शनिबार, वैशाख १३, २०८२

‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’

हामी त सरकारले खटाएको ठाउँमा जाने अनि काम गर्ने हो । सरुवालाई त हामीले वृत्ति-विकासकै रूपमा लिन्छौं ।

नेपालखोज २०७८ असोज ४ गते ९:५५

तराई तथा भारतसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको जिल्ला बर्दिया । बर्दियाको प्रशासनिक नेतृत्व अहिले दैलेखका सन्तबहादुर सुनारको काँधमा छ । २०७७ फागुन १९ गतेदेखि बर्दिया जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनार कुशल प्रशासकका रूपमा परिचित छन् । संविधान दिवसका अवसरमा हिजो (आइतबार) मात्र सुप्रबल जनसेवा श्री पाउने व्यक्तिका रूपमा प्रजिअ सुनार पनि परेका छन् ।
जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ सुनारलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा ३० वर्षभन्दा बढी समय बिताइसकेका छन् । बर्दियाका प्रजिअ सुनार यसअघि आफ्नै गृहजिल्ला दैलेखको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
सरुवालाई उनले सरकारको नीतिगत कुरा रहेको बताउँछन् । नेपालखोजसँगको कुराकानीमा सरुवाले निजामती कर्मचारीहरूको वृत्ति विकासमा मद्दत पुर्‍याउने उनको बुझाइ छ । ‘निजामती सेवामा सरुवा सरकारको नीतिगत कुरा हो । हामी त सरकारले खटाएको ठाउँमा जाने अनि काम गर्ने हो,’ उनले भने, ‘हामी सरुवालाई त वृत्ति-विकासकै रूपमा लिन्छौं ।’ बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :
-बर्दियामा कोभिड संक्रमणको अवस्था घट्दो क्रममा छ । केही समयअघि आक्रमक रूपमा फैलिएको थियो अहिले भने नियन्त्रणमा छ ।
-कतै समाधान नभएका, विभिन्न संघ-संस्थाका समस्या लिएर आउने ठाउँ जिल्ला प्रशासन कार्यालय नै हो । त्यसैले सहयोग, वास्ता नगरिएको अवस्था कतै देखिए त्यसलाई उजागर गर्ने काम गरिन्छ । समाधान गरिन्छ ।
-कामका दौरान कानुनमा व्यवस्था नभएका तर गर्नै पर्छ भन्नेखालका दबाब यदाकदा आउँछन् ।
-जन्मका आधारमा नागरिकता लिनेहरूको बच्चाको नागरिकता संविधानअनुसार वंशजको आधार लिने व्यवस्था छ । तर नागरिकता ऐनमा यो व्यवस्था लागु गरिएको छैन । यस्तोमा सेवा पाउनुपर्‍यो भन्ने दबाब पनि आउँछन् ।
-मैले जागिर खाने समयमा दैलेखमा हाइस्कुल पास गरेपछि कृषि पढेको छ भने जेटीए, शिक्षा पढेको छ भने शिक्षक हुने थियो । मैले शिक्षा पढेको अलि समय शिक्षक पनि बनें । शिक्षकमा स्थायी खुलेन मलाई हेडसरले स्थायी खुलेन तिमीहरू अलि माथि जानसक्ने केटाहरू लोकसेवातर्फ लाग्नू भन्नुभयो । त्यसैले लोकसेवाको तयारीतिर लागियो । मुखिया, खरिदार हुँदै सह-सचिवसम्म आइयो ।
-हाम्रो समयमा लोकसेवाका पुस्तकहरू पाउन एकदमै मुस्किल थियो । पत्रिका पनि सात दिनमा पुग्थ्यो । पुराना पत्रिका खोजेर पढ्ने, रेडियो हामी ध्यान दिएर सुन्ने गर्थ्यौं । त्यतिबेला हाम्रो गुरु भनेकै रेडियो थियो ।
-रेडियोका सबै कार्यक्रम सुन्ने, कहाँ के भइरहेछ देश-विदेशमा के भइरहेको छ सुन्ने गर्थ्यौं । त्यसले गर्दा जनरल नलेज अपडेट भइरह्यो । हामी एकेडेमिक अवस्था उत्कृट नभए पनि ठीकै थियौं ।
-निजामती सेवामा सरुवा सरकारको नीतिगत कुरा हो । हामी त सरकारले खटाएको ठाउँमा जाने अनि काम गर्ने हो । हामी सरुवालाई त वृत्ति-विकासकै रूपमा लिन्छौं ।
-सरकारका जुनसुकै ठाउँमा हामी गएर काम गर्नुपर्छ, सबै उत्तिकै महत्त्वका छन् । गत वर्र्ष मेरो एक वर्षमा ६ ठाउँ सरुवा भएको थियो । २ वर्षमा ७ ठाउँ सरुवा भयो । त्यसलाई मैले वृत्तिविकासकै रूपमा लिएँ । खुसी साथ खटाएको ठाउँमा गएर काम गरें । दुई वर्षमा त्यति ठाउँको अनुभव लिन पाएँ भने त ‘आई एम लक्की नि’ होइन र ?
-निजामती कर्मचारीको बढुवा त हुनुपर्छ । किनभने कर्मचारीहरूको अरू कतै ठाउँ छैन । उनीहरू राज्यसँग सम्झौता गरेर सेवा प्रवेश गरेका हुन्छन् । उनीहरूको मिसन लक्ष्य यही दायरा भित्र मात्र छ ।
-बढुवाका लागि कर्मचारी चिन्तित भइरहनु भएन । मैले यो काम गरें भने, यति अवधि काम गरें भने, यो दायित्व पूरा गरें भने म यो पदमा पुग्छु भनेर सुनिश्चित हुनुपर्छ । बढुवा कर्मचारीका लागि ठूलो मनोबल हो, ठूलो प्रेरणाको स्रोत हो ।
-संघीयताअघि र पछिमा निजामती सेवामा काम गर्ने शैलीमा परिवर्तन आएको छैन ।

बर्दिया जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
बर्दियामा कोभिड संक्रमणको अवस्था घट्दो क्रममा छ । नियन्त्रणमा छ । केही समयअघि आक्रमक रूपमा फैलिएको थियो अहिले नियन्त्रणमा छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
हामीले भन्नुभन्दा पनि देखिने कुरा हो यो । आफ्नो तर्फबाट समस्या समाधान गर्न पहल गरिन्छ । धेरै समस्याको समाधान गरिन्छ । गर्न सकिने सबै काम गरिन्छ ।

निजामती सेवामा कार्यसम्पादनका दौरान कुनै सेवाग्राहीको काम लामो समयदेखि नसुल्झिएर रहेको जसलाई तपाईंकै पहलमा निकास निकाल्ने गरी गरिदिएको कुनै काम अथवा घटना छ कि ?
त्यस्ता घटनाहरू धेरै छन् । हामीकहाँ आउने समस्याहरू हुन् । जटिल समस्याहरू प्रमुख जिल्ला अधिकारीसँग आउने हो । कतै समाधान नभएका, विभिन्न संघ-संस्थाका समस्या र कतै समाधान नभएका समस्या लिएर आउने ठाउँ यहाँ हो । त्यसैले कुनै प्रक्रियागत रूपमा छन् । कुनै को-अर्डिनेसनको कमी छ । कहीँ सहयोग नगरिएको अवस्था छ । कहीँ वास्ता नगरिएको अवस्था छ भने त्यसलाई उजागर गर्ने काम गरिन्छ । समाधान गरिन्छ । त्यस्ता कुरा धेरै छन् । प्रक्रिया नै नमिलेको आधारै नभएको समस्या लिएर आएपछि समाधान गर्न सकिँदैन ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको जो अझै स्मरणीय लाग्ने कुनै घटना छ कि ?
यस्ता घटना धेरै छन् । स्मरण कतिजनाको गर्नु । म दैलेखमा सीडीओ हुँदा एउटा सुत्केरीलाई बोकेर आफन्तजन अस्पताल लैजान हिँडिरहेका थिए । ती महिलाले शिशुलाई पूर्ण रूपमा जन्माउन नसकेको । हात बाहिर निस्किएको रहेछ । स्वास्थ्य चौकी आउन चार घण्टा लाग्ने रहेछ । बिरामी बोकिरहेका एक मान्छेले सीडीओले उद्धार गर्नुहुन्छ कि भनेर मलाई फोन गर्नुभयो । उहाँले फोन गर्दा म अरू काममै व्यस्त थिएँ । उहाँहरूले अवस्थाबारे बताउनुभयो । मैले तपाईंहरू कहाँ हुनुहुन्छ हेलिकोप्टर बस्ने ठाउँमा बिरामीलाई राख्नुहोस् भनें । उहाँहरूले हेलिकोप्टर बस्न मिल्ने ठाउँसम्म पुग्न अझै एक घण्टा टाढाको दूरीमा रहेको बताउनुभयो । मैले पनि त्यहीँ ल्याएर राख्नू भनें । हेलिकोप्टरका लागि पहल गरेँ । संयोगले सुर्खेतको सभामुख (कर्णाली प्रदेशसभाका सभामुख) त्यही हुनुहुँदो रहेछ । उहाँलाई आधी बाटोसम्म बिरामीको उद्धार गर्न गाडी पठाउन भनें । उहाँले पठाइदिनुभयो । ६ बजे हेलिकोप्टर पुगेर बिरामीको उद्धार भयो । मैले फलोअप गरिरहेको थिएँ । सुर्खेत विमानस्थलमा एम्बुलेन्स तयारी राख्न लगाएको थिएँ । महिलाको उद्धार भयो । बच्चा र आमा सकुशल भए । यस्ता धेरै घटना छन् । जसबाट आत्मसन्तुष्ट प्राप्त हुन्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
कानुनमा व्यवस्था नभएका तर गर्नै पर्छ भन्ने दबाब पनि आउँछन् । जस्तो नागरिकताको कुुरा गर्दा जन्मका आधारमा नागरिकता लिनेहरूको । बच्चाको पनि नागरिकता लिने बेला भयो । संविधानअनुसार उनीहरूले वंशजका आधार नागरिकता लिने व्यवस्था छ । नागरिकता ऐनमा यो व्यवस्था छैन । यस्तोमा दिनुपर्‍यो, पाउनुपर्‍यो भन्ने कुराहरू आउँछन् । हामी कानुन आएको छैन आएपछि दिन्छौं भन्छौं । हामीलाई अप्ठ्यारो पनि लाग्छ, दुःख पनि लाग्छ । उसले काहीँकतै अवसर पाउँथ्यो, अघि बढ्ने मौका पाउँथ्यो । उसको अवसर त रोकिएको छ नि । हामी कानुनको अधिनमा रहनुपर्छ । कानुन नमानेर व्यवहारिक हुन मिल्दैन । कतिपय कुरामा- कानुन मिलेको हुन्छ, सबै कुरा हुन्छ प्रक्रियामा नभएर एकदम छिटो गरिदिनुपर्‍यो, अहिले नै चाहियो । भर्खरै चाहियो भन्ने कुरा आउँछ । प्रक्रियामा जाँदा कुनै कुराले समय लिन्छ । प्रक्रियामा जाँदा सेवाग्राहीले झन्झट गराए भन्ने सोच्नुहुन्छ । गुनासो गर्नुहुन्छ । तर कानुनभन्दा बाहिरको दबाब स्वीकार्य हुँदैन नि ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
दैलेखमा त्यतिबेला हाइस्कुल पास गरेपछि कृषि पढेको छ भने जेटीए, शिक्षा पढेको छ भने शिक्षक हुने थियो । हामी व्यावसायिक विद्यालयमा पढेका हौं । मैले शिक्षा पढेको अलि समय शिक्षक पनि बनें । शिक्षकमा स्थायी खुलेन मलाई हेडसरले स्थायी खुलेन तिमीहरू अलि माथि जानसक्ने केटाहरू लोकसेवातर्फ लाग्न भन्नुभयो । साथीहरू पनि खरिदार, सुब्बा भएको देखियो । गुरुले नै यसो भनेपछि अब लाग्नुपर्‍यो । त्यसैले लोकसेवाको तयारीतिर लागियो । पढाइलाई अघि बढाउने करिअर यतै बनाउन लागियो मुखिया, खरिदार हुँदै सह-सचिवसम्म आइयो ।

तपाईंहरूले निजामती सेवा प्रवेशका क्रममा आफूले पढ्नुपर्ने सन्दर्भ सामग्री कसरी जुटाउनुहुन्थ्यो । उपलब्धता कस्तो थियो ?
हाम्रो पालामा लोकसेवाका पुस्तकहरू पाउन एकदमै मुस्किल थियो । पत्रिका पनि सात दिनमा पुग्थ्यो । पुराना पत्रिका पनि खोजेर पढ्ने र रेडियोलाई हामी ध्यान दिएर सुन्ने गर्थ्यौं । त्यतिबेला हाम्रो गुरु भनेको रेडियो नै थियो । रेडियोका सबै कार्यक्रम सुन्ने, कहाँ के भइरहेछ देश-विदेशमा के भइरहेको छ सुन्ने गर्थ्यौं । त्यसले गर्दा सामान्य ज्ञान (जनरल नलेज) अपडेट भइरह्यो । एकेडेमिक अवस्था उत्कृट नभए पनि ठीकै थियो । हिसाब, निबन्धहरू जान्नुपर्ने कुरामा हामी अपडेट थियौं । अफिसतिर गएर फ्याल्न लागेका, जलाउन लागेका पत्रिका घरमा ल्याएर पढ्ने गर्थ्यौं । यसबाटै अपडेट हुन्थ्यौं । गाइड सामान्य ज्ञानहरू भने विरलै हुन्थे ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ?
यो सरकारको नीतिगत कुरा हो । यो विषयमा मैले के भन्न सक्छु र ? हामी त सरकारले खटाएको ठाउँमा जाने काम गर्ने हो । हामी सरुवालाई त वृत्ति-विकासकै रूपमा लिन्छौं । मेरो माग फलानो ठाउँमा भयो भने म त्यहाँ गएर सेवा गर्नुपर्छ । सरकारका जुनसुकै ठाउँमा हामी गएर काम गर्नुपर्छ, सबै उत्तिकै महत्त्वका छन् । चाहे कृषि क्षेत्र, उद्योग, प्रशासनिक क्षेत्रलगायत सबै क्षेत्र हामी निजामती कर्मचारीले नै सम्हाल्नुपर्छ भन्ने ठान्छौं । चाँडोचाँडो सरुवालाई हामी सरकारको आवश्यकता सम्झन्छौं । गत वर्र्ष मेरो एक वर्षमा ६ ठाउँ सरुवा भएको थियो । दुई वर्षमा सात ठाउँ सरुवा भयो । त्यसलाई मैले वृत्ति-विकासकै रूपमा लिएँ । खुसी साथ खटाएको ठाउँमा गएर काम गरें । दुई वर्षमा त्यति ठाउँको अनुभव लिन पाएँ भने त ‘आई एम लक्की नि’ होइन र ?

अनि बढुवाको अवस्था कस्तो छ नि ?
बढुवा त हुनुपर्छ । किनभने कर्मचारीहरूको अरू कतै ठाउँ छैन । उनीहरू राज्यसँग सम्झौता गरेर सेवा प्रवेश गरेका हुन्छन् । उनीहरूको मिसन लक्ष्य यही दायराभित्र मात्रै छ । त्यसैले सेवा गरेपछि उसका जानुपर्ने स्टेपहरू निश्चित समयमा व्यवस्थित हुनुपर्छ । बढुवाका लागि कर्मचारी चिन्तित भइरहनु भएन । मैले यो काम गरें भने, यति अवधि काम गरें भने, यो दायित्व पूरा गरें भने म यो पोस्टमा पुग्छु भनेर सुनिश्चित हुनुपर्छ । बढुवा कर्मचारीका लागि ठूलो मनोबल हो, ठूलो प्रेरणाको स्रोत हो ।

संघीयताअघि र संघीयतापछि निजामती सेवाको कार्यसम्पादन शैलीलाई कसरी लिन सकिन्छ ? अर्थात् काम गर्न सहज/गाह्रो कस्तो छ ?
संघीयताअघि र पछिमा निजामती सेवाको काम गर्ने शैलीको मूल सारमा परिवर्तन केही आएको छैन । हामी ऐन-नियम कानुन निर्देशिका मापदण्डबमोजिम काम गर्ने हो । सरकारले काम गर्न चाहिने साधन, काम गर्ने वस्तु, काम गर्ने मेसिन जे भने पनि कमचारीतन्त्र नै हो । राजनीतक रूपमा जसरी संघीयता आयो । त्यसरी प्रशासनिक रूपमा संघीयतालाई दह्रो रुपमा उपस्थित गराउन सकिरहेको अवस्था छैन । प्रशासनिक संघीयता चुस्त-दुरुस्त र व्यवस्थित रूपमा हुन जरुरी छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै उत्साहित छु । विश्वस्त छु । निजामती सेवामार्फत जनाताको सेवा गर्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठान्छु ।

बर्दिया जिल्लाको शान्ति-सुरक्षाको अवस्था अहिले कस्तो छ ?
यहाँ लागुऔषध तस्करको हब बनाउन, तस्करको बाटो बनाउन विभिन्न गतिविधिहरू हुन्छन् । हामी चुनौतीलाई समाना गर्छौं र त्यो हुन दिएको छैनौं । हामी उनीहरूको प्रयास विफल बनाउन अहोरात्र खटिरहन्छौं । हामी भय हुन दिँदैनौं । जिल्लाको शान्ति-सुरक्षा नियन्त्रणमै रहेको अवस्था छ । सन्तोषजनक छ । सबै कुरा हाम्रो नियन्त्रणभित्रै छ, निर्देशनभित्रै छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
नेपालखोजमार्फत मलाई खोजीखोजी केही कुरा भन्न आमन्त्रण गर्नुभयो धन्यवाद दिन चाहन्छु । संविधानको धारा ४८ मा हामीलाई पालना गर्न कर्तव्य दिएको छ । त्यसैले हरेक नागरिकहरूले हाम्रो राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षण र संवद्र्धन गर्न सबै लागिपर्नुपर्छ ।

‘निजामती सेवामा सरुवा सरकारको नीतिगत कुरा हो’

राष्ट्रलाई परेका बेला सबै नागरिकले सेवा दिन तत्पर हुन्छु भन्ने भावना हुनुपर्छ । संविधानको पालना गर्नुपर्छ । हामी राष्ट्रप्रति बफादार इमानदार भयौं भने, व्यावसायिक र सिर्जनशील भयौं भने हिजोको भन्दा आज, आजको भन्दा भोलि उन्नत समुन्नत बनाउँछौं । राष्ट्रले लिएको लक्ष्य हासिल गर्न सक्छौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि कर्णाली प्रदेशको कालीकोट जिल्लाका प्रजिअ कृष्णप्रसाद आचार्यसँग कुराकानी गरेका थियौं । यसपटक हामीले लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

कृष्णप्रसाद आचार्य, प्रजिअ, कालीकोट – ‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

राजेन्द्रदेव पाण्डे, प्रजिअ, बैतडी ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

प्रतिक्रिया