मंगलबार, वैशाख १८, २०८१

सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

‘कामका दौरान मुद्दा नचलाइदे, अपराध गर्नेलाई छाडिदे, नागरिकता दिन नमिल्नेलाई पनि दे भन्ने दबाब कहिलेकाहीं आउँछन्’

नेपालखोज २०७८ भदौ १४ गते ९:५७

‘दबाब आए पनि कार्यविधिकै कारण कतिपय सेवाग्राहीको समस्या समाधान गर्न सकिँदैन’

प्रदेश २ को धनुषा जिल्लाको प्रशासनिक नेतृत्व अहिले लमजुङका बन्धुप्रसाद बास्तोलाको काँधमा छ । २०७७ मंसिर १४ गतेदेखि धनुषा जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बास्तोला कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ बास्तोलालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
बास्तोलाले निजामती सेवामा झन्डै १९ वर्ष बिताइसकेका छन् । धनुषाका प्रजिअ बास्तोला यसअघि जिल्ला प्रशासन कार्यालय डडेलधुरामा कार्यरत थिए ।

आफू निजामती सेवामा एकदमै सन्तुष्ट रहेको बताउने प्रजिअ बास्तोला कामका दौरान अलिअलि दबाब भने आउने गरेको बताउँछन् । सामान्य दबाब आए पनि आफूहरु नियम-कानुनकै परिधिमा रहेर काम गर्ने भएको हुँदा यसतर्फ खासै ध्यान नजाने उनी बताउँछन् । कस्ता-कस्ता विषयमा दबाब आउँछन् त ? भन्ने नेपालखोजको प्रश्नमा प्रजिअ बास्तोला भन्छन्, ‘कामका दौरान मुद्दा नचलाइदे, सामान्य अपराध गर्नेलाई छाडिदे, कतिपय नागरिकता दिन नमिल्नेलाई पनि दे भन्ने दबाब आउँछन् ।’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :

-पछिल्लो समय प्रदेश २ कोरोनाका लागि सुरक्षित छ । धनुषामा २२/२३ जना सक्रिय संक्रमित छन् । अस्पतालमा संक्रमित छैनन् । यस हिसाबले अहिले एकदमै राम्रो छ ।
-कोरोना संक्रमितको व्यवस्थापनका क्रममा एकपटक अक्सिजनको आपूर्तिमा एकदमै जटिलता भयो । सरकारी अस्पतालमा क्षमता बढाउन एकदमै चुनौती भयो । कोरोना संक्रमितको उपचारका लागि सरकारी डाक्टरहरुलाई तयार गर्न निकै चुनौती भयो ।
-धनुषमा करिब एक महिनाअगाडि कमला नदीले तटबन्ध भत्कायो । बाढीले करिब २ किलोमिटर २ ठाउँमा एक ठाउँमा ७ सय मिटर तटबन्धमा क्षति गर्‍यो ।
-सेवाग्राहीको समस्या समाधान गर्न मेरो तर्फबाट पूरा डेडिकेटेड भएर लागेको छु । तर पनि जनताको सबै समस्या समाधान गर्न सकिँदैन । धुनषाको सन्दर्भमा भन्नु पर्दा यहाँ मुद्दा मामिलाको संख्या निकै ठूलो छ । विभिन्न कारणले ती मुद्दाहरु फर्स्योट गर्न सकिएको छैन ।
-कतिपय सेवाग्राहीको समस्या कार्यविधिका कारण समाधान गर्न सकिँदैन । जस्तै यहाँ तराईमा नागरिकताको इस्यूहरु छन् । नियम कार्यविधिका कारण पाउनुपर्ने मानिसले नागरिकता नपाएको अवस्था छ ।
-कामका दौरान स्वभाविक रुपमा मुद्दा नचलाइदे भन्ने खालका, सामान्य अपराध गर्नेलाई छाडिदे, कतिपय नागरिकता दिन नमिल्नेलाई पनि दे भन्ने दबाब आउँछन् ।
-दबाब आए पनि दबाबकै कारण हामीले कसैले काम गर्दैनौं । यस्ता दबाबहरुलाई हामीले सामान्य रुपमा लिन्छौं ।
-म ७–८ कक्षामा पढ्थे । त्यतिबेला पञ्चायतको रजत जयन्ती थियो जस्तो लाग्छ मलाई । म पढेको स्कुलमा ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि भएर घोडा चढेर आउनुभएको थियो । त्यतिबेला ठूलो भएर प्रमुख जिल्ला अधिकारी बन्नुपर्छ भन्ने लागेको थियो ।
-पेसाप्रति म सन्तुष्ट छु । आफ्नो हिसाबले समयमा व्यक्तिविकास पनि भएकै छ । सरकारी सेवामा सबै अवसर मैले पाएकै छु ।
-पछिल्लो समय यहाँको शान्ति-सुरक्षाको अवस्था सन्तोषजनक छ । खुला बोर्डर भएका कारण अपराध गर्न खोज्नेहरुचाहिँ हुन्छन् नै । सुरक्षा निकायलगायतको योगदानले पछिल्लो समय यहाँको अवस्था ठीक छ ।
-अहिले धनुषामा दिनडाहडै चोरी डकैती गर्ने, अपराध गरेर पारि भाग्ने वारि आउने अवस्था छैन ।
-नेपालले प्रतिबन्ध गरेको केही लागुऔषधहरु पारि भारतका औषधि पसलमा वैधानिक रुपमा किनबेच हुने रहेछ । त्यही भएर यहाँ केही समस्या भएको छ ।

धनुषा जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
पछिल्लो समय प्रदेश २ कोरोनाको लागि सुरक्षित छ । धनुषामा २२/२३ जना सक्रिय संक्रमित छन् । अस्पतालमा कुनै कोरोना संक्रमित छैनन् । यस हिसाबले अहिले एकदमै राम्रो छ ।

जिल्लामा कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्नुभयो ?
त्यतिबेला मुख्य बोर्डर बन्द गर्‍यौं नेपाल सरकारले निर्देशनबमोजिम । त्यसपछि निषेधाज्ञा लगाएर गाडीदेखि मानिसको मुभमेन्टलाई एकदमै न्यून गरियो । गाउँ-गाउँमा ट्रेसिङको काम व्यापक बनाइयो । पोटेजिभ देखिएकाहरुलाई राख्न पालिकाहरुले आइसोलेसन गाउँगाउँमा बनाए । उपचारका लागि यहाँका सम्पूर्ण निजी अस्पताल, मेडिकल कलेज र सरकारी अस्पतालमा कोभिड वार्डको स्थापना गरियो ।

कोरोना संक्रमितको व्यवस्थापनका क्रममा कस्ता–कस्ता चुनौती आइलागे ?
एकपटक अक्सिजनको आपूर्तिमा एकदमै जटिलता भयो । अक्सिजनको माग एकदमै बढ्यो । सुरुमा सरकारी अस्पतालमा क्षमता बढाउन एकदमै चुनौती भयो । बिरामीको संख्या ह्वातै बढ्यो अस्पतालमा बेडको संख्या कम भयो । उपचारका लागि सरकारी डाक्टरहरुलाई तयार गर्न निकै चुनौती भयो । करारमा कर्मचारी राखेर बल्ल सेवाहरु अलिअलि सुरु भयो । स्थानीय तह पनि हामीले म्यानेज गरेपछि पछिल्लो समय अलि क्रियाशील भए । स्थानीय तहहरु पनि सुरुमा क्रियाशील हुन निकै जटिल भयो ।

धनुषा जिल्लामा बाढी-पहिरोको अवस्था कस्तो छ ?
करिब एक महिनाअगाडि कमला नदीले तटबन्ध भत्कायो । करिब २ किलोमिटर २ ठाउँमा एक ठाउँमा ७ सय मिटर । तटबन्ध पूरै नै क्षति गर्‍यो । बाढी गाउँमा पस्ने स्थिति भइसकेको थियो । आकस्मिक रुपमा गृह मन्त्रालय, ऊर्जा मन्त्रालय सबैले सहयोग गरेर रकम विनियोजन भएर आयो । सुरक्षा फौज परिचालन गरेर तटबन्धको पानी रोक्ने काम गरियो । तराईमा अलिअलि घरमा पानी जम्ने, पस्ने त हुन्छ । यो सामान्य हो । मानवीय क्षतिचाहिँ यो वर्ष भएको छैन ।

-सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मेरा तर्फबाट म पूरा डेडिकेटेड भएर लागेको छु । तर पनि जनताको सबै समस्या समाधान गर्न सकिँदैन । धनुषाको सन्दर्भमा भन्नु पर्दा यहाँ मुद्दा-मामिलाको संख्या निकै ठूलो छ । धेरै वर्ष पुराना मुद्दा पनि छन् । विभिन्न कारणले ती मुद्दा फर्स्योट गर्न सकिएको छैन । कार्यविधिका कारण कतिपय काम गर्न सकिँदैन । जस्तै यहाँ तराईमा नागरिकताका इस्यूहरु छन् । नियम-कार्यविधिका कारण पाउनुपर्ने मानिसले पनि नागरिकता नपाएको अवस्था छ । त्यसकारण पनि सबैलाई सन्तुष्ट बनाउन सकिँदैन ।

कतिपय सेवाग्राहीको समस्या कार्यविधिले समाधान गर्न सकिँदैन । जस्तै यहाँ तराईमा नागरिकताको इस्यूहरु छन् । नियम कार्यविधिको कारण पाउनुपर्ने मानिसले पनि नागरिकता नपाएको अवस्था छ ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
आफूलाई समस्या परेपछि मानिस स्वभाविक रुपमा चिनेको मान्छेकोमा पुग्छ । स्वभाविक रुपमा मुद्दा नचलाइदे भन्ने खालका, सामान्य अपराध गर्नेलाई छाडिदे, कतिपय नागरिकता दिन नमिल्नेलाई पनि दे भन्ने दबाब आउँछन् ।

दबाबै कारण काम गरिदिएर पछुतो भएको छ ?
दबाब आए पनि दबाबकै कारण हामीले काम गर्दैनौं । यस्ता दबाबहरुलाई हामीले सामान्य रुपमा लिन्छौं । त्यसरी पछुतो हुने गरी काम गरेको त छैन ।

निजामती सेवामा कार्यसम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
कोही एउटा सेवाग्राही वा व्यक्तिको त सम्झना भएन । रोकिएका कामहरु गरिरहेका हुन्छौं । विभिन्न कारणले रोकिएका विकास निर्माणका कामहरु सल्टाइएको छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म ७-८ कक्षामा पढ्थें । त्यतिबेला पञ्चायतको रजत जयन्ती थियो जस्तो लाग्छ मलाई । म पढेको स्कुलमा ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि भएर घोडा चढेर आउनुभएको थियो । स्वागतका लागि ठूलो तयारी थियो । त्यतिबेला ठूलो भएर प्रमुख जिल्ला अधिकारी बन्नुपर्छ भन्ने लागेको थियो । सानैदेखि यही मानसिकता बस्यो सोही कारण यता प्रवेश गरियो ।

नेपालले प्रतिबन्ध गरेका केही लागुऔषधहरु पारि भारतका औषधि पसलमा वैधानिक रुपमा किनबेच हुने रहेछ । त्यही भएर यहाँ केही समस्या भएको छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । आफ्नो हिसाबले समय-समयमा वृत्तिविकास पनि भएकै छ । सरकारी सेवामा धेरै अवसर पाएकै छु । विभिन्न मन्त्रालयमा काम गर्ने अवसर मिलेकै छ । सबै आफूले भनेको जस्तो नभए पनि म सन्तुष्ट छु ।

धनुषा जिल्लाको शान्ति-सुरक्षाको अवस्था अहिले कस्तो छ ?
पछिल्लो समय यहाँको शान्ति-सुरक्षाको अवस्था सन्तोषजनक छ । खुला बोर्डर भएका कारण अपराध गर्न खोज्नेहरुचाहिँ हुन्छन् नै । सुरक्षा निकायलगायत सबैको योगदानले पछिल्लो समय यहाँको अवस्था ठीक छ । दिनदहाडै चोरी-डकैती गर्ने, अपराध गरेर पारि भाग्ने वारि आउनेचाहिँ भएको छैन ।

खुला सीमाबाट लागुऔषध ओसारपसारको अवस्था कस्तो छ नि ?
बोर्डरछेउ भारतका औषधि पसलहरुमा नेपालले प्रतिबन्ध गरेका केही लागुऔषधहरु वैधानिक रुपमा किनबेच हुने रहेछ । त्यही भएर यहाँ केही समस्या भएको छ । अस्ति भर्खर नेपाल प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । पहाड तिरबाट गाँजा संकलन गरेर सीमा पारि लाने उद्देश्य हुन सक्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंहरुले विभिन्न निकायमा भएका कमी-कमजोरी, समस्याहरु उजागर गरेर हामीलाई थाहा पाउने वातावरण बनाएकामा धन्यवाद दिन चाहन्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि कर्णाली प्रदेशको सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडासँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश २ को धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

प्रतिक्रिया