । यहाँ सन्तुष्टि लिने ठाउँ पनि छन् । म बेखुसी हुन्थें होला मैले मुखिया, खरिदार, सुब्बा, अफिसर, उपसचिव यी पाँचवटा तह लोकसेवा लेखेर पास गरेर नआएको भए । त्यसकारण जो मान्छे लेखेर माथि जान सक्छ त्यो मान्छे माथि पुग्छ खुसी पनि हुन सक्ने भयो । जो माथि जान सक्दैन ऊ खुसी नहोला ।

ललितपुर जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
वास्तवमा शान्ति सुरक्षको हिसाबले द्वन्द्वका बेला छुट्टै खालको थियो होला । अहिले पछिल्लो समयमा लोकतन्त्र, गणतन्त्रपछाडि यो जिल्ला दुर्गम भए पनि शान्तिमय छ । यसले गर्दा पनि मलाई गर्व हुन्छ । शान्ति छभन्दा मेरो नाक ठूलो हुन्छ । काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकासँग जोडिने भएकाले शान्ति-सुरक्षा काठमाडौंसँग तुलना गरेर हेर्नुपर्ने हुन्छ । काठमाडौं जिल्ला ठूलो छ जनसंख्या पनि धेरै छ । त्यहाँ विभिन्न खालका घटनाक्रम हुन्छन् । त्यहाँको शान्ति सु-व्यवस्थाले ललितपुरको स्थितिलाई पनि भरथेग दिने भएकाले हाम्रो जिल्लालाई यसले पनि भरथेग गरेको छ । दुर्गम जिल्ला द्वन्द्वका बेला केही समस्या थिए होलान् अहिले अवस्था त्यस्तो छैन । तुलनात्मक रुपले हेर्दा यो जिल्ला शान्त छ । साथै यहाँ लागुऔषध र गाजाँ खेतीको केही समस्या भए पनि त्यसलाई नियन्त्रणमै राखेको अवस्था छ । यस्तै चोरीका छिट्फुट घटनाहरु भएका छन् ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंको मिडियालाई धेरै धेरै धन्यवाद छ । नेपालखोजमार्फत नागरिकहरुलाई सेवा दिनकै लागि सरकारी संरचनाहरु खडा भएका हुन् । एउटा प्रजिअका हिसाबले म यहाँ बसेको छु । नागरिककै लागि खडा भएको पद हो यो । नागरिकले तयार गरेको पद हो । यी सरकारी कार्यालयहरु जति छन् । संस्थानहरु जति छन् निजी क्षेत्र जति छन् । एनजीओ आइएनजीओ र मिडियाहरु जति छन् । सबै नागरिकको सेवा-सुविधाका लागि तर्जुमा गरिएका हुन् । यदि राज्यले यी खालका काम निजी क्षेत्रलाई गर्न दिँदैन थियो भने राज्यले यी काम गर्नुपर्थ्यो । त्यसकारण सरकारी, निजी क्षेत्र, सहकारी जति छन् यहाँभित्र त्यस्ता क्षेत्रहरुमा काम दिनु भनेको नागरिककै लागि हुने भएकाले ती ठाउँमा नागरिकले सजिलै आफ्नो अधिकारका रुपमा बुझेर, असल नियत राखेर आफ्नो समस्या समाधान हुन्छ भन्ने बुझेर सबै सरकारी निकायमा निजी जति निकाय छन् त्यहाँ गएर सेवा लिनुहुन अनुरोध गर्दछु । सेवाका क्रममा कहीँ कतै तलमाथि गरे दायाँ-बायाँ कसैले गरेका छन् भने हरेक कार्यालयमा गुनासो सुन्ने अधिकारी हुन्छ । मेरो कार्यालयमा पनि छ । त्यस्तो गुनासो गरिदिनहुन पृष्ठपोषण भए पृष्ठपोषण गरिदिनुहुन पनि आग्रह गर्दछु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवाका प्रजिअ ईश्वरीप्रसाद ढकालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशकै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

प्रतिक्रिया