शनिबार, वैशाख १५, २०८१

‘संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेकै कर्मचारी संयन्त्रले हो’

नेपालखोज २०७९ साउन ३० गते १०:१३

प्रदेश १ को झापा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले छविलाल रिजाल कार्यरत छन् । पुर्ख्यौली घर पर्वत रहे पनि काठमाडौंमा बसोबास गर्दै आएका रिजालले निजामती सेवामा झन्डै २६ वर्ष बिताएका छन् । यसअघि प्रधानमन्त्रीको कार्यालयमा सह-सचिवका रूपमा कार्यरत रिजाल २०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेका थिए । झन्डै ११ महिनाको सुर्खेत बसाइपछि प्रजिअकै रुपमा रिजाल झापा सरुवा भएका हुन् । २०७८ पुस २८ गतेदेखि झापा जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रजिअ रिजाल इमानदार र स्वच्छ प्रशासकको छवि बनाएका निजामती कर्मचारी हुन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ रिजाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेकै कर्मचारी संयन्त्रले भएको प्रजिअ रिजालको बुझाइ छ । ‘संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेको कर्मचारी संयन्त्रले हो । जनप्रतिनिधिहरूले घोषणापत्रमा प्रतिबद्ध गरेको कुरा पनि कर्मचारीले नै कार्यान्वयन गर्ने हो,’ प्रजिअ रिजालले नेपालखोजसँग भने, ‘त्यही कारण कर्मचारी संयन्त्रलाई चुस्त-दुरुस्त, छिटो सहज, बलियो सुदृढ बनाउन सबै दल जुनसुकै सरकारले एकखालको वातावरण बनाउन आवश्यक छ जस्तो लाग्छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ७०औं शृंखला :

हाइलाइट्स :
-कतिपय सेवाग्राही कुरा बुझ्ने किसिमका हुनुहुन्छ कतिपय अरुको सहारा चाहिने खालका हुनुहुन्छ कोही झगडालु स्वाभावका पनि आउनुहुन्छ । यस्ता विभिन्न किसिमका सेवाग्राहीलाई कसरी हेन्डल गर्ने भनेर अझै पनि हाम्रा कर्मचारीमा ज्ञान छैन । सबै सेवाग्राहीको काम एकैचोटि हुन सक्दैन ।
-सरकारी कर्मचारी भनेका कामचोर हुन्, ढिलासुस्ती गर्छन् हामीले भनेको मान्दैनन् भन्ने भावना सेवाग्राहीमा हुन्छ । यो कुरा विगतका कर्मचारीमा थियो होला तर अहिले त्यस्तो छैन ।
-नागरिकता, राहदानी यी सबै काम कानुनमा आधारित भएर गर्ने हो । निर्णयकर्ताको स्वविवेकीय अधिकार प्रयोग गर्ने ठाउँमा मात्र दबाबले महत्त्वपूर्ण भूमिका खेल्छ । हामीले यहाँ सबै कुरा कानुनमा आधारित भएर काम गर्ने हो । त्यही कारण मैले दबाब झेलेको छैन ।
-कार्यालयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था मिलाएका छौं, कार्यालयका हरेक निर्णय वेबसाइटमार्फत जानकारी गराउँछौं । महिनामा एकपटक हामी मिटिङ बस्छौं, त्यहाँ महिनाभरिका इस्युको समाधान खोज्छौं ।
-बाढी आइहाले कसरी उद्धार गर्ने, कसरी प्राथमिक उपचार गर्ने भनेर हामी तयारी पनि दुई महिनाअगाडि नै गरेका छौं । योबाहेक नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी विभिन्न स्थानमा छरिएर रहेका छन् ।
-अरू धेरै विकल्प नसोचीकन अलि छिटै निजामती सेवामा प्रवेश गरेको हो । किनभने त्यतिखेर मैले देखेको, मैले थाहा पाएको- सरकारी सेवामध्ये सबैभन्दा आकर्षक सेवा यही लाग्यो । मैले प्राप्त गर्ने सेवा यही नै थियो भन्ने सोचेर लागेको हुँ ।
-ठूला र राम्रा भनिएका विद्यालयमा पढ्ने विद्यार्थी निजामती सेवातर्फ त्यति आकर्षित छैनन् । सामान्य र ग्रामीण क्षेत्रमा बसोबास गर्ने सामान्य परिवारका सदस्य भने आकर्षित नै छन् ।
-छिटोछिटो सरुवाले कार्यसम्पादनमा असर पर्छ भनेर निजामती सेवामा दुई वर्षको कार्यकाल पूरा गरेपछि मात्र सरुवा हुने व्यवस्था छ । दुर्गम जिल्लामा अलि कम अवधि छ । निजामती प्रशासन भनेको पुरानो प्रशासन हो यहाँका अभिलेखहरू महत्त्वपूर्ण हुन्छ ।
-संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेको कर्मचारी संयन्त्रले हो । जनप्रतिनिधिहरूले घोषणापत्रमा प्रतिबद्ध गरेको कुरा पनि कर्मचारीले नै कार्यान्वयन गर्ने हो ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
जिल्ला प्रशासन कार्यालयबाट विभिन्न प्रकारका सेवा-प्रवाह हुन्छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउने, मतदाता नामावलीमा नाम दर्ता गराउनेलगायत सेवा यस कार्यालयले प्रवाह गर्छ । विपत् व्यपस्थापनमा काम गर्ने, यो सीमावर्ती क्षेत्र भएकाले सीमामा हुनसक्ने आपराधिक कार्य नियन्त्रण गर्ने दायित्व जिल्ला प्रशासनको हुन्छ । प्रमुख अधिकारीले समन्वयसँगै जिल्लाकै नेतृत्व गर्नुपर्ने हुन्छ । सेवाग्राही पनि फरक किसिमका हुनुहुन्छ । कतिपय सेवाग्राही कुरा बुझ्ने किसिमका हुनुहुन्छ कतिपय अरुको सहारा चाहिने खालका हुनुहुन्छ कोही झगडालु स्वाभावका पनि आउनुहुन्छ । यस्ता विभिन्न किसिमका सेवाग्राहीलाई कसरी हेन्डल गर्ने भनेर अझै पनि हाम्रा कर्मचारीमा ज्ञान छैन । सबै सेवाग्राहीको काम एकैचोटि हुन सक्दैन । उहाँहरू लाइनमा बस्नुपर्ने हुन्छ । यहाँ झापामा गर्मी छ लाइनमा बस्दा उहाँहरूलाई समस्या हुन्छ । लाइनमा बस्ने सेवाग्राहीलाई सहज होस् भनेर पंखा र बस्ने कुर्सीको व्यवस्था गरेका छौं त्यही पनि त्यहाँ नअटाएर केही बाहिर घाममा बस्नुपर्ने हुन्छ । सरकारी कर्मचारी भनेका कामचोर हुन्, ढिलासुस्ती गर्छन् हामीले भनेको मान्दैनन् भन्ने भावना सेवाग्राहीमा हुन्छ । यो कुरा विगतका कर्मचारीमा थियो होला तर अहिले त्यस्तो छैन । जिल्ला प्रशासन कार्यालयमा एक त कर्मचारी नै कम हुनुहुन्छ । भएका कर्मचारीले पनि क्षमता विकास गर्ने तालिम लिनु नै भएको छैन । त्यसले गर्दा सेवाग्राहीप्रति कसरी जिम्मेवार भएर काम गर्ने भन्ने ज्ञानको अभाव हुँदा सेवाग्राही भनाभन हुने र अर्को मान्छे गएर समन्वय गर्नुपर्नेलगायतका अवस्थाहरू आउनसक्छन् । पछिल्लो समय हामी सफ्टवेयरमा आधारित भएर काम गरिरहेका छौं । इन्टरनेट, विद्युत् आपूर्ति, सर्भरमा समस्यालगायत विभिन्न कारणले सेवाग्राहीलाई भनेको समयमा हामीले सेवा प्रवाह गर्न नसक्ने पनि अवस्था हुन्छ । पासपोर्ट सेवाग्राही जुन दिन आयो त्यही दिन दिनसक्ने अवस्था छैन । अहिले अनलाइनबाट फाराम भरेर आउनुपर्छ । अनलाइन फाराम भरेर आउँदा पालो २-३ महिनापछि आउँछ । सेवा प्रवाहको कुरा गर्दा अहिलेसम्म झापा जिल्लामा असन्तुष्ट भएर सेवाग्राही संगठित गुनासो गर्न आएका छैनन् ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
मैले दबाबको महसुसचाहिँ गरेको छैन । विगतमा स्थानीय विकास अधिकारी भएर काम गर्दा फनालो ठाउँमा बजेट हाल्नुपर्‍यो, योजना हाल्नुर्‍यो, यस्तो गर्नुपर्‍यो जुन आवश्यक नै नभएको कुरा गर्नुपर्‍यो आउने गर्थे । यहाँ सीडीओ अफिसमा दबाबले गर्नुपर्ने काम केही हुँदैन । नागरिकता, राहदानी यी सबै काम कानुनमा आधारित भएर गर्ने हो । निर्णयकर्ताको स्वविवेकीय अधिकार प्रयोग गर्ने ठाउँमा मात्र दबाबले महत्त्वपूर्ण भूमिका खेल्छ । हामीले यहाँ सबै कुरा कानुनमा आधारित भएर काम गर्ने हो । त्यही कारण मैले दबाब झेलेको छैन ।

सेवाग्राहीलाई सहज सेवा-प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
सेवाग्राहीले सहज सेवा लिन सकुन् भनेर हामीले पार्किङको व्यवस्था गरेका छौं । पहिला यहाँ पार्किङको राम्रो व्यवस्था थिएन । टोकनको व्यवस्था गरिएको छ । सेवाग्राहीलाई खानेपानीको व्यवस्था गरिएको छ । सेवाग्राहीको सहजका लागि वाइफाईको पनि व्यवस्था गरिएको छ । गुनासो सुन्ने अधिकारीको पनि व्यवस्था गरेका छौं, साथै हामीले कार्यालयका हरेक निर्णय वेबसाइटमार्फत जानकारी गराउँछौं । महिनामा एकपटक हामी मिटिङ बस्छौं त्यहाँ महिनाभरिका इस्युको समाधान खोज्छौं ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
असार मध्यतिर अलिकति बाढी आएको थियो । करिब एक हजार घरपरिवार प्रभावित भएका थिए । उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको सहयोगमा सुरक्षित स्थानमा राखेका थियौं । अरु त्यस्तो छैन पानी कम परेको छ । पछि ठूलै पानी पर्ने हो कि भन्ने शंका छ ।

विपत्‌का घटनाको पूर्वतयारी कसरी गर्नुभएको छ ?
यसका लागि जिल्ला विपत् योजनाहरू, मनसुनको पूर्वतायारीको योजनाहरूलगायत विभिन्न किसिमका योजनाहरू तयारी गरेका छौं । बाढी आइहाले कसरी उद्धार गर्ने, कसरी प्राथमिक उपचार गर्ने भनेर हामी तयारी पनि दुई महिनाअगाडि नै गरेका छौं । योबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी विभिन्न स्थानमा छरिएर रहेका छन् । जिल्ला विपत् व्यवस्थासम्बन्धी हेर्ने एउटा डिस्ट्रिक इमरजेन्सी अपरेटिङ सेन्टर भन्ने प्रजिअकै नेतृत्वमा छ । त्यहाँ कता के विपत्‌का घटना भए नियमित रुपमा रिपोर्टिङ हुन्छ । त्यसअनुसार अवस्था के हो ? कतिको गहन छ ? तत्काल एक्सन लिनुपर्ने हो कि होइन ? अवस्था हेरेर काम गर्छौं । कुनै संरचनामा प्रभाव पर्‍यो भने जुन निकायले संरचना निर्माण गरेको हो त्यही निकाय प्रोएक्टिभ काम गर्न लगाउने कुरा छ अर्थात् नगरपालिका, वडा जुन निकायले संरचना बनायो उही विभागलाई निर्माण गराउने हो ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
अरू धेरै विकल्प नसोचीकन अलि छिटै निजामती सेवामा प्रवेश गरेको हो । किनभने त्यतिखेर मैले देखेको, मैले थाहा पाएको- सरकारी सेवामध्ये सबैभन्दा आकर्षक सेवा यही लाग्यो । मैले प्राप्त गर्ने सेवा यही नै थियो भन्ने सोचेर लागेको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षित भएको मान्नुहुन्छ ?
अहिलेको पुस्तालाई हेर्दा निष्पक्ष भएर बोल्नुपर्दा राम्रो विद्यालयमा पढेकाहरू आकर्षित छैनन् । ठूला र राम्रा विद्यालयमा पढ्ने विद्यार्थीहरू आकर्षित छैनन् । सामान्य र ग्रामीण क्षेत्रमा बसोबास गर्ने सामान्य परिवारका सदस्य भने आकर्षित नै छन् । हामीले खोजेको अझै क्रिएटिभ, इनोभेटिभ जनशक्तिलाई निजामती सेवाले आकर्षण गरेको छैन ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटोछिटो सरुवाले कार्यसम्पादनमा असर पर्छ भनेर निजामती सेवामा दुई वर्षको कार्यकाल पूरा गरेपछि मात्र सरुवा हुने व्यवस्था छ । दुर्गम जिल्लामा अलि कम अवधि छ । निजामती प्रशासन भनेको पुरानो प्रशासन हो यहाँका अभिलेखहरू महत्त्वपूर्ण हुन्छ । कुनै कार्यालयमा काम गर्दा त्यहाँको समुदायको बनोट कस्तो छ, त्यहाँका मानिस कस्तो धर्म संस्कृति मान्छन्, त्यहाँको परम्परा कस्तो छ, लगायत कुराले कार्यसम्पादनमा असर पार्छ । छिटो-छिटो सरुवाले स्थायित्व पनि हुँदैन, सुधारको कार्य थलानी गरे पूर्णता पाउँदैन । यसले कर्मचारीमा नकारात्मक असर पार्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेको कर्मचारी संयन्त्रले हो । जनप्रतिनिधिहरूले घोषणापत्रमा प्रतिबद्ध गरेको कुरा पनि कर्मचारीले नै कार्यान्वयन गर्ने हो । त्यही कारण कर्मचारी संयन्त्रलाई चुस्त-दुरुस्त, छिटो सहज, बलियो सुदृढ बनाउन सबै दल जुनसुकै सरकारले एकखालको वातावरण बनाउन आवश्यक छ जस्तो लाग्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारसँग कुराकानी गरेका थियौं । यसपटक प्रदेश १ को झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।
योसँगै प्रजिअसँग शम्भुको पहिलो सिजन नेपालखोजले यहीँ अन्त्य गरेको घोषणा पनि गर्दछ । हामी अब दोस्रो सिजन फरक विषयवस्तु र नयाँ तौरतरिकामा प्रस्तुत गर्ने पनि जानकारी गराउन चाहन्छौं । नेपालखोजले नियमित प्रस्तुत गर्दै आएको प्रजिअसँग शम्भुको यो स्तम्भप्रति देखाउनुभएको सकारात्मक सदाशयताप्रति हामी आभारसमेत व्यक्त गर्दछौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

सीता परियार, प्रजिअ, हुम्ला – ‘निजामती क्षेत्रमा रहेर काम गर्दा जुन आत्मसन्तुष्टि मिल्छ त्यो अन्त नमिल्न सक्छ’

वेदनिधि खनाल, प्रजिअ, सिन्धुपाल्चोक – ‘पूर्वानुमान नभएको सरुवा प्रणालीले निजामती सेवामा नकारात्मक असर परेको छ’

सुशील वैद्य, प्रजिअ, लमजुङ – ‘नागरिकले झन्झटबिनै छिटो-छरितो सेवा पाउनुपर्छ, यो उनीहरूको अधिकार हो’

इन्द्रदेव यादव, प्रजिअ, सुनसरी – ‘निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड हो’

नवराज सापकोटा, प्रजिअ, रोल्पा – ‘आएका सेवाग्राहीलाई ५ बज्यो भन्दैमा कार्यालयबाट फर्काउँदिनँ’

सूर्यबहादुर खत्री, प्रजिअ, बाँके – ‘बजारका दक्ष जनशक्तिलाई निजामती सेवाले आकर्षित गर्न सकेको छैन’

धर्मेन्द्रकुमार मिश्र, प्रजिअ, कपिलवस्तु – ‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया