शुक्रबार, वैशाख ७, २०८१

मेरो अनुभूति !

शम्भु रेग्मी २०७८ असोज १८ गते १४:३२

‘प्रजिअसँग शम्भु’ नेपालखोजमा हरेक सोमबार प्रकाशन तथा प्रसारण हुने सामग्री हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको आज प्रकाशित संवाद ‘प्रजिअसँग शम्भु’को २५औं शृंखला हो । ‘प्रजिअसँग शम्भु’ को शृंखलामा प्रमुख जिल्ला अधिकारीको प्रशासनिक कार्यसम्पादन, जिल्लाको शान्ति सुरक्षा, उहाँहरूको कार्यक्षेत्र, कार्यसम्पादन, निजामती सेवाको अनुभव तथा जिल्लाको वर्तमान वस्तुअवस्थितिलगायत केही वैयक्तिक र समसामयिक विषयमा केन्द्रित रहेर संवाद गर्छौं । यसमा हामीले जिल्ल्लामा भइरहेको कोरोना संक्रमणको विषय पनि उठान गर्दै आएका छौं । विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले गरेका काम-कारबाही तथा प्रमुख जिल्ला अधिकारीले गरिरहेका गतिविधिहरूको नेपालखोजका पाठक, स्रोताबीच पुर्‍याउनु यो संवादको मुख्य उद्देश्य हो ।
कार्यक्रमको २५औं शृंखलासम्म आइपुग्दा मैले फरक अनि विशेष अनुभूति हासिल गर्ने मौका पाएको छु । साताको हरेक सोमबार प्रकाशन तथा प्रसारण हुने यो शृंखलाका लागि बुधबारदेखि नै प्रजिअसँग सम्पर्क गर्ने मेरो प्रयास हुने गर्छ । बुधबारदेखि अन्तिम दिन आइतबारसम्म पनि कहिलेकाहीँ सम्पर्क हुन मुस्किल हुने गरेको अनुभव छ । दिनमा ६ जना प्रजिअ सम्मलाई फोन सम्पर्क गर्दा कसैले प्रतिक्रिया नदिने, सम्पर्क भइहाले पनि सूचना अधिकारीसँग सम्पर्क गर्न वा सहायक प्रमुख जिल्ला अधिकारीसँग संवाद गर्नू भन्दै पन्छिने गरेको अनुभव पनि पाइयो । यद्यपि एकाधबाहेक हरेक प्रजिअले ‘प्रजिअसँग शम्भु’ को शृंखलालाई यहाँसम्म पुर्‍याउनका लागि निकै साथ दिनुभएको छ । उहाँहरूको साथ र सहयोगकै कारण ‘प्रजिअसँग शम्भु’ को २५औं शृंखला हामीले पाठकमाझ पस्किन पाएका हौं ।

‘प्रजिअसँग शम्भु’को पहिलो कुराकानी मैले दार्चुलाका प्रजिअ सिद्धराज जोशीसँग गर्ने निधो गरें । उहाँसँगको संवादको अडियो भने प्रसारण भएन । पठन सामग्रीका रूपमा मात्रै प्रकाशन भयो । पहिलो फोनमै उहाँले संवादका लागि समय दिनुभयो । उहाँसँगको संवाद नेपालखोजमा २०७८ को पहिलो सोमबार अर्थात् वैशाख ६ गते प्रकाशन भएको हो । प्रजिअहरूसँगको संवादका क्रममा फरक-फरक अनुभव पनि सँगाल्दै गएँ । ‘भोलि दिउँसो मलाई कल गर्नू’ भन्नेले म भ्याउँदिनँ भनेपछि केही निराशाको अवस्था पनि हुने रहेछ । तर फोन उठाए जति सबै प्रमुख जिल्ला अधिकारीहरूले राम्रो व्यवहार गर्नुभएको छ । यो मेरा लागि सुखद पनि हो । जिल्लामा कुनै कार्यक्रम हुँदा केही प्रजिअले जानकारीसमेत दिने गर्नुभएको छ । जसले जिल्लाका साना-साना सूचनाहरू केन्द्रको सञ्चारमाध्यममा आउन सहज भएको छ ।
केही प्रजिअलाई सम्पर्क गर्दा सहज किसिमले भयो । केहीसँग सम्पर्क गर्न निकै प्रयास गर्नुपर्‍यो । व्यस्तताको कारणले केहीसँग भने सम्पर्क हुन धेरै समस्या भयो ।

मैले संवाद गरेकामध्ये अधिकांश प्रमुख जिल्ला अधिकारीको सरुवा एक जिल्लाबाट अर्को जिल्ला र मन्त्रालयसम्म भएको छ । ‘प्रजिअसँग शम्भु’ मा सबै प्रमुख जिल्ला अधिकारीहरूसँग फोनमार्फत नै संवाद गर्ने गरेको छु । तर ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलासँग भने मैले भिडियो संवाद गरेँ । हालै मात्र उहाँको गृह मन्त्रालयमा सरुवा भएको छ ।

कार्यक्रमको नाम नै प्रमुख जिल्ला अधिकारीसँग जोडिएकाले मैले जसरी पनि प्रजिअसँगको संवाद पाठकमाझ प्रस्तुत गर्नुपर्ने बाध्यता पनि छ । केही प्रजिअले फोन मुस्किलले उठाए पनि राम्रो रेस्पोन्स गर्नुभएको छ । ‘प्रजिअसँग शम्भु’ प्रकाशन तथा प्रसारण भएपछि धेरैले खुसी व्यक्त गर्दै हौस्याउने, हाम्रा कुरा जनतासामु प्रस्तुत गरिदिएको भन्दै आभारसमेत व्यक्त गर्नु मेरा लागि खुसी र अवसर दुवै हो । कतिपयले ‘प्रजिअसँग शम्भु’ को शृंखला प्रकाशनपछि त्यहाँ भएका भाषिकलगायत केही त्रुटि फेला परे औंल्याइदिने पनि गर्नुहुन्छ । सोमबार ‘प्रजिअसँग शम्भु’ प्रकाशन गरेपछि धेरैजसोले चासो राखेरै फोनबाटै भए पनि सल्लाह, सुझाव दिँदा आफूमा छुट्टै किसिमको सन्तुष्टि भएको महसुस हुँदो रहेछ ।

२५ जनासम्म कुराकानी गर्नुभन्दा अगाडि र पछाडिका विभिन्न स्मरणीय अनुभव बटुल्ने अवसर मिलेका छन् । केही स्मरणीय पनि छन् । यसैक्रममा दाङका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न गरेको प्रयास अलिक रोचक छ । कार्यक्रम सोमबार प्रसारण तथा प्रकाशन हुने कार्यसूची थियो । आइतबार संवादको तयारी गर्दै थिएँ । त्यहाँको प्रजिअ सरुवा भएर सोही दिन मन्त्रालयमा हाजिर हुनुभयो र दाङमा आउने प्रजिअ भोलिपल्ट अर्थात् सोमबार मात्र हाजिर हुने भएकाले जिल्ला प्रजिअविहीनको अवस्था थियो । त्यहाँका सहायक प्रजिअ चिरञ्जीवी रानासँग सम्पर्क भयो । उहाँले भन्नुभयो, ‘मैले थाहा पाएका कुरा भनेर हुने भए भनिदिन्छु नि !’ भन्दै उहाँ नेपालखोजसँग संवादका लागि तयार हुनुभयो । यो अवस्थामा मैले प्रजिअसँग मात्रै कुराकानी गरिने कार्यक्रमको ढाँचा परिवर्तन गरेँ । सहायक प्रजिअ चिरञ्जीवी रानासँग संवाद गरें । उहाँ निकै शालिन र अनुभवी भएको हुँदा पनि संवाद रोचक रह्यो । २५ वटा संवादका क्रममा यो मेरा लागि फरक अनुभूति पनि रह्यो । (दुई दिनअघि मात्र चिरञ्जीवी राना म्याग्दीको प्रजिअका रूपमा सरुवा भएर जानुभएको छ ।)

२५ जना प्रमुख जिल्ला अधिकारीसँग संवादका लागि झन्डै ६० जनासँग सम्पर्क गर्नुपर्‍यो । ‘प्रजिअसँग शम्भु’ को झन्डै साढे ६ महिने अवधिमा प्रजिअ र जिल्ला दोहोरिएको छैन । दार्चुलादेखि ताप्लेजुङसम्मका प्रजिअसँग संवाद गर्ने अवसर मिलेको छ । सम्भव भएसम्म थप केही महिनासम्म प्रजिअ र जिल्ला नदोहोर्‍याउने मेरो सोच हो । जसले सबै क्षेत्र र भूगोल समेटोस् भन्ने मेरो अभिप्राय हो । २५ जना प्रजिअसँगको कुराकानीका दौरान दुईजना महिला प्रमुख जिल्ला अधिकारीसँग पनि संवाद भयो । अरू प्रजिअहरूसँग पनि क्रमैसँग संवाद गर्ने मेरो तयारी छ ।
अन्त्यमा, ‘प्रजिअसँग शम्भु’ विभिन्न जिल्लाको शान्ति सुरक्षासँग, प्रजिअहरूको अनुभव र कार्यसम्पादनसँग पनि जोडिएको कार्यक्रम भएकाले आमसर्वसाधारण, नेपालखोजका पाठकहरूको मायाप्रति म कृतघ्न छु । साथै सल्लाह, सुझाव अनि प्रतिक्रियाको भने सधैं अपेक्षकृत नै छु । सबै प्रमुख जिल्ला अधिकारी तथा नेपालखोजका पाठकहरूप्रति नमन !

शम्भु रेग्मी

शम्भु रेग्मी नेपालखाेज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया