शुक्रबार, वैशाख १४, २०८१

‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

नेपालखोज २०७८ भदौ २१ गते १०:०२

म सेवाग्राही लाइनमा बसेकै ठाउँमा पुग्छु । वृद्धहरू, बच्चा बोकेर आएका छन् भने उहाँहरूको काम कसरी छिटै सकिन्छ भनेर सक्रिय हुन्छु । बेलाबेला आवश्यक निर्देशन पनि दिन्छु ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी । बैतडीको प्रशासनिक नेतृत्व अहिले तनहुँका राजेन्द्रदेव पाण्डेको काँधमा छ । २०७८ वैशाख १७ देखि बैतडी जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पाण्डे कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्थालगायत विषयमा प्रजिअ पाण्डेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।पाण्डेले निजामती सेवामा ३० वर्ष बिताइसकेका छन् । बैतडीका प्रजिअ पाण्डे यसअघि तनहुँको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । कार्यालयको काममा केही बाधा भएको छ या कुनै सेवाग्राहीले दुःख पाएका छन् कि भन्दै आफू बेलाबेला विभिन्न फाँटमा पुग्ने गरेको उनी बताउँछन् । उनले वृद्ध र बच्चा बोकेर आएका सेवाग्राहीलाई प्राथमिकता दिएर कार्यसम्पादन गर्न निर्देशन दिएको पनि नेपालखोजसँगको कुराकानीमा बताए । ‘म बेलाबेलामा केही काम रोकिएको छ कि भनेर फाँट–फाँटमा पुग्ने पनि गर्छु । सेवाग्राही लाइनमा बसेकै ठाउँमा पुग्छु,’ प्रजिअ पाण्डेले भने, ‘वृद्धहरू, बच्चा बोकेर आएका छन् भने उहाँहरूको काम कसरी छिटै सकिन्छ भनेर सक्रिय हुन्छु । बेलाबेला आवश्यक निर्देशन पनि दिन्छु ।’

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्सः
–बैतडीमा कोभिड अहिले न्यूनीकरण भएको अवस्था छ । अहिले २५–२६ जना मात्र सक्रिय संक्रमित हुनुहुन्छ । अहिले संक्रमणदर निकै कम छ ।
–दोस्रो लहरको सुरुवाततिर जिल्लामा १७/१८ सय संक्रमित थिए । हामीले उहाँहरूलाई सकेसम्म सुरक्षित संस्थागत आइसोलेसन र सम्भव भएकालाई होम-आइसोलेसन राखेर निगरानीको व्यवस्था मिलायौं । अक्सिजन आवश्यक पर्ने बिरामीलाई अस्पताल पनि लग्यौं ।
–कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजन अभाव हुँदा नेपालगन्ज, विराटनगर पुगेर पनि अक्सिजनको व्यवस्थापन गरियो ।
–बैतडी पहाडी जिल्ला भए पनि बाढीले त्यस्तो असर गरेको छैन । कहीँकहीँ पहिरो जाने, बाटो अवरुद्ध हुनेबाहेक त्यस्तो भौतिक क्षति हुने गरी बैतडी जिल्लामा बाढी–पहिरोको असर परेको छैन ।
–जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही विभिन्न प्रकारका हुन्छन् । कहिलेकाहीँ हुँदै नहुने काम पनि विभिन्न ढंगबाट प्रभाव पार्ने, भनसुन गर्ने पनि हुन्छन् ।
–तपाईं–हामी सबैले भन्दै आएका छौं नि । आफ्नो मान्छे नभए त काम नै नहुने । तर म जहाँ जुन कार्यालयमा बसें ती ठाउँमा यस्ता समास्या भएनन् ।
–म बेलाबेलामा केही काम रोकिएको छ कि भनेर फाँट–फाँटमा पुग्ने पनि गर्छु । सेवाग्राही लाइनमा बसेकै ठाउँमा पुग्छु । वृद्धहरू, बच्चा बोकेर आएका छन् भने उहाँहरूको काम कसरी छिटै सकिन्छ भनेर सक्रिय हुन्छु । बेलाबेला आवश्यक निर्देशन पनि दिन्छु ।
–सेवाग्राहीहरू सेवा लिन सदरमुकाम पुग्नुहुन्छ । हामीले गर्ने काम ढिला भयो भने सदरमुकाममा सेवाग्राही बास बस्नैपर्ने हुन्छ । त्यसो हुँदा उहाँहरूलाई सेवाको मूल्य पनि महँगो पर्छ ।
–सेवाग्राहीले लिएर आउन छुटेको कागज सामान्य छ त्यसले ठूलो असर पार्दैन भने हामी काम गर्छौं । जस्तै नागरिकता लिन टाढाको हजुरबुबा हजुरआमा आउनुभयो उहाँ नेपाली नागरिक हो भन्ने हामीलाई थाहा छ । तर समान्य कागज पुगेन भने पनि हामी नागरिकता दिन्छौं ।
–बैतडीमा मात्र होइन देशभर नै आफ्नो प्रक्रिया नपुर्‍याउने, कानुनले भनेको नपुर्‍याउने अनि सेवा चाहियो भन्ने खालका हुन्छन् । हामीलाई आउने दबाब प्रक्रिया नपुगेका, काम गर्नु नपर्ने, गर्दा सरकारी हानि-नोक्सानी पनि हुने यस्ता दबाब आउँछन् ।
–म गाउँको मध्यमवर्गीय परिवारको मान्छे । त्यसबेला अन्य ठाउँमा जागिर खान भनसुन चल्थ्यो । तर लोकसेवा आयोगमा मिहिनेत गरेपछि नाम निस्कन्छ भन्ने थियो । त्यहीअनुसार यता लागियो ।
–निजामती सेवामा आएर नेपालको विभिन्न ठाउँमा पुग्ने अवसर पाएँ, बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने अनुभव पनि यही क्षेत्रमा आएको कारणले पाएकाले म पेसाप्रति पूर्ण सन्तुष्ट छु ।
–बैतडी जिल्लामा खासै त्यस्तो कुनै समस्या छैन । समग्रमा यहाँको शान्ति सुरक्षाको अवस्था सामान्य छ ।


बैतडी जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
कोभिड अहिले न्यूनीकरण भएको अवस्था छ । अहिले २५/२६ जना सक्रिय संक्रमित हुनुहुन्छ । अहिले संक्रमणदर निकै कम छ ।

जिल्लामा कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्नुभयो ?
दोस्रो लहरको सुरुवाततिर जिल्लामा १७/१८ सय संक्रमित थिए । हामीले उहाँहरूलाई सकेसम्म सुरक्षित संस्थागत आइसोलेसन र सम्भव भएकालाई होम–आइसोलेसन राखेर निगरानी गर्यौं । अक्सिजन आवश्यक पर्ने बिरामीलाई अस्पताल पनि लग्यौं । अक्सिजनको अभाव भएका बेला नेपालगन्ज, विराटनगर पुगेर अक्सिजन ल्याएर व्यवस्थापन गरियो ।

बैतडी जिल्लामा बाढी–पहिरोको अवस्था कस्तो छ ?
बैतडी जिल्ला पहाडी जिल्ला भए पनि बाढीले त्यस्तो असर गर्दैन । खोलाको छेउछेउमा बस्ती छैन । बाटो निर्माण भौतिक पूर्वाधार निर्माण बाटो खनेका कारणले कहीँकहीँ पहिरो जाने बाटो अवरुद्ध हुनेबाहेक त्यस्तो भौतिक क्षति हुने गरी बैतडी जिल्लामा असर परेको छैन ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
हामीसँग आउने सेवाग्राही विभिन्न प्रकारका हुन्छन् । हुँदै नहुने काम पनि विभिन्न ढंगबाट प्रभाव पार्ने, भनसुन गर्ने पनि हुन्छन् । उहाँहरूको कुरा हामी सम्बोधन गर्न सक्दैनौं । अहिले तपाईं हामी सबैले भन्दै आएका छौं नि । आफ्नो मान्छे नभए त काम नै नहुने । कसैले नभनिदिए त सुनुवाइ नै हुने भन्ने ढंगका कुरा छन् । तर म जहाँ जुन कार्यालयमा बसें ती ठाउँमा यस्ता समस्या भएन । म बेलाबेलामा केही रोकिएको छ कि भनेर फाँट–फाँटमा पुग्ने पनि गर्छु । सेवाग्राही लाइनमा बसेको ठाउँमा पुग्छु । वृद्धहरू, बच्चा बोकेर आएका छन् भने उहाँहरूको काम कसरी छिटै सकिन्छ भनेर काममा तल्लिन हुन्छु । उहाँहरू सेवा लिन सदरमुकाम पुग्नुहुन्छ । ढिला भयो भने सदरमुकाममा रात बस्नुपर्ने हुन्छ त्यसो हुँदा सेवाको कस्ट (मूल्य) महँगो पर्छ ।

कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
सेवाग्राहीले लिएर आउन छुटेको कागज सामान्य छ, त्यसले ठूलो असर पार्दैन भने हामी काम गर्छौं । जस्तै नागरिकता लिन टाढाको हजुरबुबा–हजुरआमा आउनुभयो उहाँ नेपाली नागरिक हो भन्ने हामीलाई थाहा छ । तर समान्य कागज पुगेन भने पनि हामी नागरिकता दिन्छौं । बैतडीमा मात्र होइन देशभर नै आफ्नो प्रक्रिया नपुर्‍याउने, कानुनले भनेको नपुर्‍याउने तैपनि सेवा लिने खालका हुन्छन् । हामीलाई आउने दबाब प्रक्रिया नपुगेका, काम गर्नु नपर्ने, गर्दा सरकारी हानि–नोक्सानी पनि हुने यस्ता दबाब आउँछन् ।

दबाबै कारण काम गरिदिएर पछुतो भएको छ ?
छैन । मेरो जागिरको ३० वर्षको दौरानमा आफूले कार्यसम्पादन गरेर पछुतो लागेको कुनै घटना छैन । दबाबमा काम गरेको छैन । दबाबमा काम गर्दा पनि गरिँदैन ।

कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा सम्पन्न गरिदिएको कुनै काम अथवा घटना छ कि ?
म धेरैजसो स्थानीय विकास अधिकारी भएर काम गरें । यसमा विकास निर्माणकै काम हुन्थे रोकिएको काम खासै हुने थिएन । म बैतडी जिल्लामा प्रजिअ भएको आएको झन्डै ५/६ महिना भयो त्यस्तो किसिमका रोकिएका काम मैले भेटेको छैन ।

लामो समयदेखि रोकिएको कार्य तपाईंमार्फत भएपछि सेवाग्राही एकदमै खुसी भएको कुनै घटना छ ?
यो नागरिकताको विषयमा हुन्छ । यहाँ आइपुग्न गाडीमा एक दिन लाग्ने, हिँडेर दुई दिन लाग्ने ठाउँबाट आउनुभएको थियो सेवाग्राही । सामान्य कागज पनि पुगेको थिएन त्यसले कुनै महत्त्व राख्दैन थियो । हामीले नागरिकता दिएर पठायौं उहाँहरू खुसी भएर जानुभयो । यस्तो घटनाहरू त छन् नि ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही विभिन्न प्रकारका हुन्छन् । कहिलेकाहीँ हुँदै नहुने काम पनि विभिन्न ढंगबाट प्रभाव पार्ने, भनसुन गर्ने पनि हुन्छन् ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
हामी गाउँतिरको मध्यमावर्गीय परिवारको मान्छे । त्यसबेला अन्य ठाउँमा जागिर खान भनसुन चल्ने हुन्थ्यो । लोकसेवा आयोगमा मिहिनेत गरेपछि नाम निस्कन्छ भन्ने थियो । त्यही अनुसार यता लागियो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आफूले गरेको भन्दा अरूको पेसामा रमाउने प्रवृत्ति छ मान्छेको । म आफू यो पेसा रोजेर यो ठाउँसम्म आइपुगेको छु । निजामती सेवामा आएर नेपालको विभिन्न ठाउँमा पुग्ने अवसर पाएँ, बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने अनुभव यही क्षेत्रमा आएको कारणले पाएकाले म यसप्रति सन्तुष्ट छु । साथै राष्ट्रको सेवा गर्न पाएको हुँदा पनि निकै सन्तुष्ट छु ।

बैतडी जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
बैतडी जिल्लामा खासै त्यस्तो कुनै समस्या छैन । यहाँ छिटफुटबाहेक त्यस्तो कुनै घटना भएको छैन । शान्ति सुरक्षाको अवस्था ठीक छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंले समय र अवसर दिनुभयो धेरैधेरै धन्यवाद । हाम्रो आफूले गर्ने काममा वास्ता नगर्ने, अरूले गरेको काममा चियोचर्चा गर्ने बानी छ । त्यो छाडेर आफ्नो जिम्मेवार र कर्तव्यमा ध्यान दिन जरुरी छ । त्यसतर्फ नै सबैको ध्यान जान आवश्यक छ भन्न चाहन्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश २ को धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

प्रतिक्रिया