बुधबार, वैशाख १२, २०८१

‘बढुवाको अनुभव छैन, लेखेरै यहाँसम्म पुगें’

साबिकको प्रशासक अहिले समन्वयकर्ता भएको छ । पहिले सीडीओ कडा प्रशासक हुन्थ्यो अहिले समन्वय गर्दै प्रशासन चलाउनुपर्ने हुन्छ ।

नेपालखोज २०७८ असोज १८ गते ९:५०

प्रदेश २ को महोत्तरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले ओखलढुंगाका तीर्थराज भट्टराईको काँधमा छ । २०७७ फागुन २३ गतेदेखि महोत्तरी जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भट्टराई कुशल प्रशासकका रूपमा परिचित छन् । जिल्लाको शान्ति-सुरक्षा, वस्तुअवस्थिति, निजामती सेवा प्रवेशलगायत विषयमा कुराकानी गर्न प्रजिअ भट्टराईलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनले निजामती सेवामा १७ वर्ष बिताइसकेका छन् । महोत्तरीका प्रजिअ भट्टराई यसअघि जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत थिए । उसो त नेपालखोजले महोत्तरीका प्रजिअ भट्टराईसँग ‘प्रजिअसँग शम्भु’का लागि कुराकानी गरेको दिन (कात्तिक १५ गते साँझ) उनको सरुवा भएको थियो । यद्यपि महोत्तरीमै रहेका प्रजिअ भट्टराईसँग उनको कार्यव्यस्तताका कारण साँझ मात्र कुराकानी हुन सम्भव भयो । उनको राष्ट्रिय पञ्जीकरण विभाग काठमाडौंमा सरुवा भएको छ । निजामती सेवामा चाँडो–चाँडो सरुवा हुँदा कार्यसम्पादनमा थोरबहुत प्रभाव पर्नु स्वभाविक हुने उनको मत छ । ‘मैले यहाँ आठ महिनामा काम गरेर बुझेको कुरा उहाँ (नयाँ प्रजिअ) आएर बुझ्न त समय लागिहाल्छ नि,’ उनले भने, ‘यहाँको परिवेश बुझ्न त केही समय लाग्छ नि ।‘ महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो २५औं अंक :

हाइलाइट्स :
-हामीले जिल्लामा सबै नागरिकलाई स्वास्थ्य सचेतना अपनाउन हामीले भनेका छौं । हाट बजार लाग्छ । भिड हुन्छ । सबैले स्वास्थ्य सचेतना अपनाए कोभिड नियन्त्रणमा सहयोग पुग्छ ।
-अहिले सरकारी कार्यालयमा सेवाग्राहीको चाप धेरै छ । विशेषगरी जिल्ला प्रशासन, मालपोत, यातायात सबैमा सेवाग्राहीको चाप छ ।
-सेवाग्राहीहरू ठाउँअनुसार फरक हुन्छन् । म जहाँ रहे कानुनले मिलेसम्म जनताको काम गरें ।
-छिटो सरुवाले कार्यसम्पादनमा असर त निश्चय नै गर्छ । नयाँ ठाउँमा जाँदा परिवेश बुझ्न त समय लाग्छ नि ।
-संविधानले राज्य शक्तिलाई ३ तहमा बाडँफाड गरेको छ । तीनै तहको आ-आफ्नै अस्तित्व, कार्यक्षेत्र छन् । अब साबिकको जस्तो एकात्मक प्रणाली छैन । साबिकको प्रशासक अहिले समन्वयकर्ता भएको छ । पहिले सीडीओ कडा प्रशासक हुन्थ्यो अहिले समन्वय गर्दै प्रशासन चलाउनुपर्ने हुन्छ । साबिकको कार्यक्षेत्र पनि स्थानीय तहतिर गएका छन् । फरक भएको छ । कार्यशैली पनि फरक बनाउनुपर्ने अवस्था छ । हाम्रा केन्द्रहरू पनि फरक-फरक भए । सीडीओ भएर काम गर्दा तीनै तहमा समन्वय गरेर अघि बढ्नुपर्छ ।
-कामका दौरान कहिलेकाहीँ दबाब त आउँछन् कतिपयलाई बुझाएर पठाउनुपर्छ । कहिलेकाहीँ मुद्दा मामिलामा यसो हेरिदिनुपर्‍यो भन्छन् । नागरिकताको केसमा आउँछन् । कुनै कार्यालयको कार्यसम्पादनलाई लिएर त्यहाँ हेरिदिनुपर्‍यो भन्छन् । म त्यसलाई दबाबभन्दा पनि जनता र नेताको कामप्रतिको अग्रसरता भनेर लिन्छु ।
-आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छु । नेपालमा सरकारको क्षमताअनुसार, मेरो इफिसेन्सी, लगनशीलताअनुसार सुविधा पाएको छु ।
-चाडबाडमा लक्षित शान्ति-सुरक्षाको योजना पनि बनाएर ठीक्क छ । सोहीअनुसार अघि बढ्ने हो । मपछि यहाँ आउने प्रजिअलाई पनि सहज बनाइदिएको छु ।

जिल्लामा कोभिड संक्रमणको अवस्था कस्तो छ ?
ठीकै छ । अहिले १०/१५ जना मात्र सक्रिय संक्रमित छन् । स्वास्थ्य सचेतना अपनाउन हामीले भनेका छौं । मधेसमा यस्तै हो । हाट बजार लाग्छ भिडभाड हुन्छ । सर्वसाधारणले स्वास्थ्य सचेतना अपनाए हुने हो हामीले भनेर मात्र नहुने रहेछ ।

अहिले सरकारी कार्यालयमा सेवाग्राहीको चाप कस्तो छ ?
बेस्सरी छ, बेस्सरी छ । हामीले पालो लगाएका छौं । त्यति गर्दा पनि दिनमा २/४ सय मान्छे जम्मा हुन्छन् । जिल्ला प्रशासनमा, मालपोत, यातायात सबैमा सेवाग्राहीको चाप छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएको जस्तो लाग्छ ?
यसमा दुईवटा कुरा हुन्छ । आफूले कुन ठाउँमा काम गर्दै छु त्यो बुझ्नुपर्छ । आफूसँग आउने सेवाग्राही को हुन्, के हुन् बुझ्नुपर्छ । म जिल्ला प्रशासनमा हुँदा नागरिकता बनाउने, राहदानी बनाउने, मुद्दा मामिला लिएर सेवाग्राही आउँछन् । म साबिकमा स्थानीय विकास अधिकारी भएर बस्दा विकास माग्न आउने सेवाग्राही हुन्थे । सेवाग्राहीहरू ठाउँअनुसार फरक हुन्छन् । म जहाँ रहे कानुनले मिलेसम्म जनताको काम गरें ।

आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट मिलेको कुनै घटना छ कि ?
त्यस्तो त धेरै छन् । म गोरखामा रहँदा लामो समयसम्म नटुंगिएको नागरिकताको विषय थियो । म गएपछि काम भयो । सामान्य केस थियो वैवाहिक अंगीकृत नागरिकताको । उनीहरू धेरै खुसी भए । मैले उनीहरूको नाम बिर्सिए । मैले दुई दिनमा उनीहरूको काम गरिदिएँ । कर्मचारी र जनप्रतिनिधिलाई थाहा नभएर काम नभएको रहेछ । यहाँ पनि यस्ता केसहरू धेरै छन् । नागरिकता, मुद्दा, संस्था दर्ताको कुराहरू छन् ।

निजामती सेवामा चाँडो-चाँडो सरूवा भइरहन्छ नि किन ?
एकदम ठीक भन्नु भयो मेरो आज (असोज १५ गते) मात्रै सरुवा भयो । तपाईंसँग अघि कुरा गर्दा मेरो सरुवा भएको थिएन अहिले सरुवाको पत्र आइपुग्यो । राष्ट्रिय पञ्जीकरणमा सरुवा गरेछन् । म बिरामी छु काठमाडौं बस्छु भनेको थिएँ । मन्त्रालय भनेको विभागमा खटाएछन् ठीकै छ ।

छिटो सरुवाले कार्यसम्पादनमा असर गर्छ ?
गर्छ निश्चय नै गर्छ । मैले महोत्तरीमा आएर २-३ वटा काम गरें । सात वर्षदेखि निर्माण अवरुद्ध रहेको जिल्ला प्रशासनको भवन सात महिनामा बनाएर अब सर्ने अवस्थामा पुर्‍याएको छु । खरिद प्रक्रिया, म्याद थपका सारा प्रक्रिया एक हिसाबले टुंग्याएर मन्त्रालयमा निर्णय गराएर कागजी रूपमा बुझिसकियो । २/३ दिनमा नयाँ भवनबाट सेवा सञ्चालन गरौं भन्ने थियो अब अर्को साथी आएर गर्नुहुन्छ । अब काममा त निश्चय नै असर पर्छ । मैले यहाँ आठ महिनामा काम गरेर बुझेको कुरा उहाँ आएर बुझ्न त समय लागिहाल्छ नि । यहाँको परिवेश बुझ्न त समय लाग्छ नि ।

अनि बढुवा भने ढिलो हुने गरेको हो ?
बढुवाको त चेन हुन्छ । माथि खाली भएपछि तल बल्ल बढुवा हुने हो । मैले अहिलेसम्म बढुवाको अनुभव गर्न पाएको छैन । शाखा अधिकृत खुलामा आएको, सहसचिव लेखेर भएको, उपसचिव पनि लेखेरै भएको । अब बढुवा भएर सचिव हुने हो । यसका लागि १० वर्ष कुर्नुपर्ने होला । पालो नआइ बढुवा हुँदैन । पालो आएपछि नेगेटिभ लिस्ट अथवा नम्बर काटेको छैन भने बढुवा हुन्छ । यति वर्षपछि बढुवा हुन्छस् भन्ने होइन कि माथि खाली भएपछि सिनियर बेसमा बढुवा हुन्छ ।

निजामती सेवामा संघीयताअघि र पछिको कार्यसम्पादनलाई कसरी लिन सकिन्छ ?
अहिलेको परिवेश बुझ्नुपर्छ । संविधानले राज्य शक्तिलाई ३ तहमा बाडँफाड गरेको छ । तीनै तहको आ-आफ्नै अस्तित्व, कार्यक्षेत्र छन् । अब साबिकको जस्तो एकात्मक प्रणाली छैन । साबिकको प्रशासक अहिले समन्वयकर्ता भएको छ । पहिले सीडीओ कडा प्रशासक हुन्थ्यो अहिले समन्वय गर्दै प्रशासन चलाउनुपर्ने हुन्छ । साबिकको कार्यक्षेत्र पनि स्थानीय तहतिर गएका छन् । फरक भएको छ । कार्यशैली पनि फरक बनाउनुपर्ने अवस्था छ । हाम्रा केन्द्रहरू पनि फरक-फरक भए । सीडीओ भएर काम गर्दा तीनै तहमा समन्वय गरेर अघि बढ्नुपर्छ । समय परिवर्तनशील छ । हामी त्यहीअनुसार ढल्नुपर्छ । हामीले कार्यशैलीलाई पनि त्यही संस्कारमा लानुपर्छ । लगिँदै छ ।

कामका दौरान कस्ता दबाब आउँछन् ?
आउँछन् । दबाबहरू आउँछन् कतिपयलाई बुझाएर पठाउनुपर्छ । कहिलेकाहीँ मुद्दा मामिलामा यसो हेरिदिनुपर्‍यो भन्छन् । नागरिकताको केसमा आउँछन् । कुनै कार्यालयको कार्यसम्पादनलाई लिएर त्यहाँ हेरिदिनुपर्‍यो भन्छन् । म त्यसलाई दबाबभन्दा पनि जनता र नेताको कामप्रतिको अग्रसरता भनेर लिन्छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई के कुराले प्रेरित गर्‍यो ?
म डिग्री पढिसकेको थिएँ । क्याम्पस पनि पढाउँदै थिए । शिक्षण मेरो पार्टटाइम थियो । शाखा अधिकृत खुलेको थियो । ३/४ महिना पढेको थिएँ नाम निस्कियो । प्रेरितचाहिँ मलाई के कुराले गर्‍यो भने, २०४३ सालमा जीसीअ (जिल्ला शिक्षा अधिकारी) हाम्रो गाउँ आउनुभएको थियो । म ९ वर्षको थिएँ । उहाँ घोडा चढेर जानुभएको थियो । हाम्रो घरमाथि हेडसरको घर थियो उहाँले घोडा त्यहाँ राख्नुभएको थियो । त्यतिबेला मेरो आमाले मेरो छोरो हाकिम बनेर कहिले यस्तो घोडा चढ्ने होला भन्नुभएको थियो । त्यसले पनि ठूलो मान्छे बन्नुपर्छ । सरकारी कर्मचारी बन्नुपर्छ अर्थात् हाकिम बन्नुपर्छ भन्ने लागेको थियो ।

पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । नेपालमा सरकारको क्षमताअनुसार, मेरो इफिसेन्सी, लगनशीलताअनुसार सुविधा पाएको छु । जनताको सेवा गरेको छु । सन्तुष्ट छु ।

महोत्तरीको शान्ति-सुरक्षाको अवस्था कस्तो छ ?
राम्रो छ त्यस्तो केही छैन । सानोतिनो चोरीको घटना भएका होलान् तर माथिबाट हेर्दा त्यस्तो डरलाग्दो अवस्था छैन । यस्तै भारतसँग सीमा जोडिए पनि तस्कर र आपराधिक क्रियाकलाप हाम्रो नियन्त्रणमै छ । हामी निरन्तर यसमै लागेका छौं । दैनिक जीवन चलाउन मानिसले १/२ किलो तलमाथि सामान ल्याउँलान् तर संगठनात्मक रूपमा तस्करी गर्न दिएका छैन ।
यस्तै चाडबाडमा लक्षित शान्ति-सुरक्षाको योजना पनि बनाएर ठीक्क छ । सोही अनुसार अघि बढ्ने हो । मपछि यहाँ आउने प्रजिअलाई सहज बनाइदिएको छु । साथै सुरक्षा योजना पनि बनाइसकेको छु । यही प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भनिसकेको छौं ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंले यो मौका दिनुभयो धन्यवाद । निजामती सेवामा प्रवेश गरेर म सन्तुष्ट छु । हामी जहाँ जान्छौं त्यहाँ जनताको सेवा गर्नुपर्छ । जुन प्रकृतिको सेवा गर्न सरकारले खटाउँछ त्यहाँ गलत मनासय नराखी काम गरे हामी अवश्य सफल हुन्छौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि प्रदेश १ को भोजपुर जिल्लाका प्रजिअ कृष्णप्रसाद भण्डारीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश २ को महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

कृष्णप्रसाद भण्डारी, प्रजिअ, भोजपुर – ‘छिटो–छिटो सरुवाले कार्यसम्पादनमा असर त पर्छ नि’

सन्तबहादुर सुनार, प्रजिअ, बर्दिया ‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’

कृष्णप्रसाद आचार्य, प्रजिअ, कालीकोट – ‘पेसाको गौरव आफैंले बढाउनुपर्छ’

राजेन्द्रदेव पाण्डे, प्रजिअ, बैतडी ‘सेवाग्राहीको समस्या बुझ्न लाइनमै पुग्छु’

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

पुण्यप्रसाद ढकाल, प्रजिअ, पाँचथर – ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

हरिप्रसाद घिमिरे, प्रजिअ,  डडेलधुरा – ‘प्रशासन भनेको आशाको धरोहर हो’

जयनारायण आचार्य, प्रजिअ,  सप्तरी – ‘सेवाप्रवाह सहज बनाउन आफैं खटिन्छु’

लक्ष्मीदेवी होमागाईं खतिवडा, प्रजिअ,  सल्यान – ‘सेवाग्राहीलाई सन्तुष्टि दिने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’

बन्धुप्रसाद बास्तोला, प्रजिअ, धनुषा – सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

प्रतिक्रिया