शनिबार, वैशाख १५, २०८१

‘निजामती सेवा फराकिलो क्षेत्र हो, गर्छु भन्नेलाई देखाउने ठाउँ पनि छ’

नेपालखोज २०७८ फागुन १६ गते ९:५५

सुदूरपश्चिम प्रदेशको कैलालीको प्रशासनिक नेतृत्व अहिले पूर्वकुशाह ९, गेलाबारी सुनसरीका किरण थापाको काँधमा छ । २०७८ कात्तिक ३ गतेदेखि कैलालीको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थापा कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ थापालाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २७ वर्ष बिताएका कैलालीका प्रजिअ थापा यसअघि सुदूरपश्चिम प्रदेशअन्तर्गत मुख्यमन्त्रीको कार्यालयमा कार्यरत थिए ।
प्रजिअ थापा निजामती कर्मचारीको चाँडो सरुवा हुनु उचित नभएको बताउँछन् । ‘चाँडो सरुवा हुनु ठीक होइन । चाँडो-चाँडो सरुवा भयो भने कर्मचारी आफैं पनि दिकदार हुन्छन् । कार्यसम्पादनमा पनि उसले बुझेकै हुँदैन योजना बनाउँदै हुन्छ सरुवा हुँदा निश्चित रुपमा उसले गर्न खोजेको जस्तो हुँदैन,’ प्रजिअ थापाले नेपालखोजसँग भने, ‘कर्मचारीको लक्षित उद्देश्य प्राप्त हुँदैन । सुरुको २-३ महिना बुझ्दैमा बित्छ ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापासँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४६औं शृंखला :

हाइलाइट्स :
-अधिकांश समस्याको समाधान हुन्छन् । तर, कतिपय समस्या समाधानको उपायहरू हामीसँग पनि हुँदैनन् ।
-दबाब त त्यस्तो हुँदैन तर अपेक्षा भने हुन्छ । पहिले-पहिलेका सीडीओहरूको जुन अधिकार हुन्थ्यो । सीडीओहरूको प्रशासनिक, न्यायिक अनि विकासको समन्वय गर्ने तह भएको हुनाले मानिसहरूले त्यो खालको अपेक्षा राख्नु स्वभाविकै पनि हो । दबाबभन्दा पनि आग्रह हुन्छ ।
-सुरुमा मेडिकल क्षेत्रमा जान्छु भन्ने सोचाइ थियो । कारणवश गइनँ र ‘कानुन’ पढेँ । ‘कानुन’ पढेपछि वकालत पेसा गर्छु भन्ने थियो । वकालत गर्न सिनियरसँग बस्ने, सिक्ने अवसर नपाएपछि म बाध्यताले यता आएको हो ।
-सबै साथी निजामतीमा छिरेपछि मचाहिँ लद्दु छिर्नै नसक्ने हो र ? भन्ने फिल भयो । काठमाडौं आएको थिएँ । त्यसपछि स्कुलको बालशखासँग सर्वोच्च अदालतअगाडि भेट हुँदा उसले नासुमा जागिर खुलेको छ लोकसेवामा फाराम भर्न सुझाए र मैले फाराम भरें । सुब्बामा मैले थोरै मिहिनेतमै नाम निकालें । त्यसपछि मिहिनेत गरे पास हुन सकिन्छ भन्ने भयो । त्यसको दुई-अढाइ वर्षमा मैले अफिसर पास गरेको हो ।
-हाम्रो पालामा जागिरको ठूलो चार्म थियो- प्रहरी भनौं वा प्रशासनमा । खरिदार र सुब्बाको पनि गौरव अर्कै थियो, हामी केटाकेटी हुँदा । गाउँघरमा पुलिसको हवल्दार आउँदा पनि सबै थर्कमान हुन्थे ।
-चाँडो सरुवा हुनु ठीक होइन । चाँडो-चाँडो सरुवा भयो भने कर्मचारी आफैं पनि दिकदार हुन्छन् । कार्यसम्पादनमा पनि उसले बुझेकै हुँदैन योजना बनाउँदै हुन्छ सरुवा हुँदा निश्चित रुपमा उसले गर्न खोजेको जस्तो हुँदैन । राष्ट्र र कर्मचारीको लक्षित उद्देश्य प्राप्त हुँदैन । सुरुको २-३ महिना बुझ्दैमा बित्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
अधिकांश समस्याको समाधान भएका हुन्छन् । तर, कतिपय समस्याको समाधानको उपायहरू हामीसँग पनि हुँदैनन् । एउटा सफल डाक्टरले पनि त हरेक बिरामीको उपचार गर्न सक्दैन नि । हाम्रो सीमाभन्दा बाहिर गएर त गर्न मिल्दैन तर करिब-करिब रेस्पोन्स गरेकै हुन्छौं । जहाँसम्म सन्तुष्ट नै हुनुहुन्छ होला भन्ने लाग्छ । कतिपय कानुनको सीमाभन्दा बाहिर रहेका गर्न नमिल्ने खालका कुराहरू गर्न सम्भव पनि भएन नि ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाब त त्यस्तो हुँदैन तर अपेक्षा भने हुन्छ । पहिले-पहिलेका सीडीओहरूको जुन अधिकार थियो, त्यसले प्रभावकारी कार्यसम्पादन र नतिजा प्राप्त हुन्थ्यो । त्यसकै कारणले अहिले पनि आमजनताको अपेक्षा प्राजिअबाट न्याय प्राप्त हुन सक्छ भन्ने परेको छ। सीडीओ पद प्रशासनिक, न्यायिक अनि विकासको समन्वय गर्ने तह भएको हुनाले मानिसहरूले त्यो खालको अपेक्षा राख्नु स्वभाविकै पनि हो । दबाबभन्दा पनि आग्रह हुन्छ । किनकि सीडीओ भनेको अल इन अल भन्ने सम्झिन्छन् मान्छेले । किनकि पहिलेको अनुभव त्यही छ । उसले गर्दा जे पनि भन्ने सोच छ । जिल्लामा सामान्य बाटो जामदेखि लिएर, विपत्‌देखि लिएर हरेक कुरामा उसको अपेक्षा हुन्छ । अरुले गर्दा नियम कानुन भन्ने सीडीओलाई ल यस्तो गर्दे भन्ने खालको पनि छ । तर, अहिले त हामी संघीय सरकारमा गइसकेपछि सरकार नै तीन तहको भन्ने हुन्छ । कतिपय आफ्नो लिमिटेसन हुन्छ । त्योभित्र रहेर पहिलेको जस्तो त्यतिसारो छ जस्तोचाहिँ लाग्दैन । नाम मात्रैको सीडीओ हो । कतिपयले आफ्नो व्यक्तिगत हिसाबाले कतिपय समास्या समाधान पनि गरेका हुन्छन् । त्यो मानेमा हेर्ने हो भने दबाबभन्दा पनि अपेक्षा पूरा गर्न अलि नसकिने जस्तो हुन्छ । शतप्रतिशत त सकिँदैन । त्यो कसैले पनि सक्दैन ।

संघीयताअघि र अहिलेको निजामती सेवाको कार्यसम्पादनमा के फरक पाउन सकिन्छ ?
संघीयताअघि एकात्मक र संघीयतापछि तीन तहको सरकारको संरचना र क्षेत्राधिकार बाँडफाँडका कारण सीडीओले तीन तहसँग सहकार्य र समन्वय गरी आफ्नो कार्यसम्पादन गरिरहनुपरेको छ । संघीयतापछि सो अनुकूल ऐन, कानुन निर्माण, परिमार्जन संशोधन हुँदा मर्यादाक्रम हेरफेर भएको र पहिलेको अधिकार र भूमिकामा परिवर्तन भई सोहीअनुरुप सीमित रुपमा अधिकारहरुको प्रयोग भएको छ ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
त्यस्तो धेरै छ । म ताप्लेजुङमा हुँदा श्रीमान्‌ले श्रीमतीलाई नागरिकता नबनाइदिएको रहेछ । हामी शिविरमा गयौं । त्यहाँ हुँदा यसले नागरिकता बनाइदिएन भनेर सुनियो । प्रहरीलाई ल्याउन लगाएर बनाइदिएका थियौं । अहिले भर्खरै पनि एकजना आएका थिए । एकजना केटीले दलितसँग बिहे गरेर बुबाआमाले नागरिकता नै नदिने भनेका रहेछन् । हामीले प्रहरीलाई चिठी लेखेर काम गर्न लगाएका छौं । अन्य पनि नागरिकताकै सवालमा हामीले थुप्रै काम गरेका छौं । कोही साँच्चिकै अफ्ठ्यारोमा परेको भए उसलाई प्रमाणका आधारमा न्याय दिलाउने काममा सदैव सक्रिय रहन्छौं र रहनु पनि पर्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
वास्तवमा म निजामतीमा फिट छैन भन्ने लागेको थियो । सुरुमा मेडिकल क्षेत्रमा जान्छु भन्ने सोचाइ थियो । कारणवश गइनँ र ‘कानुन’ पढेँ । ‘कानुन’ पढेपछि वकालत पेसा गर्छु भन्ने थियो । वकालत गर्न सिनियरले चान्स दिने रहेनछन् । म बाध्यताले यता आएको हो । सबै साथी निजामतीमा छिरेपछि मचाहिँ लद्दु छिर्नै नसक्ने हो र ? भन्ने फिल भयो । काठमाडौं आएको थिएँ जागिरका लागि । सुब्बामा मैले मिहिनत नै नगरी नाम निकालें । त्यसपछि मिहिनेत गरे पास हुन सकिन्छ भन्ने भयो । त्यसको दुई-अढाइ वर्षमा मैले अफिसर पास गरेको हो । निजामती सेवालाई नै करिअर बनाउने सोच थिएन वास्तवमा । स्वतन्त्र रुपमा आफ्नै पेसा गर्ने विचार थियो । काठमाडौं आएर पनि ठूला वकिलहरूसँग भेटें । उनीहरूले वकालत गर्न अवसर नदिएपछि बाध्य भएर छिरेको हो निजामतीमा । निजामतीमा कसैको अन्डरमा बस्नुपर्छ, छुट्टी पाइँदैन भन्ने थियो । पछिचाहिँ छिरिसकेपछि वास्तवमा ठूलो क्षेत्र रहेछ । प्रशासन अझ ठूलो रहेछ सम्भावना धैरै रहेछ । अझ सीडीओ भएर आएपछि विश्वास गरेको सरकारको प्रतिनिधि बनिने रहेछ । जिल्लामा जो आए पनि पहिला सीडीओलाई भेट्न आउने भएकाले पनि पद र हैसियतले चाहेपछि गर्न सकिने रैछ ।

निजामतीतर्फ अहिलेको पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
मैले दुई-तीनथरीका मान्छे देखेँ । हाम्रो पालामा जागिरको ठूलो चार्म थियो- प्रहरी भनौं वा प्रशासनमा । खरिदार र सुब्बाको पनि गौरव अर्कै थियो, हामी केटाकेटी हुँदा । गाउँघरमा पुलिसको हवल्दार आउँदा पनि सबै थर्कमान हुन्थे । अहिले बोर्डिङ पढ्ने भए, एउटा समान्य गाउँघरमा पढ्ने भए, कोही ठीक-ठीकै स्कुलमा पढ्ने भए, यी विभिन्न किसिमका बोर्डिङ पनि सामान्य र उच्च स्तरका अर्थात् शिक्षाको स्तर नै फरक-फरक भएकाले सोचाइ नै फरक-फरक छ । पारिवारिक पृष्ठभूमि नै फरक छ । उदाहरणका लागि मेरो छोरालाई लोकसेवाको परीक्षा देऊभन्दा मान्दैनन् । विदेश जान्छु भन्छन् । यहाँको परिवेश नै फरक छ । सामान्य स्कुल पढेका, मध्यम वर्गीय परिवारकाहरूका लागि रोजगारको थलो यही हो । परिवारिक अवस्था, आफ्नो अवस्था, सम्पर्कका आधारमा मान्छेहरू बाँडिन्छन् । कोही विदेश जाने, व्यापार गर्ने, कोही निजामतीमा जाने भए । समग्रमा हेर्दा मान्छेको सोचाइ फरक-फरक हुन्छ । जेमा सन्तुष्ट मिल्छ त्यतातर्फ आकर्षित हुने रहेछ । अहिले पनि ठूलो रोजगारदाता सरकार भएको र निजामती सेवा सवै सार्वजनिक सेवाको मियोको रुपमा रही मुलुकी प्रशासन सञ्चालन कर्ता भएकाले अहिले पनि ठूलो जमात सरकारी सेवामा आकर्षित छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
चाँडो सरुवा हुनु वास्तवमा ठीक होइन । चाँडो-चाँडो सरुवा भयो भने कर्मचारी आफैं पनि दिकदार हुन्छ । कार्यसम्पादनमा पनि उसले बुझेकै हुँदैन योजना बनाउँदै हुन्छ सरुवा हुँदा निश्चित रुपमा उसले गर्न खोजेको जस्तो हुँदैन । कर्मचारीको लक्षित उद्देश्य प्राप्त हुँदैन । सुरुको २-३ महिना बुझ्दैमा बित्छ ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अहिले जिल्लामा राजनीतिक दलका गतिविधिहरू कसरी अघि बढेका छन् ?
राजनीतिक दलको गतिविधि, अवस्था सामान्य र सहज छ ।  राजनीतिक दलहरुले मतदाताहरुलाई भेट्ने, आन्तरिक चुनावी रणनीति बनाई अघि बढ्ने र निर्वाचनसम्बन्धी बैठकमा उपस्थित भई मतदानस्थल/केन्द्र आदि बारे विचार बिमर्श गरी अघि बढिरहेको छु ।  

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
मैले भन्नुपर्ने त केही छैन । म योजना बनाएर यो क्षेत्रमा आएको होइन । आएर म असन्तुष्टचाहिँ भएको छैन । पूर्ण सन्तुष्ट छु । जे भए पनि जान्दै, नजान्दै भए पनि निजामती क्षेत्रमा आएँ जिल्लाको नेतृत्व गर्ने अवसर पाएँ । मलाई निजामती सेवाले ठूलो अवसर दियो । अवसर पाएकामा सरकार तथा लोकसेवाप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । सबैको अपेक्षा पूरा हुँदैन । सबै जायज पनि हुँदैनन् । निजामती सेवा फराकिलो क्षेत्र हो । गर्छु भन्नेलाई देखाउने ठाउँ पनि देखिन्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापासँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

कृष्णप्रसाद लम्साल, प्रजिअ, धादिङ – ‘मुलुकको सेवा गर्नुपर्छ भन्ने सोचले निजामतीतर्फ लाग्ने प्रेरणा मिल्यो’

शंकरबहादुर विष्ट, प्रजिअ, डोटी – ‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया